विकासन्युज

नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सञ्चालक समितिको प्रस्तावलाई आज अर्थात कात्तिक ७ गते सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । साथै, सोही दिन कम्पनीको सञ्चालक समितिमा चार जना निर्वाचित भएका छन् । कम्पनीको संस्थापक सेयरधनीको तर्फबाट कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँड निविरोध निर्वाचित भएका हुन् । १५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चित रकम पनि बढेर ८ अर्ब ८ करोड रुपैयाँ र सेयरधनी कोष पनि १८ अर्ब ७० करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २४ करोड रुपैयाँ बराबर सञ्चालन मुनाफा कमाएको थियो । जुन अघिल्लो वर्षको भन्दा २६.७ प्रतिशतले बढी हो । त्यस्तै, बैंकको खुदनाफा पनि २२.१ प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । हाल बैंकको निक्षेप एक खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी एक खर्ब ६ अर्ब रुपैयाँ रहेको छ ।  

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जादा प्रधानमन्त्रीले गरे ४ करोड ५५ लाख खर्च

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जादा ४ करोड रुपैयाँ बढी खर्च भएको छ । प्रधानमन्त्री देउवा राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन असोजको पहिलो साता अमेरिकाको न्युयोर्क जादा ४ करोड ५५ लाख ४१ हजार ७४५ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सो भ्रमण खर्च परराष्ट्र मन्त्रालयलमार्फत निकासा गरेको हो ।

प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९७३ रुपैयाँ मात्र

काठमाडौं । मंगलबार प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको थियो ।

बैंकिङ प्रणालीमा ५१ अर्ब तरलता, बुधबार राष्ट्र बैंकले ५ अर्ब उठाउदै

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोलबाट बैकिङ प्रणालीमा रहेको तरलता रिभर्सरिपो उपकरणमार्फत प्रशोचन गर्न लागेको हो । हाल बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेले जानकारी दिइन् । दशैलगतै घटेर ४२ अर्ब रुपैयाँ सीमित भएको तरलता तिहारअघि पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको थियो । तिहाललगतै बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ तरलता रहेको अधिकारीको भनाई छ । राष्ट्र बैंकले एक साताका लागि तरलता प्रशोचन गर्न लागेको हो । कात्तिक १५ गते परिपक्व हुने छ । तिहारअघि प्रशोचन गरेको ५ अर्ब रुपैयाँ बुधबार परिपक्व भएर पुनः बैकिङ प्रणालीमा जाने भएपछि केन्द्रीय बैंकले प्रशोचन गर्न लागेको हो । ४ पटक गरेर राष्ट्र बैंकले बजारबाट १६ अर्ब रुपैयाँ उठाइसकेको छ । यो समेत गरी केन्द्रीय बैंकले २१ अर्ब रुपैयाँ बढी तरलता प्रशोचन गरेको छ । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । गत वर्ष दोस्रो त्रैमाशदेखि लगानीयोग्य पुँजीको अभावले गर्दा वित्तीय घर्षण बढेर बजारमा समस्या आएको थियो । लगानी गर्ने पुँजी नभएपछि बैंकले महंगो ब्याज दरमा ठुलो परिमाणमा निक्षेप उठाएका थिए ।  

सिद्धार्थ इन्स्योरेन्सको कात्तिक १५ गतेदेखि १५ दिन बुक क्लोज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको आगामी कात्तिक १५ गतेदेखि १५ दिनसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी कात्तिक २९ गतेसम्म इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा कात्तिक २९ गते हुने भएको छ । साभामा कम्पनीले २० प्रतिशत बोनस सेयर पछि ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६४ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम भएको पुँजीमा ३५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८६ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।

माउण्ट मकालुले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, कात्तिक १७ गते बुक क्लोज

काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि बैंकले आगामी कात्तिक १७ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ९१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी १९ करोड रुपैयाँ नाघ्ने छ ।

तपाईको गाउँ/शहर प्रदेश सभाको कति नम्बर क्षेत्रमा पर्छ ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । पहिलो चरणको निर्वाचनको लागि ३२ जिल्लामा मनोनयन समेत दर्ता भैसकेको छ । तर अधिकांश नागरिकलाई आफ्नो गाउँ/शहर प्रदेश सभाको कति नम्बर निर्वाचन क्षेत्रमा पर्छ भन्ने समेत जानकारी छैन। राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेपछि मत माग्न गरेको प्रचार प्रसारमा प्रदेश सभा क र ख भनिरहेका छन् । एउटा प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहने प्रावधान छ । (तपाईको गाउँ/शहर प्रदेश सभाको कति नम्बर क्षेत्रमा पर्छ ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ) तर निर्वाचन क्षेत्र निर्धारण आयोगले सार्वजनिक गरेको सूचिमा भने प्रदेश सभामा पनि एक नम्बर र २ नम्बर नै उल्लेख गरिएको छ । निर्वाचन आयोगले प्रदेश सभामा उम्मेदवारी दर्ता गराउँदा भने क र ख उल्लेख गरेको छ ।‘आयोगले प्रदेश सभामा उम्मेदवारी दर्ता गराउँदा निर्वाचन क्षेत्र क र ख भनेको छ, एक र २ नम्बर भन्दा नागरिकलाई बुझाउन कठिन हुने भएकाले क र ख भनेका हौं’, निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले विकासन्युजसँग भने । उता, निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य माधव अधिकारीले प्रदेश सभा निर्वाचन क्षेत्रमा आयोगले १ र २ नम्बर गरि विभाजन गरेको बताए । उनले पुर्वी क्षेत्रलाई १ र पश्चिम क्षेत्रलाई २ नम्बर बनाउने सिद्धान्त अनुसार अधिकांश निर्वाचन क्षेत्र निर्धारण गरिएको जानकारी दिए । ‘हामीले १ र २ गरेका हौं, आयोगले क र ख गरेको छ । प्रतिनिधी सभालाई संघिय भनेका छौं, प्रदेशको लागि प्रादेशिक सभा निर्वाचन क्षेत्र भनेका छौं । नम्बर राख्ने बेलामा सुर्य उदाउने तिर एक नम्बर र घाम अस्ताउने तिर २ नम्बर भनेका छौं’, अधिकारीले भने ।

५ कम्पनीले नविकरण शुल्क बुझाएनन, सेयर कारोबार रोक्का

काठमाडौं । विभिन्न ५ कम्पनीले वार्षिक सुचिकरण नविकरण शुल्क नबुझाएपछि कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचिकृत मध्ये ५ कम्पनीको कारोबार एक सातादेखि रोक्का गरेको छ । कारोबार रोक्का भएका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, महिला सहयात्र माइक्रोफाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक र साझा विकास बैंकले शुल्क नबुझाएपछि कारोबार रोक्का गरिएको हो । शुल्क नबुझाएसम्म कारोबार रोक्का हुने नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले जानकारी दिए । शुल्क नबुझाएपछि नेप्सेले ४२ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । त्यसमध्ये १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो । धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो ।१९ वटा कम्पनीहरुले भने अघिल्ला वर्षदेखि नै सूचिकरण नविकरण गरेका छैनन् । उनीहरुको सेयर कारोबार पनि लामो समयदेखि बन्द छ । लामो समयदेखि सूचिकरण नविकरण नगरेका र सेयर कारोबार बन्द भएको कम्पनीहरुमा क्यापिट मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेड, हिमालयन फाइनान्स लिमिटेड, अरुण बनस्पती उद्योग लिमिटेड, विराट शुज लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड, फ्यूर हिमालयन लिमिटेड, गोरखकाली रवर उद्योग लिमिटेड, हरिसिद्धि ईटा तथा टायल कारखाना लिमिटेड, ज्योति स्पीनिङ मिल्स लिमिटेड, नेपाल विटुमिन तथा व्यारेल उद्योग लिमिटेड, भृकुटी कागज उद्योग लिमिटेड, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वायर हाउस कम्पनी लिमिटेड रहेका छन् ।