विकासन्युज

सिटिजन्स बैंकको नयाँ वेवसाइट सार्वजनिक, घरबाटै खाता खोल्न मिल्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक वेवसाइट सार्वजनिक गरेको छ । डाइनामिक भर्सनमा स्तर वृद्धि गरिएको यस वेवसाइटलाई जुनसुकै स्मार्ट फोनबाट सजिलै  प्रयोग गर्न सकिने छ । यस वेवसाइटमा घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध रहेको बैंकले जनाएको छ । अनलाइन आस्बा, डिम्याट, केवाइसी, मेरो सेयर, स्मार्ट बैंकिङ जस्ता आकर्षणहरु रहेको योे वेबसाइट अत्यन्तै ग्राहकमुखी रहेको छ ।  जसमार्फत सरोकारवालाहरुले बैंकको बारेमा प्राथमिक जानकारी लिन अब बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । यस नयाँ वेबसाइटको सार्वजनिक गर्ने कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले समयको प्रवाहसंग बैंक चल्दै आएकोे बताएका छन्  ।

सांग्रिला डेभलपमेन्ट बैंकको लघुुवित्त सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले आफ्ना लघुुवित्त विभागका कर्मचारीहरुलाई एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको हालसम्मको प्रगती विवरण सहित बैंकले भविष्यमा अबलम्बन गर्ने योजना तथा रणनीतिको बारेमा बताएका थिए । साथै, प्रशिक्षक झलेन्द्र भट्टराई तथा यस विकास बैंकका कर्जा प्रमुुख निर्मलकुुमार श्रेष्ठले लघुुवित्त सम्बन्धी प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा बैंकको छ वटै शाखाहरुबाट लघुुवित्त विभागमा कार्यरत करिब १३ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।  

महालक्ष्मी विकास बैंकद्धारा भक्तपुरको जेष्ठ नागरिक आश्रमलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले भक्तपुर नगरपालिका भेलुखेलस्थित सिद्धि स्मृति प्रतिष्ठान अन्तर्गतको सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई करिब ३८ हजार रुपैयाँ बराबरको ग्याँस तथा बिजुली दुवैबाट चल्ने हिटर वितरण गरेको छ । सोमबार सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रममा आयोजित एक कार्यक्रममा भक्तपुर शाखाका शाखा प्रबन्धक आशकुमार जरेजुले सिद्धि स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेललाई हिटर हस्तान्तरण गरेका हुन् । जाडो मौसममा वृद्धवृद्धाहरुलाई स्वाथ्य सम्बन्धि विभिन्न समस्या आउने हुँदा बैंकद्धारा प्रदान गरिएको हिटर अति उपयोगी हुने भन्दै सस्ंथापक अध्यक्ष धौभडेल लगाएत उपस्थित जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका थिए । साथै, बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।  

नेप्सेले माग्यो विभिन्न ८ विधाका एक्स्पर्ट, पुस ६ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन गर्ने विविध गतिविधिका लागि आवश्यक पर्ने विभिन्न ८ वटा विधाका एक्स्पर्ट(विज्ञ)हरु मागेको छ । नेप्सेले एक सूचना मार्फत क्यापिटल मार्केट एक्स्पर्ट(सेकेन्डरी मार्केट), लिगल एक्स्पर्ट अन कर्मसियल/ कर्पोरेट ल, एक्स्पर्ट अन फाइनान्सियल एयालाइसिस्क/र्पोरेट फाइनान्स/फाइनान्सियल टेक्नोलोजि, हुम्यान रिर्सोस् म्यानेजमेन्ट एक्स्पर्ट लगाएतका विज्ञहरु मागेको छ । त्यस्तै, प्रडक्ट डेभलपमेन्ट एक्स्पर्ट, कनफिल्क्ट म्यानेजमेन्ट एक्स्पर्ट, कमोडिटी एण्ड डेरिभेटिभ मार्केट एक्स्पर्ट र प्रोक्यूरमेन्ट म्यानेजमेन्ट गरी विभिन्न ८ वटा विधाका विज्ञहरुको सूची तयार गरेको नेप्सेद्धारा जारी सूचनामा उल्लेख छ । उक्त विज्ञहरुको सूचीमा दर्ता हुन ईच्छुक व्यक्ति तथा फर्मले आवश्यक कागजात सहित निवेदन पेश गर्न नेप्सेले आग्रह गरेको छ । नेप्सेले प्रकाशित गरेको सूचनाका अनुसार इच्छुक व्यक्तिले आगामी पुस ६ गते (अर्थात मंसिर १५ गतेको मितिले २१ दिन) भित्र निवेदन पेश गरि सक्नुपर्ने छ ।

नबिल बैंकको सञ्चालकमा उपेन्द्र पौडेल नियुक्त

उपेन्द्र पाैडेल काठमाडौं । नबिल बैंकको सञ्चालक समिति सदस्यमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । सञ्चालक कृष्णप्रसाद शर्माको सट्टामा पौडेलले एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गरेको बैंकले जनाएको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर लगानी रहेको छ । एनबी इन्टरनेशनलको मुख्य लगानीकर्ता विनोद चौधरी हुन् । पौडेल यसअघि एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा करिव १६ वर्ष प्रमुख कार्यकारी अधिकृत भई काम गरेको पौडेलसँग तीन दशकभन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

जाजरकोटमा धान उत्पादन घट्दै, जलवायु परिवर्तन तथा सिँचाइ सेवाको अभाव

जाजरकोट । जिल्लामा विगत वर्षको तुलनामा धान उत्पादन घट्दै गएको छ । जलवायु परिवर्तन, सिँचाइ सेवाको अभाव र आधुनिक कृषि प्रणालीअनुसार खेती नगरिँदा धान उत्पादन वर्षेनी घट्दै गएको हो । विगत पाँच वर्षमा जिल्लामा गरिएको धानखेतीको अवस्थालाई हेर्दा वर्षेनी धान उत्पादन घट्दै गएको पाइएको हो । पाँच वर्षअघि १० हजार ४०३ मेट्रिक टन धान फलेको थियो । यसवर्ष सात हजार ३७८ मेट्रिक टन मात्र धान फलेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा श्रीराम घिमिरेका अनुसार धानखेती गरिने जमिनको क्षेत्रफल घट्दै गएको छ । पाँचवर्ष अघि २०६९ सालमा चार हजार १५ हेक्टर जमिनमा धानखेती गरिएकामा यसवर्ष दुई हजार ५६२ हेक्टरमा मात्र धानखेती गरिएको थियो । विसं २०६९ मा १० हजार मेट्रिक टन, २०७० सालमा तीन हजार ६२ हेक्टर जमिनमा ६ हजार एक सय ८० मेट्रिक टन, २०७१ मा तीन हजार ६३ हेक्टरमा ६ हजार १९७ मेट्रिक टन, २०७२ मा तीन हजार ६३ हेक्टरमा ९ हजार ९७१ मेट्रिक टन र २०७३ मा दुई हजार ५६३ हेक्टरमा सात हजार ३९१ मेट्रिक टन धान फलेको थियो । “जलवायु परिवर्तनको असर, धानखेतीमा किसानको मेहनत तथा लगानी घट्दै गएका कारण उत्पादन घट्दै गएको छ,” घिमिरेले भने । कूल क्षेत्रफल दुई लाख २२ हजार २८१ हेक्टरमध्ये ३७ हजार दुई सय नौ हेक्टरमा मात्र खेती गर्ने गरिएको छ । एक लाख ८४ हजार ८२० हेक्टरमा जंगल रहेको छ भने दुई सय ५२ हेक्टरमा खोला, नदी र तालले ढाकेको छ । बाह्रैमहिना सिँचाइ सुविधा चार हजार ९७१ हेक्टर जमिनमा मात्र गर्न सकिन्छ । वर्षातका बेला आकासे पानीले सिँचाइ गर्न सकिने जमिन दुई हजार ९ सय ४२ हेक्टर रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस

२०८३ सम्ममा नेपालमा पेट्रोलको माग ६४ प्रतिशतले बढ्ने अनुमान

काठमाडौं । आगामी ९ वर्षसम्म नेपालमा पेट्रोलको माग ६४ प्रतिशतले वृद्धि हुने देखिएको छ । आर्थिक वर्ष २०८२/८३ सम्ममा पेट्रोलको माग करिब १० लाख किलोलिटर (केएल)सम्म पुग्ने नेपाल आयल निगमको प्रक्षेपणले देखिएको छ । सवारी साधनको चाप बढेसँग नेपालमा ईन्धन खपत पनि बढिरहेको निगमले जनाएको छ । सवारीसाधनको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थको व्यवस्थापन जटिल बन्दै गएको छ । पेट्रोलियम पदार्थको वार्षिक खपत २० प्रतिशतले बढ्दै गइरहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए । हाल नेपालमा करिब ३ लाख ६० हजार केएलसम्म खपत हुनेगरेको छ । बढ्दो औद्योगिक ईन्धन खपत र सवारी साधनको प्रभाव देखिएको हो । अघिल्ला वर्षको तुलनामा यो चालु आर्थिक वर्ष ०७४/७५ मा इन्धनको खपत झनै बढेको छ । चुनाव र विकासका कामले पछिल्ला महिनामा खपत बढेको देखिएको छ । अहिले पेट्रोल मासिक ३६ हजार पाँच सय, डिजेल एक लाख १५ हजार, मट्टीतेल १८ सय, हवाई इन्धन १५ हजार र एलपिजी ग्यास ३० हजार केएल खपत भइरहेको निगमले जनाएको छ । आगामी तीन वर्षमा नै पेट्रोलको खपत ५ लाख किलोलिटर पुग्ने अनुमान गरिएको छ । त्यस्तै आगामी सात वर्षमा डिजेलको खपत २० लाख केएलसम्म पुग्ने अनुमान छ । हाल वार्षिक साढे १३ लाख केएल हाराहारीको खपत भइरहेको डिजेल सात वर्षमा ३० प्रतिशतले बढ्ने निगमको प्रक्षेपण हो । अहिले वार्षिक करिब १ लाख ८० हजार केएल खपत भइरहेको हवाई ईन्धन ९ वर्षमा ५ लाख केएलको हाराहारीमा पुग्ने अनुमान छ । पाँच वर्षमा ह्वात्तै बढ्यो खपत आर्थिक वर्ष ०६९/७० मा पेट्रोल दुई लाख २१ हजार ६ सय ७६ केएल खपत भएकोमा आर्थिक वर्ष ०७३/७४ मा चार लाख दुई हजार दुई सय ७८ केएल खपत भएको छ । यो पाँच वर्षमा डिजेल खपत सात लाख १६ हजार सात सय ४७ बाट बढेर १२ लाख ९७ हजार ६६ केएल पुगेको निगमले जनाएको छ । पेट्रोल र डिजेलको तुलनामा हवाई इन्धन र ग्यास खपत कम रहेको छ । हवाई इन्धन ५० प्रतिशतले र खाना पकाउने ग्यास ७२ प्रतिशतले वृद्धि भएको छ । नोक्सानी पेट्रोलियम पदार्थ खपत वृद्धिले वायु प्रदूषणका साथै व्यापार घाटा पुर्‍याउदै आएको छ । नेपालमा खपत हुने पेट्रोलियम पदार्थको आन्तरिक उत्पादन छैन । यसको आपूर्ति शतप्रतिशत आयातमा निर्भर छ । नेपालमा भित्रने पेट्रोलियम पदार्थको आयात दक्षिण नाका भारतबाटै हुनेगरेको छ । विगत केही वर्षदेखि पेट्रोलियम आयातको विकल्प खोजिदै आएपनि हालसम्म यसको ठोस परिणाम आएको छैन । पेट्रोलियममा मात्र प्रत्येक वर्ष २२ देखि २४ अर्ब रुपैयाँबराबरको आयात हुने गरेको छ । राष्ट्र बैंकका अनुसार कुल वार्षिक निर्यात भने ९० अर्बको हाराहारीमा मात्रै हुने देखिन्छ। दुई वर्षअघि तत्कालीन सरकारले नै निर्यात प्रतिस्थापन गर्ने र एक खर्ब निर्यात पुर्‍याउने लक्ष्य राखे पनि चालू आर्थिक वर्षभित्र पनि एक खर्ब निर्यात नहुने राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । वाणिज्य मन्त्रालयको तथ्याकं अनुसार गत आवमा नेपालको व्यापार घाटा वार्षिक ९ खर्ब ९ अर्ब २६ करोड छ ।

नबिल बैंकका सीर्इअाे सशीन जोशीको राजीनामा स्वीकृत, उपेन्द्र पाैडेल अाजै नियुक्त

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा आज (मंसिर १९ गते) बसेको सञ्चालक समितिको बैंठकले स्वीकृत गरेको हो । जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत भएको बैंकले जनाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको प्रगतिविवरण कमजोर बनेपछि सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतहरुलाई राम्रो नतिजा निकाल्न चर्को दवाव दिन थालेका छन् । त्यसैको परिणाम प्रमुख कार्यकारी अधिकृतहरु आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा गर्न बाध्य हुने गरेको जानकारहरु बताउँछन् । जोशी नविल बैंकमा चार वर्षको लागि नियुक्त भएको थिए । तर साढे दुई वर्ष पुरा नहुँदै उनले पदबाट राजीनामा दिएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४७ प्रतिशत लाभांश दिएको थियो । तर बैंकको प्रर्फमेन्सबाट प्रर्वद्धक र सञ्चालक समिति असन्तुष्ट रहेको जोशीले बताउँदै आएका थिए । विकासन्यूजसँग कुरा गर्दै जाेशीले अाफूले स्वेच्छाले राजीनामा दिएकाे बताए । बैकिङ क्षेत्रबाट बाहिने साेचसहित साेमबार राजीनामा बुझाएकाे उनले बताए । जाेशी अरू बैंकमा जानकाे लागि नबिल बैंक छाेडेकाे भन्ने हल्ला अाधारहिन भएकाे उनले बताए । त्यसैगरी नबिल बैंकको सञ्चालक समिति सदस्यमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । सञ्चालक कृष्णप्रसाद शर्माको सट्टामा पौडेलले एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गरेको बैंकले जनाएको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर लगानी रहेको छ । एनबी इन्टरनेशनलको मुख्य लगानीकर्ता विनोद चौधरी हुन् । पौडेल यसअघि एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा करिव १६ वर्ष प्रमुख कार्यकारी अधिकृत भई काम गरेको पौडेलसँग तीन दशकभन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।