उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझाव कार्यान्वयन गर्न थालिसकेको छु : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू क्रमशः कार्यान्वयन थालेको बताएका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबारको बैठकमा बोल्दै उनले आयोगका अधिकांश सिफारिसहरूलाई कार्यान्वयन गर्ने जिम्मेवारी अहिले अर्थ मन्त्रालयले लिएको र केही नीति तथा कानून तयार पार्ने प्रक्रियामा रहेको जानकारी दिए । खनालकाअनुसार आयोगका कतिपय सिफारिसहरू दीर्घकालीन प्रकृतिका छन् । जसका लागि संसदबाट कानून पारित गर्नुपर्नेछ । कार्यकारी निर्णयबाट गर्न सकिने सुधारहरू तत्काल कार्यान्वयन गरिसकिएको स्पष्ट पारे । अर्थमन्त्री खनालले भने– ‘जहाँसम्म आयोगको प्रतिवेदन कार्यान्वयनको कुरा छ, म आफैँले तयार गरेको प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी अहिले मेरो काँधमा आएको छ । कतिपय विषय कानून बनाएर मात्र अघि बढाउन सकिन्छ, त्यसका लागि संसद प्रक्रियामा लैजाने तयारी भइसकेको छ ।’ उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुधारअनुसार नै राजश्व र भन्सार प्रशासनमा योग्यता सुधार गरिएको उनले बताए । अर्थमन्त्री खनालले कर प्रणालीमा देखिएका कमजोरीहरू सुधार गर्न राजस्व प्रशासनमा योग्यता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गरिएको बताए । उनकाअनुसार आयकर गणना गर्न नसक्ने, ब्यालेन्स सेट पढ्न नजान्ने कर्मचारीहरू जिम्मेवार पदमा रहँदा करदाताले राम्रो सेवा पाउन नसकेका बेला अहिले पदपूर्ति गर्दा नै योग्यतामा सुधार गरिएको छ । खनालले भने–‘हाम्रो आन्तरिक राजस्व प्रशासन र भन्सार प्रशासनमा योग्य कर्मचारी नहुँदा सेवा गुणस्तर घटेको थियो । अहिले शाखा अधिकृत तहमा योग्य जनशक्ति भर्ना गर्ने निर्णय गरिएको छ, जसले करदाताले राम्रो सेवा पाउने र राजस्व बढ्नेछ ।’ उनकाअनुसार यो सुधार उच्चस्तरीय आर्थिक सुधार आयोगको सिफारिसअनुसार गरिएको हो, जसले प्रशासनिक दक्षता र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ । हालै स्वकीय सचिव र सल्लाहकार नियुक्तिसम्बन्धी विवादलाईबारे पनि अर्थमन्त्री खनालले स्पष्टीकरण दिएका छन् । उनकाअनुसार कानूनमा विपरित नियुक्त भएकालाई सुविधा नदिने निर्णय अर्थ मन्त्रालयले गरेको हो, तर कानुन मन्त्रालयले तयार गरेको अनुसूचीमा भएका परिवर्तनबारे आफूलाई पनि मिडियामार्फत मात्र जानकारी भएको उनले बताए । अर्थमन्त्री खनालले भने– ‘हामीले कुनै अनुसूची परिवर्तन गरेका छैनौँ । कानूनमा नभएका सुविधा नदिने मात्र भनेका हौँ । यो विषय कानून मन्त्रालयसँग संवद्ध छ, त्यसैले म कानूनमन्त्री र प्रधानमन्त्रीसँग पनि कुरा गर्नेछु । कानूनमा व्यवस्था नभएकाले स्वकीय सचिव नियुक्ति हुन नसक्ने कुरा कानून मन्त्रालयले स्पष्ट गर्नुपर्छ ।’ भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा प्रगति खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयमा नेपालले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको पनि बताए । उनकाअनुसार अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई पहिले ‘कानून बनाएको तर कार्यान्वयन नगरेको’ भनेर आलोचना गरे पनि अब त्यस्तो छैन । खनालले भने–‘अब हामीले कानून मात्र होइन, मुद्दा दर्ता र कारबाही प्रक्रियामा पनि प्रगति गरेका छौँ । यही प्रगतिबारे आगामी जनवरीमा हुने बैठकमा अन्तर्राष्ट्रिय निकायलाई जानकारी दिन सक्नेछौँ ।’ खनालले नेपालले अन्तर्राष्ट्रिय निकायहरूसँग गरेको प्रतिवद्धता पालनामा पनि सरकार गम्भीर रहेको बताए ।
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै
काठमाडौं । पूर्व एमाले उपाध्यक्ष तथा मातृभूमि जागरण अभियानका संयोजक भीमबहादुर रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् । पार्टी प्रवेशका लागि विशेष कार्यक्रम मंगलबार (आज) दिउँसो आयोजना हुने भएको छ । रावलले केही महिनाअघि एमालेबाट अलग भएर मातृभूमि जागरण अभियानको नेतृत्व गरेका थिए । अब सो अभियानलाई नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गर्दै रावल स्वयं पनि पार्टी प्रवेश गर्न लागेका हुन् । कार्यक्रमलाई नेकपाका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका नेताहरूले संयुक्त रूपमा सम्बोधन गर्ने तयारी रहेको छ । रावलले भनेका छन्, ‘राष्ट्रियता, सामाजिक न्याय र सुशासनका विषयमा हाम्रो विचार नेकपासँग मिल्दो छ । देशको समृद्धिका लागि एकीकृत वाम शक्ति आवश्यक भएकाले हामी नेकपामा जाने निर्णयमा पुगेका हौं ।’ एमालेमा रहँदा पार्टीभित्र नीतिगत मतभेद देखिएपछि रावलले २०८१ सालमा मातृभूमि जागरण अभियान स्थापना गरेका थिए । एमालेले उनलाई पार्टी गतिविधिबाट निलम्बन गरेपछि उनले वैकल्पिक राजनीतिक यात्राको सुरुवात गरेका थिए । नेकपाको नेतृत्वले रावल र उनको अभियानलाई पार्टीमा समाहित गर्न विशेष पहल गरेको र उनलाई पार्टीको नीति, संगठन र राष्ट्रिय अभियानमा प्रमुख भूमिका दिने तयारी गरेको नेकपाले जनाएको छ । नेकपाका अनुसार उक्त पार्टीमा रावललाई उपाध्यक्ष सरहकै जिम्मा दिने तयारी रहेको छ । कार्यक्रममा देशभरका अभियान प्रतिनिधि, नेकपाका केन्द्रीय सदस्यहरू र विभिन्न वामपन्थी संगठनका प्रतिनिधिहरूको उपस्थितिको तयारी गरिएको रावलले जानकारी दिए ।
डोंगफेङको इटहरीमा अत्याधुनिक शोरूम उद्घाटन, टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सञ्चालन
काठमाडौं । डोंगफेङ ब्रान्डका अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रालिले श्रीजना मोटर्ससँग सहकार्य गर्दै इटहरीमा नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ । यस कदमले नेपालभर सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतालाई बलियो बनाएको छ भने ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने उद्देश्यमा पनि योगदान पुर्याएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त, श्रीजना मोटर्सका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरीसहित सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । कम्पनीका अनुसार इटहरीको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाई डोंगफेङ र सेरेसका नवीनतम ईभी मोडेलहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ । ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरूममा प्रशिक्षित कर्मचारीहरूको टोली व्यक्तिगत परामर्श, जानकारी र टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहनेछ । इटहरीमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धि मोटर्सले कार्तिक २४ देखि २६ गतेसम्म इटहरी, राजस्व ढाँटस्थित श्रीजना मोटर्समा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ । यस अवधिमा ग्राहकहरूले नामी ०१, नामी भिगो तथा सेरेस ईभी खरिद वा एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीका अनुसार नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस३ मा अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ । ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्ज बोनसका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि प्राप्त गर्नेछन् ।
नेपाली कांग्रेसले अबको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्नुपर्छ : कल्याण गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीले अबका सबै गतिविधि आगामी २०८२ फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर सञ्चालन गर्नुपर्ने बताएका छन् । उनले वर्तमान राजनीतिक अवस्थाबाट मुलुकलाई संविधानको मूल बाटोमा फर्काउने एक मात्र माध्यम स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताएका हुन् । गुरुङका अनुसार विषम परिस्थितिजन्य बाध्यताले देशलाई अलिकति सिधा बाटोबाट अलग पारेको छ, तर चुनावले मात्रै नेपालको संविधानलाई फेरि मूल बाटोमा ल्याउन सक्छ । उनले पार्टीका सबै तह केन्द्रीय कार्य समिति, प्रदेश, जिल्ला र वडा समितिसम्म तन, मन र वचनले चुनावको तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याए । 'नेपाली कांग्रेसको अहिलेको मूल लक्ष्य चुनाव, चुनाव र चुनाव नै हुनुपर्छ,' गुरुङले भने । चुनावले मात्र बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई जीवित र चलायमान राख्न सक्छ । गुरुङले उम्मेदवार छनोटदेखि समितिहरूको पुनर्गठनसम्म पहिलो पटक अवसर नपाएका युवाहरूलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार पार्टीभित्र राजनीतिक न्याय, समान अवसर र व्यवहारिक वितरणको अनुभूति हुनुपर्छ । गुरुङले नेपाली कांग्रेसले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने बताए । तर राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा आवश्यकता अनुसार अन्य दलसँग सहकार्य गर्न सकिने सम्भावना खुला राख्नुपर्ने उनको मत छ ।
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य
काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि ग्राहकहरुलाई अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ । ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ सुविधाहरुलाई अझ विस्तार गर्दै जाने निति अनुरुप दराज नेपालसँग सहकार्य भएको हो । यस सहकार्य अन्तर्गत २०८२ कार्तिक २५ गते देखी २०८२ मंसिर ५ गते सम्मको लागि लागु हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरुले दराज नेपाल मार्फत सामान खरिद गर्दा छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५सय रुपैयाँसम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटको लागि ग्राहकहरुले दराजबाट भौचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ । यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । हालै मात्र बैंकले क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधि रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
नेपालमा पहिलोपटक एसडीएलजीको विद्युतीय लोडर सार्वजनिक
काठमाडौं । नेपालमा पहिलोपटक विद्युतीय लोडर सार्वजनिक गरिएको छ । पीएसके इन्टरनेशनलले चीनको निर्माण उपकरण निर्माता कम्पनी एसडीएलजीको नयाँ मोडेल एल–९३६एचईभी नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा उक्त लोडर सार्वजनिक गर्दै नेपालमा दिगो निर्माण प्रविधिको नयाँ युग सुरु भएको घोषणा गरेको छ । कम्पनीका प्रतिनिधिहरूका अनुसार यो विद्युतीय लोडरले वातावरणमैत्री, ऊर्जा–सक्षम र लागत–प्रभावकारी समाधान प्रदान गर्नेछ । यो लोडरमा प्रयोग गरिएको प्रविधि अत्याधुनिक र सुरक्षित रहेको कम्पनीले जनाएको छ । यसमा १८०.५ किलोवाट घण्टा (५२१ भोल्ट) क्षमताको क्याटिएल लिथियम आइरन फस्फेट ब्याट्री, ६० किलोवाट स्थायी शक्ति र अधिकतम ९० किलोवाट मोटर क्षमता रहेको छ । यस लोडरको बाल्टिन क्षमता १.५ देखि ३ घनमिटरसम्म रहेको छ, जसमा सामान्यतः २.१ घनमिटरको जीपी बाल्टिन प्रयोग हुन्छ । एसडीएलजीको यो नयाँ लोडरले परम्परागत डिजेल लोडरको तुलनामा ३६ प्रतिशतसम्म ऊर्जा बचत गर्न सक्ने बताइएको छ । यसमा लगाइएको उर्जा पुनःप्राप्ति प्रणालीले लोडर सञ्चालनका क्रममा व्यर्थ जाने ऊर्जालाई पुनः प्रयोग गर्न सक्षम बनाउँछ । साथै, यो लोडर सञ्चालनमा अत्यन्तै न्यून आवाज निकाल्छ र धुवाँ वा प्रदूषण उत्पन्न नगर्ने भएकाले वातावरणमैत्री छ । पीएसके इन्टरनेशनलका प्रबन्ध निर्देशक दुर्गा श्रेष्ठका अनुसार नेपालमा बढ्दो वातावरणीय सचेतना र विद्युतीय प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले यो प्रविधि भित्र्याएको हो । उनले भने, 'हाम्रो उद्देश्य नेपालका निर्माण कम्पनीहरूलाई स्वच्छ र टिकाउ प्रविधिको प्रयोगमा प्रेरित गर्नु हो ।' कम्पनीले विद्युतीय लोडरको प्रयोगले इन्धन खर्चमा ठूलो कमी ल्याउने, मर्मत–सम्भार सजिलो हुने र सञ्चालन दक्षता बढाउने विश्वास लिएको छ । एसडीएलजीको यस प्रविधिलाई नेपालका विभिन्न ठूला निर्माण परियोजनाहरूमा प्रयोग गर्न सकिने अनुमान गरिएको छ ।
बिग्रेका सडकको मर्मत गर्दै काठमाडौं महानगर, हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रमअन्तर्गत सहरमा बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडक सुधार योजना कार्यान्वयन थालिएको छ । धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव काफ्लेका अनुसार लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको १ हजार १६० मिटर लामो सडक पनि कालोपत्रे हुनेछ । स्थानीयबासीले आफ्नो नामको जग्गा सडकमा रहेको दावी गरिरहेको यो विवादित सडक खण्डको करिब १९० मिटर सडक गएको महिना कालोपत्रे गरिएको छ । यो सडक खण्डमा ९ मिटरदेखि १४ मिटरसम्मको चौडाइ छ । बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे पकनाजोल, चाक्सीबारी देखि जेपी चोकसम्म, कुलेश्वर फलफुल बजार, बालाजु हाइटको गणेश मन्दिर देखि नागार्जुन पर्खालसम्म, शितला मार्गदेखि पहिरा लिङ्क मार्ग, उमा महेश्वर मार्ग, रवि भवन, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ । पूर्वाधार सुधार गरेर काठमाडौंलाई धुलोरहित सहर बनाउने महानगरपालिकाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षीय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महानगरपालिकाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडा पर्छन् । यी वडामा काम गर्न करिव ९० करोड रुपियाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपियाँ रहेको छ । कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभिले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रका लागि पीआर के एण्ड के जी एण्ड अम्बुजासँग ६५ करोड ५७ लाख रुपियाँमा सम्झौता भएको छ । यस क्षेत्रका लागि ७४ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । निर्माण पक्षलाई २०८२ बैशाख ४ गते कार्यादेश दिइएको छ । यो कामको म्याद २०८४ वैशाख मसान्तसम्ममा रहेको छ । उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ । मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल–युएसजी–आरएस लक्ष्मी जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो ।
जीडब्लुएम नेपालले सार्वजनिक गर्यो नयाँ ट्याङ्क सिरिज, ४ लाखभन्दा बढी बिक्री भएको मोडेल
काठमाडौं । जीडब्लुएम नेपालले आफ्ना नयाँ मोडेलहरू ट्याङ्क ३०० एचईभी र ट्याङ्क ५०० पीएचईभी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस ट्याङ्क सिरिजले नेपालमा प्रिमियम स्पोर्ट्स युटिलिटी वाहन (एसयूभी) बजारमा नयाँ अध्यायको सुरुवात गरेको छ । यी मोडेलहरू लक्जरी, प्रदर्शन र अफ–रोड क्षमताको उत्कृष्ट संयोजनसहित प्रस्तुत गरिएको उल्लेख गरिएको छ । जीडब्लुएम ट्याङ्क सिरिज सन् २०२१ मा चीनको चेङदु अटो प्रदर्शनीमा पहिलोपटक प्रस्तुत गरिएको थियो । त्यसयता यो मोडेल चीन, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्यान्डलगायतका बजारमा अत्यन्त लोकप्रिय बनेको छ । हालसम्म विश्वभर चार लाखभन्दा बढी ट्याङ्क मोडेलहरू बिक्री भइसकेका छन्, जसले अफ–रोड सवारीप्रेमीहरूबीच नयाँ रोजाइको रूपमा स्थान बनाएको छ । नेपालमा ट्याङ्क ब्रान्डको प्रवेशले जीडब्लुएमको बजारप्रतिको प्रतिबद्धता मात्र होइन, अफ–रोड संस्कृतिको विस्तारमा नयाँ युगको सुरुवात पनि गरेको कम्पनीले जनाएको छ । अफ–रोड सवारी साधनप्रतिको माग पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ्दै गएको र यो सेग्मेन्टमा जीडब्लुएमको प्रवेशले प्रतिस्पर्धा अझ रोचक बन्ने बताइएको छ । ट्याङ्क मोडेलहरूमा सर्व–भू–भाग चलाउने क्षमता (एडभान्स्ड फोर–ह्विल ड्राइभ प्रणाली) जस्ता सुविधा छन्, जसले ढुंगा, बालुवा, हिलो र हिउँजस्ता सबै भौगोलिक अवस्थाहरूमा सहज रूपमा यात्रा गर्न सहयोग पुर्याउँछ। हाइब्रिड प्रविधिमा आधारित ट्याङ्क ५०० पीएचईभीमा टर्बो चार्ज इञ्जिन र शक्तिशाली विद्युतीय मोटरको संयोजन रहेको छ, जसले तुरुन्त टर्क (घुमाउने शक्ति) र उच्च इन्धन दक्षता प्रदान गर्छ । यसमा लक्जरी भित्री डिजाइन (इन्टेरियर) अपनाइएको छ, जहाँ उच्च गुणस्तरका सामग्री, ठूला डिजिटल पर्दा र बुद्धिमान (स्मार्ट) प्रणालीहरूको संयोजनले सवारी अनुभवलाई नयाँ स्तरमा पुर्याउँछ । स्मार्ट सुरक्षा प्रणालीहरू जस्तै स्वचालित सहायक सवारी नियन्त्रण (एडीएएस), ३६० डिग्री क्यामेरा र बुद्धिमान ड्राइभ सहायक प्रविधिले सडक वा अफ–रोड दुवै अवस्थामा सुरक्षित यात्रा सुनिश्चित गर्छ। जीडब्लुएमको 'शक्ति र उद्देश्य' भन्ने दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बलियो र आकर्षक बाहिरी रूप (डिजाइन) ले यी मोडेलहरूलाई अझ विशिष्ट बनाएको छ । नेपालमा उपलब्ध ट्याङ्क ३०० एचईभी र ट्याङ्क ५०० पीएचईभीमा २.० लिटर टर्बो पेट्रोल इञ्जिन, नौं गियर भएको स्वचालित गियर प्रणाली (हाइ–फोर–ट्रान्समिसन) प्रयोग गरिएको छ । यी मोडेलहरूले क्रमशः ३५१ अश्वशक्ति र ६४८ न्यूटन–मिटर टर्क (एचईभी) तथा ४०८ अश्वशक्ति र ७५० न्यूटन–मिटर टर्क (पीएचईभी) प्रदान गर्छन् । कम्पनीका अनुसार यी सवारी साधनहरू शहरदेखि राजमार्ग र दुर्गम अफ–रोड यात्रासम्म सबैका लागि उपयुक्त, शक्तिशाली र विश्वसनीय छन् ।