विकासन्युज

नेपाल र जोर्डनबीच श्रम सम्झौता कार्यान्वयनका लागि प्राविधिक समिति बन्ने

काठमाडौं । नेपाल र जोर्डनबीच भएको श्रम सम्झौता कार्यान्वयनका लागि दुई देशका सहसचिवस्तरको प्रतिनिधित्व रहने गरी संयुक्त प्राविधिक समिति गठन गरिने भएको छ । सम्झौता कार्यान्वयनका लागि तथा जोर्डनमा काम गर्ने नेपाली कामदारसँग सम्बन्धित विषयमा छलफल गर्न दुवै मुलुकका श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समिति गठन गरिने व्यवस्था रहेको श्रम तथा रोजगार मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिको बैठक वर्षमा एक पटक बस्ने व्यवस्था गरिएको छ । श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर र जोर्डन सरकारकातर्फबाट श्रम तथा रोजगारमन्त्री अलि अल गेजावीले जोर्डनस्थित श्रम मन्त्रालयमा यही कात्तिक १ गते सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार जोर्डनमा रोजगारीका लागि जाने नेपाली कामदारको हकमा समेत निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था हुने भएको छ । यसअघि दुई वर्षअघि सरकारले खाडीका कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स, ओमन, कुबेत र मलेसियाका लागि निःशुल्क टिकट र प्रवेशाज्ञा लागू गरेकामा सम्झौतापछि अब जोर्डनको हकमा समेत सोही व्यवस्था लागू भएको हो । नेपाल र जोर्डनबीचको सम्झौतामा दुई पक्षबीच शून्य लागतमा कामदार छनोट, स्तरीय रोजगार करारनामाको वैधानिकता, न्यूनतम तलब, करारनामा अवधिको बीमा, दुवै पक्षको दायित्व बहनजस्ता व्यवस्था रहेको बताइएको छ । सम्झौतामा रोजगारदाता र कामदारको बीचको विवाद छिटो समाधान गर्न संयन्त्र गठन गर्ने तथा नेपाली कामदारको हकहित, सुरक्षा र मर्यादित रोजगारीको प्रत्याभूति गर्ने व्यवस्था रहेको पनि जनाइएको छ । नेपालले जोर्डनमा वैदेशिक रोजगारीका लागि खुला गरे पनि श्रम सम्झौता हुन नसकेकाले त्यहाँ कार्यरत नेपालीको श्रमसमस्या समाधान हुन कठिन पर्दै आएको थियो । जोर्डनमा हाल करिब आठ हजार नेपाली गार्मेन्ट तथा सेवा क्षेत्रमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ । नेपालले रोजगारीका लागि १०९ मुलुक खुला गरे पनि हालसम्म कतारसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएकामा जोर्डन समेत थपिएको हो । बहराइन, दक्षिण कोरिया, युएइ र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । रासस

एनआइसी एशिया बैंकको स्वीफ्ट कारोबारमा समस्या, अनुसन्धानको लागि राष्ट्र बैंकले टोली खटायो

काठमाडौं । एनआइसी एशिया बैंकको स्वीफ्ट कारोबारमा समस्या देखिएको छ । विदेशी ह्याकरले स्वीफ्ट कारोबारमा आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । तर यसको आधिकारिक पुष्टि भएको छैन । स्रोतका अनुसार असोज ३१ गतेदेखि स्वीफ्ट कारोबारमा समस्या देखिएको छ । कारोबारमा समस्या देखिएपछि एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ । आइतबार कार्यलय खुलेलगत्तै राष्ट्र बैंकले एक टोलीलाई एनआइसी एशिया बैंकको स्थलगत अध्ययन गर्न खटाएको छ । ‘स्वीफ्ट कारोबारमा समस्या भएको र केही कारोबारमा गडबढी भएको भन्ने जानकारी आएकोले अध्ययन गर्न राष्ट्र बैंकबाट एक टोली गएको छ । वास्तविकता एकिन भएको छैन’ राष्ट्र बैंकका उच्च अधिकारीले बताए । उक्त बैंकको कारोबारमा समस्या देखिएको बारेमा अनौपचारिक सूचना आएको तर बैंकबाट औपचारिक जानकारी केही नआएको प्रहरी अनुसन्धान व्यूरोले जनाएको छ । केही समयअघि बंगलादेशमा स्वीफ्ट कारोबार ह्याक गरी ह्याकरले करोडौ डलर बेपत्ता बनाएको घट्ना स्मरण गर्दै बैंकहरु उच्च सर्तकतामा देखिएको स्रोतले बताएका छन् ।

तिहार पछिको सेयर बजार हरियो, ३६ करोडको कारोबार

काठमाडौं । तिहार पछि लगत्तै खुलेको पहिलो दिनको सेयर बजार हरियो भएको छ । तीन दिन पछि आइतबार खुलेको बजारमा नेप्से परिसूचक सामान्य ३.५७ अंकले उकालो लागेर १५७१.९२ अंकमा पुगेको छ । सो दिन ३६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी चिलिमे हाइड्रो पावरको सेयर किनबेच भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०६ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी हाइड्रो समूहको सेयर मूल्य १३ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूह,फाइनान्स र विकास बैंक समूहको पनि परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।

सोल्टी होटलले १५ प्रतिशत बोनस र ६ प्रतिशत नगद लभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले चुक्ता पुँजीको ६.०५ प्रतिशत नगद लभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीको ४३औँ वार्षिक साधारणसभा आगामी मंसिर २८ गते हुने भएको छ । सो प्रयोजनको लागि मंसिर ४ गतेदेखि मंसिर २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्

मोरङ । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन् । तर, भन्सार कार्यालय, सीमा प्रहरी, सशस्त्र प्रहरीको गस्ती टोलीले भने यो विषयलाई सामान्य मान्दै आएको छ । भारतीय सीमा क्षेत्रबाट कवाडी संकलन गर्न दैनिक सयौँ भारतीय नागरिक नेपाल छिर्ने गर्छन् । साइकलमा चोरबाटो भएर आउने उनीहरूले नून, भान्सामा प्रयोग हुने सस्ता प्लास्टिकका सामग्री लिएर आउने गर्छन् । ती सामग्रीसँग उनीहरूले गाउँ–गाउँमा डुलेर कवाडी साट्छन् र भन्सार छलेर साइकलमै भारत छिर्छन् । नेपाली बजारमा रु २० पर्ने आयोनून भारतमा भारु आठ रुपैयाँमा पाइन्छ, त्यस्तै अरु सस्ता सामग्री पनि भारतीयबाटै ल्याएर उनीहरू दिनभर नेपालमा कवाडी संकलन गर्छन् र साँझ भारत फर्कन्छन्, कतिपयले नेपाली बजारमै कवाडी बेच्छन् । पाँच सातजनाको समूह बनाएर गाउँ पस्ने उनीहरूले नूनसँग फलाम, कीट, प्लास्टिक, थोत्रा साइकल, टिभी, पुराना किताब, पत्रपत्रिका र अन्य कवाडीका सामग्री ‘सरी’ (एक किलोमा एक किलो) साट्ने गर्छन् । नगद नै लिन चाहनेलाई फलामको प्रतिकेजी रु १५, कीटको रु १२ र प्लास्टिकको रु आठ दिने गर्छन् । आठ वर्षयता नेपालमा कवाडी व्यापार गर्दै आएका विहारको अररिया जिल्ला कुवाडी गाउँ बस्ने विद्यानन्द पासवानका अनुसार नेपालमा रु १५ मा किनेको फलाम भारतमा भारु १४ मा, रु १२ मा किनेको कीट भारु १२ र आठमा किनेको प्लास्टिक भारु ९ मा बिक्री हुने गर्छ । साइकलमा ८० देखि एक क्विन्टलसम्म कवाडी लिएर भारत फर्किने उनीहरु भन्छन्, “फलाममा प्रतिकेजी साडे सात रुपैयाँ, कीटमा सात रुपैयाँ २० पैसा र प्लास्टिकमा छ रुपैयाँ ४० पैसा फाइदा हुन्छ । दैनिक रु ५०० देखि ७०० सम्म कमाइ हुने बताउँदै विद्यानन्द पासवानले भने, “खेतीपाती छैन, वर्षमा ११ महिना यो व्यापार चल्छ । विद्यानन्द त प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता सयौँ भारतीय कवाडी संकलक मोरङका गाउँ गाउँमा घुमेर कवाडी भेला गर्छन् । कतिपय कवाडी संकलक आफूले ल्याएको नून स्थानीय व्यापारीलाई बेचेर नेपाली कवाडी व्यवसायीसँग पत्रु किनेर पनि आफ्नो व्यापार चलाउने गर्छन् । भारतीय बजारमा आठ भारुमा पाइने आयोनून नेपाली बजारका थोक व्यापारीलाई रु १६ मा बेच्ने गरेको अर्का कवाडी संकलक मोहम्मद उल्लकले बताए । नूनमा रु तीन चार बच्छ, कवाडीबाट राम्रै आम्दानी हुन्छ । मोरङमा मात्र झण्डै ५०० जना कवाडी संकलक रहेको उर्लाबारी–३ स्थित कवाडी व्यवसायी आमोद हुसैनले बताए । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्का कवाडी संकलकहरू फाट्टफुट्ट मात्र देखिने भएकाले उहाँहरूलाई प्रहरीले खासै जाँच नगरेको स्वीकार्नु हुन्छ । उनले भने, “हाम्रो ध्यान नपुगेकै हो । अब जाँच शुरु हुन्छ । विराटनगर भन्सार कार्यालयका तथ्यांक अधिकृत धर्मेन्द्रलाल कर्णका अनुसार आव २०७२÷७३ मा ३१ हजार ४८० केजी पत्रुफलाम, ८९ हजार ८०० केजी रद्दी कागज र थोत्रे प्लास्टिक १२ लाख २१ हजार किलो भारत निकासी भएको थियो । त्यस्तै आव २०७३÷७४ मा पत्रु फलामको निकासीमा उल्लेख्य वृद्धि भएको छ भने रद्दी कागज एक किलो पनि निकासी भएको छैन । २०७३÷७४ मा पत्रु प्लास्टिक ५०० केजी मात्र निकासी भएको छ । आव २०७२÷७३ मा कूल रु एक करोड ३३ लाख ८१ हजारको पत्रुफलाम, प्लास्टिक र रद्दी कागज निकासी गरेको विराटनगर भन्सारले आव २०७३÷७४ मा रु एक करोड ४८ लाख बराबरको पत्रु निकासी गरेको छ । अघिल्लो आवको तुलनामा रु १४ लाख १९ हजारले बढी भए पनि पत्रु प्लास्टिक र रद्दी कागज भन्सारको बाटो भएर भारत निकासी भएको देखिँदैन । रासस

माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब ७ कराेड रूपैयाँ हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लभांशमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । उक्त पुँजीको ९ प्रतिशतका दरले ६६ करोड ५१ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको छ । बाेनस सेयर वितरणपछि बैंककाे चुक्ता पुँजी ८ अर्ब ७ कराेड रूपैयाँ हुने बैंकले जनाएकाे छ । साथै, चुक्ता पुँजीको ६ प्रतिशतका दरले ४४ करोड ३४ लाख रुपैयाँ नगद लभांश दिने भएको छ ।

हेवा खोलाले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने, बिक्री प्रवन्धकमा सानिमा क्यापिटल

काठमाडौं । पाँचथर पावर कम्पनी अन्तर्गतको १४.९ मेगावाटको हेवा खोला ए हाइड्रोपावर प्रोजेक्टले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्ताको लागि सो मात्राको सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयवासीको लागि १० लाख कित्ता र सर्वसाधारणको लागि १० लाख कित्ता गरी जम्मा २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको सेयर निष्कासनको लागि कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । उक्त नियुक्ति सम्बन्धी सम्झौतामा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र पाँचथर पावर कम्पनीका प्रवन्ध सञ्चालक पुष्पज्योती ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेको हुन् । हाल कम्पनीको चुक्ता पुँजी ७६ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत २०७३/१०/२२ गतेदेखी नै विद्युत उत्पादन शुरु गरी आफ्नो बिक्री शुरु गरिसकेको छ ।

यस्ता छन् नुवाकाेटमा काँग्रेस र वाम गठबन्धनका उम्मेदवार

नुवाकोट । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा नेपाली काँग्रेस तथा नेकपा (एमाले) र (नेकपा माओवादी) केन्द्रबीचको बाम गठबन्धनले उम्मेदवार टुंगो लगाएका छन् । दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवैका तर्फबाट उम्मेदवारी दिइने छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा काँग्रेसबाट केन्द्रीय सदस्य डा रामशरण महत र बाम गठबन्धनबाट माओवादीका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ उठ्ने भएका छन् । यस्तै प्रतिधिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा उठ्ने भएका छन् । यस्तै प्रदेशतर्फ क्षेत्र नंं १ मा काँग्रेसबाट जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ र बाम गठबन्धनबाट माओवादीकी राधिका तामाङ तथा प्रदेश नंं २ मा काँग्रेसबाट रमेशकुमार महत र बाम गठबन्धनबाट एमालेका बद्री मैनालीले उम्मेदवारी दिने भएका छन् । प्रदेशतर्फ क्षेत्र नंं १ बाट काँग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र वाम गठबन्धनबाट एमालेका विदेश विभाग सदस्य केशव पाण्डेलाई उठाइने निर्णय भएको छ । प्रदेश क्षेत्र नं २ बाट काँग्रेस क्षेत्रीय सभापति जगतबहादुर तामाङ र वाम गठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष हीरानाथ खतिवडाले उम्मेदवारी दिने निर्णय भएको छ । रासस