विकासन्युज

असन क्षेत्रलाई पनि सवारीमुक्त क्षेत्र बनाइने

काठमाडौं । काठमाडौंको अत्यधिक व्यस्त स्थानका रुपमा रहेका असन क्षेत्रलाई पनि सवारी साधन निषेध क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असन क्षेत्रलाई पनि सवारीसाधन निषेधित क्षेत्र बनाउन लागिएको हो । त्यसका लागि महाशाखाले महानगरपालिकाका प्रतिनिधि तथा व्यवसायीसँग छलफलसमेत शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र ठमेल क्षेत्रमा रहेका विभिन्न व्यवसायी संघ संस्थाको सक्रियतामा यही कात्तिक ५ गतेदेखि ठमेल क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाउने अभियान शुरु गरिएको थियो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठमेल क्षेत्रमा चलाइएको अभियान केही हदसम्म सफल भएपछि असन क्षेत्रलाई पनि ठमेल क्षेत्रजस्तो बनाउन लागिएको जानकारी दिए । “ठमेल क्षेत्रमा हुँदै आएको अव्यवस्थित सवारीलाई कडाइ गरेपछि स्वदेशी तथा विदेशी पर्यटकलाई आवतजावतमा सजिलो भएको छ”– प्रमुख खनालले भने । ठमेल क्षेत्रको अव्यवस्थित सवारी आगमनलाई कडाइ गरेपछि सुरक्षा, पर्यटक, एम्बुलेन्स, दमकलगायतका अत्यावश्यक सवारी साधनलाई आवतजावतमा सहज भएको छ । ठमेल क्षेत्रभित्र घर भएका घरधनी र व्यवसाय गर्ने व्यवसायीलाई ठमेलभित्र भित्रिनका लागि प्रवेश पास वितरण गर्ने कामसमेत शुरु भएको छ । रासस

एनआईसी बैंकको स्वीफ्ट ह्याकबाट चोरी भएकोमध्ये ९० प्रतिशत पैसा फिर्ता, बाँकी आउने क्रममा

काठमाडौं । स्वीफट ह्याकबाट एनआईसी एसिया बैंकको चोरी भएको मध्ये ९० प्रतिशत बढी रकम फिर्ता आएको छ । स्वीफ्ट ह्याक गरेर करिव ४६ करोड रुपैयाँ चोरी भएकोमध्ये अधिकांश रकम फिर्ता भएको र अन्य पनि आउने क्रममा रहेको नेपाल राष्ट्र बैंकका सहप्रवत्ता राजेन्द्र पण्डितले बताए । “पैसा फिर्ता आउने क्रम जारी रहेको छ” उनले भने “अब २ देखि ३ करोड रुपैयाँ जति बाँकी होला ।” ह्याक गरेर पैसा चोरी गर्ने गिरोहको अझै पहिचान नभएको र यस विषयमा अनुसन्धान भइरहेको उनले जानकारी गराए । तिहारको विदाको समयमा बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट सर्भरमा ह्याकरले ह्याक गरी विदेशमा रहेका खाताबाट पैसा चोरी गरेको आशंका गरिएको छ । बैंकले कारोबार शंकास्पद देखिएपछि सर्भर बन्द गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । आईतबार क्रसबोडर कारोबार रोकिए पनि नेपालभित्र बैंकका सबै शाखाहरुबाट नियमित कारोबार भएको  छ । बैंकका निमित्त सीईओ रोशन न्यौपानेले बैंकको सबै समस्याको समधान भइसकेको जानकारी दिए । उनले स्वीफट ह्याकको विषयमा अनुसन्धान भइरहेको बताए । हाल सुरक्षाका कारण स्वीफ्ट कारोबार बन्द गरिएको उनले जानकारी दिए । विकास न्युजसंग कुरा गर्दे निमित्त सीईओ न्यौपानेले विदेशी बैंकले भुत्तानी नगरेपछि पैसा बैंकको खातामा रहेको उनले बताए । बैंकलाई भुक्तानी रोक्न एनआइसीले अनुरोध गरेको थियो । सोमबारदेखि नयाँ सर्भरबाट कारोबार भएको उनले जानकारी दिए । पुरानो सर्भर डाउन गरिएकाले यति रकम गएको भन्न नसकिने उनले स्पष्ट पारे । राष्ट्र बैंक र एनआईसी एसिया दुबैले यसको अध्ययन गरिरहेका छन् ।

३५ प्रतिशत जनतामा उर्जाको पंहुच पुर्याइने

हेटौडा । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले मुलुकका ३५ प्रतिशत जनताको पहुँचमा विद्युतीय ऊर्जा पुयाउने बताएका छन् । उर्जा पुग्न नसकेका जनताबीच विद्युत् उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासबाट युद्धस्तरमा कामको थालनी गर्न सम्बन्धित पदाधिकारीले चिन्तन गर्नुपर्ने उनले बताए । प्राधिकरण क्षेत्रीय कार्यालय हेटाैडाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्देै ऊर्जामन्त्री थापाले मुलुकमा अहिले ऊर्जा शक्ति थप उत्पादन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई ऊर्जा मन्त्रालयले आह्वान गरिसकेको जानकारी दिए । मुलुकमा लोडसेडिङ सधैँका लागि घटाउन अहिले निर्माणधीन कुलेखानी तेस्रो आयोजनालाई यथाशीघ्र निर्माण सम्पन्न गर्न उच्च प्राथमिकताका साथ लाग्नुपर्र्ने उनले बताए । कुलेखानी तेस्रो आयोजना निर्माण शुरु गरिएको १० वर्ष बितिसकेको भए पनि अझ पनि विद्युत् उत्पादन गर्न नसक्नु आयोजनाका पदाधिकारी र निर्माण कम्पनीबीच समझदारी अनुसार निर्माण कार्य शुरु नहुँदा सो आयोजनाले निकै क्षति व्यहोर्न परेकोमा चिन्ता व्यक्त गरे । सो अवसरमा ऊर्जासचिव अनुपकुमार उपाध्यायले देशको विभिन्न क्षेत्रमा विद्युत् उपलब्ध गराइएको भए पनि तराई क्षेत्रमा अवैध रुपमा विद्युत् चुहावट गर्ने प्रविधिलाई नियन्त्रण गर्नुपर्ने र साना/साना जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन गर्न सरकारले दीर्घकालीन योजना बनाइ कार्यान्वयन गर्न लागिएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ घटाउन ऊर्जा चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न कार्यदलको गठन गरिएको जानकारी दिए । ऊर्जालाई थप उत्पादन गर्न मन्त्रालयबाट अनुमति पाएका साना आयोजनालाई यथाशीघ्र विद्युत् उत्पादन गर्ने कार्यलाई सञ्चालनमा ल्याउन र विदेशबाट थप ऊर्जा ल्याई आँद्योगिक क्षेत्रलाई, उपभोक्तालाई विद्युत् वितरण गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरण लागिपरेको बताए । कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुभाष मिश्रले माघको पहिलो साताबाट सो आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । ४ अर्ब ५२ करोड रुपैयाँ लागतमा कुलेखानी तेस्रो आयोजनाको निर्माण भइरहेको छ । रासस

स्वीफ्ट ह्याकिङको बीमा नेपालमा छैन, साइबर क्राइम इन्स्योरेन्स गराउन बीमा समिति तात्दै

काठमाडौं । एनआइसी एसिया बैंकको स्वीफ्ट सर्भर ह्याकिङ गरी ह्याकरले ठूलो रकम चोरी गरेको घट्नाले नेपालको बैकिङ क्षेत्रमा साइवर क्राइम जोखिमको महशुस भएको छ । तर यस्तो जोखिमको बीमा भने नेपालमा छैन । सबै बैंक तथा वित्तीय संस्थाले बैंकको ढुकुटीमा रहेको नगददेखि कर्जा लगानीको लागि लिएको धितोको समेत जोखिम न्यूनिकरण गर्न बीमा गरेका हुन्छन् । तर स्वीफ्ट ह्याकिङ लगायत साइबर क्राइमका जोखिमको बीमा नभएको नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता राजेन्द्र पण्डित बताउँछन् । ‘नेपालमा अहिलेसम्म स्वीफ्ट ह्याकिङ जस्ता साइबर अपराध वापत हुने क्षतिको बीमा भएको छैन, अब भने हामीले पनि सोच्ने बेला भएको छ’, पण्डितले विकासन्युजसँग भने । एनआइसी एसिया बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पनि स्वीफ्ट ह्याकिङबाट उत्पन्न जोखिमको इन्स्योरेन्स नभएको स्पष्ट पारे । ‘स्वीफ्ट ह्याकिङमा कर्मचारीको संलग्नता रहेछ भने त्यसलाई इन्स्योरेन्सले कभर गर्छ, कर्मचारीको संलग्नता नभएको अवस्थामा बीमा कभर हुँदैन’ उनले भने-‘विदेशमा साइबर क्राइमको बीमा गरिन्छ, तर नेपालमा साइभर क्राइम बीमा पोलिसी नै छैन ।’ साइबर क्राइम जोखिमको बीमा गर्न भारतीय कम्पनीहरुले नेपाली बैंकहरुलाई प्रस्ताव गरेको तर नेपालको बीमा नीतिसँग मेल नखाएपछि भारतीय बीमा कम्पनीहरुको प्रस्ताव बैंकहरुले स्वीकार गर्न नसकेको पाईएको छ । ‘साइवर क्राइम बीमाको प्रस्ताव भारतीय कम्पनीबाट आएको थियो तर नेपाली कम्पनीले नेपालको बीमा कम्पनीसँग मात्र बीमा गर्न पाउने नीति रहेछ । नेपाली कम्पनीसँग भने यस्तो बीमा प्रडक्ट रहेनछ’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने । बैंकिङ कारोबारमा हुने साइबर आक्रमणलाई अहिलेसम्म इन्स्योरेन्स पोलिसीमा नसमेटिएको बीमा समितिको कानुन विभागका प्रमुख साम्भराज लामिछानेले बताए । इन्स्योरेन्स कन्सल्टेन्ट एसके टमोटले विदेशमा साइबर अपराधबाट हुने वित्तीय नोक्सानीको पनि बीमा गर्ने चलन रहेपनि नेपालमा भने अझै त्यस्तो व्यवस्था नरहेको बताए । ‘परम्परागत बैकिङ प्रणालीमा हुने जोखिमको बीमा गर्ने अभ्यास छ तर आधुनिक प्रविधिको प्रयोग विस्तारसँगै साइबर अपराधबाट हुने जोखिमको बीमा गरिदैन’, टमोटले भने । बैंकहरुले आफ्नो ढुकुटीमा भएको नगद देखि एक ठाउँबाट अर्काे ठाउँमा नगद स्थान्तरण गर्दासम्म त्यसमा हुने जोखिमको बीमा गरेका हुन्छन् । तर डिजिटल कारोबारमा हुने जोखिम वा साइबर क्राइममा हुने जोखिमको बीमा गरिएको हुँदैन । डिजिटल कारोबारमा आएको वृद्धि र त्यसभित्र हुने जोखिमलाई ध्यान दिदै त्यस्ता जोखिमको बीमा गर्ने समय आएको टमोट बताउँछन् । त्यसका लागि बीमा समिति, बीमा कम्पनीहरु र पुर्नबीमा कम्पनीहरु मिलेर काम थाल्नु पर्ने उनले बताए । नेपाल बैंकिङ इन्स्टिच्युट(एनबिआइ)का प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले पनि नेपालको बैंकिङ कारोबार साइबर क्राइमको जोखिममा रहेकाले बीमा गराउनेबारे तत्काल ठोस कदम चाल्नुपर्ने बताए । ‘नेपालको मुद्रा परिवत्र्य (कन्भर्टिबल करेन्सी) होइन, त्यसकारण यहाँ बाह्य साइबर आक्रमणको जोखिम कम देखिन्छ, नत्र अहिलेसम्म ठूलै समस्या आइसक्थ्यो । अब भने हाम्रो प्रविधिलाई बलियो बनाउने र जोखिमको इन्स्योरेन्स गर्नेबारे ठोस कदम चाल्नुपर्छ’, एनबिआईका प्रमुख कार्यकारी अधिकृत सुब्बाले भने । उनले बैंकिङ क्षेत्रमा ठूलो जोखिम आउनुअघि समस्या समाधानका लागि सोच्नुपर्ने सुझाव पनि दिए । ‘यो नेपालको विश्वसनिय क्षेत्र हो, यसमा ठूलो जोखिम आउनु र विश्वसनियतामा प्रश्न उठ्नु अघि नै सम्भावित जोखिमको निदान गर्नुपर्छ’, सुब्बाले भने । तात्यो बीमा समिति एनआईसी एसिया बैंकमा स्वीफ्ट ह्याकिङ भएपछि त्यस्तो क्षतिको बीमा गराउनेबारे बीमा समितिले गृहकार्य अघि बढाएको छ । समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर साइबर अपराध मार्फत वित्तीय क्षेत्रमा हुने क्षतिको बीमा गराउनेबारे छलफल गर्न लागेको हो । ‘समितिले बीमा कम्पनीका सिईओहरुलाई बोलाएर स्वीफ्ट ह्याकिङ जस्ता अपराधबाट वित्तीय क्षेत्रमा पुग्ने क्षतिको बीमा कसरी गराउन सकिन्छ, कसरी पोलिसी बनाउन सकिन्छ भनेर छलफल गर्न लागेको छ, केहि दिनभित्रै त्यस्तो छलफल आरम्भ हुन्छ’, समितिका कानुन विभागका प्रमुख लामिछानेले भने ।

प्रुडेन्सियल इन्स्योरेन्सको कात्तिक १७ गतेदेखि बुक क्लोज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आगामी कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । यस इन्स्योरेन्स आगामी मंसिर १ गते वार्षिक साधारणसभामा जाने भएको छ । सो प्रयोजनको लागि कम्पनीले १५ दिनसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय पारित गर्नको लागि कम्पनीको बैठकले मंसिर १ गते वार्षिक सधारणसभा बोलाएको हो ।

राधी विद्युत कम्पनीले ७ करोडको आइपीओ निष्कासन गर्न पायो बोर्डको अनुमति

काठमाडौं । मंगलबार राधी विद्युत कम्पनीले ७ करोड ६४ लाख रुपैयाँको आइपीओ निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

सवारी साधन कारबाहीबाट ४४ लाख रुपैयाँ बढी राजश्व संकलन

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आवको तीन महिनाको अवधिमा नियम विपरीत सवारी साधन चाउनेलाई कारबाही गरी ४४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । तीन महिनामा सात हजार २०० सवारी चालकलाई गरेको कारबाहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए । गत साउनमा दुई हजार ५०० सवारी चालकलाई कारबाही गरी १२ लाख ३५ हजार रुपैयाँ, भदौमा दुई हजार ५९८ सवारी चालकलाई कारबाही गरी १६ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी प्रमुख वाग्लेले बताए । उनका अनुसार असोजमा दुई हजार ६०० सवारी चालकलाई गरिएको कारबाहीमा १५ लाख ५७ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । रासस

तीन महिनामा २६३ पसल अनुगमन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आवको तीन महिनामा २६३ वटा पसलमा अनुगमन गरेको छ । चाडपर्वका समयमा बजारमा कालोबजारी गर्ने, मूल्यमा मनोमानी गर्ने लगायतका काम हुने भएकाले बजार अनुगमनलाई तीव्र बनाइएको हो । अनुगमनका क्रममा कालोबजारी गर्ने एक पसलेविरुद्ध मुद्दा दर्ता गरिएको बजार अनुगमन अधिकृत ओमनारायण शर्माले जानकारी दिए । सो क्रममा ६ वटा औषधि पसल, दुईवटा पाउरोटी उद्योग, चारवटा अमिलो उद्योग बन्द गराइएको थियो । म्याद नाघेका, अखाद्य बस्तु बिक्री गरेको, अनुमति नलिइ सञ्चालन गरेका कारण बन्द गराइएको उनले बताए । यस्तै पाँचवटा पसलको नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको शर्माले बताए । अनुगमनका क्रममा ११२ बोतल तार्पिन तेल, ६७३ बोतल हल्का पेय पदार्थ र ८० प्याकेट बिस्कुट नष्ट गरिएको उनले बताए । तीन जनालाई सचेत गराइ छाडिएको शर्माले बताएका छन् । अघिल्लो आर्थिक वर्षको सोही समयमा २८५ वटा पसलमा अनुगमन गरिएको थियो । सो अनुगमनका क्रममा ५६ जनालाई सचेत गराइ छाडिएको थियो । कार्यालयकाअनुसार अहिले अघिल्लो आव र चालु आवका गरी ३५ वटा मुद्दा दर्ताको तयारी गरिएको छ । रासस