गुरुप्रसाद न्यौपानेको दलिल, ठूलो लगानी चाहिएपछि त्रिशुली गल्छीको क्षमता घटाउन लागिएको हो
काठमाडौं । लगानी जुटाउन नसकेपछि गुरुप्रसाद न्यौपाने अध्यक्ष रहेको सिद्धकाली पावर लिमिटेडले त्रिशुली–गल्छी जलविद्युत आयोजनाको क्षमता घटाउन लागेको छ । आयोजनाको जडित क्षमता ७५ मेगावाटबाट ५० मेगावाट घटाएर २६ मेगावाटमा सीमिति गर्न लागेका हो । विद्युत विकास विभागमा मंगलबार सिद्धकालीले ८ किलोमिटर लामो ८.१ मिटर लामो सुरुङ हुदा जोखिम बढेको र ठुलो लगानी आवश्यक भएको भन्दै क्षमता घटाएर २६ मेगावाट बनाउन लागेको जानकारी दिएकाे छ । न्यौपानेले ७५ मेगावाट आयोजना बनाउन भन्दै करोडौ रुपैयाँ उठाएका छन् । सिद्धकालीले सुरुङ विनै आयोजना निर्माणको प्रस्ताव गरेको छ । भारतको डिजाइन ग्रुप कन्सल्टेन्ट कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले आयोजना आर्थिक रुपमा आकर्षक देखाएको छ । आयोजनाबाट बैंक तथा वित्तीय संस्था पछि हटेपछि आयोजनाको क्षमता घटाइएको तर्क सिद्धकालीको छ । यसअघि लक्ष्मी बैंकको अगुवाइमा आयोजनामा लगानी गर्ने सहमति भएको थियो । यसअघि डलर अर्बपति विनोदकुमार चौधरीले आयोजनामा लगानी गर्ने भनेकोमा उनी पछि हटेपछि आयोजना अन्यौलमा परेको छ । कम्पनीका अध्यक्ष न्यौपाने अहिले लगानीकर्ता खोज्दै हिडेका छन् । पीपीए भइसकेको र सरकारले विद्युत उत्पादन लाइसेन्स दिइसकेको अवस्थामा कम्पनीले आयोजना बनाउनलाई लगानी जुटाउन सकेको छैन् । सिद्धकालीको सञ्चालकमा बुहारी पुजा दाहाल र छोरा सतिश न्यौपाने छन् । सरकारले सिद्धकालीलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । नेपाल विद्युत प्राधिकरण र सिद्धकालीबीच आयोजनाबाट उत्पादन हुने बिजुली खरिदविक्रि सम्झौता (पीपीए) भइसकेको छ । जसअनुसार हिउँदको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । आयोजनाको ८० प्रतिशत स्वामित्व अपि पावर लिमिटेडको छ । अपिले सुदुरपश्चिममा साढे ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । अपीले यही आयोजना बनाउ हकप्रद सेयर निष्कासनको तयारी थालेको थियो ।२ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छैन् ।आयोजनाको बाँध नुवाकोटको रातमाटे र विद्युतगृह धादिङको कल्लेरी गाविस स्थित हाँडीखोलाटारमा हुने छ ।
मंगलबारदेखि सानिमा इक्विटी फण्ड आउदै
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले मंगलबारदेखि सानिमा इक्विटी फन्ड निष्कासन गर्ने भएको छ । सानिमाले प्रति एकाई १० रुपैयाँ दरका १ अर्ब २० करोड रुपैयाँको १२ करोड एकाईको बिक्री खुला गर्न लागको हो । सानिमा बैंक कोष प्रबर्धक र सानिमा क्यापिटल योजनामा व्यवस्थापक रहेको छ । ७ वर्षे बन्दमुखी यस योजनामा कुल ईकाईको १५ प्रतिशत अर्थात १ करोड ८० लाख एकाई कोष प्रवर्धक सानिमा बैंक तथा व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको छ । १० करोड २० लाख एकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । निष्कासन छिटोमा मंसिर १५ गते शुक्रबार हुने छ । यस योजनामा सहभागी हुन चाहने व्यक्तिले मंसिर १५ गतेसम्ममा आवेदन दिन सक्नेछन् । योजनामा न्यूनतम १ सय इकाई अर्थात १ हजारदेखि अधितकत २४ लाख ईकाई अर्थात २ करोड ४० लाख रुपैयाँसम्म लगानी गर्न सकिने सानिमाले जनाएको छ ।
गुहेश्वरी मर्चेण्टले पनि सुरु गर्यो सि-आस्वा, अब घरमै बसेर सेयर भर्न सकिने
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले पनि अब देखि सि-आस्वा मार्फत सेयरमा आवेदन दिन सकिने सुविधा दिएको छ । यस फाइनान्सले हालै मात्र सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँग सि-आस्वा सेवा दिने सम्झौता गरेको हो । फाइनान्सले सम्पूर्ण ग्राहकलाई सि-आस्वा सेवाका लागि कस्टुमर रिफ्रेन्स नम्बर लिन भनेको छ । सो नम्बरका लागि कुनै शुल्क नलाग्ने समेत फाइनान्सले जनाएको छ । सि-आस्वा मार्फत सेयरमा आवेदन दिँदा भने २५ रुपैयाँ शुल्क लाग्नेछ । कस्टुमर रिफ्रेन्स नम्बरको प्रयोग गरी मेरो सेयर एप्लिकेसन मार्फत अनलाइन आवेदन दिन सकिनेछ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. को सबै शाखाबाट सि-आस्वा सुविधा प्रयोग गर्न सकिने फाइनान्सले जानकारी दिएको छ । अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाइल तथा कम्प्युटरबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सि-आस्वा भनिन्छ । यो प्रणालीबाट सेयर आवेदन दिनका लागि लगानीकर्ताले आफ्नो खाता भएको फाइनान्स सम्म गएर सुरुमा सि-आस्वा सेवा लिनुपर्छ । त्यसपछि फाइनान्सले लगानीकर्ताको पहिचान गरेर सफ्टवेयरमा भेरिफिकेसन गरी दिेनेछ । लगानीकर्तालाई भेरिफिकेसन कोड नम्बर दिएपछि त्यही कोड नम्बरको प्रयोग गरेर फाइनान्स सम्म नगई घरमै बसेर आइपीओ तथा एफपीओ भर्न सकिनेछ । संस्थाले २०७४ असोज मसान्त सम्म निक्षेप २ अर्ब ५२ करोड तथा कर्जा लगानी २ अर्ब १४ करोड तथा कुल नाफा २ करोड ५० लाख आर्जन गर्न सफल भएको बताइएको छ । संस्थाले कार्तिक १२ गते देखि ४० प्रतिशत हकप्रद शेयर वितरण गरि रहेकोमा हकप्रद शेयरमा समेत आ.व.०७३/०७४ को बोनस शेयर वितरण पश्चात संस्थाको चुक्ता पूँजी ८० करोड पुग्ने फाइनान्सले बताएको छ ।
२ खर्ब चिनियाँ लगानी ल्याउने सम्झौतापछि बीपीसीको सेयर मूल्य बढ्यो
काठमाडौं । चीनका ३ कम्पनीबाट २ खर्ब रुपैयाँ लगानी ल्याई ५ वर्षमा १ हजार मेगावाट बिजुली उत्पादनको सम्झौता गरेपछि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) सेयर मुल्य बढेको छ । चीनियाँ कम्पनीसंग लगानी सम्झौता गर्ने दिन बीपीसीको सेयर प्रतिकित्ता ६२८ रुपैयाँ थियो । त्यसपछि लगातार बढेर अहिले प्रतिकित्ता ६८१ रुपैयाँ पुगेको छ । कारोबार भएको ३ दिनमा बीपीसीको सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँ बढेको छ । सोमबार बीपीसीको मात्र ३ करोड ७१ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । हालसम्म बीपीसीले गत आवमा गरेको नाफाबाट दिने लाभांश घोषणा गरेको छैन् । गत वर्षको हारहारीमा लाभांश दिने तयारी बीपीसीको छ । गत बुधबार बीपीसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब बढी (२ अर्ब डलर) वैदेशिक लगानी ल्याउने सम्झौता गरेको हो । जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर ज्वाइन्ट डेभलपमेन्ट कम्पनी स्थापना भएको छ । कम्पनीका दर्ता बुधबार नै भएको छ । होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २० प्रतिशत र बाँकी चिनियाँको छ । जसअनुसार सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको ५१, चेन्दु सिच्याङ इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्विङयाङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
एनएमबि बैंकद्धारा भिसा प्लेटिनम क्रेडिट कार्ड शुरु, १० लाख रुपैयाँसम्मको क्रेडिट सुविधा
काठमाडौं । एनएमबि बैंकले भिसा प्लेटिनम क्रेडिट कार्ड शुरु गरेको छ । सोमबार एनएमबि बैंक र भिसाले संयुक्त रुपमा उक्त कार्डको शुरुवात् गरेका हुन् । यो शुरुवातसँगै एनएमबि बैंक नेपालमा भिसा प्लेटिनम क्रेडिट कार्डको सेवा प्रदान गर्ने दोस्रो बैंक बनेको छ । नयाँ वितरण गरिएको एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्डमा ईएमभी चीप प्रविधि जडान गरिएको छ, जुन कार्ड विश्वव्यापी रुपमा स्वीकार्य हुनुका साथै कारोबारको प्रमाणिकता, छिटो उपलब्धता, अत्यन्त सुविधादायक र सुरक्षित कारोबारको माध्यमका लागि एक अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम रहेको कम्पनीले जनाएको छ । “हाम्रो उद्देश्य हाम्रा बैंकिंङ्ग सेवाहरुको पहुँच विस्तार गर्नु र धेरैभन्दा धेरै मानिसहरुलाई सर्वोत्कृष्ट वित्तिय समाधानहरु उपलब्ध गराउनु हो । यो कार्डले हाम्रा सेवाग्राहीहरुलाई एक उत्कृष्ट आर्थिक प्रणालीको एक हिस्सा हुनुको फाइदा र वास्तविक लाभको सुविधाको अनुभूति दिलाउनमा मद्दत गर्ने” बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । कम्पनीका अनुसार यस क्रेडिट कार्डमा ५० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, अधिकतम क्रेडिट सुविधा दुई लाख ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म दिइने छ । साथै, प्रमुख व्यापारिक केन्द्रमा सामान खरीद गर्दा मात्र यसमा विशेष छुट र सहज कर्जा सुविधा लगायतका सुविधा दिइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड बैंकले प्रस्ताव गरेको व्यक्तिलाई मात्र उपलब्ध हुनेछ ।
कमोडिटिज मार्केट्स सम्बन्धी नियमावली कार्यान्वयनमा, यस्ता छन् विशेषता
काठमाडौं । कमोडिटिज मार्केट्स सम्बन्धी ऐन र नियमावली कार्यान्वयनमा आएको छ । वस्तु विनिमय वजार सम्बन्धी ऐन र सो सम्बन्धी नियमावली मंसिर ९ गतेदेखि कार्यान्वयनमा आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ ११ गते ऐनमा लाल मोहर लगाएकी थिइन् । ऐनमै लाल मोहर लागेको ९१ औं दिनमा कार्यान्वयनमा आउने उल्लेख थियो । सोही अनुसार बोर्डले ९१ औं दिन अर्थात मंसिर ९ गतेदेखि नियमावली समेत कार्यान्वयनमा ल्याएको हो । हाल नियमनको दायरा बाहिर रहेको कमोडिटिज मार्केट्स अब बोर्डको मातहतमा आएको छ । नेपालको कृषि क्षेत्रको विकासका लागि कमोडिटिज मार्केट्सले ठूलो योगदान दिने अपेक्षा गरिएको छ । यस्ता छन् कमोडिटिज मार्केट ऐन तथा नियमावलीका बिशेषताहरु – वस्तु विनिमयबजार सञ्चालनगर्न कम्पनी संस्थापनागर्नु अघि संभाव्यता अध्ययनप्रतिवेदन,लगानीको स्रोत, सेयर स्वामित्व सम्वन्धी विवरण तथा वस्तुको विद्युतीय कारोबार प्रणालीको सुरक्षाका लागि व्यवस्था लगायतका विवरण सहित बोर्डवाट पूर्व स्वीकृतिको लागि निवेदन पेश गर्नुपर्ने, – त्यस पश्चात अनुमति प्रदान गर्ने र अनुमति प्राप्त गरेको १ सय ८० दिन भित्र न्यूनतम पूर्वाधार तयार गर्नुपर्ने, – वोर्डवाट अनुमतिपत्र लिएर मात्र वस्तु विनिमय वजार सम्वन्धी कार्य गर्न पाइने, न्यूनतम चुक्ता पूँजी सम्बन्धी व्यवस्था निम्नानुसारको हुनुपर्नेः -वस्तु विनिमयबजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापूँजी रु. ५० करोड, -वेयर हाउसको रु. १५ करोड, -राफसाफ तथा फस्र्यौट व्यवसायको रु. ७ करोड -लगानी व्यवस्थापकको रु. ५ करोड, -लगानी परामर्शदाताको रु. १ करोड तथा -वस्तु कारोवार दलालको रु. ५० लाख – देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण, वस्तु विनिमय बजार संचालन गर्न चाहिने साधन/स्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरी वस्तु विनिमय वजारलाई अनुमति दिने, -कसैले पनि वस्तु विनिमय वजारको कूल शेयर पूंजीको ५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न नपाउने, -वस्तु विनिमय बजारको अनुमति लिएको तीनबर्ष सम्म शेयर बिक्री गर्न नपाईने र त्यस पश्चात शेयर स्वामित्व लिएको व्यक्तिले शेयर हस्तान्तरण गर्न चाहेमा बोर्डको पूर्व स्वीकृति लिनुपर्ने, – ऐन तथा नियमावलीले तोकएको योग्यता पूरा गरेको व्यक्तिवा संस्थाले मात्र शेयर स्वामित्व लिन सक्ने, – विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म शेयर स्वामित्व ग्रहण गर्नसक्ने । त्यस्तो स्वामित्व ग्रहण गर्ने विदेशी रणनीतिक साझेदार वस्तु विनिमयबजार सम्बन्धी व्यवसाय संचालन गरेको न्यूनतम तीन वर्षको अनुभव हुनुपर्ने, कारोवार गर्न सकिने वस्तुहरुको सूचि निम्न वमोजिम हुने र वोर्डले आवश्यकता अनुसार थप गर्न सक्ने, (क) कृषिजन्यउत्पादन: कपास, अलैंची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जूट, अदुवा, बेसार, फलफुलतथा सोबाट निर्मित जुस । (ख) धातुजन्य वस्तुः आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंक । (ग) बहुमूल्यधातुः सुन, चाँदी, प्लाटिनम । (घ) खनिजतैलजन्य वस्तु: कच्चा तेल, पेट्रोलियनपदार्थ, प्राकृतिकग्यास, हिटिड्ड आयल । (ङ) तेल: नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्य मुखी तेल, आलसको तेल । (च) अन्य-चिनी, सख्खर, चिया, कफी, अण्डा, जडिबुटी । – कारोवार पूर्व वस्तु करार तयार गरी बोर्डमा दर्ता गर्नुपर्ने, -वस्तु विनिमयबजारले कारोबार शुरु गरेको वा स्थगन गरेको जानकारी लगानीकर्तालाई दिनुपर्ने, -बजार, व्यवसायीले विद्युतीय रुपमा कारोबार गर्न सकिने गरी स्वचालित कारोबार प्रणाली स्थापना गर्नुपर्नेे, – व्यवसायीले ग्राहकको स्पष्ट पहिचान हुने विवरण (केवाइसी) सहितको अभिलेख राख्नु पर्ने, -अनुमतिपत्र प्राप्त संस्थाले बार्षिक, अर्ध बार्षिक तथा त्रैमासिक रुपमा विवरण पेश गर्नुपर्ने, -बोर्डले नियमित रुपमा सुपरिवेक्षण तथाअनुगमन गर्ने, -वस्तु विनिमयबजारले लगानीकर्ता संरक्षण कोष र सेटलमेन्ट ग्यारेन्ट फण्ड स्थापना गर्नुपर्ने व्यवस्था रहेको, -ऐन, नियमावली तथा वोर्डले दिएको निर्देशन पालना नगरेमा, कारोवार रोक, अनुमति पत्र निलम्वन, खारेजी, विगो बमोजिमवा रु १० लाख सम्म जरिवानावा ५ वर्ष सम्म कैद हुन सक्ने ।
सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ नियुक्त
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य नियुक्त भएका छन् । उक्त नियुक्ति सम्बन्धि सम्झौता पत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका हुन् । मह जोडीले प्रत्येक परिवारको लागि जीवन बीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने कम्पनीको विश्वास रहेको छ । साथै, जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्ने कम्पनीले जनाएको छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७४ साल कार्तिक २ गते लक्ष्मीपूजाको दिन देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको छ । साथै, आफ्नो २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन् ।
‘सबैभन्दा द्रुतगतिको इन्टरनेट सेवा दिएका छौं’-सजीन राजभण्डारी, स्मार्ट टेलिकम
काठमाडौं । फोन, इन्टरनेट लगायत सबै प्रकारको दुरसञ्चार सेवा प्रदान गर्न एकिकृत लाईसेन्स पाएको स्मार्ट टेलिकमले पछिल्लो समय सशक्त रुपमा सेवा विस्तार गर्दैछ । कम्पनीले हालै चौथो पुस्ता (फोरजी) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा सञ्चालन गर्ने स्मार्ट टेलिकम तेस्रो दुरसञ्चार कम्पनी हो । ‘स्मार्टको फोरजीको स्पीड फास्ट छ, उपभोक्ताले मन पराएका छन्, नेटवर्क बढाउने चुनौति छ’ स्मार्ट टेलिकमका प्रमुख प्रशासकीय अधिकृत सजीन राजभण्डारीले भने । स्मार्टसेलले आफ्ना ग्राहकका लागि प्रति सेकेण्ड १ पैसामा कल गर्न सक्ने र १ महिनाका लागि भाइबर र ह्वाट्सएपमा निःशुल्क कल गर्न सक्ने योजना ल्याएको छ । कम्पनीका अनुसार ग्राहकले १ जिबी डाटा २३५ रुपैयाँमा ३० दिनसम्म प्राप्त गर्न सक्नेछन् भने १४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्नसक्नेछन् । ‘१० मेगाहर्ज व्याण्डविद क्यापासिटीको फोरजी सेवा भएकोले इन्टरनेट धेरै फाष्ट छ । अरु कुनै पनि कम्पनीको इन्टरनेट सेवा यति फाष्ट छैन’ राजभण्डारीले भने–‘अब टेलिकमको विजनेश भनेको डाटा नै हो । भ्वाइस कल भन्दा डाटाको प्रयोग नै हुने गरेको छ । युवा पुस्ताहरु अनलाईन च्याटमा रमाउँछन् । कुरा गर्न पर्दा पनि म्यासेन्जर, भाईवर, ह्वाट्एपको प्रयोग बढी गर्छन ।’ हाल काठमाडौं र पोखराबाट फोरजी सेवा शुरु गरेको यस कम्पनीले निकट भविष्यमा चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, बीरगञ्ज, विराटनगरमा सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । सहरी क्षेत्रमा होइन, कम्पनीले विकट क्षेत्रमा पनि टावर राख्ने र सेवा विस्तार गर्ने प्रक्रिया जारी रहेको उनले जानकारी दिए । ‘हाल कम्पनीले राजधानीमा टावर थप्ने कार्यलाई उच्च प्राथमिकता छ । कम्पनीले काठमाडौं, पोखरा र चितवनमा कभरेट विस्तार गर्न थप २७० वटा टावर राख्ने तयारीमा छ’ प्रमुख प्रशासकीय अधिकृत राजभण्डारीले भने–‘त्यसपछि कम्पनीले विरगञ्ज, बुटवल–भैरहवा, नेपालगञ्जमा सेवा विस्तार गर्दैछ ।’ सहरी क्षेत्रमा होइन, कम्पनीले विकट क्षेत्रमा पनि टावर राख्ने र सेवा विस्तार गर्ने प्रक्रिया जारी रहेको उनले जानकारी दिए । नयाँ टावर विस्तारको लागि आवश्यक सामाग्री खरिद प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए । नयाँ टावरका सामान खरिददेखि निर्माणसम्ममा प्रति टावर २५ देखि ६० लाख रुपैयाँ खर्च हुने गरेको राजभण्डारीले जनाकारी दिए । ३५ ठाँउमा सेवा प्रदान गर्दै आएको स्मार्टसेल नेपालको तेस्रो ठूलो दुरसञ्चार सेवा प्रदायक संस्था हो । सन् २००८ देखि नेपालमा सेवा सुरु गरेको यो कम्पनीका १५ लाख ग्राहकहरु छन् । हाल स्मार्टसेलको वार्षिक कारोबार करिब ६० करोड रुपैयाँ रहेको छ । ‘बजार प्रशस्त छ र हामी आक्रामक रुपमा सेवा विस्तार गर्दैछौं’ राजभण्डारीले भने । कम्पनी आगामी २ वर्षभित्र नाफामा लैजाने लक्ष्यका साथ काम गरिरहेको छ । सेवा विस्तार गर्न करिव ८० जना कर्मचारी खटिरहेका छन् । अहिलेको स्पीडमा कम्पनी निरन्तर अगाडि बढेको अवस्थामा आगामी ३ वर्षमा स्माट टेलिकम दोस्रो ठूलो कम्पनी हुने उनले बताए ।