विकासन्युज

माउण्ट मकालुलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माउण्ट मकालु डेभलपमेन्ट बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई असोज २३ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल क्यापिटल मार्केट रहेको छ ।

एनबी इन्स्योरेन्स र पूर्णिमा विकास बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । सोमबार मात्रै एनबी इन्स्योरेन्स कम्पनी र पूर्णिमा विकास बैंकको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । एनबी इन्स्योरेन्सको २७ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ । त्यस्तै, सोही दिन पूर्णिमा विकास बैंकको ६६ हजार ९११ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सेञ्जमा सूचिकृत भएको छ ।

मिर्गौला रोगीलाई १० लाख रुपैयाँ सहयोग

चितवन । दुवै मिर्गौला बिग्रिएर सहयोगको प्रतिक्षामा रहेका चितवनको खैरहनीका हरेराम महतोको उपचारका लागि देश विदेशबाट १० लाख रुपैयाँ बढी आर्थिक सहयोग प्राप्त भएको छ । चितवनकोे सिर्जनशील थारु समाजले शुरु गरेको ‘हरेराम बचाउ अभियान’ मार्फत अहिलेसम्म करिब १० लाख रुपैयाँ सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए । वैदेशिक रोजगारको क्रममा साउदी अरब पुगेका चितवनको खैरहनी नगरपालिका–१ बहेराका हरेराम महतोको दुवै मिर्गौला काम नलाग्ने भएपछि उनी घर फर्किएका थिए । ३५ वर्षीय हरेराम महतोको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । डाइलासिस भने चितवनको भरतपुर अस्पतालमा भइरहेको छ । उनको उपचारका लागि आएको सम्पूर्ण रकम १० लाख ४० हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको र अझै सहयोग आउने क्रम जारी रहेको अभियन्ता कारी महतोले बताए । उनको उपचारका लागि पोर्चुगलबाट दुई लाख रुपैयाँ, दक्षिण कोरियाबाट ८० हजार रुपैयाँ, अष्ट्रेलियाबाट दुई पटक गरी ७५ हजार रुपैयाँ, अमेरिकाबाट एक लाख ३५ हजार रुपैयाँ, क्यानडाबाट ४० हजार रुपैयाँतथा साउदी, युएई, कतार र मलेसियामा रहेका नेपालीबाट उक्त रकम सहयोग भएको हो । पाँच महिना अघि बिरामी भएका उनलाई आफ्नै श्रीमती विन्दुले मिर्गौला दिने तयारी गरिएको छ । उनको मिर्गौला प्रत्यारोपणको तयारी गरिए पनि हेमोग्लोविन कमी भएकाले हुन नसकेको चिकित्सकको भनाइ उद्धृत गर्दै हरेराम महतोले जानकारी दिए । उपचारका लागि आर्थिक सहयोग गर्नुहुने सबैलाई उनले धन्यवाद दिए । रासस

लेखापरीक्षकले दोहोरो सुविधा लिएको बारे त्रिभुवन विश्वविद्यालयसँग थप सूचना माग

काठमाडौं । त्रिवि रजिष्टारको कार्यालयसँग त्यस विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसमा आन्तरिक लेखापरीक्षक गर्दा केन्द्रबाट खटिने टोलीले दोहोरो सुविधा लिएको पाइएपछि त्यसबारे थप सूचना माग गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा तारानाथ दाहालको टोलीले सूचनाको हकको प्रयोग गरी माग गरेको सूचनामा त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा उक्त क्याम्पसलाई पनि आर्थिक भार पारेको सूचना प्राप्त गरेपछि त्यससम्बन्धी थप सूचना माग गरिएको हो । सूचना मागमा टोलीले आंगिक क्याम्पसमा आर्थिक वर्ष २०७१/०७२ र ०७२/०७३ को आन्तरिक लेखापरीक्षणका क्रममा भएको खर्चको विवरण माग गरेको छ । सूचनामा त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौंमा आंगिक क्याम्पसको आन्तरिक लेखा परीक्षण गर्न त्यस कार्यालयबाट क कस्को नेतृत्वमा कतिवटा टोली खटिएका थिए र उक्त टोलीका लागि सो कार्य सम्पादन गरेबापत के के शीर्षकमा कति कति खर्च भएको छ भन्ने विवरण माग गरिएको छ । त्यसैगरी त्यस विश्वविद्यालयअन्तर्गतका ६० वटा आंगिक क्याम्पसको सूचना अधिकारीको नाम, सम्पर्क नम्बर र पद तथा आन्तरिक लेखा परीक्षण गर्न खटिएको टोलीले लिएको दोहोरो सुविधाका विषयमा कस्तो प्रकारको कारबाही हुने व्यवस्था छ सोबारे जानकारी माग गरिएको छ । केही समयअघि सूचना दिन गएका उक्त टोलीले नै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएपछि उक्त सूचना माग गरिएको बताएका छन् । सूचना मागको बोधार्थकपी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तलाई समेत दिइएको छ । रासस

भूकम्पपीडितलाई धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने

काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकपछि भूकम्पपीडितलाई घर बनाउन सामूहिक जमानीमा निब्र्याजी गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी दिए । बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णयसमेत गरेको मन्त्री कार्कीले बताए । रासस

ऊर्जामन्त्रीले भने : विदेशीले विमानस्थलमा झरेपछि पैसा बुझाउन थाल्नु पर्छ, यस्तो अवस्थामा जलविद्युतमा कसले लगानी गर्छ ?

काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेशनले नेपालमा काम गर्न गाह्रो भएको गुनासो गरेको छ । नेपालमा विभिन्न प्रक्रियागत झमेलाले काम गर्न गाह्रो भएको गुनासो गरेको ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बताए । ७५० मेगावाट क्षमताको पश्चिमसेती जलासययुक्त आयोजना बनाउन नेपालमा विभिन्न झमेलाको सामना गर्नुपरेको थ्री गर्जेजको दावी छ । समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको ५ वर्ष बितिसक्दा पनि पश्चिम सेतीको काम प्रारम्भीक चरणमा छ । ०६९ भदौमा लगानी बोर्ड र थ्री गर्जेजबीच आयोजना बनाउन एमओयु भएको थियो । ऊर्जामन्त्रीले भने “काम गर्न समस्या भएकाले आयोजना अघि बढाउन नसकेको गुनासो गरेको छ ।” समस्या भएपछि उसले आयोजनाबाट फिर्ता हुने निर्णय भने गरेको छैन् । “हामी भन्दा १ वर्षपछि समझदारीपत्र (एमओयु ) गरेको थ्री गर्जेजले पाकिस्तानमा साढे ७ सय मेगावाटको जलविद्युत आयोजना सम्पन्न गरिसकेको छ” उनले भने “ नेपालमा एमओयु गरेको ५ वर्ष भयो आयोजना जहाँको त्यही छ ।” आयोजना अघि नबढनुमा नेपालको नियम कानून, कर्मचारीतन्त्र र राजनीतिक दल दोषी भएको शाहीले आरोप लगाए । विभिन्न झमेलाले गर्दा आयोजना समयमा नबन्ने गरेको उनको गुनासो छ । “विदेशी लगानीकर्ता विमानस्थलमा झरेपछि पैसा बुझाउन थाल्नु पर्ने अवस्था छ” उनले प्रश्न गरे “यस्तो अवस्थामा नेपालमा कसले लगानी गर्छ ? ।” केन्द्रमा कर्मचारी, राजनीतिक दल र स्थानिय तहमा टाठाबाठालाई पैसा दिएपछि मात्र काम हुने गरेको उनले बताए । यता लगानी बोर्डले आउदो नोभेम्बरभित्र आयोजना निर्माणको कार्ययोजना तयार गर्न साझेदार नेपाल विद्युत प्राधिरकण र थ्री गर्जेलाई भनेको छ । ६५ प्रतिशत थ्री गर्जेजको २५ प्रतिशत विद्युत् प्राधिकरण र १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दाको हुने गरी लगानी संरचना तयार गरिएको छ । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । नेपाली र चिनियाँ लगानीमा ७५ मेगावाट क्षमताका २ आयोजना सम्पन्न भएका छन् । ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए आयोजना सिनो हाइड्रो कर्पोरेशन र २५ मेगावाटको माथिल्लामो मादी ए चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशनको लगानीमा सम्पन्न भएको हो ।  

एनबिआई र एमजिईएसबीच मानव संसाधन विकासका लागि शिक्षा सम्बन्धि सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबिआई) र मनिपाल ग्लोबल एजुकेशन सर्भिसेस( एमजिईएस) बीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । भारतको बैंगलोरमा भएको उक्त सम्झौता पत्रमा एमजिईएसका तर्फबाट भाइस प्रिसिडेन्ट बिमलजित सिंह भासिन एवं एबिआईका तर्फबाट प्रमख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एनबिआई र एमजिईएसले विभिन्न किसिमका तालिम, सम्मेलन र कार्यशाला संयुक्त रुपमा संचालन गर्ने पनि योजना छ । देशको अग्रणी बैंकिङ्ग एकाडेमी एनबिआईले सम्भौता गरेको यस एमजिईएस अन्तर्गतको एकेडेमी अफ बैंकिङ एण्ड फाइनान्सियल सर्भिसेस् भारतकै अग्रणी बैंकिङ्ग एकेडेमी भएको र यसले भारत लगायत एशियाका विभिन्न मुलुकका बैंक, इन्सुरेन्स र अन्य वित्तिय क्षेत्रका गरी ६० हजार भन्दा बढी कर्मचारीहरुलाई तालिम दिइ सकेको छ । हाल यस एकेडेमीसँग ४० भन्दा बढी विभिन्न बैंक तथा वित्तिय संस्थाहरु आवद्घ भई दक्ष जनशक्ति विकास गर्ने कार्यमा जुटेका छन् । एमजिईएस आफ्नो आवासिय तालिमहरु जयपुर र बैंगलोरमा अवस्थित अन्तराष्ट्रिय स्तरको क्याम्पसहरुबाट दिने गरेको छ ।

स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता १८३० रुपैयाँ मात्र

काठमाडौं । सोमबार स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ दशमलब ६६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १८३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १७९८ रुपैयाँ रहको थियो ।