वैशाख २२ मा सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय
जनकपुरधाम । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको यहाँ सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको प्रादेशिक निर्वाचन गराउने निर्णय गरेको छ । बैठकले १८ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने र पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालनामा प्रतिबद्धता व्यक्त गरेको छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सरकारी उदासीनताप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई कार्यान्वयनका लागि सशक्त आन्दोलनका कार्यक्रमसहित चार महिने कार्ययोजना तय गर्दै बैठकले महासंघको सुझाव, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम न्यूनतम् पारिश्रमिक निर्धारण गर्न सरकारसँग माग गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । बैठकले स्वास्थ्य बीमाको थप योजना अघि बढाउने निर्णय गर्दै प्रेस स्वतन्त्रता सेनानी तथा ज्येष्ठ पत्रकारको सम्मानका लागि सरकारसमक्ष कार्ययोजना प्रस्तुत गर्ने उल्लेख छ । आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै बैठकले केन्द्र तथा सबै प्रदेशमा प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन सरकारसमक्ष माग गरेको छ । बैठकले आफैँ श्रमजीवी आफैँ सञ्चालक रहेका साना लगानीका सञ्चार माध्यमलाई बचाउन समानुपातिक विज्ञापन वितरणलगायत सञ्चार सामग्रीमा कर छुटसँगै वृत्ति विकास तथा तालीम सञ्चालनका लागि साना लगानी मिडिया कोष स्थापना गर्न सरकारसँग माग गरेको छ । पे्रस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन आग्रह गर्दै राज्यका सबै निकायमा पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र प्रत्याभूतिको प्रभावकारी व्यवस्था गर्न आग्रह बैठकले गरेको छ । प्रादेशिक संरचनाको अनुभूति हुने किसिमले राज्यका हरेक निकायमा सम्मान, पुरस्कार र अवसरलाई समावेशी र समानुपातिक किसिमले प्रदान गर्न बैठकले माग गर्दै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनुका साथै जनकपुरधामका ऐतिहासिक सम्पदाको विकास तथा प्रवद्र्धनका लागि समाचार सामग्री प्रकाशन, प्रकाशनको प्राथमिकतामा राख्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले जनकपुरधाम क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि जनकपुर–अयोध्या परिपथ निर्माण गर्नुका साथै आवश्यक भौतिक संरचनाको निर्माणमा सरकारको ध्यान आकृष्ट गराउने निर्णय गरेको छ । महासंघको केन्द्रमा तत्कालै तथा जिल्ला शाखा र प्रदेशमा क्रमशः इ-ल्याब्रेरीको स्थापना गर्ने निर्णय बैठकले गरेको छ । विभिन्न सञ्चार माध्यममा लामो समयदेखि कार्यरत स्टिकरलाई प्रक्रिया पुर्याएर चाँडो स्थायीका लागि सम्बन्धित सञ्चार माध्यमलाई ध्यानाकर्षण पनि बैठकले गरेको छ । बैठकले महासंघलाई ट्रेड यूनियन संस्थाका रूपमा विकास गर्नका लागि प्रतिष्ठान शाखालाई ट्रेड युनियनमा दर्ता प्रक्रियालाई अगाडि बढाउने निर्णय गर्दै प्रेस काउन्सिलबाट हुने पत्रपत्रिका वर्गीकरणमा विभेद र पूर्वाग्राही नहुन माग गरेको छ । रासस
नेपालको एक्ला खर्बपति विनोद चौधरी फोर्ब्सकाे सूचीमा ६ स्थान सुधार गर्दै १५६१ औं स्थानमा
काटमाडौं । नेपालका खर्बपति बिनोद चौधरीले अमेरिकी पत्रिका फोर्ब्सले निकालेकाे सूचिमा ६ स्थान सुधार गरेका छन् । २०१७ मा फोर्ब्सको सूचिमा १५६७ औं स्थानमा रहेका चौधरी ०१८ मा १५६१ औं स्थानमा आइपुगेका हुन् । तीन सन्तानका पिता चौधरी नेपालमा चौधरी ग्रुपको अध्यक्ष रहेका छन् । उनी फोर्ब्सको सूचिमा पर्ने एक्ला नेपाली उद्यमी हुन् । फोर्ब्सले निकलेको नयाँ सूचि अनुसार उनको कुल सम्पति १.५२ बिलियन अमेरिकी डलर रहेको छ । नेपालको प्रतिनिधि सभाको सदस्य समेत रहेका चौधरीले नेपाल, भारत, चीन र दुबैमा होटल सञ्चालन गरिरहेका छन् । चौधरी ग्रुपले उत्पादन गरेको खाद्य बस्तु, इलेक्ट्रोनिक समाग्री, होटल व्यावसाय मध्ये सबैभन्दा लोकप्रिय वाइवाइ चाउचाउ बनेको छ । वाइवाइ चाउचाउ नेपाल सहित भारत, बंगादेश, पाकिस्तान, सर्बिया लगायत देशमा लोकप्रिय बन्दै आएको छ । ६२ वर्षिय चौधरीको गत वर्ष १.३ बिलियन अमेरिकी डलर रहेको थियो ।
लालबाबु पण्डित एक्सन म्यान हुन्: नेपाल
काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले वातावरण मन्त्री लालबाबु पण्डितलाई एक्सन म्यानको संज्ञा दिएका छन् । रौतहट टाइम्स साप्ताहिकको २० औं बार्षिकोत्सवका अवसरमा आयोजीत कार्यक्रममा नेता नेपालले मन्त्री पण्डितलाई एक्सन म्यानको उपमा दिएका हुन् । ‘लालबाबु जी एक्सन म्यान हो, उहाँ जहाँ जानु हुन्छ त्यहाँ परिवर्तन आरम्भ हुन्छ, सामान्य प्रशासन मन्त्री हुँदा जस्तै अहिले पनि नागरिकले उहाँबाट राम्रो कामको आभास गर्न पाईसकेका छन’, नेता नेपालले भने । पण्डित जस्ता मन्त्रिहरुका कारण वर्तमान सरकारको सुरुवात समेत सकारात्मक भैसकेको पनि बताए । ‘उहाँ जस्ता मन्त्रीहरुको नियुक्ती र सुरुवातका कामल नै सरकार सफल हुने बाटोमा अघि बढेको देखिन्छ, पण्डितले वातावरण सफाईमा देखाएको अग्रसरता साँच्चै प्रसंशा योग्य छ’, नेता नेपालले भने । कार्यक्रममा मन्त्री पण्डितले वातावरण बिगार्ने र फोहर गर्नेलाई डण्डा लगाउने उद्घोष गरेका थिए । उनले ठुला कतिपय ठुला उद्योगहरुले वातावरणिय प्रभाव मूल्यांकन नै नगरेको तथ्य भेटिएकाले कारवाहीको प्रक्रिया अघि बढेको पनि बताएका थिए । ‘अब फोहर सफा गर्ने मात्रै होइन, डण्डा पनि लगाउने हात चाहिएको छ, डण्डा बोकेर हिड्नुस फोहर गर्नेलाई तत्काल हान्नुस’, मन्त्री पण्डितले भने ।
सात महिनामा बढ्यो ६८ प्रतिशत विदेशी लगानी, स्थिर सरकार र सुशासनको आस
काठमाडौं । सात महिनामा वैदेशिक लगानी(एफडीआई) ६८ प्रतिशत बढेको छ । मुलुक स्थायी सरकार बन्ने दिशामा अघि बढेसँगै वैदेशिक लगानी समेत बढेको हो । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा १४ अर्ब १५ करोड रुपैयाँ वैदेशिक लगानीकर्ताले लगानी गर्ने प्रतिबद्धता गरेका छन् । उक्त लगानी गएको आर्थिक वर्षको तुलनामा ६८ प्रतिशत बढी हो । गएको वर्ष सोही अबधिमा ८ अर्ब ४१ करोड रुपैयाँको मात्रै वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । अधिकांश क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता बढेको छ । गएको वर्ष कृषि तथा वन पैदावार क्षेत्रमा १५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता रहेकोेमा यस वर्ष सोही अबधिमा १२ गुणाबढी अर्थात १ अर्ब ८५ करोड रुपैयाँको प्रतिवद्धता आएको छ । उत्पादन क्षेत्रमा गएको वर्ष १ अर्ब १४ करोड लगानी प्रतिबद्धता आएकोमा यो वर्ष ५ गुणा बढेर ५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । खानिज क्षेत्रको प्रतिबद्धता सबैभन्दाबढी ६६ गुणा बढेको छ । गएको वर्ष उक्त क्षेत्रमा ३ करोड मात्रै लगानी प्रतिबद्धता रहेकोमा चालु वर्षको सात महिनामा २ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता पुगेको छ । नयाँ क्षेत्रमा लगानी थपिदै गएका वर्षहरुमा जम्मा वैदेशिक लगानीको क्षेत्र ७ वटा मात्रै थियो अहिले बढेर ८ वटा पुगेको छ । अहिले सूचना प्रशारण सञ्चार प्रविधि भन्ने नयाँ क्षेत्र थपिएको छ । सूचना तथा प्रविधि क्षेत्रमा लगानी बढेसँगै यसको लागि छुट्टै क्षेत्र बनाउनु परेको विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार संसारमा यस क्षेत्रलाई छुट्टै महत्व दिदै आएको र नेपालमा पनि वैदेशिक लगानी बढेकोले सो क्षेत्र थपिएको हो । सूचना प्रशारण संञ्चार प्रविधि क्षेत्रमा गएको सात महिनामा मात्रै २६ करोडको वैदेशिक लगानी गर्ने प्रतिबद्धता आएको छ । औद्योगिक व्यवस्थापन ऐन ०७३ अनुसार उक्त क्षेत्र थप गरिएको विभागको भनाइ छ । त्यस्तै, लगानीको क्षेत्र भएपनि गएको वर्षको सात महिनाको अबधिमा शुन्य लगानी प्रतिबद्धता रहेको उर्जा क्षेत्रमा यस वर्षको सोही अबधिमा १ अर्ब ७० करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । पर्यटन र सेवा क्षेत्र गिरावट अधिकांश क्षेत्रमा लगानी प्रतिबद्धता आइरहदा प्रचुर सम्भावना बोकेको र आवश्यकता ठानिएको पर्यटन र सेवा क्षेत्रमा भने लगानी प्रतिबद्धतामा गिरावट आएको छ । गत आर्थिक वर्षको सात महिनाको अबधिमा ३ अर्ब २९ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको पर्यटन क्षेत्रमा भने यस वर्ष ५६ प्रतिशतले कमी आइ १ अर्ब ४५ करोडमा सिमित भएको छ । त्यस्तै, सेवा क्षेत्रको लगानी प्रतिबद्धतामा पनि गएको वर्षको तुलनामा ६९ प्रतिशतले कमी आएको छ । गएको वर्षको सात महिनामा ३ अर्ब ७८ करोड वैदेशिक लागानी प्रतिबद्धता आएकोमा यस वर्ष घटेर १ अर्ब १५ करोडमा सिमित भएको छ । उद्योग विभागको प्रवक्ता दुर्गाप्रसाद भुसालले पछिल्लो सयम चीनका लगानीकर्ताहरुले कृषि, खनिज लागायतको क्षेत्रमा बढी लगानी गर्ने भएकोले उक्त क्षेत्रमा वैदेशिक लगानी बढेको बताए । ‘पछिल्लो समय मुलुकको विभिन्न स्थानमा चीनको लगानीकर्ताहरुले कृषि क्षेत्र, खानिजको खोज–तलास तथा अनुसन्धानमा लगानी बढाएको छ,’ उनले भने ‘यद्यपि सेवा तथा पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको कम चासोे देखिएको छ ।’ चालु वर्षको सात महिनाको तथ्याङ्क अनुसार हालसम्म स्वदेशी र विदेशी गरी १६ अर्ब ८४ करोड रुपैयाँको विभिन्न क्षेत्रमा लागनी गर्ने प्रतिबद्धता आएको छ । उक्त लगानीमार्फत १७६ परियोजना सञ्चालन हुनेछन् भने त्यसबाट ६ हजार ९७२ जनाले प्रत्यक्ष रोजगार प्राप्त गर्ने भएको छ ।
लामा नागार्जुन जेभीले बनाएको दिक्तेल–हलेसी सडक कालोपत्र नसकिँदै उप्कियो
खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडाढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो । तीन वर्षअघि देखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको बीचमा गरिएको कालोपत्र महिनादिन पनि नपुग्दै उप्किएको स्थानीयवासीले बताएका छन् । तीन खण्डमा विभाजन गरेर काम थालिएको सो सडकको दिक्तेलदेखि हुर्लुङसम्मको खण्डमा भने अहिले ग्राभेलिङको काम भइरहेको छ । उक्त खण्डमा पनि नुनथलास्थित हुर्लुङ पाखाको कमसल (सेतो फोस्के) रोडा÷ढुङ्गा प्रयोग गरेको पाइएको छ । सडक कालोपत्र गुणस्तरहीन बन्दै गएकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । सडक कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयवासीको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको छ । कालोपत्र गुणस्तरहीन भएको जनगुनासो आएपछि ठेकेदार राम पाख्रिनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । निर्माणस्थलमा खटिएका इन्जिनियरहरुले ठेकेदारले अह्राएअनुसार आफूहरुले काम गरेको बताएका छन् । काम सम्पन्न नभई कालोपत्र उप्किएका बारेमा प्राविधिक सहितको टोली लिएर स्थलगत अनुगमन गर्ने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए । “हामीले गुणस्तर कायम गर्न पटक–पटक खबरदारी गरिरहेका छौँ,” उनले भने, “गुणस्तरहीन भएकै रहेछ भने कारबाहीको प्रक्रिया अगाडि बढाउँछु ।” जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्र गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको छ । एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी काम थालिएको हो । करीब दश वर्ष अघिदेखि यातायात सञ्चालन भएको दिक्तेल–हलेसी सडक कालोपत्र नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । सम्झौता गरेको लामो समयसम्म सुस्त गतिमा काम भइरहेको दिक्तेल–हलेसी सडक कालोपत्रे गर्ने कार्यले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनपछि गति लिएको थियो ।-रासस
रिलायन्स फाइनान्सको ६ लाख ५२ हजार कित्ता सेयर लिलामीमा, साधारण सेयरको मूल्य १०० नजिक पुगेपछि संस्थापक सेयर बिकेन
काठमाडौं । रिलाइन्स फाइनान्सको ६ लाख ५२ हजार ९४० कित्ता सेयर लिलामीमा आएको छ । त्यसमध्ये ५ लाख ४२ हजार ३१४ कित्ता संस्थापक सेयर रहेको छ भने १ लाख १० हजार ६२६ कित्ता साधारण सेयर छ । फाइनान्सको भित्री अवस्था विग्रेकोले संस्थापकहरु मध्ये धेरैले हकप्रद सेयर खरिदको लागि आवेदन नगरेको बताइएको छ । साथै साधारण सेयर मूल्य १०० रुपैयाँ नजिक पुगेकोले संस्थापकले सेयर नकिनेको हुनसक्ने जनाईएको छ । यस फाइनान्सको सोमबार सेयर प्रतिकित्ता १२१ रुपैयाँमा कारोबार भएको छ । सामान्यतय साधारण सेयरको मूल्य भन्दा आधा मूल्यमा संस्थापक सेयर किनबेच हुने गरेको छ । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले उक्त सेयर लिलामीमा राखेको छ । फाइनान्सले गत मंसिरमा हकप्रद सेयर निष्काशन गरेकोमा आवेदन नपरेको सेयर लिलामीमा राखेको जनाएको छ ।
म्याग्दीको सरकारी कार्यलयमा ई–पेमेन्ट शुरु
म्याग्दी । म्याग्दीका सरकारी कार्यालयमार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) शुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो । बेनीबाट प्रकाशन हुने नवविकल्प साप्ताहिकलाई पहिलो पटक ई–पेमेन्टमार्फत भुक्तानी गरिएको थियो । सरकारी कार्यालयमार्फत व्यक्ति, आपूर्तिकर्ता, निर्माण व्यवसायी, उपभोक्ता समितिलाई गर्ने भुक्तानीलाई सरल, सजिलो र छिटो बनाउन विद्युतीय प्रविधिको प्रयोग गरिएको कोष तथा लेखा नियन्त्रक छवीन्द्र बेल्वासेले बताए । उनका अनुसार विद्युतीय भुक्तानी प्रणालीमार्फत सफ्टवेयरको प्रयोग गरेर कार्यालयको खाताबाट सिधै भुक्तानी पाउनेको खातामा रकम जम्मा हुने भएकाले चेक बनाउन कोलेनिका पुग्न, चेक साट्न बैंकको शाखामा पुग्न र लाइन बस्नुपर्ने झन्झटको अन्त्य भएको छ । ई–पेमेन्ट सुविधाका लागि इन्टर पेमेन्ट सिस्टममा सदस्य भएका बैंकमा खाता भएको हुनुपर्ने कोष नियन्त्रक बेल्वासेले बताए । सेवाको शुभारम्भ गर्दै जिल्ला न्यायाधीश राजकुमार कोइरालाले छिटोछरितो सेवा प्रवाह, आर्थिक अनुशासन कायम गर्नका लागि विद्युतीय भुक्तानी प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे । महालेखा नियन्त्रकको कार्यालयका उपमहानिर्देशक नेत्रप्रसाद भट्टले वित्तीय सुशासनलाई प्रभावकारी बनाउन विद्युतीय भुक्तानी प्रणाली लागू गरिएको बताए । गत वर्ष सिंहदरबारका मन्त्रालयमा लागू गरिएको विद्युतीय भुक्तानी प्रणालीको परीक्षण सफल भएपछि आगामी वैशाखदेखि ७७ वटै जिल्लामा विस्तार गर्ने तयारी भएको जानकारी दिए ।-रासस
जेफ बेजोस बने सर्वाधिक धनी, बिल गेट्स दोश्रो नम्बरमा, सेयर कारोबारी वारेन बफेट तेश्रो(सूचिसहित)
काठमाडौं । विश्वका सर्वाधिक धनीहरुको सूचि सार्वजनिक भएको छ । गत बर्ष तेश्रो नम्बरमा रहेका जेफ बेजोस पहिलो नम्बरमा आईपुगेका छन भने पहिलो नम्बरका बिल गेट्स दोश्रो नम्बरमा पुगेका छन् । गत बर्ष दोश्रो नम्बमा रहेका सेयर कारोबार वारेन बफेट भने तेश्रो नम्बरमा पुगेका छन् । (सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्) गत बर्ष ७२.८ बिलियन अमेरिकी डलर सम्पति रहेका बेजोस यसपाली ११२ बिलियन अमेरिकी डलर कमाउँदै संसारकै सबै भन्दा धनी व्यक्ति बनेका छन् । गत बर्ष ८६ बिलियन डलरसहित एक नम्बरमा रहेक बिल गेट्स भने यसपाली ९० बिलियन अमेरिकी डलरसहित दोश्रो नम्बरमा पुगेका छन् । गत बर्ष ७५.६ बिलियन डलरसहित दोश्रो नम्बरमा रहेका वारेन बफेट भने यसपाली तेश्रो नम्बरमा धकेलिएका छन् र उनको सम्पति ८४ बिलियन डलर पुगेको छ । संसारका सर्वाधिक धनीमा परेका यी तिनै जना अमेरिकी नागरिक हुन् । सर्वाधिक धनी १० मध्ये सात जना अमेरिकी नागरिक रहेका छन् ।