विकासन्युज

व्यवसायीले प्रधानमन्त्रीसँग भने-बैंकले ऋण दिएनन्, लगानी कसरी गर्नु ?

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी अभाव संकटले अर्थतन्त्र विस्तारमा अवरोध गर्ने भन्दै यसको समधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्तशर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री देउवालाई भेटी तरलताको कारणले उद्योग–व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेको थिए । तरलताको संकटले बैकिङ्ग प्रणालीबाट प्रवाहित कर्जाको व्याजदरमा उल्लेखनीय वृद्धि भई उद्योगको उत्पादन लागत बढेर उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर पर्न गएको जानकारी गराएको छ । परिसंघले कर्जाको ब्याजदर महंगिएपछि उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको अध्यक्ष शर्माले जानकारी गराएका थिए । यही अवस्था कायम रहे आगामी वर्ष मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा हुने भन्दै सचेत समेत गराएको छ । अर्थतन्त्रको आकार बढे अनुरुपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहेको र वित्तीय अनुशासन कायम गरी ब्याजदरलाई वान्छित सीमाभित्र ल्याउनु सम्बन्धित सरोकारवाला नेपाल राष्ट्र बैँक, अर्थ मन्त्रालय, नेपाल बैँकर्स एशोसियसनलगायतले उपयुक्त मौद्रिक उपकरण प्रयोगमा जोड दिए । प्रधानमन्त्री देउवाले आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासको लागि आफू कटिवद्ध रहेको र हाल देखिएको तरलताको समस्या सम्बन्धित सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

टाटा नेक्सनले पायो ‘सवकम्प्याक्ट एसयूवी’ अवार्ड

काठमाडौं । टाटा नेक्सनले एनडीटीभी कार तथा बाइक अवार्डस् २०१८को उत्कृष्ट ‘सवकम्प्याक्ट एसयूवी’ अवार्ड पाएको छ । यस वर्ष टाटा मोटर्सबाट सबैभन्दा महत्वपूर्ण प्रक्षेपण रहेको नेक्सन भारतमा निमार्ण गरिएको सव-४ मिटर एसयूवी स्पेस क्षेत्रमा लन्च हुने पहिलो मोडेल रहेको छ । टाटा मोटर्सको प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन टाटा नेक्सनलाई टाटा मोटर्सले २१ सेप्टेम्बर, २०१७मा भारतमा लन्च गरेको थियो । टाटा नेक्सनमा रहेका केहि भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित रहेको छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूवी स्पेशको वर्गमा नयाँ आयाम ल्याएको छ । स्टाईलिङ्ग डुअल कलर विकल्पमा उपलब्ध यस कारमा भएका केहि नवीन र चाख लाग्दो स्टाईल तत्वहरुले यस कारको लक्स्र शोभा अझ बढाएको छ । प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ ईन्च एलोय व्हील जस्ता यस कारका महत्वपूर्ण विशेषताहरु हुन् । कारको क्याबिनमा रहेको उच्चस्तरीय इन्टेरिएर, उत्कृष्ट फिट र फिनिसका साथै सर्वोत्कृष्ट ड्यासबोर्डले यस कारलाई थप आकर्षित बनाएको छ । यस कारको दुई मुख्य विशेषता भनेकै यसमा रहेको ड्यास टप एच्डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी-ड्राईभिङ्ग मोड सिस्टम रहेको छ । टाटा मोटर्सले टाटा नेक्सनलाई नेपाली बजारमा चाँडै लन्च गर्ने लक्ष्य लिएको छ ।

बजार सामान्य अंकले बढ्दा ६३ करोडको सेयर कारोबार, सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्डको

काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । मंगलबारको नेप्से परिसूचक २.४४ अंकले उकालो लागेर १४३७ अंकमा पुगेको छ । मंगलबारको बजारमा कुल ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(सोमबार) बजारमा ४९ करोडको सेयर किनबेच भएको थियो । मंगलबार कुल १६६ कम्पनीको १२ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्ड बैंकको साँढे ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८० रुपैयाँ रहेको छ । सोमबार पनि यस कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर किनबेच भएको थियो । त्यस्तै, बैंकिङ १०, अन्य ४ र ट्रेडिङ समूह ०.०८ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ६१ अंकले राताम्मे भएको छ । मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । उता एभरेष्ट बैंकको प्रमोटर सेयरको मूल्य भने ६.६ प्रतिशतले ओरालो लागेको छ ।

बार्षिक खुदनाफा १९.२३ प्रतिशत बढाउने प्रभु बैंकको लक्ष्य, ३ वर्षमा २ अर्ब ७६ करोड खुदनाफा गर्ने

काठमाडौं । प्रभु बैंकले बार्षिक १९.२३ प्रतिशतका दरले खुदनाफा बढाउने लक्ष्य लिएको छ । गत आवमा १ अर्ब ७६ करोड नाफा कमाउन सफल बैंकले आगामी ३ बर्षमा नाफा १ अर्ब १ करोड रुपैयाँ बढाएर २ अर्ब ७६ करोड रुपैयाँ पुर्याउने योजना बनाएको हो । बैंकले आगामी ३ बर्षमा खुदनाफा ५७.७१ प्रतिशतले बढाउने योजना मंगलबार हकप्रद सेयर निष्काशनको आव्हानपत्र ३ वर्षको व्यवसायीक योजना सार्वजनिक गरेको हो । बैंकले चालु आव ०७४/०७५ मा १ अर्ब ८९ करोड, ०७५/०७६ मा २ अर्ब १० करोड ६८ लाख र ०७६/०७७ मा २ अर्ब ७६ करोड रुपैयाँ खुदनाफा गर्ने प्रक्षेपण सार्वजनिक गरेको छ । बैंकले नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढाउने लक्ष्य अघि सारेको छ । हाल २९.७८ रुपैंयाँ रहेको प्रतिसेयर आम्दानी रहेको बैंकले आगामी ३ बर्षपछि बढाएर ३३ रुपैयाँ ५२ पैसा पुर्याउने लक्ष्य लिएको छ । चालु आवमा बैंकले २३ रुपैंयाँ, आगामी वर्ष २५.५९ र ३ वर्षमा ३३ रुपैयाँ ५२ पैसा पुर्याउने बैंकको लक्ष्य छ । नाफाको लक्ष्य पुरा गर्न बैंकले ३ वर्षमा बैंकले निक्षेप बढाएर १ खर्ब २५ अर्ब रुपैयाँ र कर्जा लगानी ९५ अर्ब ४९ करोड रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । चालु आवमा ९५ अर्ब, आगामी आवमा १ खर्ब १० अर्ब रुपैयाँ पुर्याउने बैंकले जनाएको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ८ अर्ब २३ करोड पुग्ने छ ।

निर्वाचन खर्च: ओलीको २४ लाख र सिटौलाको २३ लाख

झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए । शीर्ष नेतातर्फ झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नं ५ बाट नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओली, क्षेत्र नं १ बाट नेकपा(माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्की र सोही क्षेत्रबाट काँग्रेसका नेता विश्वप्रकाश शर्माले आआफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । एमाले अध्यक्ष ओलीले रु २४ लाख एक हजार १६०, काँग्रेस नेता सिटौलाले रु २२ लाख ६८ हजार, माओवादी केन्द्रका नेता कार्कीले रु २४ लाख १० हजार र काँग्रेस नेता शर्माले रु २१ लाख ६८ हजारको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका डा खगेन्द्र अधिकारीले रु २४ लाख ७५ हजार, क्षेत्र नं ४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले रु २३ लाख ६३ हजार, क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले रु छ लाख ५० हजार, क्षेत्र नं ४ बाट एकीकृत राप्रपा ९राष्ट्रवादी०का तेजबहादुर थापाले रु तीन लाख पाँच हजार, क्षेत्र नं ३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले रु ६३ हजार, क्षेत्र नं २ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले रु ६५ हजार र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले रु एक लाख नौ हजार २०० खर्च भएको विवरण पेश गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले २५ लाख रुपैयाँ र प्रदेशसभा सदस्य उम्मेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको थियो । रासस

मौरीपालन आम्दानीको नयाँ बाटो, वार्षिक ३० लाख रुपैयाँ कमाइ हुने

मोरङ । तपाईले गाईभैँसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली-३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गरेका छन् । आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उनले चराउँदै आएका छन् । तोरी नफुल्ने समयमा समेत उनले जंगलमा लगेर मौरी चराउने गरेका छन् । रञ्जनीमा पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर पाठकले मौरी पालन गर्दै आएका छन् । खडानन्द खनालका अनुसार चार बिगाहामा तोरी खेती गरेको र प्रत्येक वर्ष मौरी चराउन ल्याउन आग्रह गर्ने गरेको उनी बताउँछन् । पहिले तोरीमा लाइ लाग्ने, किरा लाग्ने गरेको र परागसेचनको काम मौरीले नै गरेको हुनाले मौरीको घारै बोकेर तोरी खेतीमा ल्याएर चराउने गरेको पाठकको भनाइ छ । मौरी ल्याएपछि आफूले तोरीमा विगत चार/पाँच वर्षदेखि कुनै पनि कीटनाशक औषधिको प्रयोग नगरेको र बिगाहामा २० मनदेखि २२ मनसम्म तोरी उब्जनी हुने गरेकोसमेत खनालको भनाइ छ । २०६० सालदेखि मौरीपालनमा लागेका यमनाथ शुरुका दिनमा चार घारबाट मौरीपालन शुरु गरेका हुन् । अहिले २०० घारसम्म पाल्न सफल भएका छन् । उनले एक घार बराबर ५० हजारदेखि ६० हजारसम्म मौरी हुने गरेका छन् । वार्षिकरुपमा २०० घारबाट पाँच हजार केजी अर्थात् (५० क्विन्टल) मह वार्षिक उत्पादन हुन्छ भने ३० लाख रुपैयाँ बराबरको आम्दानी हुने गरेको समेत पाठकको भनाइ छ । पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर उत्पादन गरेको महप्रति केजी ६०० रुपैयाँको दरले बिक्री वितरण गर्ने गरेको उनले सुनाएका छन् । उनले उत्पादन गरेको महको बजार मोरङ, झापा, सुनसरी, ताप्लेजुङ, पाँचथर, बिर्तामोड, धरानमा बिक्रीका लागी पठाउने गरिएको पाठकको भनाइ छ । उहाँ मात्र होइन थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि उत्तरी मोरङका कृषक मौरीमा लगानी गर्न हौसिएका छन् । मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ-भोगटेनी नगरपालिका, बयरवन, केरौन, होक्लाबारी जस्ता ठाउँमा व्यवसायीकरुपमा मौरी पालन हुँदै आएको छ । मौरीपालनले एकहजार घार मौरीबाट वार्षिक २० रुपैयाँलाख अम्दानी भएको व्यावसायिक मौरीपालक कृषकको भनाइ छ । मोरङमा महको मागसँगै यसको उत्पादनमा पनि वृद्धि भइरहेको छ । व्यवसायको शुरुको वर्ष नै एक घार मौरीबाट वार्षिक रु २० लाख आम्दानी गर्न सकिने मेलिफेरा मौरीपालन सहकारी संस्थाका संस्थापक सदस्य सूर्य कटुवालको भनाइ छ । बहुसंख्यक गाउँका शैक्षिक बेरोजगार युवा पैसा कमाउने चक्करमा भौतारिइरहेको अवस्थामा उनीहरुको यो कार्य प्रेरणाको स्रोत नै बनेको छ । बर्खा र हिउँद महिनामा भने मौरीबाट आम्दानी हुँदैन । मौरी अन्य किरामध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । यहाँ पालिने मौरी धेरैजसो कठ्यौरी जातका हुन् । रासस

दिगो संरचना निर्माणका लागि अवलम्वन गर्नुपर्ने

काठमाडौं । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गरेको छ । सिमेन्टले उक्त जानकारी प्रदान गर्न पौष १४ गते शुक्रबार बागडोलको बेखाज पार्टी भेन्युमा राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा १०० भन्दा बढी राजमिस्त्री तथा डिलर वर्गहरुको सहभागिता रहेको थियो । जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम समेत गरिरहेको छ । कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गरिरहेको छ । साथै, आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माण गर्नका निम्ति विभिन्न कार्यक्रमहरु अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रमहरु गरिरहेको छ ।

महिनामा २ पटक मूल्य बढाउँदा पनि निगमको दैनिक घाटा पौने एक करोड

काठमाडौं । नेपला आयल निगमले मंगलबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाटै पेट्रोलियम पदार्थको मूल्य बढेकोले स्वचालित विधिद्धारा निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा १/१ रुपैयाँ मूल्य बढेको छ । बढेर ती इन्धनको मूल्य क्रमशः १०२, ७९, ७९ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने एलपीजी ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढेर रू. १३७५ पुगेको छ । आन्तरीक हवाई इन्धनमा ३ रुपैयाँ बढेर रू. ९० भने, बाह्रय हवाई इन्धनमा हजार लिटरमा ५० डलर बढेर ९ सय डलर पुगेको छ । मुल्य समायोजन गरेपनि निगमलाई दैनिक करिब ८८ लाख रुपैयाँ घाटा भइरहेको जनाएको छ । निगमका प्रवत्ता विरेन्द्र गोइतले बताए अनुसार अहिले निगमलाई मासिक २६ करोड ४० लाख रुपैयाँ घाटा छ । त्यसको आधारमा दैनिक निगमलाई ८८ लाख रुपैयाँ घाटा भएको देखिएको हो । “भारतले तय गरेको मूल्य अनुसार निगमले १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छ । यद्यपि केही समयअघिको चाडपर्व, स्थानिय, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन लगायतको कारणले बीचमा पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न सकिएन,” उनले भने “त्यसको प्रभाव अझैसम्म निगमलाई परेको छ ।” उनका अनुसार स्वचालित विधिबाट पनि निश्चि मापदण्डसम्म मात्र मूल्य बढाउन सकिन्छ । जसकारण घाटै खाएर भएपनि अहिले निगमले मूल्य समायोजन गरिरहेको हो । “अहिले डिजलमा प्रतिलिटर २ रुपैया ७१ पैसा भने, एलपीजी ग्याँसमा प्रतिसिलिण्डर २०८ रुपैया २ पैसा घाटा छ,” प्रवक्ता गोइतले भने ।