न्युमोदी–लेखनाथ प्रसारणलाइनको ठेक्का भारतको कल्पतरु पावरले पायो
काठमाडौं । मोदीखोलादेखि कास्कीको लेखनाथसम्म १३२ केभी प्रसारणलाइन निर्माणको जिम्मा भारतीय कम्पनीले पाएको छ । भारतको कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले कम दर प्रस्ताव गरेपछि नेपाल विद्युत प्राधिकरणले उसलाई सो प्रसारणलाइन निर्माणको जिम्मा दिएको हो । कल्पतरुले झण्डै ५५ करोड रुपैयाँ अर्थात ५४ लाख ३५ हजार ९६७ मा न्युमोदी–लेखनाथ प्रसारणलाइनको प्लाण्टको डिजाइन, आपूर्ति र जडानको काम गर्ने छ । मोदीखोला क्षेत्र वरपर निर्माण हुने आयोजनालाई लक्षित गरी विद्युत प्राधिकरणले सो प्रसारणलाइ निर्माण गरेको हो ।
लगानी योग्य पुँजीको अभाव समाधानमा अर्थ मन्त्रालय र राष्ट्र बैंक सक्रिय, के होला समाधानको उपाय ?
काठमाडौं । बैंकहरुमा लगानीयोग्य पुँजी संकट गहिरिँदै गएपछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले समाधानको पहल थालेका छन् । लगानी गर्न पुँजी नभएको भन्दै बैंकहरुले धमाधम मुद्दती निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुर्याएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकले पहल थालेका हुन् । यस विषयमा सोमबार अर्थ र राष्ट्र बैंकबीच छलफल भएको छ । बैंकमा देखिएका लगानीयोग्य पुँजीको समस्या समधानका लागि केही काम भइरहेको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेल बताउछन् । यस विषयमा सोमबार अर्थ मन्त्रालयमा छलफल भएको बताउदै समस्या समधान गर्ने खाका आइनसकेको उनले जानकारी दिए । उनले विभिन्न कोणबाट समधानका लागि छलफल भइरहेको जानकारी दिए । बैंकमा लगानीयोग्य पुँजी कम भएको उनको भनाई छ । पछिल्लो समयमा बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो ७७ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकलाई हटाउदा झण्डै ८० प्रतिशत पुगेको छ । बजारमा ३२ अर्ब रुपैयाँ अधिक तरलता भएको पौडेलले जानकारी दिए । केही वाणिज्य बैंकमा समस्या देखिएको राष्ट्र बैंकले स्वीकार गरेको छ । खर्च कम भएपछि राज्यको ढुकुटीमा ३ खर्ब ३५ रुपैयाँ वचत पौडेलले जानकारी दिए । नेपाल बैंकर्स एसोसियसनले निक्षेपको बढ्दो ब्याजदरले कर्जामा समस्या पार्ने भन्दै तत्कालका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । यस्तै नेपाल इन्भेष्टर्स फोरमले पनि नेपाल बैंकर्स एसोसियसनका प्रतिनिधिलाई भेटी ब्याजदर स्थिर राख्न अनुरोध गरेको थियो । बैकिङ प्रणालीमा देखिएको समस्याको विषयमा छलफल भएको अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीले बताए । नियमित बैठक भएपनि अहिलेको समस्या समधान गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए । “हामीले आफनो तर्फबाट सुझाव दिएका छौ, राष्ट्र बैंकले कार्यन्वयन गर्ने छ” उनले भने । पुस १६ गतेसम्म सरकारले सरकारले साढे २८ प्रतिशत अर्थात ३ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ खर्च भएको छ । यस्तै राजश्व संकलन ३६ प्रतिशत अर्थात २ खर्ब ६८ अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ । राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारमा पठाउन लाग्दा बैंकबाट १९ अर्ब रुपैयाँको माग आएपछि बुधबार पुनः १० अर्ब बजारमा पठाउने तयारी गरेको छ । यता नेपाल टेलिकमले विभिन्न बैंकबाट ८ अर्ब २५ करोड रुपैयाँ निक्षेप निकाल्ने भएको छ । त्यस मध्ये ७ अर्ब ९२ करोड रुपैयाँ सरकारलाई बुझाउने छ । यो रकम बैंकिङ प्रणालीबाट राज्यको ढुकुटीमा गएर थुप्रिने छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिदैछ । यस कम्पनीमा करिव ९६ प्रतिशत सेयर सरकारको भएकोले कम्पनीले नाफा वापतको ७ अर्ब ९२ करोड रुपैयाँ सरकारलाई बुझाउने छ । टेलिकम जस्तै, बैंक, वित्त, बीमा, जलविद्युतलगायत कम्पनीले यो महिनामा लाभांश वापत सरकारलाई अर्बौ रुपैयाँ कर तिर्दै छन् । पुसमा करको रुपमा अर्बौ रुपैयाँ राज्यको ढुकुटीमा जाने भएपछि बजारमा लगानीयोग्य पुँजीको अभाव हुने बैकरले बताएका छन् । सरकारले खर्च बढाउन नसके बैंकिङ प्रणालीमा ठुलो समस्या आउने संभावना रहेको माछापुच्छे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् ।
कुबेर मर्चेन्ट फाइनान्सको सिइओमा भिष्मराज चालिसे नियुक्त
काठमाडौं । कुबेर मर्चेन्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा भिष्मराज चालिसे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले आउँदो चार बर्षका लागि चालिसेलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ चालिसेले आगामी माघ १ गतेदेखि कम्पनीको सिइओ पदको कार्यभार सम्हाल्ने भएका छन् ।
गैह्र अनुदानको दुई मल बेच्दै साल्ट ट्रेडिङ
काठमाडौं । सरकारी स्वामित्वको संस्था साल ट्रेडिङ कर्पोरेशनले पछिल्लो समय गैह्र अनुदानको दुई प्रकारको मल बिक्री गर्दै आएको छ । सरकारी अनुदानको रासायनिक मलको भार घटाउनका साथै कृषकलाई सन्तुलित मलखादको प्रयोगका लागि विकल्प प्रदान गर्ने उद्देश्यले सो मलहरु बिक्री गर्न थालिएको जनाइएको छ । ट्रेडिङले वितगमा सकारी अनुदानका युरिया, डीएपी लगायतका मल बिक्री गर्दै आएकोमा अब, सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेटको बिक्री गर्न थालिसकेको जनाएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ट्रेडिङले औपचारिक रुपमा मल कम्पनीको सबै शाखा कार्यालयहरुदेखि बिक्री गर्न सुरु भइसकेको जानकारी दिएको छ । कृषि परामर्शदाता भगवान प्रसाद खतिवडाले सिङ्गल सुपर फस्फेटमा १६ प्रतिशत फस्फोरस, १२ प्रतिशत सल्फर तथा २१ प्रतिशत क्यालशियम रहने बताए । यसको अति सुक्ष्मतत्वहरु जिङ्क तथा वोरोन मिश्रण गरिएको हुँदा मल सबै बालीनालीहरुका लागि महत्वपूर्ण हुने उनको दावी छ । एमोनियम सल्फेटमा २१ प्रतिशत नाईट्रोजन तथा २४ प्रतिशत सल्फर रहेको उनको भनाइ छ । त्यस्तै विरुवालाई ठिक मात्रामा आवश्यक पर्ने नाईट्रोजनतत्व तथा मुख्य सहायक तत्वको रुपमा रहेको सल्फरले गर्दा यसले प्रभावकारी उत्पादन दिन सक्ने उनले जनाए । कार्यक्रममा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कम्पनीले उक्त गैह्र अनुदानित रासायनिक मलहरु मुलुकभरको आफ्नो २८ ओटै बिक्रीकेन्द्रहरुबाट ग्राहकमाझ पुर्याउने बताए । कर्पोरेशनका अनुसार सिंगल सुपर सल्फेट भारत र एमोनियन सल्फेट दक्षिण कोरियाबाट आयात गरिदै आएको छ । ५० किलो बोरामा उपलब्ध हुने ती मलको मूल्य क्रमशः प्रतिकिलो २६ रुपैयाँ ५० पैसा र १८ रुपैयाँ कम्पनीले तोकेको छ ।
सौर्य विद्युत् उत्पादक संघमा गौतम निर्वाचित
काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक संघको १७ औँ साधारणसभाले किरण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा सम्पन्न साधारणसभाले संघको वरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, महासचिवमा सुनिल ढकाल, सचिवमा किरण प्रधान, कोषाध्यक्षमा विनोद सापकोटा निर्वाचित भएका छन् । संघको कार्यकारी सदस्यमा केशव दाहाल, दीपक जोशी, विश्वविक्रम जोशी, ओम केसी, रुद्र पुन नवीन शाही, भरत मल्ल श्रीराम अधिकारी, पदम भट्टराई, दीपक गौतम र जीतेन्द्र भट्टराई रहेका छन् । संघमार्फत देशभर छ लाख १७ हजार ४६ वटा घरेलु सौर्य प्रणाली, एक लाख दुई हजार १९ वटा साना सौर्य प्रणाली, १४ हजार ६७६ संस्थागत सौर्य प्रणाली र एक हजार ६९६ का सौर्य पम्प जडान भएको सो अवसरमा जानकारी दिइयो । रासस
स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण
काठमाडौं । सेयर बजार बढेसँगै लगानीकर्ताले आकर्षण दुई वाणिज्य बैंकमा देखिएको छ । सोमबार स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । स्ट्याण्डर्डको प्रतिकित्ता १ हजार ३३ रुपैयाँमा २ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको सोमबार २८ हजार ७११ कित्ता कारोबार भएको छ । आइतबार स्ट्याण्डर्डको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ९५० रुपैयाँ कायम भएकोमा सोमबार बढेर १ हजार ३३ रुपैयाँ पुगेको छ । एक दिनको अन्तरालमा स्ट्याडर्ड चार्टर्ड बैंकका लगानीकर्ताले प्रतिकित्ता ८३ रुपैयाँ फाइदा गरेका छन् । स्ट्याण्डर्ड चाटर्डको सेयर मूल्य अझै बढ्न सक्ने अनुमान लगानीकर्ताकाे छ । राम्रो बैंक र प्रतिफल पनि आर्कषक भएकाले लगानीकर्ताको आकर्षण स्ट्याण्डर्डमा बढेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौड्याल बताउछन् । गत वर्षको गरेको आम्दानीबाट सेयरधनीलाई सतप्रतिशत बोनस सेयर दिएपछि बिहीबार स्ट्याण्डर्डको २२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । शत्प्रतिशत बोनस सेयर वितरण गरेर स्ट्याण्डर्डले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तै प्रभु बैंकको बुक क्लोजको समय आएकाले सेयर किनबेच बढेको हो । सोमबार प्रभुको प्रतिकित्ता ३२५ मा ८२ हजार ८०२ कित्ता सेयर किनबेच भएको छ । प्रभुको २ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ । आइतबार प्रभुको प्रतिकित्ता १६० रुपैयाँमा ३ करोड ७८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको थियो ।
ब्याजदर नबढाउने बैंकको प्रतिवद्धताले सेयर बजारमा उछाल, एकैदिन ४४ अंकले बजार बढ्यो
काठमाडौं । बैंकहरुले ब्याजदर नबढाउन भनेपछि यसको सकरात्मक असर सेयर बजारमा परेको छ ।सोमबार सेयर बजार ४४.२२ अंकले बढेको छ । आइतबार २४ अंकले घटेको बजार सोमबार झण्डै दोब्बर अंकले बढेको छ । स्थिर ब्याजदरले लगानीकर्तामा आशा जगाएको छ । बजार निरन्तर घटेर संकट आउने अवस्था आएपछि नेपाल इन्भेष्टर्स फोरमले आइतबार बैंकर्सलाई भेटी ब्याजदर नबढाउन आग्रह गरेको थियो । नेपाल बैकर्स एसोसियसनको बैठकमा निक्षेपको ब्याज बढाउँदा यसको गम्भीर असर कर्जा लगानीमा पर्ने भन्दै केही समयका लागि स्थिर ब्याजदर राख्न आन्तरिक सहमति भएको थियो । बैंकले ब्याजदर बढाउदैनन् भन्ने मनोवैज्ञानिक असर लगानीकर्तामा परेको छ । सोमबार बजार बढ्नुमा बैंकले स्थिर ब्याजदर नै मुख्य कारण भएको फोरमा अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउछन् । सोमबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्त सबैको सेयर मूल्य बढेको छ । बजार बढेपनि कारोबार रकम भने बढेको छैन् । सोमबार ४९ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । अाइतबारकाे तुलनामा नेप्से परिसूचकमा सुधार अाएतापनि सेयर काराेबार भने गिरावट भएकाे छ । अाइतबारकाे बजारमा ५८ कराेडकाे सेयर किनबेच भएकाे थियाे ।
पाँच महिनामा वैदेशिक लगानी प्रतिवद्ता ३ गुणा बढ्यो
काठमाडौं । पाँच महिनामा वैदेशीक लगानीको प्रतिबद्धता झण्डै तीन गुणा बढेको छ । स्थानिय तहको निर्वाचन तथा राजनीतिक दलहरुले गरेका आर्थिक समृद्धिको प्रतिवद्धताको कारण वैदेशीक लगfनी बढेको हो । स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनले नेपालमा राजनीतिक स्थायीत्व हुने संभावना बढेपछि लगानीको प्रतिवद्धता बढेको हो । उद्योग विभागको तथ्याङ्क अनुसार पाँच महिनामा २.९ प्रतिशत वैदेशीक लगानीको प्रतिबद्धता बढेको छ । तथ्याङ्क अनुसार चालु अर्थिक वर्षको पाँच महिनामा १३ अर्ब १२ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको हो । गएको वर्षको सोही महिनामा ४ अर्ब ४१ करोड रुपैयाँको मात्रै लगानीको प्रतिबद्धता आएको थियो । तथ्याङ्क अनुसार कृषि तथा वनजन्य क्षेत्रमा १ अर्ब ८५ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । जबकी गएको वर्ष सोही अबधिमा ४ करोड रुपैयाँको मात्रै लगानीको प्रतिबद्धता आएको थियो । त्यस्तै पाँच महिनाको अबधिमा निर्माण तथा प्रशोधन क्षेत्रमा ५ गुणा भन्दा बढी लगानीको प्रतिबद्धता प्राप्त भएको छ । तथ्याङ्क अनुसार यो पाँच महिनामा ५ अर्ब ३२ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । गएको सोही अबधिमा उक्त प्रतिबद्धता १ अर्ब ३ करोड रुपैयाँ मात्रै थियो । साथै उर्जा, सुचना सञ्चार प्रविधि लगायतको प्रतिवद्धता बढेको छ । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले ठूला परियोजना आएकोले लगानी प्रतिबद्धता समेत बढेको बताए । “मुलुकलाई ठूलो लगानीको आवश्यकता छ,” उनले भने “भूकम्पले क्षतिग्रस्त भौतिक संरचनाहरको निर्माण कार्यले गर्दा गएको वर्षभन्दा अहिले वैदेशिक लगानी ठूलो मात्रामा वृद्धि भएको हो ।”(प्रशिक्षार्थी)