केपी ओलीको प्रतिवद्धताले सेयर बजारलाई छोएन, नेप्से ३ अंकले ओरालो
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले सेयरमा भ्याट नलाग्ने बताए पनि सोमबारको बजार बढ्न सकेन । भावी प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्शको एक कार्यक्रममा सेयर बजारमा भ्याट नलाग्ने प्रतिवद्धता जनाएका थिए र सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका थिए । तर उनको यस अनुरोधले सेयर बजारलाई रत्ति पनि नछोएको देखिन्छ । सोमबार सेयर बजार ३.७२ अंकले घट्नुमा ओलीले गरेका प्रतिवद्धताले काम नगरेको बुझिन्छ । सो दिनको बजार सामान्य अंकले घटेर १४०२.२३ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा २८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ट्रेडिङ र हाइड्रोपावर समूहको परिसूचक बाहेक बाँकी सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूह २१ अंकले झरेको छ । त्यस्तै, बजारमा सबैभन्दा बढी मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताले ९.९४ प्रतिशत गुमाएका छन् ।
राष्ट्र बैंकले निक्षेप लिन बोलायो, बैंक तथा वित्तीय संस्थालाई १ अर्ब ९२ करोड दिदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफनो विभिन्न कोषहरुमा रहेको झण्डै २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई दिने भएको छ । केन्द्रीय बैंकले १ अर्ब ९१ लाख ९९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्धतिमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले फागन २ गतेदेखि माघ २९ गतेसम्मका लागि बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा राख्ने भएको हो । जसअनुसार वाणिज्य बैंकले १ अर्ब ५३ करोड ५९ लाख, विकास बैंकले २८ करोड ८० लाख र वित्त कम्पनीहरुले ९ करोड ६० लाख रुपैयाँ पाउने भएका छन् । सो रकम लिनका लागि आउदो शुक्रबार आफुले दिने ब्याजदर समेत खुलाई बोलपत्र पेश गर्न राष्ट्र बैंकले भनेको छ । मुद्धति निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनु पर्ने केन्द्रीय बैंकको शर्त छ । यस्तै कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, अघिल्लो आवमा सञ्चालन नाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको र सीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएका र सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको हुनुपर्ने छ ।
मोरङको बिराट चौकमा बन्दैछ थ्री स्टार होटल
काठमाडौं । मोरङको सुन्दर हरैचा नगरपालिकास्थित बिराट चौकमा थ्री स्टार होटल बन्ने भएको छ । पुर्वाञ्चल ल्युब आयल(पीएलओ) ग्रुपले थ्री स्टार होटल नेपाली रिका बनाउन लागेको हो । ‘आगामी २ बर्षभित्र सञ्चालन हुने गरि होटलको निर्माण आरम्भ गरिसकेका छौं, पुर्वपश्चिम राजमार्ग आसपासमा राम्रो होटल नभएकाले बिराट चौकलाई छानेका हौं’, पीएलओ ग्रुपका निर्देशक कृष्ण प्रसाद दुलालले भने । पुर्वाञ्चल क्षेत्रमा पर्यटकका लागि सुबिधा सम्पन्न होटलका रुपमा नेपाली रिकालाई स्थापित गराउने उदेश्यसहित निर्माण आरम्भ गरिएको पनि उनले बताए । होटल निर्माणका लागि जमिन बाहेक १० करोड लागत अनुमान गरिएको छ । पुर्वाञ्चल क्षेत्रमा सुबिधा सम्पन्न होटल नभएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई ध्यानमा राखेर होटल निर्माण गरिएको दुलालले जानकारी दिए । बिराट चौकका होटलमा एक रात बास बसेर इलाम, धनकुटा लगायत पुर्वाञ्चलका पर्यटकिय गन्तव्यमा जान सकिने पनि उनले बताए । करिब २० कठ्ठा जमिनमा निर्माण हुने होटलमा ५० वटा कोठा रहनेछन् । होटलमा स्विमिङ पुल, सभा हल लगायतका संरचना समेत निर्माण हुनेछन् ।
बैंक स्थापना नहुँदा काम गर्न कठिनाइ
बनेपा । काभ्रेपलाञ्चोकको अधिकांश गाउँपालिकामा बैंकिङ पहुँच नहुँदा विभिन्न योजनाको सम्झौता गर्न कठिनाइ भएको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि र कोशीपारि रहेका गाउँपालिका आर्थिक कारोबार गर्न बनेपा र धुलिखेल आउँदा एक साताको समय खर्चनुपर्ने बाध्यता रहेको छ । जिल्लामा रहेका सात गाउँपालिकामध्ये महाभारत, खानीखोला, तेमाल, चौरीदेउराली र रोशी गाउँपालिकामा कुनै बैंक स्थापना भएको छैन । भुम्लु गाउँपालिकाको दोलालघाटमा सिन्धु विकास बैंक र बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा ग्लोबल आइएमई बैंक स्थापना भएपनि पर्याप्त सुविधा नभएकाले धुलिखेल र बनेपा धाउनुपरेको छ । चौँरी देउराली गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले योजना सम्झौताका काम गर्न समस्या भएको उल्लेख गर्दै बैंकका कारण भएका कर्मचारी पनि कार्यालयमा बस्न नपाउने अवस्था भएको बताए । उनले भने, “अहिले पैसा राख्न र झिक्नका लागि चार दिन लाग्ने गरेको छ ।” भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलालघाटमा बैंक भए पनि प्रभावकारी नभएको जानकारी दिँदै बंगलादेश बैंकका लागि कार्यालयका तर्फबाट कोठा छुट्याए पनि अझै बैंक गाउँ नपुगेको बताए । उनले भने, “गाउँपालिकाका १०९ वटा आयोजना छन्, त्यसको सम्झौता गर्न धुलिखेल धाउनुपर्ने अवस्था छ ।” तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले बैंक नभएका कारण ठूलो सास्ती खेप्नुपरेकाले सानातिना आर्थिक कारोबारका लागि बनेपा र धुलिखेल जानुपर्ने बाध्यता रहेको बताएका छन् । उनले भने, “हाम्रो २७ करोड बजेट छ, बोधिचित्तको समेत कारोबार हुँदा रु ५० करोडको बजेट हुन्छ, तर आर्थिक सुरक्षा भएन ।” रासस
सस्तो कर्जाको खोजीमा हुनुहन्छ ? सम्झनुस् स्ट्याण्डर्ड चाटर्डदेखि राष्ट्रिय वाणिज्य र नविलसम्म
काठमाडौं । वाणिज्य बैंक मध्ये सबैभन्दा सस्तो कर्जा स्ट्याण्डर्ड चाटर्ड बैंकको रहेको छ । यसअघि राष्ट्रिय वाणिज्य बैंकको सस्तो ब्याज रहेकोमा चालु आर्थिक वर्षको ६ महिनामा स्ट्याण्डर्डले उसलाई उछिनेको छ । स्ट्याण्डर्डले सोमबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरणमा आधार ब्याजदर ५.८० प्रतिशत मात्र रहेको जानकारी दिएको छ । चालु आवको पहिलो त्रैमाशमा उसको आधार ब्याजदर ६.४७ प्रतिशत थियो । ३ महिनाकोबीचमा स्ट्याडर्डको आधार ब्याजदर ०.६७ प्रतिशत घटेको छ । स्ट्याण्डर्डलाई ६ प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्दा फाइदा हुने देखिन्छ । यस्तै राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ५.९८ प्रतिशत छ । चालु आवको पहिलो त्रैमाशमा उसको आधार दर पनि यही नै थियो । यस्तै सस्तो ब्याजदर दिनेमा नविल बैंक रहेको छ । नविलको आधार दर ६.९२ प्रतिशत छ । त्यसपछि नेपाल बैंक रहेको छ । नेपाल बैंकको आधार दर ६.९३ प्रतिशत छ । स्ट्याण्डर्ड, राष्ट्रिय वाणिज्य नविल र नेपाल बैंकको कर्जा लिदा ब्याजदर सस्तो हुने देखिएको छ । यस्तै एभरेष्ट बैंकको ७.८४ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९ प्रतिशत रहेको छ । सबैभन्दा महंगो कर्जा कृषि विकास बैंकको देखिएको छ । कृषि विकासको आधार ब्याजदर ११.५३ प्रतिशत रहेको छ । कृषि विकासबाट कर्जा लिदा ब्याजदर १२ प्रतिशत भन्दा बढी पर्छ । स्ट्याण्डर्डको भन्दा कृषि विकासबाट ऋण लिदा ब्याजदर दोब्बर महंगो हुन्छ । आधार दर ११ प्रतिशत बढी हुनेमा सिभिल बैंकको ११.५०, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ११.४५, सिटिजन्स बैंकको ११, कुमारी बैंकको ११.१७, जनता बैंकको ११.३५, नेपाल बंगलादेश बैंकको ११.३९ र सेन्चुरी बैंकको ११.४३ प्रतिशत रहेको छ । अधिकाँश बैंक तथा वित्तीय संस्थाले माघ १ गतेदेखि नयाँ ब्याजदर लागु गरेका छन् । बजारमा लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि अधिकाँश वाणिज्य बैंकले महंगो दरमा निक्षेप उठाउदा लागत बढ्न गई यसको असर आधार ब्याजदरमा परेको हो । केही बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशत पु¥याएपछि यसको असर आधार दरमा परेको छ । नेपाल बैंकर्स एसोसियसनको पहलमा बैंकले मुद्धतिमा दिने ब्याजदर ११ प्रतिशत भन्दा नबढाउने आन्तरिक भद्र सहमति गरेका छन् । पछिल्लो समयमा बैंकले मुद्धति निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म दिने गरी नयाँ मुद्धति योजना पनि सार्वजनिक गरेका छन् । अन्य वाणिज्य बैंकले मुद्दतीको ब्याजदर १३ प्रतिशत पुर्याउदा स्ट्याण्डर्ड चाटर्ड र नेपाल बैंकको १० प्रतिशत छ । अधिक तरलता भएपछि राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर भने बढाएन । मुद्दति निक्षेपको ब्याजदर बढाएपछि अन्य बैंकको कर्जाको ब्याजदर पनि महंगो देखिएको हो ।
४५ वटा डिलर्ससहित एलजी ब्राण्ड थाइल्याण्ड भ्रमणमा
काठमाडौं । एलजी ब्राण्डले “इन्जोए एण्ड ह्याभ अ ग्रेट ट्रीप टू थाइल्याण्ड २०१८” नाराका साथ ४५ डिलर्सहरुलाई थाइल्याण्ड भ्रमणमा लगेको छ । एलजीले आफ्ना डिलर्सहरुलाई पाँच दिनको लागि थाइल्याण्ड भ्रमणमा लगेको हो । प्रत्येक वर्ष नेपालभरिका एलजीका डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ । यस परम्परालाई निरन्तरता दिने उद्देश्यकासाथ एलजीले हरेक वर्ष झैं यसपाली पनि आफ्ना डिलर्सहरुलाई थाइल्याण्ड भ्रमणमा लगिएको बताएको छ । नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।
कैलाश विकास बैंकको ४३औँ शाखा कैलालीको धनगढीमा, थप चार शाखा खोल्ने तयारी
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४३औँ शाखा कैलाली जिल्लाको धनगढीमा विस्तार गरेको छ । बैंकले सोमबारदेखि उक्त शाखाबाट कारोवारको शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ नेपाल राष्ट्र बैंकका कामु. निर्देशक रमेश आचार्यले एकसमारोहका बिच सम्पन्न गरेका छन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४२ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा रुपन्देही जिल्लाको भैरहवा, झापा जिल्लाको दमक, मोरङ्ग जिल्लाको विराटनगर तथा पर्सा जिल्लाको विरगंजमा गरी थप चार शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यस संस्थाले हाल सम्म १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु
चरिकोट । दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा सोमबार बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा बाटोमा ल्याउँदा ल्याउँदै मृत्यु भएको उनले जानकारी दिएका छन् । आयोजनामा उनले ग्राउण्डिङ सर्किटको काम गर्दै आएका थिए । रासस