विकासन्युज

बजाज आरइ स्वरोजगार र्याली आयोजना

काठमाडौं । बजाज थ्री ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरइ स्वरोजगार र्याली आयोजना गरेको छ । यो र्यालीको मुख्य नारा स्वरोजगारी मै समझदारी रहेको छ । यो र्यालीमा २० वटा बजाज आरइको सहभागीता रहेको थियो । यो अभियानले पूर्व पश्चिम राजमार्गमा २५ दिनसम्म यात्रा गर्नेछन्, करिब १०२७ किलोमिटरको यात्रा बिर्तामोडबाट शुरु भएको छ जून महेन्द्रनगरमा सम्पन्न हुनेछ । स्थानीय डिलरहरु पनि यो कार्यक्रममा समावेश रहेका थिए । अभियानमा नेपाली लोकप्रिय कलाकारहरु प्रश्ना शाक्य र विश्व नेपालीले विभिन्न नेपाली गीतहरु गाएर स्थानीय बासिन्दाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । यसका साथमा प्रसिद्ध हास्य कलाकार राजा राजेन्द्रले मानिसहरुलाई हास्य प्रस्तुतीका साथ मनोरन्जन गराए । स्थानीय कलाकारहरुको पनि भव्य प्रस्तुति गरेका थिए । स्थानीय बासीले कार्यक्रममा उत्साहका साथ मनोरञ्जन गरेका थिए । यो र्यालीको उद्धेश्य बजाज आरइको बारेमा जनचेतना अभिवृद्धि गराउनु हो र यसमार्फत स्वरोजगारका लागि हुने उत्कृष्ट लाभहरुको बारेमा जानकारी दिनु हो । यो र्यालीले मुख्य गरी नेपाली युवाहरुलाई रोजगारीको अवसरको बारेमा तथ्यगत जानकारी दिँदै नेपालमा नै राम्रो रोजगारीको अवसरहरु भएको बारेमा उनीहरुलाई सुनिश्चित तुल्याउनु हो । विदेशी मुलुकहरुमा काम गर्नुभन्दा स्वदेशमा नै काम गर्नु उपयुक्त हो । बजाज आरइ स्वरोजगारका साथमा आबद्ध भएर परिवर्तन स्वीकार गर्दै उत्पादकत्व अभिवृद्धि र आय सिर्जना गतिबिधिमा लाग्न सकिन्छ । बजाज आरइमा गरेको लगानीले पहिलो दिनदेखि नै वित्तिय लाभ दिन्छ, जसले यसको मूल नारा ‘एउटा यस्तो लगानी जसले गर्छ शुरुको दिन देखिनै आम्दानी’ लाई सार्थक पार्दछ । नेपालमा स्वरोजगारी सिर्जना गराउने उद्धेश्यका साथ, विश्वको नम्बर १ थ्री ह्विलर्स ब्राण्ड बजाज आरइ नेपालभर बिक्री भईरहेको छ, जसले वैदेशिक रोजगारीबाट फर्किएका र यहाँ संघर्ष गरिरहेका कामदाहरुलाई रोजागारी सिर्जनाको अवसर प्रदान गर्दछ । बजाज आरइ संभावनाहरुमा केन्द्रित रहेको छ, जो वैदेशिक रोजगारीमा जाने योजनामा छन् वा यो विदेशबाट फर्किएका छन् ।

तिहार अगावै कारोबार सुरु गर्ने तीन वटा जीवन बीमा कम्पनीको तयारी

काठमाडौं । तिहार अगावै तीन वटा जीवन बीमा कम्पनीले कारोबार आरम्भ गर्ने भएका छन् । बीमा समितिबाट लाइसेन्स लिएका स्टार लाइफ( नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स), सिटिजन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तिहार अगावै कारोबार आरम्भ गर्न लागेका हुन् । यस अघि नै युनियन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले कारोबार आरम्भ गरिसकेका छन् । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका नामबाट स्टार लाइफले धन्तेरासका दिन देखि कारोबार आरम्भ गर्ने अनुमति मागेको छ । त्यस्तै, सिटिजन लाइफले लक्ष्मी पुजाका दिनदेखि कारोबार आरम्भ गर्ने अनुमति मागेको छ भने सानिमा लाइफले पनि तिहार अगावै कारोबार आरम्भ गर्ने भनेको छ । ‘तीन वटा कम्पनीले तिहार अगावै कारोबार आरम्भ गर्ने भनेर अनुमति मागेका छन, हामी ती कम्पनीहरुको पुर्वाधार, जनशक्ति, प्रबिधी र बीमा पोलिसीको अध्ययन गरिरहेका छौं’, बीमा समितिका एक उच्च अधिकारीले भने । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रदिपजंग पाण्डे, बिरेन्द्र बहादुर बस्नेत, कैलाश प्रसाद सिरोहिया, विकास जबरा, सुधिरबाबु खत्री, आङ छिरिङ शेर्पा, पृथ्वीराज पाण्डे, ताराचन्द खेतान, पशुपति मुरारका र रामेश्वर थापाको लगानी छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा भवानी भक्त जोशी, भाइकाजी श्रेष्ठ, सुदर्शनराज पाण्डे, शेरबहादुर पाण्डे, नरेश बहादुर मल्ल, नेपाल सेयर मार्केट्स र देवी प्रकाश भट्टचनको लगानी रहेको छ । सानिमा लाइफमा भने बद्रि प्रसाद ओझा, अरुण कुमार ओझा, डा. गोपाल प्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, घनश्याम थापा र बिरेन्द्र प्रसाद महतोको लगानी रहेको छ ।

शेयर कर्जा लिन लगानीकर्ता उत्साहित

बनेपा । काठमाडौं बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घोषणा गरेपछि त्यसको प्रभाव काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेलमा रहेका विभिन्न बैंकका शाखामा पनि परेको हो । मोफसलमा रहेका बैंकले काठमाडौंमा जस्तै शेयर कर्जा लिनेको भीड नभए पनि स्थानीय तहमा बनेपा, धुलिखेल र आसपासका लगानीकर्ताले शेयर कर्जा लिन आइरहेको सम्बन्धित बैंकले जनाएको छ । एनआइसी एशिया बनेपा शाखाका प्रबन्धक कृष्णराज बराकोटीले गत साउनदेखि नै शेयर कर्जा लिन आउने लगानीकर्ता देखिएको उल्लेख गर्दै कम्पनी हेरेर बजार मूल्यको ४० देखि ५० प्रतिशत शेयर कर्जा दिएको बताए । उनले भने, “थोरै रकम भए शाखाबाट पनि दिन्छौँ बढी नै रकम भए मुख्य कार्यालयमा पठाउँछौँ ।” सेञ्चुरी कमर्सियल बैंक, धुलिखेल शाखाका प्रबन्धक नवीन मकाजुले सानो रकमको रूपमा पाँच लाख रूपैयाँदेखि ठूलो रकमका रुपमा दुई करोड रुपैयाँसम्म शेयर कर्जा दिएको उल्लेख गर्दै शेयर बजार सुस्ताएका बेला शेयर कर्जा लिने पनि कम हुने बताए । उनले मार्जिन कल आउँदा समस्या देखिएको जानकारी दिँदै धुलिखेल आसपासबाट शेयर कर्जा लिने बढ्दै गएको बताए । कार्यालय खुलेपछि यस क्षेत्रमा शेयर लगानीकर्ताको पनि चाप बढिरहेको ब्रोकर सञ्चालकले जनाएका छन् ।वित्तीय करोबार बढी हुने बनेपामा बैंकसँगै सहकारीबाट ऋण लिएर पनि लगानीकर्ताले शेयरमा लगानी गर्दै आएका छन् । शेयर बजार घटिरहेका बेला शेयर खरिदकर्ताको चाप बढिरहेकाले शेयर कर्जा लिनेको संख्या पनि बढ्दै गएको हो । रासस

नेपाली राजदूत दिपकुमार उपाध्यायले दिए राजीनामा, कपिलवस्तुबाट चुनाव लड्ने

काठमाडौं। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजदूत पदबाट राजीनामा दिएका छन् । आगामी मंसिर १० गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् । उपाध्यायले कपिलवस्तुमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको उम्मेद्वार दिने भएका छन् । तत्कालिन कांग्रेस सभापति स्व.सुशील कोइरालाको प्रधानमन्त्री हुँदा भारतका लागि नेपाली राजदूत नियुक्त भएका थिए । भारतीय नाकाबन्दी फुकाउन असहयोग गरेको आरोपमा केपी ओली नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएको थियो। प्रधानमन्त्री प्रचण्डको पालामा कांग्रेस-माओवादी गठबन्धनको सरकारले उपाध्यायलाई पुनः भारतकै लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो।  

ई-पेमेन्टले सहज बन्दै बिजुलीको महशुल, उपभोक्ताले फेर्दैछन् राहतको सास

काठमाडौं । ‘ग्राहकले १ सय रुपैयाँ बिल तिर्नको लागि २ सय रुपैयाँ खर्च गरेर प्राधिकरण धाउन नपर्ने भएको छ, घण्टौं लाइन बस्नुपर्ने बाध्यता पनि हटेको छ ।’, यो भनाई हो नेपाल विद्युत प्राधिकरणका उपप्रबन्धक सजन कुमार श्रेष्ठको । प्राधिकरणले गत भदौं ५ गतेदेखि विद्युत महशुल संकलनका लागि ईसेवा, प्रभु बैंक, सिएफएस रेमिट, पे पोइन्ट नेपाल, नेपाल इन्भेष्टमेन्ट  बैंक, महालक्ष्मी विकास बैंक र सिटी मनि ट्रान्सफरसँग सम्झौता गरेको थियो ।  प्राधिकरणले पाइलट प्रोजेक्टका रुपमा सुरु गरेको इपेमेन्ट सेवाबाट उपभोक्ताले घण्टौं लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएको दावी प्राधिकरणले गरेको हो । उपभोक्ताको लामो लाइन तथा समयको बचतलाई ध्यानमा राखी नेपाल विद्युत प्राधिकरणले यो सेवा ल्याएको थियो ।‘प्राधिकरणको सेवालाई छिटो, छरिटो र प्रबिधी मैत्री बनाउन ईपेमेन्ट सुरु गरेका हौं, अब यसलाई व्यापक मात्रामा विस्तार गरिनेछ’, उप प्रबन्धक श्रेष्ठले भने । सेवा आरम्भ भएको डेढ महिनामै उपभोक्ताको ध्यान खिच्न सफल भएको छ । उनका अनुसार दैनिक प्रति दिन ४ सय देखि ५ सयको हारारीमा इपेमेन्टका ग्राहकको संख्या बढिरहेको छ । प्राधिकरणले पाइलट प्रोजेक्टका रुपमा इपेमेन्ट सेवालाई निःशुल्क बनाईदिएको छ । इपेमेन्ट सेवा दिने कम्पनीमध्ये हिमालयन बैंक, सीएफएस रेमीट, सीटी एक्सप्रेस मनी ट्रान्सफर, नेपाल इन्भेष्ट  र महालक्ष्मि बैंकले भने खासै प्रभावकारी ढंगले कार्य गर्न नसकेको उपप्रवन्धक श्रेष्ठले जानकारी दिए । हाल यो सेवा उपत्यकाको १७ ठाउँमा र अन्य पोखरा र भरतपुरमा विस्तार भइसकेको छ । यो उपत्यकाको रत्नपार्क, नक्साल, कृतिपुर, साँखु चावहिल, चक्रपथ भक्तपुरलगायतका स्थानमा सेवा सुचारु भएको छ । साथै, नेपालगञ्जमा पनि यो सेवा विस्तार गर्ने तयारी भईरहेको प्राधिकरणले जनाएको छ । यो सेवाबाट बिजुलीको महशुल भुक्तानी गर्न ग्रामीण तथा शहरी क्षेत्रका उपभोक्तालाई नजीकैको सहकारी संस्थाबाट भुक्तानी गर्दा प्रभावकारी हुने प्राधिकरणको भनाइ छ । उपभोक्ताले यसको प्रयोग गर्न सिक्दै गरेको हुनाले इपेमेन्ट डीजीटल बिलीङ्ग सीस्टमले प्राधिकरणको महशुल बुझाउने शाखामा १० प्रतिशतको हाराहारीमा ग्राहकको लाइन घट्दै गएको छ । ग्राहकले सेवा उपभोग गर्न सिक्दै गरेको हुनाले विस्तारै प्रविधि तर्फ अघि बढ्दै गरेको देखिएको छ । उपभोक्ताले अधिक्तम ३ महिना र न्युनतम १ महिनामा बिल भुक्तानी गर्न पर्ने नियम छ । यो सेवा उपभोग गर्दा मोबाइलमा एप डाउनलोड गरेर घरमै बसेर पनि भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्दा एक पटकमा १ लाख सम्मको मात्र गर्न सकीने नियम प्राधिकरणले लागु गरेको छ । यसको लागि ग्राहकको बैंक वा अन्य सेवा प्रदायक संघसस्था सँग लिङ्क हुनपर्नेछ । ग्राहकले आफ्नो आइडी कन्ज्युमर नम्बर तथा आफुले भुक्तानी गर्ने अफिस शाखा भने थाहा पाउन जरुरी हुने प्रधिकरणका उपप्रवन्धक श्रेष्ठले बताए ।

जुट उद्योग बन्द हुँदा ५००० मजदुर बेरोजगार

मोरङ । मोरङ-सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् । विराटनगर जुट मिल्स, नरेश राठीको गुह्येश्वरी जुट मिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग बन्द भएको नेपाल जुट मिल्स एशोसिएशनका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिए । सरकारले उद्योग प्रवर्धनमा प्रोत्साहन नगर्दा सुनसरी–मोरङमा सञ्चालित जुट उद्योग धरासायी बन्दै गएको जुट उद्योगीले गुनासो गरेका छन् । भारतबाट कच्चा पदार्थ आयात गरेर नेपाल आइपुग्दा झण्डै दोब्बर लागत खर्च पर्न जान्छ । त्यसकारण जुट उद्योग धरासायी बन्दै गएको हो । अध्यक्ष गोल्छाले बिजुली अभाव, सरकारीस्तरबाट सहयोग नहुँदा पनि जुट उद्योग बन्द गर्नुपरेको बताए । उनका अनुसार जुट बन्द हुँदा चार हजार ५०० देखि पाँच हजार मजदुर र कर्मचारी बेरोजगार हुनुका साथै करोडौँ रूपैयाँ बराबरको प्रत्यक्ष नोक्सानी भएको छ । जुट मिल बन्द हुनुको मुख्य कारण विद्युत्भार कटौती, पर्याप्त मजदुर नभेटिनु, बन्द, हडताल, चक्काजाम र उत्पादित सामानको बिक्रीभन्दा ढुवानी खर्च बढी पर्नुलगायतका समस्या रहेको जुट उद्योगीको भनाइ छ । बजार व्यवस्थापन तथा आन्तरिक समस्या समाधानमा सरकार गम्भीर नभएकाले घाटामा उद्योग चलाउँदै आएको मोरङ व्यापार संघका उपाध्यक्ष तथा बाबा जुट उद्योगका सञ्चालक प्रकाश मुन्दडा बताउँछन् । देशकै जेठो तथा पुरानो जुटमिल विराटनगर जुटमिल तीन वर्षदेखि बन्द छ । पटक–पटक बन्द हुँदै खुल्दै आएको सो जुटमिल पछिल्लोपटक भारतीय कम्पनी विमसम इन्टर नेशनललाई सरकारबाट २५ वर्षका लागि भाडामा दिइएको थियो । सो मिललाई ११ केभिए प्रसारण लाइन सरकारले उपलब्ध नगरेपछि उत्पादन बन्द गरिएको विराटनगर जुटमिलका पूर्व सञ्चालक मुकुन्द नेपाल बताउँछन् । रासस

दुई लाख ज्येष्ठ नागरिकलाई परिपचपत्र वितरण

काठमाडौं । सरकारले विगत दुई वर्षमा दुई लाख ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या करिब २२ लाख रहेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, ज्येष्ठ नागरिक संरक्षण महाशाखाका अनुसार प्रत्येक जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयबाट ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई विगत दुई वर्षदेखि परिचयपत्र वितरण गरिँदै आइएको छ । सबैभन्दा बढी करिब ७० हजार परिचयपत्र उपत्यकाबाट वितरण गरिएको शाखा प्रमुख मीरा शेरचनले राससलाई जानकारी दिउ । परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकले यातायात सेवा र अस्पतालमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ । अस्पताल र यातायात सेवामा ५० प्रतिशत छुटको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन नजिकै धर्ना दिँदै आएका छन् । “खासगरी ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकलाई परिचयपत्र पाउँदा के फाइदा हुन्छ भन्ने जानकारी नभएका कारण पनि त्यस क्षेत्रका ज्येष्ठ नागरिक कमै मात्रामा परिचपपत्र बनाउन आएको देखियो” – प्रमुख शेरचनले भन्े । महिला, बालबालिका कार्यालयले वितरण गर्दै आएको सो परिचयपत्र अबदेखि स्थानीय निकायबाट वितरण गरिने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा २०५१ सालमा प्रतिमहिना रु १ सय बाट शुरु गरिएको र अहिले २ हजार पुर्याइएको वृद्धभत्ता ७० वर्ष पुगेका ज्येष्ठ नागरिकले पाइरहेका छन् । सो वृद्धाभत्ता कानूनअनुसार ६० वर्ष पुगेका ज्येष्ठ नागरिकले पाउनुपर्ने ज्येष्ठ नागरिकको भनाइ छ । सरकारले कोही आफन्त नभएका वृद्धवृद्धाको हेरचाहका लागि सञ्चालन गरेको पशुपति वृद्धाश्रममा १९० जना वृद्धवृद्धा रहेका छन् । देशैभरि करिब ८८ वटा वृद्धाश्रम सञ्चालनमा छन् । रँसस  

मेलम्चीको पानी वितरण गर्न ५५ किमी पाइप बिच्छ्याउन बाँकी, चैतसम्म पानी आइसक्ने

काठमाडौं । मेलम्चीको पानी उपत्यकामा वितरण गर्न ६७० किमी पाइप बिच्छ्याउनुपर्नेमा ५५ किमीको काम बाँकी छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि पाइप बिच्छ्याउने जिम्मेवारी पाएको छ । असोजमै पानी ल्याइसक्ने सरकारको लक्ष्य थियो । सुरुङको काम नसकिएकाले र वर्षा याममा सडक हिलाम्मे हुने भएपछि निर्देशनालयले उपत्यकाका मुख्य सडकमा पाइप बिच्छ्याउने काम केही समयलाई रोकेको थियो । वर्षा याममा सडक खनेर पाइप बिच्छ्याउँदा धुलो र हिलोका कारण आवतजावतमा समस्या भएपछि वर्षा नसकिएसम्मका लागि रोकिएको काम पुनः शुरु गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । “पानी वितरणका लागि ६० किमी थोक वितरण प्रणालीको पाइप बिच्छ्याइएको छ, ६० किमीमध्ये पाइप जोड्नुपर्ने स्थानबाहेकमा काम सकिएको छ, वितरण सञ्जालको ५५ किमी पुस मसान्तसम्म सक्ने योजना छ”, उनले भने। पुस मसान्तसम्म पहिलो चरणमा पानी वितरण गरिने स्थानमा पाइप बिच्छ्याइसक्ने योजना रहेको निर्देशनालयले जनाएको छ । पाइप बिच्छ्याइएको स्थानमा पाइप परीक्षण पनि शुरु गरिएको छ । सुन्दरीजलबाट बाग्मतीको पानी प्रशोधन केन्द्रमा लगेर पाइप परीक्षण गरिएको हो । बाँकी करिब डेढ किमी सुरुङ निर्माण सकेर चैत मसान्तसम्म पानी काठमाडौं ल्याई वितरण गरिसक्ने मेलम्ची खानेपानी आयोजनाको लक्ष्य छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किमी सुरुङ निर्माण गरेर उपत्यकामा मेलम्ची खोलाको पानी ल्याउने अन्तिम तयारी भइरहेको छ । रासस