आउँदो ३ वर्षमा नाफा २ अर्ब ९ करोड पुग्ने सिद्धार्थ बैंकको प्रक्षेपण, ईपीएस पनि बढ्ने
काठमाडौं । आउँदो ३ वर्षमा सिद्धार्थ बैंकले खुदनाफा ४८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढेर २ अर्ब ९ करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आवमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुदनाफा गरेको थियो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको सुचनामा बैंकले वर्षेनी औसत १६ प्रतिशतका दरले खुदनाफा बढाउने लक्ष्य लिएको हो । बैंकले चालु आवमा १ अर्ब ५१ करोड २९ लाख रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ । आगामी १ अर्ब ७७ करोड ७३ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपण सार्वजनिक गरेको हो । बैंकको नाफासंगै प्रतिसेयर आम्दानी (ईपीएस) समेत बढेर ३ वर्षमा २४ रुपैयाँ ३३ पैसा पुग्ने बैंकले जनाएको छ । गत आवमा बैंकको ईपीएस २१ रुपैयाँ ३९ पैसा छ । चालु आवमा घटेर १७ रुपैयाँ ४८ पैसा र आगामी आवमा पुनः बढेर २० रुपैयाँ ५४ पैसाँ पुग्ने प्रक्षेपण बैंकको छ । चुक्तापुँजी बढेपछि बैंकको ईपीएसमा गिरावट आएको छ । आव ०७६/०७७ मा बैंकले ब्याज आम्दानी बढेर १४ अर्ब ३ करोड पुग्ने प्रक्षेपण गरेको छ । गत आवमा बैंकको ब्याज आम्दानी ६ अर्ब ६५ करोड रुपैयाँ थियो । चालु आवमा बैंकको ब्याज आम्दानी बढेर ९ अर्ब ६७ करोड र आगामी आवमा अझ बढेर ११ अर्ब ८१ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षमा बैंकले निक्षेप परिचालन बढाएर १ खर्ब ३७ अर्ब ९८ करोड रुपैयाँ पुग्ने अनुमान छ । चालु आवमा बढेर ९६ अर्ब ६३ करोड आगामी वर्ष बढेर १ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ निक्षेप परिचालन हुन सक्ने बैंकको अनुमान छ । यस्तै कर्जा लगानी पनि विस्तार भई ३ वर्षमा १ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालु आवमा बैंकको कर्जा लगानी ८२ अर्ब ६६ करोड र आगामी वर्ष ९८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ । जगेडा कोषमा ६ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । बैंकले फागुन २ गतेदेखि ६८ करोड २६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । १० बराबर १ अनुपातमा निष्कासन हुन लागेको हकप्रद सेयरको बिक्री चैत ६ गते बन्द हुने बैंकले जनाएको छ । माघ २२ गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । हकप्रद सेयर बाँडफाँडपछि चुक्तापुँजी बढेर ७ अर्ब ५० करोड ८७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको चुक्तापुँजी ६ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ छ ।
कालिका माइक्रोक्रेडिटको साधारणसभा फागुन १९ मा, २१ प्रतिशत बोनस सेयर पारित गर्ने
काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको आठौ वार्षिक साधारणसभा फागनु १९ गते हुने भएको छ । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.२१ प्रतिशत अर्थात १ करोड ७५लाख रुपैयाँ बोनस सेयर स्वीकृत गर्ने छ । सभामा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन हुने भएको छ । यस्तै नाम परिवर्तन गरेर कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा परिणत गर्ने प्रस्ताव सभाले पाति गर्ने भएको छ ।
युनिलिभर नेपालको नाफा साढे १८ प्रतिशत घट्यो, ईपीएसमा पनि गिरावट
काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको खुदनाफा साढे १८ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा युनिलिभरले १५ करोड ३० लाख रुपैयाँ मात्र नाफा गरेको छ । गत आवको सोही अवधिमा उसले १८ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा आम्दानीमा पनि गिरावट आएको जानकारी दिएको छ । समीक्षा अवधिमा नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६६ रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा २०४ रुपैयाँ थियो । यस्तै आम्दानी पनि घटेर १ अर्ब ५ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा युनिलिभरले १ अर्ब २१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसबीचमा युनिलिभरको नाफा झण्डै १६ करोड रुपैयाँ घटेको छ । उत्पादित वस्तुको बिक्रीमा कमी आएपछि आम्दानी घटेको युनिलिभरले जनाएको छ । वितरण सञ्चाललाई अझ बढाई यो वर्ष नाफा बढाउने उसले जनाएको छ ।
चैतभित्रै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको २ अर्ब ६४ करोड आईपीओ आउने
काठमाडौं । निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आउदो चैतभित्र साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आईपीओ आउदो चैतसम्म निष्कासन हुने अपर तामाकोसीको अध्यक्ष तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तामाकोसीको आईपीओ निष्कासनको काम सुरु भइसकेको जानकारी दिए । जिल्ला समन्वय समितिबाट आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरी सेयर वितरण गर्ने समहमति भएको छ । दोलखावासीले न्युनतम ३० देखि बढीमा ३ सय कित्तासम्म सेयर भर्न पाउने भएका छन् । स्थानियबासिन्दालाई निष्कासन गरिसकेको सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन हुनेछ । पहिलो चरणमा सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन हुनेछ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ । सो सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत नहुदाँ कारोबार भएको छैन् । आईपीओबाट लगानीकर्ताले लाभ पाउन सकेका छैनन् । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । हाल आयोजनाको काम ९३ प्रतिशत सम्पन्न भएको छ । डलरको मूल्यमा उतारचढाव आउनु लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबढ्नु र भूकम्पका कारण आयोजनाको समयसीमा लम्बिदै जानुका कारण ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजनाको लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको हो । आयोजना ०७५ असार मसान्तभित्र विद्युत् युनिटबाट बिजुली उत्पादन गरिसक्ने लक्ष्य लिइएको छ । सोही वर्षको मंसिरसम्म ५ वटै युनिट सञ्चालनमा ल्याउने तयारी कम्पनीको छ । यस्तै ४५६ मेगावाटको आयोजनाले २२ मेगावाटको अर्को आयोजना र रोल्वालिङ डाइभर्सन आयोजनाको काम अघि बढाएको छ । तामाकोसीबाट २ अर्ब २८ करोड र रोल्वालिङबाट गरी वार्षिक २ अर्ब ६२ करोड युनिट बिजुली उत्पादन हुने छ । तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा लोडसेडिङको अन्त्य हुने छ ।तामाकोसीबाट मात्र बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी हुने छ । रोल्वालिङको बिजुली थपिएपछि आम्दानी अझै बढ्ने छ ।
कावासोती र चनौलीमा एनसीसी बैंकको नयाँ शाखा
काठमाडौं। एनसीसी बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका, वडा नं. २ र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १८, चनौलीमा एक औपचारिक कार्यक्रमबीच आफ्नो शाखाहरु स्थापना गरेको छ । कावासोती शाखाको उद्घाटन एनसीसी बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका थिए । उनले सो अवसरमा बैंकले गुनासो रहित कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । साथै सेवाग्राहीहरुको सुझावको आधारमा बैंकका गतिविधि सञ्चालन गर्ने उनको भनाइ छ । त्यस्तै चितवको चनौली शाखाको उद्घाटन बैंकका सञ्चालक डा. कैलाश पतिन्द्र अमात्यले गरेको जनाइएको छ । उनले उद्घाटनको अबसरमा उक्त क्षेत्रका जनताको आर्थिक क्रियाकलापमा बैंकले सहयोग पुयाउने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले चनौली क्षेत्रको समग्र आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले सो ठाउँमा शाखा सञ्चालनमा ल्याएको बताएका छन् ।
राष्ट्र बैंकले बिहीबार ५ अर्ब बजारमा पठाउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम भएपछि बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले विकास ऋणपत्र सोझै खरिद बोलकबोलबाट बैंकिङ प्रणालीमा पैसा पठाउन लागेको हो । अहिले बजारमा १९ अर्ब ९० करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । यस्तै अन्तरबैंक ब्याजदर पनि बढेर ४.९७ प्रतिशत पुगेको छ । ५ प्रतिशत नाघेपछि यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउछ । बजारमा तरलताको व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले विभिन्न वित्तीय औजारको प्रयोग गरेर पैसा पठाउने गरेको छ ।
रेनोको वाउ अफर अाजबाट शुरु, ८.९९ प्रतिशत व्याजमा नै कार पाइने
काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको छ । यो योजना आज (माघ २४) गतेबाट सुरु भएको छ । अब उपभोक्ताले रेनोको उत्कृष्ट र आर्कषक कारहरु सर्वसुलभ व्याजदरमा खरिद गर्न पाउने छन् । त्यसको लागि कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गर्ने व्यवस्था मिलाएको छ । यस अफर योजनामा व्याजदरको अलावा २ बर्षसम्म फ्रि सर्भिसिङ, एक बर्षको सडक कर, सहज फाइनान्सीङ र आर्कषक नगद छुटको व्यवस्था रहेको छ । साथै कम्पनीले गाडीमा ५ बर्षको वारेन्टि समेत दिएको छ । यो अफर नेपालभर रहेका रेनो शोरुमहरुबाट ग्राहकले लिन सक्ने छन् । यस अफरले निकै सस्तो ब्याजदरमा ग्राहकले रेनोका उत्कृष्ट र आर्कषक कारहरु खरिदगर्न सक्ने छन् । रेनोका बिभिन्न मोडलमा आएका आर्कषक र लग्जरी कारहरुले उत्कृष्ट परफरमेन्स दिने छन् । हाल नेपालमा रोनेका ५ मोडलका कारहरु बिक्री वित्तरण दुँदै आइरहेका छन् । जस्मा डस्टर, लोड्जी, क्विड १.० लिटर एटिएम, क्विड ०.८ लिटर र क्विड १.० लिटर रहेका छन् । ग्राहकले आफ्नो इच्छा लागेको मोडल मनपर्ने कलरमा छनोट गर्न सक्ने छन् ।
नेशनल लाईफ इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा, ट्रेडिङ्ग इन्स्टिच्यूट खाल्ने तयारी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय न्यूरोडमा सञ्चालन गरेको छ । बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा बोल्दै कम्पनीको अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा यस क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पुर्याउने प्रयोजनको लागि नयाँ शाखा खोलिएको बताएका छन् । सिंहले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१-८० को उच्चतम बोनस दर कायम गर्न सफल रहि नेपालको जीवन बीमा बजारमा कम्पनीको योगदान रहेको बताएकी छन् । कार्यक्रममा बीमा समितिको अध्यक्ष चापागाईले कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने बताएका छन् । अध्यक्ष चापागाईले यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो) बारे सुधार गर्नु पर्ने र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसंग तालिम दिन आवश्यक रहेको बर्ताएका छन् । साथै, अध्यक्ष चापागाईले गुणस्तरीय जनशक्तिको व्यवस्था गर्न बीमाको उच्च स्तरीय पढाईको लागि छलफल र सम्पुर्ण बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्था (ट्रेडिङ्ग इन्स्टिच्यूट)को व्यवस्था भैरहेको बताएका छन् ।