बैंकिङ प्रणालीमा तरलता बढेर ६३ अर्ब पुग्यो
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको छ । दशैलगतै घटेर ४२ अर्ब रुपैयाँ सीमित भएको तरलता बुधबार पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको छ । बैंकिङ प्रणालीमा तरलता बढेपछि बुधार नेपाल राष्ट्र बैंकले बजारबाट ५ अर्ब रुपैयाँ उठाएको छ । एक साताका लागि प्रशोचन गरिएको तरलता कात्तिक ८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको राष्ट्र बैंककी निर्देशक सीता अधिकारीले बताइन् । विकास न्युजसंग कुरा गर्दे उनले दशैको पैसा बजारमा आएको र केही समयअघि राष्ट्र बैंकले एक महिने निक्षेप उपकरणमार्फत उठाएको मध्ये १२ अर्ब रुपैयाँ परिपक्व भई पैसा बजारमा गएपछि तरलता बढेको जानकारी दिइन् । ४ पटक गरेर राष्ट्र बैंकले बजारबाट १६ अर्ब रुपैयाँ उठाइसकेको छ । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । तरलता बढेपछि बैंक तथा वित्तीय संस्थाले कर्जा र निक्षेपको ब्याज दर पनि घटाउदै गएका छन् ।
लक्ष्मी पूजामा देशभर झिलिमिलि, लोडसेडिङ नभएको प्राधिकरणको भनाई
काठमाडौं । आज लक्ष्मी पूजाको दिन । साँझ देशभरी झिलिमिलि बत्ती बालिन्छ र खुशीयाली मनाईन्छ । लक्ष्मी पूजाको समयमा झिलिमिलि उज्यालो बाँढ्न र नेपालीहरुको खुशीयालीमा साथ दिन नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु खटिरहेका छन् । वर्षकै सबैभन्दा बढी बिजुली माग हुने तिहारमा लोडसेडिङ हुन नहुनुलाई वर्षभरी नै लोडसेडिङ नहुने शुभ संकेतको रुपमा पनि लिइन्छ । प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठका अनुसार आज लक्ष्मीपूजाको दिन बिजुलीको माग बढेर १ हजार ५५० मेगावाट पुग्ने अनुमान गरिएको छ । भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति भईरहेको छ । उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेर देशभर सर्बसाधारणको घरमा विजुली आपूर्ति गर्ने विधि प्राधिकरणले अपनाएको छ । साँझमा उद्योगको ३ सय मेगावाट बिजुली काटेर सर्वसाधारणको घरमा विजुली पठाइएको प्राधिकरणले जनाएको छ । भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पूर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहार भर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफ्युल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ । गत वर्ष लक्ष्मीपुजाको दिन बिजुलीको माग १ हजार ४४४ मेगावाट थियो । गत वर्ष काठमाडौं उपत्यकामा मात्रै लोडसेडिङ मुक्त भएको थियो । यस वर्षभने देशभर नै लोडसेडिङ नहुने प्राधिकरणले जनाएको छ । ‘प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित उच्च तहका प्राविधिकहरु लक्ष्मी पूजाको दिन विद्युत आपूर्ति नियमित गर्ने उदेश्यका साथ फिल्डमा खटिनु भएको छ, प्राविधिक समस्या आएका ठाउँमा बाहेक अन्त लोडसेडिङ हुँदैन’ श्रेष्ठले विकासन्युजसँग भने । आज भक्तपुर जिल्लामा भने प्राविधिक गडबढीका कारण ठाउँगाउँमा विद्युत आपूर्ति हुन नसकेको बताइएकाे छ ।
झापामा फूल नफुल्दा अभाव, एक करोड रुपैयाँको आयात
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि एक करोड रुपैयाँको फूल आयात हुने भएको छ । तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा भारतबाट वर्षेनी फूलको आयात बढ्दै गएको छ । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले झापामा तिहारका लागि यस पटक एक करोड रुपैयाँ बराबरको फूल आयात हुने जानकारी दिए । “झापामा मागअनुसारको १० प्रतिशत पनि फूल उत्पादन हुँदैन”, उनले भने, “व्यावसायिक रुपमा फूलखेती नहुँदा वर्षेनी मोटो रकम भारत जाने गरेको छ ।” उनले फूलको व्यावसायिक खेतीका लागि किसानलाई सरोकारवाला निकायले प्रोत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने जोड दिए । त्यस्तै, जिल्लामा तिहारको प्रयोजनका लागि १० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको केन्द्रीय सदस्य डालमियाले जानकारी दिए। “चीनबाट एलइडी बल्ब भएको झिलिमिली बत्ती बढी आयात हुने गरेको छ”, उनले भनिन्, “यसको माग बजारमा बढी छ, यो ‘युज एण्ड थ्रो’ किसिमको हुन्छ ।” भारतबाट पनि अत्यधिक मात्रामा झिलिमिली बत्ती आयात हुने गरेको छ । नेपाली उपभोक्ताले भारतको सीमावर्ती बजारबाट पनि सोझै फूल र झिलिमिली बत्ती किनेर ल्याउने गरेका छन् । नेपाली बजारभन्दा सस्तो हुने भएपछि उनीहरु किनमेलका लागि त्यता जाने गरेका हुन् । यता, फूलको व्यावसायिक खेती नहुँदा र गाउँघरमा लगाइएको फूल पनि पर्याप्त मात्रामा नफूल्दा यस वर्ष झापामा फूलको अभाव देखिएको छ । भद्रपुर नगरपालिका–८ की कल्पना पाण्डेले अघिल्लो वर्षझैँ आफूले फूल लगाए पनि छिटफुट रुपमा मात्र फुलेको बताए । “लक्ष्मी पुज्नदेखि भाइटीकासम्म फूल नभई हुँदैन”, उनले भनिन्, “बजारमा पनि फूलको मूल्य बढेको छ । घर–आँगनमा सयपत्री फुलेर तिहारको पूर्व संकेत गर्ने गरेपनि यस वर्ष त्यस्तो नभएको सोही स्थानकी बिना श्रेष्ठले बताइन् । “घरलाई चाहिने पुगेर पनि छिमेकीलाई थोरबहुत दिन पुग्थ्यो”, उनले भनिन्, “यसपालि त के भयो फूल नै राम्ररी फुलेन ।” अघिल्लो वर्ष प्रतिमाला रु २० देखि ५० सम्म खरिद गरिएको फूल यस वर्ष रु ८० देखि १०० सम्म पर्ने गरेको छ । पर्याप्त मात्रामा फूल उत्पादन नभएपछि यहाँका व्यापारीले प्लास्टिकको फूल बढी आयात गरेका छन् । बिर्तामोडका व्यवसायी दीपक शाहले सयपत्री फूल नहुँदा भारतबाट प्लास्टिकको माला ल्याएर बेचिरहेको बताए । रासस
देवी एक: रुप अनेक, नेपालमा मात्र होइन विदेशमा पनि मनाइन्छ लक्ष्मी पूजा
काठमाडौं । तिहारको अवसरमा हाम्रो देशमा सबैका घरमा लक्ष्मी पुजा हुने गरेको छ । तर एउटा अनौठो कुरा – धेरैलाई थाहा नहुन पनि सक्छ । विदेशमा पनि फरक फरक ढंगले लक्ष्मी पुजा गरिन्छ । यद्दपी नेपालमा जस्तो अन्य मुलुकमा विष्णुकी पत्नी र कमलको फुलमा विराजमान देवीको रुपमा लिइदैन । पौराणिक कथा अनुसार, एकपटक लक्ष्मी धर्तीवासीसँग रिसाएर धरतीमा अन्नको उत्पादन नै बन्द भएको थियो । भोकले मानिस तड्पिन थाले । जब लक्ष्मीको रिस मरेपछि अन्नपूर्णको रुपमा प्रकट भएको भक्तहरुको भोक मारेको किंवदन्ती छ । रोममा लक्ष्मी मातालाई अन्नपूर्णको रूपमा पुजा गरिन्छ । अन्न प्रदान गर्ने लक्ष्मी देवीलाई सिरिनदेवीको नामले पनि चिनिन्छ । गाईलाई हिन्दू धर्ममा माता लक्ष्मीको रुपमा मानिन्छ । संसामार दूधको सर्वाधिक उत्पादन गर्ने देश डेनमार्कमा गाईलाई नै खुशी र समृद्धिको देवि मानिन्छ । हिन्दुधर्ममा उल्लुलाई लक्ष्मीको बाहान भनिन्छ । तर यूनानको धार्मिक ग्रन्थअनुसार लक्ष्मीको बाहान मयुर हो। यूनानमा देवी लक्ष्मीलाई हेरा वा जूनो नामबाट परिचित मानिन्छ । हेरा आकाशमा रहन्छिन् र खेतलाई हरियो परियो राख्छिन् । कृषिकी देनी जूनो लाई ग्राम लक्ष्मीको उपमा दिइन्छ । हामी हातमा कमल भएकी लक्ष्मीको पुजा गर्छौं, तर मिस्रमा लक्ष्मीको हातमा साप धारण गरिएको हुन्छ । यी देवीले संकटमा रक्षा गर्ने मिस्रवासीहरुको विश्वास छ । यी देवीको कृपाले सुख, सम्पत्ती र खुशियाली आउने विश्वास छ । फ्रान्समा लक्ष्मीलाई फ्लोरा देवीको नामबाट चिनिन्छ । उनको श्रृंगारपनि फुलबाट गरिन्छ । किंवदन्ती अनुसार फ्लोरा देवी भक्तजनहरुलाई जीवनमा खुशियालीको बहार ल्याउछिन् । फ्रान्समा महिलाहरु फ्लोरा देवीको कृपा पाउनका लागि फुलले कपाललाई सजाउने गर्छन् ।
आज धनधान्यकी देवी लक्ष्मीको पूजा, लक्ष्मीपूजा गरेपछि किनमेल गर्न नहुने
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर लक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए। आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए । रासस
जगदम्बा सिमेन्टले उत्पादन दोब्बर वृद्धि गर्ने, वीरगञ्जमा स्तरवृद्धि र भैरहवामा नयाँ उद्योग थप्दै
काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले उत्पादन क्षमता दोब्बर वृद्धि गर्न लागेको जनाएको छ । कम्पनीले विरगञ्जमा रहेको उद्योगको क्षमता विस्तार गर्न लागेको र भैरहवामा नयाँ उद्योग खोल्ने लागेको छ । कंम्पनीका प्रवन्धक निर्देशक विष्णुप्रसाद न्यौपानेका अनुसार कम्पनीले निकट भविष्यमा दैनिक १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने तयारी थरिरहेको छ । उनका अनुसार शुभश्री जगदम्बा सिमेन्टले हाल प्रतिदिन २४ हजार बोरा उत्पादन गर्दैै आएकोमा निकट भविश्यमा नै प्रतिदिन ५२ हजार बोरा सिमेन्ट उच्पादन गर्न लागेको छ । त्यसैगरी कम्पनीले चाँडैनै तेस्रो उद्योग रुपन्देहीमा स्थापना गरी हरेक दिने ६० हजार बोरा बोरा प्रतिदिन उत्पादन थप्ने कार्य अगाडि बढिसकेको छ । आगामी दिनहरुमा जगदम्बा सिमेन्टले प्रतिदिन १ लाख १२ हजार बोरा उत्पादन पुरयाउने लक्ष्य लिएको न्यौपानेले बताए । उत्पादन क्षमता वृद्धिसँगै कम्पनीले विश्वको उच्चस्तरीय प्रविधि एफएलस्मीथ, डेनपार्कको भर्टिकल रोलर मिल प्रयोग गरेको उनले बताए । नयाँ प्रविधिको प्रयोगसँगै शुभश्री जगदम्बाबाट उत्पादन हुने ओपीसी तथा पीएससी सिमेन्ट अबका दिनहरुमा अझ बढी गुणस्तर तथा उपभोक्तामैत्री हुने उनले बताएका छन् । यही असोज २८ गते विरगञ्जमा आयोजित कम्पनीले आफ्ना डिलर तथा च्यानल पार्टरको सम्मेलनमा कम्पनीले क्षमता विस्तार गर्न लागेको बारेमा न्यौपानेले कम्पनीको योजना सार्वजनिक गरेका हुन् । कम्पनीले हाल १० भन्दा बढी ब्राण्ड उत्पादन गर्दै आएको र ६०० भन्दा बढी च्यानल पार्टनरहरु रहेको जनाएको छ । करिब २०० भन्दा बढी च्यानल पार्टर उपस्थिति रहेको उक्त कार्यक्रममा जगदम्बा सिमेन्टकोका अध्यक्ष शंकरलाल अग्रवाल, प्रवन्ध निर्देशक बिष्णुप्रसाद न्यौपाने, कार्यकारी निर्देशक राजेश अग्रवालले च्यानल पार्टनरहरुलाई विभिन्न पुरस्कारद्धारा सम्मान गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक राजेश अग्रवालले हाम्रो घर मोवाईल एपद्धारा कम्पनीका च्यानल पार्टनर लगायत उपभोक्तालाई पनि सहज र सर्वसुलभ रुपमा सेवा प्रदान गर्नेमा कम्पनी कटिबद्ध रहेको र भावी दिनहरुको आफ्ना संजाल उद्योग, प्रविधी तथा सुविधालाई अझ बढी सशक्त र प्रभावकारी बनाउदै नेपालकै अर्थतन्त्रमा ठूलो योगदान गर्ने धारणा राख्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको ऋखला रहिरहने बताए ।
नेप्सेमा ९ कम्पनीले बुझाए नविकरण शुल्क, अझै ३३ कम्पनीको बाँकी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भई नियमित कारोबार गरिरहेका मध्ये ९ वटा कम्पनीले बुधबार वार्षिक नविकरण शुल्क बुझाएका छन् । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडलगायत ९ वटाले नविकरण शुल्क बुझाएका छन् । नियमित कारोबार गरिरहेका मध्ये ७ वटाले अझै बुझाउन बाँकी रहेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । नविकरण शुल्क बुझाउने अन्तिम दिन मंगलबार नियमित कारोबार गर्ने १६ कम्पनीले नबुझाएका थिएनन् । शुल्क नबुझाएपछि बुधबारदेखि कारोबार रोक्का भएको छ । शुल्क बुझाउनेको मात्र कारोबार खुलेको छ । नेप्सेमा सुचिकृत मध्ये १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो । कात्तिक १ गतेदेखि थप २३ वटा कम्पनीको सेयर कारोबार बन्द हुने भएको थियो । पुरानो समेत गरी अब ३३ कम्पनीले नविकरण शुल्क बुझाउन बाँकी छ । धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो । लामो समयदेखि सूचिकरण नविकरण नगरेका र सेयर कारोबार बन्द भएको कम्पनीहरुमा क्यापिट मर्चेन्ट बैंक एण्ड फाइनान्स, हिमालयन फाइनान्स, अरुण बनस्पती उद्योग, विराट शुज, बुटबल धागो कारखाना, फ्यूर हिमालयन, गोरखकाली रवर उद्योग, हरिसिद्धि ईटा तथा टायल कारखाना, ज्योति स्पीनिङ मिल्स, नेपाल विटुमिन तथा व्यारेल उद्योग, भृकुटी कागज उद्योग, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वायर हाउस कम्पनी रहेका छन् । यी मध्ये क्यापिटल मर्चेन्ट, हिमालय फाइनान्स, विराट सुज, बुटबल धागो, हरिसिद्धी इँटा, ज्योति स्पिनिङ मिल्स, भृकुटी, नेपाल ट्रेडिङ र नेपाल वायर कम्पनी बन्द भइसकेका छन् ।
साल्ट ट्रेडिङको एक लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । बुधबार साल्ट ट्रेडिङ करपोरेसनको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको एक लाख ६४ हजार १४४ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ रहेको छ ।