विकासन्युज

शेखर गोल्छाले ‘कालो किताब’ भनेपछि राजश्व सचिव कड्किए, कमलेश अग्रवाल भन्छन्-चोर डाँकुलाई होइन व्यवसायीका लागि कानुन बनाउनुस्

काठमाडौं । ‘सन्दर्भ पुस्तक नामको कालो किताबले भन्सारमा दुःख दिईरहेको छ, म राजश्व सचिवलाई भन्न चाहान्छु, त्यस्तो कालो किताब तत्कालै खारेज गरियोस’, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बिहीबार एक कार्यक्रममा भने । उनले भन्सारमा हुने मूल्यांकन प्रणालीले उद्योगी व्यवसायीलाई साह्रै दुःख दिएको भन्दै सन्दर्भ पुुस्तकलाई तत्काल खारेज गर्न माग गरे । सन्दर्भ पुस्तकमा रहेको छिद्र प्रयोग गरेर भन्सार कर्मचारीले निजी क्षेत्रलाई दुःख दिएको बताउँदै त्यस्तो पुस्तक तत्काल खारेज गर्न माग गरे । गोल्छाले भन्सारको सन्दर्भ पुस्तकलाई कालो किताब भनेकोमा राजश्व सचिव शिशिर ढुंगानाले भने आपत्ति जनाए । राजश्व सचिव ढुंगानाले कड्किदैँ भने–यो कालो पुस्तक होइन, उद्योगीले सामानको सहि विल पस्किनुस, हामी त्यसैलाई मान्यता दिन्छौं तर त्यहि बस्तु त्यहि रुटबाट आउँदा फरक फरक विल पेश गर्छन अनि सन्दर्भ पुस्तक नपल्टाएर के गर्ने ?, मेरा भनाई यत्ति हो ।’ उनले भन्सारका कर्मचारीले वस्तुको मूल्य कति हो नजान्ने बताउँदै भने–कृष्ण मन्दिर कसले बनाएको भन्ने प्रश्नको उत्तर पढेर जागिर खाएको मैले समानको मूल्य कति हो जान्दिन, तर व्यापारीले सहि मुल्यका बिल पेश गर्नु परो ।’राजश्व सचिव ढुंगानाले कर्मचारीलाई मात्रै नभएर उद्योगी व्यवसायीका हकमा पनि इमानदारीताको प्रश्न आउने पनि स्पष्ट पारे । उनले कच्चा पदार्थ र तयारी पदार्थको भन्सार दर फरक भएको व्यवसायीको आरोपको पनि खण्डन गरे ।‘कच्चा र सच्चाको परिभाषा के हो ? कागज कच्चा पदार्थ हो की तयारी पदार्थ ?, हामीले स्वदेशी उद्योगको संरक्षण हुने गरि नै भन्सार नीति बनाएका छौं’, ढुंगानाले भने । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेश कुमार अग्रवालले व्यवसायीलाई चोर डाँकाको नजर नहेर्न आग्रह गरे । ‘राज्यले बनाउने ऐन कानुन चोर डाकुँका लागि होइन व्यवसायीका लागि हुनु पर्याे’, अग्रवालले भने । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले भन्सार नीतिका कारण नेपाली उद्योग धन्दा बन्द हुँदै गएको आरोप लगाए । विश्व व्यापार संगठन, विश्व बैंक लगायतका संस्थाहरुको लिगेसीका पछि लागेर नेपालले स्वदेशी उद्योग धन्दाहरु मस्दै गएको आरोप पनि लगाएका थिए ।

सुबिसुलाई ८ वटा जिल्लाहरुमा एफटीटीएच नेटवर्क सञ्चालन गर्न स्वीकृति

काठमाडौं । सुबिसु केबलनेट प्रा.लि.लाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा एफटीटीएच नेटवर्कको पुर्वाधार विकाश गर्नको लागि नेपाल दुरसंचार प्राधिकरणले स्वीकृति प्रदान गरेको छ ।  आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसुले नोकियासँग गुणस्तरीय प्रडक्टको लागि हातेमालो गरेको छ । एफटीटीएच इमजिङ ब्रोडब्याण्ड टेक्नोलोजि हो । सुबिसु केबलनेटले ग्राहकहरुलाई उच्चस्तरीय सर्पोट सर्भिससँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेकोे छ । सुबिसुले ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदानगर्नको लागि देशभरी नै अप्टिकल फाइबर नेटवोर्क विस्तार गरीरहेको छ । भैगोलिक बनावट, राजनैतिक अस्थिरता, विज्ञहरुको कमी र नयाँ प्रविधिको लागि चाहिने पुँजीको अभावले नै नेपालमा स्थिर तथा समक्ष नेटवर्कको सेवा प्रदान गर्न ठुलो चुनौती देखिने सुबिसुले जनाएको छ । नेपालभरका घरघरमा ब्रोड ब्याण्डको पुर्वाधार विकास गर्नकालागि नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले(एनटीए) देशमा संचालित टेलिकम अपरेटरर्स तथा इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरुसँग सहकार्य गरेको छ ।

किन बेच्दैछन् सानिमामाई हाइड्रोपावरका संस्थापकले कम्पनीको सेयर ?

काठमाडौं । सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापकले धमाधम सेयर बिक्री गरेर बाहिरिएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा लगातार ३ सातादेखि सानिमामाईको सेयर बढी कारोबार हुदै आएको छ । कम्पनीका संस्थापकले बाहिरिन धमाधम सेयर बिक्री गरेपछि सबैभन्दा बढी सेयर कारोबार भएको हो । बिहीबार सानिमामाईको प्रतिकित्ता ४२४ रुपैयाँमा ४२ हजार ७५३ कित्ता सेयर किनबेच भएको छ । बिहीबार १ करोड ८१ लाख ३८ हजार रुपैयाँ सेयर किनबेच भएको छ । कारोबार सुरु भएको ३ वर्षपछि जलविद्युत कम्पनीको संस्थापक सेयर पनि साधारण हुने भएपछि बढी सेयर हुनेले बेचेर बाहिरिन लागेका हुन् । १ सय रुपैयाँको सेयर ४ सय रुपैयाँ बढी पाएपछि बिक्री गर्नु स्वभाविक भएको एक लगानीकर्ताले बताए । पछि राम्रो मूल्य नपाउने अनुमानका आधार अन्य क्षेत्रमा लगानी गर्न संस्थापकहरुले धमाधम सेयर बिक्री गरिरहेको उनको भनाई छ । “अहिले संस्थापकले धमाधम सेयर बेचेर बाहिरिरहेका छन् ।”ती लगानीकर्ताले भने सेयर किनबेच बढेपछि सानिमामाईको सेयर मूल्य निरन्तर घट्दै गएको छ । सेयर मूल्य घट्दै गएपनि दुई सातादेखि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सबैभन्दा बढी सेयर कारोबार सानिमामाईको नै भइरहेको छ । गत मंगलबार सेयर प्रतिकित्ता ४२४ रुपैयाँमा कारोबार भएको थियो । गत वर्षको चैतको दोस्रो साता सानिमाको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार २३९ रुपैयाँ पुगेको थियो । मूल्य समायोजन भएपछि १ हजार १०५ बाट ६१५ मा झरेको थियो । मूल्य समायोजनपछि लगानीकर्ताले झण्डै २ सय रुपैयाँ गुमाएका छन् ।गत पुस १८ गते प्रतिकित्ता ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगरी जलविद्युत आयोजनामा लगानी गर्ने भएपछि कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । कम्पनीले गत आवमा २९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आवमा गरेको नाफाबाट लगानीकर्ताले ५ प्रतिशत मात्र लाभांश पाउने अवस्था आएपछि कम्पनीले १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । आयोजना गैरआवासिय नेपाली समूहको सानिमाले प्रवद्र्धन गरेको हो ।

एनएमबि बैंकका ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालमा विशेष छुट

काठमाडौं । नेपालको उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुबिधा दिने उद्देश्यले नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत एनएमबि बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सहित अस्पतालको बिभिन्न सेवा तथा सुबिधाहरुमा दश प्रतिशत (१०%)सम्मको छुट पाउने भएका छन् । ग्राहकहरुले बैंकको एनएमबी भिसा डेबिट तथा एनएमबी क्रेडिट कार्डको प्रयोग गरि अस्पतालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचार लगायत विभिन्न सेवा तथा सुबिधाहरुमा यो विशेष छुट सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता विभिन्न खाले योजनाहरु ल्याउने गरेको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा गुल्मी र अर्घाखाँचीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप दुई शाखा गुल्मी र अर्घाखाँचीमा विस्तार गरेको छ । बैंकले माघ १० गते देखि आफ्नो ६३ औँ शाखा गुल्मीको दिगाममा र ६४ औँ शाखा अर्घाखाँचीको वाड्लामा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार गुल्मीको दिगाममा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि भगिरथ बहुउदेशिय सहकारी संस्था र अर्घाखाँचीको वाड्लामा खोलिएको सेवाको लागि स्थानिय पशुपति भट्टाईलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैंकले हालसम्म ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र बुधबारबाट ६४ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

सूर्योदय लघुवित्तले ७० प्रतिशत हकप्रद निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले बिहीबार मात्रै सो मात्रा अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । लघुवित्तले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत २ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ४ करोड ७६ लाख रुपैयाँ रहेको छ । ७० प्रतिशत हकप्रद पश्चात संस्थाको पुँजी ७ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।

भजन घर निर्माणका लागि तत्काल २० लाख रूपैयाँ दिइने

काठमाडौं । पुरातत्व विभागले काठमाडौं महानगरपालिका-१५ स्थित स्वयम्भू ज्ञानमाला भजन घर निर्माणका लागि तत्काल २० लाख रुपैयाँ दिने भएको छ । गत पुस २८ गते राति भएको आगलागीका कारण क्षति भएको उक्त घरको स्वरूप नमासिने गरी निर्माण गर्न सो रकम उपलब्ध गराउने र नपुग रकम अर्को वर्ष थप गर्ने विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । दोस्रो चौमासिक पनि सम्पन्न हुन लागेकाले विभागले अहिले नै उक्त शीर्षकमा धेरै रकम खर्च गर्न नसकेको हो । भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भइ हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भई करिब रु ३० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं ८ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले शाक्यमुनि गौतमबुद्धले दिएका उपदेशलाई साँगितीक रूपमा प्रस्तुत गरीे संस्कृतिको शुरुवात गरिएको ऐतिहासिक भजन घर चाँडो निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुद्धले आफ्नो जीवनकालमा दिएका शिक्षा तथा सन्देशलाई संग्रह गरी तीन भागमा विभाजन गरी त्रिपिटकको विकास गरिएको थियो । पछिल्लो समयमा यिनै ज्ञानलाई गीतका भावमा भजन बनाएर स्रोतालाई सुनाउन विकास गरिएको पद्धतिलाई ज्ञानमाला भनिन्छ । थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले बौद्ध शिक्षाको प्रवद्र्धनमा सहयोग पुर्याएको छ । विसं १९९४ मा स्वयम्भू महाचैत्यबाट भिक्षु तथा उपासकले बुद्ध वचनका विभिन्न आयामलाई समेटेर शिक्षा दिने उद्देश्य राखेर ज्ञानमाला भजनको विकास भएको इतिहास छ । बुद्धले अनुभव गरेका विषयवस्तु तथा ज्ञानका आधारमा विकास भएका, त्रिरत्न, चार आर्य सत्य, पञ्चशील, आठ मार्गलगायत अधिकांश विषय उक्त भजनमा समावेश गरिएको छ । बौद्ध साहित्यमा ज्ञानमाला भजनको ठूलो महत्व भए पनि यसलाई फैलाउन सकिएको छैन । कामपा–१५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले त्यस क्षेत्रमा देश विदेशबाट आउने भक्तजनको संख्या दिन प्रतिदिन बढ्दै गएकाले पनि जीर्ण रहेका सम्पदास्थलको मर्मत तथा सम्भार छिट्टै गर्न आवश्यक रहेको बताए । विशेषगरी हिन्दू तथा बौद्धले आस्था राख्ने उक्त क्षेत्रमा रहेका सम्पदास्थल पुनःनिर्माण तथा मर्मतका लागि सरोकार पक्षले राम्रोसँग देखाएमा खर्चको अभाव नहुने स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न दातृ संघ संस्थाका प्रतिनिधिसंग सहयोगका लागि आग्रह गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछि परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भएको थियो । चैत्यको गोलाद्र्धका विभिन्न भागमा चिरा परेको छ भने त्रयोदश भूवनका चक्का भत्कने स्थितिमा पुगेको छ । प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि विभाग र महासमितिले समेत अध्ययन गरिरहेको छ । रासस

उपत्यकाका पाँच सय भूकम्पपीडितलाई काठ उपलब्ध, सबैभन्दा बढी भक्तपुरमा

काठमाडौं । द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले उपत्यकाका ४८६ भूकम्पपीडितलाई सहुलियत दरमा काठ उपलब्ध गराएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पबाट भत्केको घरको पुनःनिर्माण गर्न पुस मसान्तसम्म पीडित परिवारलाई सहुलियत दरमा काठ उपलब्ध गराएको हो । भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माण गर्न चाहिने काठ सरकारले सहुलियत दरमा उपलब्ध गराउने घोषणा गरेसँगै कर्पोरेशनले २०७४ जेठ २९ देखि काठ उपलब्ध गराउँदै आएकामा काठमाडौंमा १४७, भक्तपुरमा २६६ र ललितपुरमा ७३ छ । कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठमाडौंमा सात हजार २५९, भक्तपुरमा १२ हजार ९९० र ललितपुरमा तीन हजार ४५४ क्यूफिट काठ उपलब्ध गराएको जानकारी दिएका छन् । कर्पोरेशनले एक परिवारलाई अधिकतम ५० क्यूफिटसम्म सहुलियत दरमा काठ उपलब्ध गराउँछ । सहुलियत दरको मूल्य प्रतिक्यूफिट दुई हजार ७४० पर्छ । कर्पोरेशनले सहुलियत नदिँदा रु तीन हजार ५०० मा काठ बिक्री वितरण हुँदै आएको छ । काठ लिन नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, भूकम्पपीडित परिचयपत्र, पुनःनिर्माणसँग भएको आवास पुनःनिर्माण सम्झौताको प्रतिलिपि, जग्गाधनीको प्रमाणपूर्जा प्रतिलिपि, भवन निर्माण इजाजत प्रतिलिपि र नक्सा पेश गर्नुपर्ने हुन्छ । रासस