उद्योगीलाई व्यापारतर्फ धकेल्दै सरकार
काठमाडौं। सरकारको कारण उद्योगी व्यवासयीहरु व्यापारतर्फ लाग्न बाध्य भएको निजी क्षेत्रको ठम्याइ छ । ६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको आवसरमा बुधबार राजधानीमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुलाई सरकारले व्यापारतर्फ धेकेलेको आरोप लगाए । ‘विगतमा मुलुकको जिडीपीमा उद्योग क्षेत्रको योगदान १६/१७ प्रतिशत हुन्थ्यो,’ उनले भने ‘अहिले खुम्चिएर ४/५ प्रतिशतमा सीमित भएकोे छ ।’ उद्योगले प्रदान गर्ने योगदान क्रमश घट्दै गएको उनको भनाइ छ । उनले सरकार राजश्वमुखी भएको कारणले मुलुकमै उत्पादन बढाउनको सट्टा आयातलाई प्रसय दिएको बताए । ‘जसको कारण व्यापार घाटा वर्षैपिच्छे बढिरहेको छ,’ उनले भने ‘उद्योगीहरुलाई उद्योगधन्दा सञ्चालन गर्नभन्दा व्यापार गर्न सजिलो भएको छ ।’ सरकारले उद्योग कल काखनालाई संरक्षण गर्ने योजना ल्याउन पर्ने उनको जोड छ । कार्यक्रममा सहभागी विभिन्न उद्योगी व्यवसायीहरुले पनि मुलुक बाहिरबाट आयात गरिने तयारी पदार्थहरुभन्दा कच्चा पदार्थमा बढी भन्सार लाग्ने भएकोले उद्योगहरु उत्पादन गर्नभन्दा तयारी वस्तुहरुको व्यापार गर्नप्रति आकर्षित भएको बताए । महासंघका कार्यकारी सदस्य दिनेश श्रेष्ठले बाहिरबाट ल्याएको तयारी वस्तुभन्दा कच्चा पदार्थमा दुइतहसम्म कम भन्सार लिन पर्नेमा जोड दिए । ‘कतिपय वस्तुहरु आयात गर्दा जिरो भन्सार लाग्छ,’ उनले भने ‘तर मुलुकमै उत्पादन गर्दा कर लग्छ।” जबसम्म उद्योगहरुले उत्पादन गरेको वस्तुको लागतभन्दा आयातित वस्तुहरुको मूल्य कम हुन्छ तबसम्म स्वदेशी उत्पादन र उद्योगहरुको विकास हुन नसक्ने उनको धारणा छ । उनले राजस्व लागि भन्सार होइन भन्सार जनताको लागि हुनपर्ने बताए । कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशक श्रीकृष्ण नेपालले भन्सारमा चोरीपैठारी, न्युनविजिकरण लागयतको समस्या रहेको बताए । उनले भन्सार ‘डब्लुटीओ’ लगायतका अन्तर्राष्ट्रिय संगठनको मापदण्डलाई पच्छ्याउदै अघि बढेको बताए । ‘तर, व्यवसायीहरु नै भन्सार छुटाउन ठेकेदार राख्ने गरेका छन्,’ उनले भने ‘उनीहरुले कमभन्दाकममा भन्सारमा सामान छुटाउने प्रयत्न गर्छन ।’ जबसम्म व्यापार विश्वस्निय (ट्रस्ट ट्रेड) गर्दैन तबसम्म समस्या आउने उनको तर्क छ । उनले व्यापारीहरुलाई विश्वस्निय व्यापार गर्न सुझाब दिए । त्यस्तै आन्तरिक राजश्व विभाग(आईआरडी)मा जबसम्म विकृति रहन्छ तबसम्म ट्रस्ट ट्रेडको अबधारणा नेपालमा सान्दर्भिक नभएको निजी क्षेत्रको भनाइ छ ।
सबै तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी, चैत १ गतेदेखि एनआईडीसीलाई गाभ्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा शाखा सञ्जाल पुयाउने भएको छ । बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा रहेको र जनशक्ति आपूर्ति हुनासाथ ती शाखा तुरुन्त सञ्चालनमा आउने जनाएको छ । राज्यको पुनःसंरचनापछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ७५३ वटै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन सबै वाणिज्य बैंकहरुलाई निर्देशन र जिम्मेवारी दिइसकेको छ । समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक नयाँ संविधानअनुसार संघीय संरचनामा गइसकेकाले संघीय संरचनाअनुसार बैंकहरु रुपान्तरण भई सेवा विस्तार गर्नुपर्ने सुझाव दिए। सरकारी स्वामित्वको बैंक भएकाले सरकारका आर्थिक विकासका क्रियाकलापमा सहयोग पु¥याउनु यसको कर्तव्य भएको धारणा व्यक्त गर्दै उनले बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। मन्त्री कार्कीले भन्नुभयो, “मुलुकको दिगो आर्थिक विकासका लागि कृषि, पर्यटन, जलस्रोत पूर्वाधारमा लगानी बढाउनु आवश्यक छ ।” स्थापनाकालदेखि नै वाणिज्य बैंकले ग्रामीणदेखि सहरी क्षेत्रसम्म बैंकिङ सेवा प्रवाह गरी जनताको अपार विश्वास जितेको प्रसंग उल्लेख गर्दै मन्त्री कार्कीले बैंकले विगतका कार्यको समीक्षा गरी वित्तिय क्षेत्रमा अझ प्रतिष्पर्धी हुनु आवश्यक रहेको बताए । मन्त्री कार्कीले संविधानमार्फत विभिन्न तहका निर्वाचन सम्पन्न गरी मुलुकमा राजनीतिक स्थायित्व कायम हँदैगएको र द्रुत विकास अबको लक्ष्य हो भने। विसं २०२२ माघ १० गते स्थापना भएको बैंक हाल ६९ जिल्लामा १८० शाखा कार्यालय, १३० एटिएम, १७ स्थानमा एक्टेन्सन काउन्टर, ९२ स्थानमा शाखारहित बैंकिङ शाखामार्फत सेवा प्रवाह गरिरहेको छ । बैंकले विसं २०७५ असारसम्म थप ४५ शाखा कार्यालय, ७० एटिएम र २० स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने तयारी गरेको छ । समारोहमा राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले ७५३ स्थानीय तहमध्ये ३३२ मा मात्र वाणिज्य बैंकहरुका शाखा रहेको बताउँदै सरकारले जनतालाई दिने सेवा सहजतका लागि पनि सबै नेपालीको बैंक खाता हुनुपर्ने धारणा व्यक्त गरे । मुलुकभर हाल १४९ बैंक तथा वित्तिय संस्थाका ५ हजार २६७ शाखा रहेको बताउँदै उनले बैंक तथा वित्तिय सुधारका लागि हालसम्म १५८ बैंक तथा वित्तिय संस्थालाई ४० संख्यामा मर्जर गरिएको जानकारी गराए। समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २ हजार १६५ कर्मचारीबाट ग्राहकको चाहनाबमोजिम वित्तिय सेवा प्रदान गर्न प्रयत्न गरिरहेको यस बैंकले अपेक्षा गरेअनुसार ग्राहको विश्वास आर्जन गरिरहेको बताए। विसं २०७४ पुस मसान्तसम्म १ खर्ब ४९ अर्ब र १ खर्ब १० अर्ब रुपैयाँ पुगेको जानकारी गराउँदै यो वर्ष मात्र बैंकभित्र करिब ५०० नयाँ कर्मचारी भित्र्याइएको र ५७१ कर्मचारी विज्ञापन भई भर्ना प्रक्रियामा रहेको बताए। बैंकका ३० लाखभन्दा बढी ग्राहक छन् । बैंकले विसं २०७४ पुससम्म २ अर्ब ७४ करोड रुपैयाँ अनुदानसहितको कृषि कर्जा र १७ करोड भूकम्पपीडित कर्जा प्रदान गरिसकेको छ । एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा मर्जरको प्रक्रियाअन्तर्गत यही माघ २० गते विशेष साधारणसभा आह्वान गरिएको र चैतबाट एकीकृत कारोबार गर्ने लक्ष्य रहेको छ । रासस
काठमाडौं महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान
काठमाडौं काठमाडौँ महानगरपालिका वडा नम्बर१० का विभिन्न स्थानमा बुधबारदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरे। वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो । कामपाको वडा नं १० मैतीदेवी सेतोपुलदेखि शङ्खमुलसम्मलाई लिइन्छ भने वडा कार्यालय रत्नराज्य विद्यालय नजिक रहेको छ ।सो अवसरमा कामपाका प्रमुख शाक्यले सुरक्षाको दृष्टिकोणले सिसी क्यामेरा अत्यन्तै आवश्यक रहेको भन्दै निकट भविश्यमै कामपाको सबै स्थानमा क्यामेरा जडान गर्ने बताए । एक महिनाअघि जडान गरी केहीलाई परीक्षणका रुपमा राख्दा अत्यन्तै उपयोगी पाइएपछि आजदेखि पूर्ण रुपमा प्रयोगमा ल्याइएको वडाका वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । वडाध्यक्ष केसीले वडाका चार स्थानमा निःशुल्क वाइफाईको पनि व्यवस्था गरिएको र अन्य केही स्थानमा पनि राख्ने तयारी भइरहेको जानकारी दिए । सिसी क्यामरा जडानपछि विशेषगरी रातिको समयमा घट्ने विभिन्न किसिमका चोरी, सडक दुर्घटना, महिलामाथि हुने नकारात्मक व्यवहार जस्ता घटनामा कमी आउने विश्वास वडा कार्यालयले लिएको छ । यस्ता घटनामा कमी आए अन्य स्थानमा पनि सिसी क्यामेरा जडान गरिने बताइएको छ । रासस
क्रिकेटर शरद भेषवाकरद्धारा राईजिङ पोखरा एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरद्धारा पोखरामा अवस्थित राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेका छन् । पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवम् वृज सिमेन्ट इण्डष्ट्रीजद्धारा प्रायोजन गरिएको क्रिकेट सामाग्री बुधबार एक समारोहका बीच भेष्वाकारले हस्तान्तरण गरे । भेषवाकर वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा बिगत एक बर्षदेखि आवद्ध छन् । क्रिकेट एकेडेमीमा करीव ३० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । एकेडेमीको स्थापना एक बर्ष अगाडि भएको हो । वृज सिमेन्ट केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । सिमेन्ट उद्योग भैरहवा–लुम्विनीमा छ । उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ ।
सरकारले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता र भूकम्प पीडितलाई थप १ लाख अनुदान दिने
काठमाडौं । सरकारले ६५ वर्ष उमेर पुगेकालाई बृद्ध भत्ता र भूकम्प पीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारले ७० वर्षदेखि दिंदै आएको सामाजिक सुरक्षा भत्तालाई ५ वर्ष घटाएर ६५ वर्षमा झर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । सरकारले मासिक २ हजार रुपैयाँका दरले वृद्ध भक्ता दिदै आएको छ । बैठकले भुकम्प पीडितलाई घर बनाउन थप १ लाख रुपैयाँ अनुदान थप्ने निर्णय गरेको छ । हाल ३ लाख रुपैयाँ अनुदान पाएका भूकम्प पीडितले अब ४ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । सरकारले दलित तथा विपन्न समूहका व्यक्तिले निजी व्यवसायवा कम्पनी दर्तामा सहुलियत दिने भएको छ । १ करोड पूँजीसम्मको ब्यवसाय गर्न चाहनेलाई निस्शुल्क तथा सो भन्दा बढी पूँजीको ब्यवसाय वा कम्पनी दर्तामा ५० प्रतिशत मात्र शुल्क लिने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए । सरकारको यो निर्णयले सामाजिक सुरक्षा खर्च बढाउने भएको छ । सरकारले यो वर्ष ४५ अर्ब रुपैयाँ बढी सामाजिक सुरक्षा भक्ता वितरण गर्र्दै छ । ६५ वर्ष पुग्न साथ पाउने भएकाले जेष्ठ नागरिक थप हुन भक्ता लिनेको संख्या बढेर राज्यको दाइत्वमा समेत थप असर गर्ने छ । सुरुमा ७५ वर्षका लागि वृद्ध भक्ता दिने निर्णय गरेकोमा पछि घटाएर ७० र अहिले ६५ वर्षमा झरेको छ । यस्तै सरकारले भूकम्प पीडितलाई घर बनाउन पहिला २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेकोमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले १ लाख बढाएर ३ लाख पुर्याएको थिए । भुकम्प पीडितले अनुदान पाउन नसकेको गुनासो आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले फेरी १ लाख रुपैयाँ थपेका छन् । भूकम्प पीडित अनुदान बढेको र वृद्ध भक्ताको उमेर घटेकाले राज्यलाई खर्बौ रुपैयाँको आर्थिक बोझ थपिएको छ ।
माछापुच्छे बैंकद्वारा कम्बल बितरण
काठमाडौं । माछापुच्छे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडित ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ । बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिलादेखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरेका छन् । बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म ६४ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत १३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी ७९ स्थानबाट बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छन् ।
एनआईबीएल क्यापिटलको निःशुल्क एसएमएस सेवा
काठमाडौं । एनआईबीएल क्यापिटल मार्केटस् लिमिटेडले आफना हितग्राही खातावालालाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । उक्त सेवाबाट खातावालाले आफ्नो शेयर कारोबारबाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् । कम्पनीले हालसम्म १ लाख १४ हजार ९०० ग्राहकहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।
धितोपत्र बोर्डले रोक्यो सि-आस्वा, एक महिनापछि मात्र लागु हुने
काठमाडौं । सी-आश्वा प्रणाली एक महिनापछि मात्र कार्यन्वयनमा आउने भएको छ । धितोपत्र बोर्डले बुधबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिदै सी आश्वा प्रणाली एक महिनापछि मात्र लागु गर्न भनेको छ । बैंक तथा वित्तीय संस्थाले सीआस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको हो । सीडीएसले मंगलबारदेखि सीआस्वा लागु गरेको जानकारी गराएको थियो । बोर्डबाट अनुमती प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको करिव २ हजार ५०० शाखाबाट नेपालभरी आस्वा लागु भैरहेकोमा ती संस्थाका शाखाहरुलाई सि—आस्वा प्रणालीमा आवद्ध हुन, पूर्वाधार तयार गरी गराई प्रणाली संचालन सम्बन्धी तालिम लिन केही समय दिनुपर्ने बोर्डले बताएको छ । यस्तै लगानीकर्तालाई सि—आस्वा रजिष्ट्रशन नम्बर प्राप्त गर्ने समय दिनुपर्ने व्यवहारिक पक्ष तथा लगानीकर्ता, आस्वा सदस्यतथा अन्य सम्बन्धित सरोकारवालाको गुनासालाई समेत दृष्टिगत गरी अनिवार्य रुपमा यस प्रणाली मार्फत दरखास्त दिन एक महिनाको समय उपलब्ध गराउन बोर्डले सीडीएसलाई भनेको छ । सी आस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने छ । सि आस्वामार्फात प्राथमिक निष्काशनको आवेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको छ । हालसम्म २५ वटा बैंक तथा वित्तिय संस्थाहरुले मात्रै सि आश्वाको सदस्यता लिएका छन् । सीडीएसले तुरुन्तै सि आश्वाको सदस्यता लिन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ । सि आश्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । त्यसका लागि इन्टरनेटको पहुँच भने पुगेकै हुनुपर्नेछ ।