विकासन्युज

चुनावको प्रतिद्धन्द्धिता छाडेर विकास र समृद्धिमा लागौं- ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चुनावको प्रतिष्पर्धालाई भुलेर देश विकासमा जुट्न आग्रह गरेका छन् । संसदमा विश्वासको मत माग्न आफ्ना कुरा राख्दै प्रधानमन्त्री ओलीले चुनावको प्रतिष्पर्धालाई छाडेर विकास र समृद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका हुन् । ओलीले निर्वाचनमा प्रतिष्पर्धाका क्रममा देखिएका तिक्तताहरुलाई भुलेर सरकार र प्रतिपक्ष दुबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले राष्ट्रियता र गौरवलाई उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले बामपन्थी घोषणा पत्रमा अघि सारिएका प्रतिवद्धताहरुको कार्यान्वयनमा प्रतिवद्ध रहेको समेत बताएका थिए ।

गण्डकी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी २ अर्ब ७५ करोड पुग्ने

काठमाडौं । गण्डकी विकास बैंकले सेयरधनीलाई १९ दशमलब ३१०६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको फागुन २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैंकले गत आवको संचित मुनाफा र हाल जारी गरेको हकप्रद पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश वितरण गर्न लागेको हो । कम्पनीले जारी गरेको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको प्रस्तावित उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

बेलबारी नगरद्धारा ३२ विद्यालयमा ई-हाजिरी सेवा र बिरामीलाई २५ हजार सहयोग

काठमाडौं । बेलबारी नगरपालिका उर्लाबारी मोरङले नगरपालिका भित्रका ३२ वटा विद्यालयमा ई-हाजिरी प्रक्रिया सुरु हुने भएको छ । नगरपालिकाको समन्वयमा ई हाजिरी मेसिन खरिद प्रक्रिया अघि बढेको हो । ३२ विद्यालयका लागि ३२ वटै ई हाजिरी मेसिन खरिद प्रक्रिया अधि बढेको नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ई-हाजिरी सेवाबाट विद्यालयमा काम गर्ने सम्पुर्ण कर्मचारीको हाजिर हुनेछ । तर विद्यार्थीको हकमा भने यो लागू हुने छैन । ‘नगरपालिकाले विकासका कार्यक्रमलाई अगाडी बढाइरहेको छ, नगरपालिकामा रहेका ११ वटै वडामा इन्टरनेट सेवा पुगिसको छ, अब अन्य विकासका पुर्वाधार विकास गर्न आर्थिक स्रोतको व्यवस्थापन गरिरहेका छौं’, सुवेदीले विकासन्यूजसँग भने । नगरपालिकाले विभिन्न पाँच रोगका बिरामीलाई जिवनयापन सहज बनाउँनका लागि २५ हजार रुपैंयाका प्रतिव्यक्तिदरले रकम प्रदान गर्ने भएको छ । नगरले अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउन लागेको हो । अहिले पाँच रोगबाट पीडित व्यक्तिहरुको तथ्यांक संकलन भैरहेको नगरले जनाएको छ । ११ जना पीडितको विवरण आइसकेको र आउनेक्रम जारी रहेको छ । रकम लिनको लागि बिरामीले उपचार गराएको अस्पताल वा चिकित्सकले प्रमाणित गरेको कागजातको नगपालिकामा पेश गर्नु पर्ने छ । बिरामीलाई प्रदान गर्ने रकम नगरपालिकाको कोषबाटै उपलब्ध गराउने मेयर सुवेदीले जानकारी दिए । नगरपालिकाले विशेषगरी सडक, स्वास्थ्य र शिक्षालाई जोड दिएको उपमेयर ढाकादेवी पराजुलीले बताइन् । नगरमा सपिङ कम्पेक्स, बसपार्क निर्माण लागि आवश्यक कोष नहुँदा विभिन्न दाताहरुसँग सहयोग लिने विषयमा छलफल भैरहेको उपमेयर पराजुलीले बताइन । नगरपालिकाले स्पस्ट कानूनी कार्यआदेश नपाउँदा सुकुम्बासी समस्या र नदिनालाको व्यवस्थापनमा कठिनाई रहेको मेयर श्रेष्ठले बताए । नगरको ११ वडामा करिब ७३ हजार जनसंख्या बसोबास गर्दै आएका छन् । नगरको सबै वडाहरुमा खानेपानी को सुविधामा भने पुगेको छैन ।

चैत पहिलो हप्ता सार्क विजनेश लिडर्स कनक्लेभ

काठमाडौं । चैत २, ३ र ४ गते छैठौं ‘विजनेश लिडर्स कनक्लेभ’ हुने भएको छ । नेपालसहित विभिन्न सार्कमा आबद्ध मुलुकहरुको व्यापपार व्यवसाय बढाउन सहयोग पुर्याउने उद्देश्यले उक्त कनक्लेभ सार्क चेम्बर आफ कमर्श एन्ड इण्डस्ट्रिज (सार्क सीसीआई) ले गर्ने भएको हो । राजधानीमा आइतबार सार्क सीसीआईले पत्रकार सम्मेलन गरी उक्त सञ्चालन हुने सभाको बारेमा जानकारी दिएको थियो । सम्मेलनमा सार्क सीसीआईका अध्यक्ष सुरज वैद्यले नेपालको लागि उक्त सभा महत्वपूर्ण हुने बताए । सभामा सार्क मुलुकका वाणिज्य मन्त्रालयको प्रतिनिधि, विभिन्न सार्क स्थित चेम्बरका प्रतिनिधि, विजनेश कमिटी, नीति निर्माता लगायतको महत्वपूर्ण उपस्थिति रहने जानकारी दिए । ‘सार्क क्षेत्रको कृषि, उर्जा, सडक लगायतको विकासको सम्बन्धमा छलफल हुनेछ,’ उनले भने ‘हाम्रो टिमले सार्क क्षेत्रका युवाहरुबाट धेरै नै अपेक्षा गरेको छ ।’ नेपाल, भारत, बंगलादेश, भुटान लगायत सार्कमा आबद्ध आठ मुलुकको विभिन्न आर्थिक मुद्धाहरुमा विस्तृत छलफल गरिने उनको भनाइ छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले मुलुकको सबैभन्दा ठूलो बजार सार्कसँगको रहेको बताए । नेपालको व्यापारमा उक्त सभाले नयाँ कोर्ष लिने उनको विश्वास छ । ‘सभालाई हामीले अवसरको रुपमा लिन पर्दछ,’ उनले भने ‘सार्क मुलुकहरुको विजनेश टप लिडरहरु आउने भएका छन् । वीटुवी मिटिङ सञ्चालन हुनेछ ।’ नीति निर्माण गर्नेदेखि त्यसको कार्यान्वयनसम्म सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको उनको भनाइ छ । आयोजकले सभामा मुलुकबाहिरबाट करिब २ सयको संख्यामा डेभलपर, डेलिगेटर, स्पीकर लगायतको उपस्थिति हुने जनाएको छ ।

भक्तपुर पर्यटन विकास समिति र अस्पतालबीच पर्यटकलाई आकस्मिक सेवा दिने सम्झौता

भक्तपुर । भक्तपुरमा आउने पर्यटकहरुको आकस्मिक स्वास्थोपचारका लागि भक्तपुर पर्यटन विकास समिति र डा. इबामुरा अस्पतालबीच आइतबार सम्झौता भएको छ । उक्त सेवा आइबारदेखि नै लागू हुने भएको छ । अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, फुट पोइजन साधारणदेखि अन्य रोगको उपचार हुने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले बताएका छन् । उनका अनुसार भक्तपुरमा आउने पर्यटकका लागि आकस्मिक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इबामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरिएको हो । भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा आउने पर्यटक झन बढ्ने बताएका छन् । उनले अब भक्तपुरमा आउने पर्यटक आकस्मिक रुपमा बिरामी भए जुनसुकै समयमा पनि इबामुराले स्वास्थ्य सेवा प्रदान गर्ने बताएका छन् ।

एनआइसी एसियाले भन्यो-तत्काल ब्याजदर घट्दैन

काठमाडौं । एनआइसी एसिया बैंकले तत्काल ब्याजदर नघटाउने स्पष्ट पारेको छ । निक्षेप कर्ताहरुमाझ प्रतिवद्धता गरिसकिएको र सो प्रतिवद्धता अनुसार केहि निक्षेप सकेत संकलन भैसकेकाले तत्काल ब्याजदर नघटाउने निष्कर्षमा पुगेको बैंकका प्रवक्ता सुधिर पाण्डेले बताए । ‘हामीले निक्षेप कर्तालाई ब्याजदरबारे प्रतिवद्धता जनाईसकेका छौं, त्यसबाट पछि हट्न सकिन्न, बिचको कुनै बाटो निकाल्ने प्रयास गर्छाै’, पाण्डेले भने । उनले बैंकर्स संघको उच्च नेतृत्वसँग छलफल भैरहेको बताउँदै हल्लाका पछाडी नलाग्न आग्रह पनि गरे । ‘बैंकर्स संघका अध्यक्षसँग हामी निरन्तर छलफलमै छौं, केहि दिनमै सहमति जुट्छ, हल्लाको पछि कुद्नु भएन ।’ पाण्डेले भने ।  एनआइसीका प्रवक्ता पाण्डेले अन्तर बैंक कारोबार नगर्ने बैंकर्स संघको निर्णय विरुद्ध तत्काल राष्ट्र बैंकमा उजुरी नदिने पनि स्पष्ट पारे । ‘अहिले नै राष्ट्र बैंक जाँदा दुवै पक्षले प्रतिष्ठाको बिषय बनाउने सम्भावना देखेर आपसमै मिल्ने प्रयास गरिरहेका छौं’, पाण्डेले भने ।  उनले बैंकर्स संघ र एनआइसी एसिया बैंकबीच आरोप प्रत्यारोपमा भने नजाने सहमति भएको जानकारी दिए । एनआइसी एसिया बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत र साधारण बचतमा १० प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेपछि बैंकर्स संघले एनआइसीसँग अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको थियो । आइतबार २७ वटै बाणिज्य बैंकले संघको निर्णयलाई अनुमोदन गरेका छन् । संघले मुद्धति निक्षेपमा ११ र साधारण बचतमा ८ प्रतिशत भन्दा बढि ब्याजदर नदिने सहमति गरेको थियो ।

नेपालमा बन्यो विश्वभरका स्टील उद्योगका लागि उपयोगी ‘ह्याण्डलिङ एण्ड डिस्प्याच’ मेसिन, तत्काल नेपाललार्इ ४५ कराेड बचत

काठमाडौं । काठमाडौं स्टील प्राइभेट लिमिटेडले रड उत्पादनपछि ह्याण्डलिङ एण्ड डिस्प्याचको काम मेसिनले गर्ने प्रविधि विकास गरेको छ । यस्तो प्रविधि पहिलो पटक नेपालमा विकास भएकोले यस प्रविधिमा आधारित मेसिन बनाएर विश्व बजारमा निर्यात गर्ने कम्पनीले जनाएको छ । कम्पनीले विकसित नयाँ प्रविधिको पेटेन्ट राईट नेपाल र भारतमा दर्ता गराई सकेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत केशवराज पोखरेलले बताए । यस प्रविधिमा आधारित मेसिनको प्रयोगसँगै दैनिक १३० जना मानिसले गर्ने काम ४ जनाले गर्न सक्ने उनले बताए । नेपालको १६ वटा स्टील उद्योगले यो मेसिन प्रयोग गर्दा ५ हजार मजदुर कटौति हुने उनले जानकारी दिए । ‘हरेक स्टील उद्योगमा कम्तिमा १०० र बढीमा ३०० जना भारतीय नागरिकले काम गर्छन’ उनले भने–‘प्रोडक्सन ह्याण्डिलिङ र डिस्प्याच गर्ने कामदारले ८ घण्टा काम गर्दा प्रतिदिन १५०० रुपैयाँ कमाउँछन् । उनीहरुले वार्षिक ४० देखि ४५ करोड रुपैयाँ भारत लैजान्छन् । त्यो रकम अब नेपालमा बचत हुन्छ ।’ ‘हामीले बनाएको मेसिन लिने स्टील उद्योगहरुले गर्ने लगानी एक वर्षमा नै उठ्छ । त्यसपछि अहिले डिस्प्याच एण्ड ह्याण्डलिङमा हुँदै आएको सबै खर्च बचत हुन जान्छ’ उनले भने । यो मेसिन किन्न सवा दुई करोड रुपैयाँ लाग्ने छ । घण्टाको ५ देखि ६० टन उत्पादन क्षमता भएका कम्पनीहरुको लागि उपयोगि हुनेछ । यो मेसिनको प्रयोगले वार्षिक ६०/७० हजार टन स्टील उत्पादन गर्ने कम्पनीको वार्षिक करिव २ करोड रुपैयाँ बचत गर्छ । ‘५/६ सय डिग्री तापक्रममा बनेको डण्डी गन्ने, मुठा बनाउने, बङ्ग्याउने, ट्याग लगाउने, लोड गर्ने सबै काम विश्वभर नै मान्छेले हातैले गर्ने अभ्यास छ । यो काम निकै जोखिमयुक्त काम हो । यो काम मेसिनको प्रयोगबाट गर्ने प्रविधिको हामीले विकास गरेका छौं’ उनले भने । मानविय दृष्टिकोणले पनि यो मेसिन निकै उपयुक्त पोखरेलको भनाई छ । ‘डिस्प्याच एण्ड ह्याण्डलिङको काम गर्दा कामदार जल्ने, पोलिने वा अङ्गभङ्ग हुने जोखिम धेरै हुन्छ । धेरै गरिब र दुःख पाएका मान्छेले मात्र यो जोखिम लिएर काम गरेका हुन्छन् । उनीहरु केही समय जोखिम लिएर काम गर्छन, अलिअलि पैसा कमाएपछि यो काम गर्न छोड्छन् । त्यसैले हरेक स्टील उद्योगको लागि सबैभन्दा ठूलो समस्या भनेको डिस्प्याच एण्ड ह्याण्डलिङ गर्ने मान्छे नपाउनु हो । यो समस्या अव हुँदैन’ उनले भने । स्टील उद्योगमा कामदार नपाउने समस्या नेपालमा जस्तै भारत र अन्य देशमा पनि रहेको बताईएको छ । ‘हालसालै म भारतमा पेटेन्ट राईट दर्ता गर्न जाँदा त्यहाँको अफिसर निकै खुशी भए ।’ उनले भने–‘भारतमा १५०० भन्दा बढी स्टील उद्योग छन् । सबै उद्योगमा जनशक्तिको कमी छ । यो मेसिन भारतका सबै उद्योगले लगाउँदा वार्षिक १६०० करोड बचत हुन्छ ।’ यो मेसिन अरु देशलाई बनाउन अधिकार नदिने, नेपालमा नै बनाएर विदेशमा निर्यात गर्ने र नेपालको लागि डलर भित्र्याउने कम्पनीको योजना छ । तत्काल नेपाल बनेको मेसिन भारत, बंगलादेश, पाकिस्तान, इन्डोनेसिया, केन्या, चाइनामा निर्यात गर्ने योजना बनाएको उनले बताए । २०६८ सालमा स्थापना भएको काठमाडौं स्टील कम्पनीले २०७० सालदेखि उत्पादन गर्दै आएको छ । यस कम्पनीले ‘रिडवार विथ कपलर सिस्टम’ को स्टील उत्पादन गर्दै आएको छ । यस कम्पनीले उत्पादन गरेको रड जहाँ काटेर पनि त्यसमा जोड्न सकिने र जोडिएको भागको स्ट्रेन्थ तथा बेन्डिङ मोमेन्ट रडको परम्परागत डिजाइनको तुलनामा धेरै राम्रो भएको कम्पनीको सीईओ पोखरेल बताउँछन् । कप्लर प्रयोग गरि सजिलै जोडिने भएकोले यस आवश्यक अनुसार काट्न सकिने र कुनै पनि टुक्रा खेरा नजाने उनले बताए ।  

आइतबार विभिन्न ८ कम्पनीको एक करोड कित्ता बोनस सेयर सूचिकृत, कसको कति?

काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ८ कम्पनीको एक करोड ३ लाख ४२ हजार ४२१ कित्ता बोनस सेयर सूचिकृत भएका छन् । एकैदिन विभिन्न बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीको गरि सो मात्राको सेयर नेप्सेमा थपिएको हो । सो मध्ये सबैभन्दा बढी कैलाश विकास बैंकको सेयर नेप्सेमा थपिएको छ । यस बैंकको २२ लाख ९१ हजार ४८८ कित्ता बोनस सेयर सूचिकृत भएको हाे । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सकाे १० लाख ९१ हजार २४९, ग्लोबल आइएमई वित्तीय संस्थाकाे एक लाख १३ हजार कित्ता र स्वरोजगार लघुवित्त वित्तीय संस्थाकाे एक लाख ७४ हजार ९९६ कित्ता सेयर थपिएका छन्। त्यसैगरी, बरुण हाइड्रोपावर कम्पनीले एक लाख २१ हजार ५०० कित्ता, एक्सेल डेभलपमेन्ट बैंकले ११ लाख ५८ हजार ३०२ कित्ता, चिलिमे हाइड्रोपावर कम्पनीले ५१ लख ७१ ह्जार ८८६ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २ लाख २० हजार कित्ता बोनस सेयर नेप्सेमा थपेका छन् ।