विकासन्युज

कमोडिटी मार्केटको चुक्ता पूँजी ५० करोड हुनुपर्ने, के के सामान बेच्न पाइन्छ ?

काठमाडौं । वस्तु विनिमय(कमोडिटी मार्केट) बजार सञ्चालन गर्ने संगठित संस्थाको कुल चुक्ता पूँजी ५० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डले ‘वस्तु विनिमय बजार नियमावली २०७४’ लागू गरी उक्त व्यवस्था गरेको हो । कमोडिटी मार्केटलाई बढी जिम्मेवार र व्यावसायिक बनाउने लक्ष्यका साथ नयाँ नियमावली लागू गरिएको बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता नीरज गिरीले वेयर हाउसका लागि रु १५ करोड, राफसाफ तथा फछ्र्योटका लागि रु सात करोड, लगानी व्यवस्थापकको लागि रु पाँच करोड, लगानी परामर्शदाताका लागि रु एक करोड र वस्तु कारोबार दलालको लागि रु ५० हजार बराबरको न्यूनतम चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरिएको छ । देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण वस्तु विनिमय बजार सञ्चालन गर्न चाहिने साधन, स्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरी वस्तु विनिमय बजारलाई अनुमति दिन त्यस्तो आर्थिक दायित्वसहितको व्यवस्था गरिएको प्रवक्ता गिरीको भनाइ छ । के के सामान बेच्न पाइन्छ ? वस्तु विनिमय बजारमा कृषिजन्य उत्पादनमा कपास, अलैँची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ती, जुट, बेसार, फलफूल, तथा सोबाट निर्मत जुस, धातुजन्य वस्तुमा आल्मुनियम, तामा, शिशा, निकल, पित्तल, फलाम, स्टिल, जिंक रहेको छ । त्यस्तै सुन, चाँदी, प्लाटिनम र खनिज तेलमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल, तेलतर्फ नरिवल, पाम, तोरी, भटमास, सूर्यमुखी, आलस तथा चिनी, सख्खर, चिया, अण्डा र जडीबुटीजस्ता वस्तुसमेत कारोबार गर्न सकिनेछ । बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्नु अघि सम्भाव्यता अध्ययन प्रतिवेदन, लगानीको स्रोत, शेयर स्वामित्वसम्बन्धी विवरण तथा वस्तुको विद्युतीय कारोबार प्रणालीको सुरक्षाका लागि गरिएको व्यवस्थासहित बोर्डबाट स्वीकृति लिनुपर्ने प्रावधान राखेको छ । यस्तै बजारको कुल शेयर पूँजीको पाँच प्रतशितभन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्थासमेत गरिएको छ । वस्तु विनिमय बजारको अनुमति लिएको तीन वर्षसम्म शेयर बिक्री गर्न नपाइने र त्यसपछि शेयर स्वामित्व लिएको व्यक्तिले शेयर हस्तान्तरण गर्न चाहेमा बोर्डको स्वीकृति लिनुपर्ने तथा विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म मात्रै शेयर स्वामित्व ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । रासस

नागबेली लघुवित्तको मंसिर १३ गतेदेखि १३ दिन बुक क्लोज

काठमाडौं । नागबेली लघुवित्त विकास बैंकको मंसिर १३ गते(भोलि)देखि बुक क्लोज हुने भएको छ । कम्पनीको भोलिदेखि आगामी मंसिर २५ गतेसम्म(१३ दिन) बुक क्लोज हुन लागेको छ । साधारण सभामा जाने प्रयोजनको लागि यस लघुवित्तले साेही दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीको वार्षिक साधारणसभा आगामी मंसिर २५ गते हुने भएको छ ।

हकप्रदको हल्लाले चिलिमेको सेयर सबैभन्दा बढी कारोबार, सञ्चालक भन्छन्-तत्काल आउँदैन

काठमाडौं । पछिल्लो समयमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कारोबार वृद्धिसंगै सेयर मूल्य पनि निरन्तर उकालो लागेको छ । गत कात्तिक १५ गते प्रतिकित्ता ७६६ रुपैयाँ रहेको चिलिमेको सेयर झण्डै एक महिना अन्तरालमा बढेर लगानीकर्ताले प्रतिसेयर १९४ रुपैयाँ कमाएका छन् । मंगलबार मात्र चिलिमेको सेयर २१ रुपैयाँले बढेर बढ्दा ४ करोड २३ लाख ३३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । चिलिमेले हकप्रद सेयर ल्याउने हल्ला चलेपछि पछिल्लो समयमा कारोबार बढेको कालिका सेक्युरिटिजका प्रवन्ध निर्देशक नरेन्द्र सिजापति बताउँछन् । “केही सातायता चिलिमेले हकप्रद सेयर निष्कासन गर्ने हल्ला चलेपछि सेयरको मूल्यका साथै सबैभन्दा बढी कारोबार हुन थालेको छ” उनले भने “ अहिलेको अवस्थमा चिलिमेले हकप्रद ल्याउने संभावना म देख्दिन् ।” म्युचल फण्डले चिलिमेको सेयर किनेकाले पनि बजार बढेको हुन सक्ने उनको अनुमान छ । चिलिमेबाट प्राप्त हुने प्रतिफल निश्चित र आकर्षक भएकाले म्युचल फण्डको लगानी यता भएको उनको भनाई छ । चिलिमेका प्रवन्ध सञ्चालक दामोदरभक्त श्रेष्ठ हकप्रद सेयर निष्कासनको कुनै योजना नरहेको बताउछन् । विकास न्युजसंग कुरा गर्दै उनले भने “तत्काल लगानी गर्न नयाँ आयोजना तयार नभएकाले हकप्रद सेयर निष्कासन गरेर पुँजी संकलन गर्ने योजना छैन ।” चिलिमेले हालै दुई वटा आयोजनाको सर्वेक्षण अनुमति पत्र(लाइसेन्स) लिएको छ । तर ती आयोजनाको अध्ययन गरेर निर्माणको चरणमा पुग्न केही समय लाग्ने भएकाले तत्काल हकप्रद सेयर जारी गर्ने सोँच नबनेको उनको भनाई छ । चिलिमेले आउँदो ५ वर्षपछि वार्षिक १ अर्ब रुपैयाँ बढी लाभाँश सहायक कम्पनीबाट पाउने उनले बताए । आगामी वर्षदेखि कम्पनीको संचित कोषमा रहेको साढे ५ अर्ब रुपैयाँ सेयरधनीलाई वितरण गर्ने उनले सुनाए । चिलिमेले आगामी वर्षदेखि वार्षिक २० प्रतिशत आयकर (कर्पोरेट ट्याक्स) तिर्नुपर्ने भएपछि नाफामा भने कमी आउने छ ।

ग्लोबल आइएमई बैंकको ५० औँ शाखारहित बैकिङ्ग सेवा डडेलधुरामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ५० औ शाखारहित बैकिङ्ग सेवा डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिकामा सुरु गरेको छ । उक्त स्थानमा सुरु गरिएको सेवाको लागि स्थानिय नारायणदत्त अवस्थीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५० शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

यती एयरलाइन्सद्धारा यात्रु सेवाको लागि प्रयोग नहुने विमान क्यानलाई हस्तान्तरण

काठमाडौं । यति एयरलाइन्सले आफुसँग भएको यात्रु सेवाको लागि प्रयोग नहुने बीएई प्रणालीको जेटस्ट्रिम ४१ (सिरियल नं. ४१०१७) लाई हस्तान्तरण गरेको छ । एयरलाइन्सले भैरहवा स्थित गौतमबुद्ध विमानस्थलअन्तर्गतको उद्धार तथा अग्नि निवारणको दैनिक अम्यास प्रयोजनार्थ उक्त विमान हस्तान्तरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण नेपालले उक्त विमानलाई अग्नि नियन्त्रण तथा आकस्मिक उद्धार तालिमको लागि प्रयोग गर्ने बताईएको छ । यस्ता विमानप्रयोग गरि प्रदानगरिने तालिमले नेपालका नागरिक उड्डयन क्षेत्रका सरोकारवाला तथा यात्रुहरुलाई फाइदा पुग्नेमा यति एयरलाइन्स विश्वस्त छ । मंसिर ११ गते एक औपचारिक कार्यक्रमकाबिच उक्त विमान हस्तान्तरण गरिएकाे हाे । यति एयरलाइन्सका ग्राउण्ड ह्याण्डलीङ्ग मेनेजर अंकुर जंग राणाले गौतमबुद्ध विमानस्थल ना.उ.कार्यालयका प्रमुख शिशिल चित्रकारलाई उक्त विमान हस्तान्तरण गरेका हुन् । उडान कार्यका अतिरित्त यति एयरलाइन्स देशका नागरिक उड्डयन क्षेत्र तथा समाजको उत्थानकालागि सधै सक्रिय र प्रतिबद्ध रहेको छ । यस भन्दा पहिले नेपालमा कुनै पनि निजी विमान कम्पनीद्धारा यस्ता विमानहरु सार्वजनिक हितकालागि हस्तान्तरण गरेका थिएनन् ।

सेयर बजार दोहोरो अंकले उक्लियो

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको नेप्से परिसूचक बुधबार भने १०.१२ अंकले उकालो लागेर १५२३ अंकमा पुगेको छ । बजारमा अघिल्लो दिनको तुलनामा परिसूचकमा वृद्धि भएता पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन(सोमबार) ६५ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार(आज) जम्मा ५७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम करिब ८ करोड रुपैयाँले घटि हो । चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढीको सेयर किनबेच भएको छ । सो दिन यस कम्पनीको ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६० रुपैयाँ रहेको छ । त्यस्तै, मंगलबार कारोबारमा आएका १० समूहमध्ये ७ समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी अन्य समूहको परिसूचक ३४.४१ अंकले उकालो लागेको छ । उता, ट्रेडिङ समूहको परिसूचक स्थिर रहेको छ भने बीमा र उत्पादनमूलक समूहको परिसूचक राताम्मे भएका छन् । मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ८ प्रतिशत कमाएका छन् ।

चुनाव लगत्तै तराईका बाढी पीडितलाई एकमुष्ठ २५ हजार राहत

काठमाडौं । सरकारले आगामी मंसिर २१ गतेको निर्वाचन लगत्तै तराईका ४१ हजार ६ सय २६ बाढी पीडित परिवारलाई एक अर्ब ४० करोड ६५ हजार रुपैंयाँ वितरण गर्ने भएको छ । सरकारले तराईका बाढी पीडितलाई तत्कालिन राहत स्वरुप १५ हजार र जाडोमा न्यानो कपडा खरिदका लागि थप १० हजार रुपैंयाँ उपलब्ध गराउन लागेको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढी पीडितलाई राहतको १५ हजार र न्यानो कपडा खरिद गर्न थप १० हजार रुपैंयाँ एकमुष्ठ उपलब्ध गराउनेछ । ‘मन्त्रि परिषदले प्राधिकरणको अगुवाईमा रकम वितरण गर्ने भनेको छ, हामीले बजेटका लागि अर्थ मन्त्रालयमा लेखि पठाएका छौं, निर्वाचन लगत्तै वितरण आरम्भ हुन्छ’, प्राधिकरणका प्रवक्ता यमलाल भुषालले विकासन्युजसँग भने । गत साउनको बाढी तथा डुबानका कारण ४१ हजार ६ सय २६ परिवार पुर्णरुपले विस्थापित भएका थिए भने १८ जिल्लाका १ सय ३४ को मृत्यु भएको थियो । गत कात्तिक ६ गतेको मन्त्रिपरिषद बैठकले बाढी तथा डुवान प्रभावित क्षेत्रमा पुनस्र्थापना तथा पुनर्निर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनर्निर्माणको समन्वय गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहने गरी बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना गठन गरेको थियो । अब सोही समितिले चुनावपछि बाढी तथा डुबान पीडितलाई राहत तथा न्यानो कपडाका लागि रकम उपलब्ध गराउनेछ । बाढीले आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको थियो । बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले देखाएको थियो ।

नेपाल सेवा लघुवित्तले एक करोड ८० लाखको आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरणको लागि एक करोड ८० लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । लघुवित्तले मंसिर ७ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो । कम्पनीले एनएमबी क्यापिटल मार्फत आइपीओ निष्काशन गर्ने भएको छ ।