विकासन्युज

एनआईसी एशिया बैंकको कामु सीईओमा रोशनकुमार न्यौपाने नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । शुक्रबार (आज) बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकका सहायक सीईओ न्यौपानेलाई कामु सीईओमा नियुक्त गरेको हो । नवनियुक्त कामु सीईओ न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने एनआईसी एशियालाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा रहेका छन् । न्यौपानेको नेतृत्वमा बैंकलाई थप ग्राहकमैत्री बनाई बैंकिङ्ग सेवामा उत्कृष्टता हासिल गर्ने बैंकको विश्वास रहेको छ । साथै, सोही बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामालाई स्वीकृत गरेको छ ।

महिन्द्राको नमुना वर्कसप हेटौडामा, अत्याधुनिक सेवा सुविधा दिने 

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले हेटौडामा एउटा नमुना वर्कसपको निर्माण गरि सञ्चालनमा ल्याएको छ । उक्त वर्कसप साना र ठुला गाडीहरुका लागी उपयुक्त हुने छ ।   दुगड़ ब्रदर्श एण्ड सन्स सँगको २५ बर्ष भन्दा बढीको विश्वासीलो साथ र सहकार्यमा अगाडी बढेको महिन्द्राको सोही वर्कसपको उद्घाटन सञ्जय जादव (हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा लि.) , विवेक दुगड़ (प्रवन्ध निर्देशक दुगड़ ब्रदर्श एण्ड सन्स) र चैतन्यका गलकार (कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्रालि.) ले संयुक्त रुपमा गरेका छन् । ग्राहकहरुलाइ थप गुणस्तरीय सेवा सुबिधा दिने कम्पनीको योजनाअन्तर्गत नै सो वर्कसपको निर्माण गरीएको हो । सोही वर्कसप ६८०० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । जँहा सात वटा सर्वीस वे सहीत ६०० बर्ग फीट क्षेत्रफल पार्कीङ्गका लागी, ३०५० बर्ग फीट गाडीहरु वासीङ्गका लागी, अत्याधुनीक उपकरणका साथ छीटो र गुणस्तरीय सेवा प्रदान गर्ने भएको छ । आधुनिक मर्मत कार्यलाइ प्राथमिकता दिँदै यस वर्कसपमा ग्राहाकहरुका लागी ठुलो लाउन्ज, ड्राइभर रीटाइरीङ्ग लाउन्ज र लकरको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।हाल महिन्द्रको २० वटा शाखा कार्यालय, २८ सर्वीस सेन्टर रहेका छन् । यसका साथै, कम्पनी थप अझ अरु महिन्द्रका सेवा सुविधाका संरचना निर्माणका लागी लागी परेको बताएको छ ।

केपी ओलीलाई उद्योगीको सुुझाव-समृद्धि ल्याउने भए भारतसँगको व्यापार तथा पारवाहन सन्धि पुनरावलोकन गर्नुस्

काठमाडौं । निजी क्षेत्रले सरकारलाई आर्थिक समृद्धिका लागि भारतसँगको व्यापार तथा पारवाहन सन्धि पुनरावलोकन गर्नुपर्ने बताएको छ । नेपाल उद्योग परिसंघले मुलुकको विकास र समृद्धिका लागि भारतसँग सन १९९६ मा गरिएको व्यापार तथा पारवाहन सन्धिलाई पुनरावलोकन गर्नुपर्ने बताएको हो । ‘हामीले अर्थमन्त्री र उद्योग मन्त्रीलाई भारतसँगको व्यापार तथा पारवाहन सन्धि पुनरावलोकनका लागि औपचारिक अनुरोध गरेका छौं’, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने । परिसंघले अर्थमन्त्री र उद्योग मन्त्रीलाई बुझाएको आर्थिक समृद्धिको मार्गचित्रमा पनि भारतसँगको व्यापार तथा पारवहन सन्धि पुनरावलोकन गर्नुपर्ने उल्लेख गरेको छ । परिसंघले नेपाल–भारत प्रवुद्ध समुहका नेपाली सदस्यहरुलाई पनि बैठकमा व्यापार तथा पारवाहन सन्धि पुनरावलोकनका एजेण्डा समेट्न अनुरोध गरेको अध्यक्ष शर्माले बताए । ‘भारतका सबै उत्पादन हाम्रो बजारमा निर्वाध आउन पाउने तर हामीले उत्पादन गरेका समानमा कोटा प्रणाली लगाएर अवरोध गर्ने कुराले मुलुकको विकास र समृद्धि सम्भव छैन भन्ने हाम्रो स्पष्ट बुझाई छ, त्यसकारण व्यापार तथा पारवहन सन्धि पुनरावलोकन हुनुपर्छ’, शर्माले भने । उनले नेपाल र भारतबिचको व्यापार तथा पारवाहन सन्धिका अधिकांश व्यवस्थालाई विश्व व्यापार संगठन र साफ्टा लगायतले खारेज गरिसकेकाले पनि पुनरावलोकनको मुद्धा अनिवार्य सर्त बनेको बताए । अर्थ विद डा. चन्द्रमणि अधिकारीले पनि नेपाल र भारतबिचको व्यापार तथा पारवाहन सन्धि पुनरावलोकन आवश्यक रहेको बताए । ‘विश्व व्यापार संगठनको सदस्य भैसकेपछि कोटा प्रणाली लगाउन पाइँदैन्, भारतले आफ्ना समान सहज रुपमा नेपाल पठाईरहेको छ, तर हाम्रा समान निर्यातमा कोटादेखि अन्य धेरै अवरोध गरिरहेको छ, त्यसैले व्यापार तथा पारवाहन सन्धि पुनरावलोकन गरिनु आवश्यक छ’, डा. अधिकारीले विकासन्युजसँग भने । नेपाल र भारतबिच सन १०१३ अर्थात २०६९ सालमा सात बर्षका लागि पारवाहन सन्धि नविकरण गरिएको थियो । व्यापार सन्धि भने २०७३ असोज महिनामा अर्काे सात बर्षका लागि नविकरण भएको हो ।  

आइएमइ मोटर्सद्धारा अशोक लेलैण्डका थप २० थान सिटी बस खरिद

काठमाडौं । आइएमइ ग्रुप अन्तर्गतको आइएमइ मोटर्स प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको लोकप्रिय अशोक लेलैण्डका थप २० थान सिटी बस खरिद गरेको छ । कम्पनीले सो मात्राको बस खरिद गर्ने सम्बन्धमा साझा यातायातसँग सम्झौता गरेको छ । बिहीबार सम्पन्न उक्त सम्झौतामा साझा यातायातका तर्फबाट निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डे र आइएमइ मोटर्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीबीच सम्झौता पत्र आदान–प्रदान भएको थियो । सो अवसरमा अशोक लेलैण्ड, इन्डियाका प्रतिनिधिकन्ट्री मेनेजर टोनीगुइन पनि उपस्थित थिए । भारतको चेन्नई स्थित अशोक लेलैण्डले साझा यातायातले खोलेको टेन्डर प्राप्त गरी नेपालमा सिटी बस सप्लाइ गर्ने भएको छ । अशोक लेलैण्ड भारतको नं. १ बस बनाउने कम्पनीमध्ये एक हो । भारतका साथसाथै अशोक लेलैण्डको बाहुल्यता श्रीलंका र बंगलादेशमा पनि राम्रो उपस्थितिका साथ रहेको छ । अशोक लेलैण्डका बसहरु वातावरण मैत्री तथा अपाङ्ग मैत्री रहनेछन् । कार्यक्रममा आइएमइ मोटर्सका प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले भने “अशोक लेलैण्डका सिटी बसहरु नेपाली बाटोमा अरब्यान ट्रन्सपोर्टको कोशेढुङ्गा साबित हुनेछन् । साझा यातायातद्वारा आयात गरिने बसहरु काठमाडौँ महानगरपालिका भित्र सञ्चालन गरिनेछन् जसका कारण निजि सवारी साधन प्रयोग घट्ने र ट्राफिक समस्या कम हुने छ” । साथै उनले उक्त गाडीहरु काठमाडौं भित्रिएपश्चात् अफिस टाइममा हुने जामको समस्या पनि कम हुनेछ र सिट नपाएर दुःख भोग्दै, उभिएर अफिस जानुपर्ने समस्या हट्ने बताएका छन् । अशोक लेलैण्डको नेपालका लागि अधिकारिक बिके्रता आइएमइ मोटर्सले उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्ने प्रतिबद्वता जनाएको छ ।

भृकुटीमण्डपमा फुटवेयर बिजनेस एक्स्पो शुरु, १४० भन्दा बढी स्टलहरु रहने

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा भृकुटीमण्डपमा ‘फुटवेयर बिजनेस एक्स्पो २०७४’ शुरु भएको छ । बिहीबारदेखि सञ्चालनमा आएको उक्त मेलामा १४० भन्दा बढी स्टलहरु रहेका छन् । साथै, जुत्ता चप्पल तथा छालाजन्य उत्पादन तयार पार्ने नेपालका ५० भन्दा बढी सबै उत्कृष्ट र चर्चित ब्राण्डहरुको सहभागीता रहेको छ । उक्त मेलामा ग्राहकहरुले आफ्नो चाहनाअनुसारको जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरु अवलोकनका साथै छानीछानी खरिद गर्न सक्नेछन् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल तथा नेपाली जुत्ता घरको सहआयोजनामा यस मेला शुरु भएको हो । मेलाको उद्घाटन ३ नं. प्रदेशका अर्थमन्त्री कैलाश ढुङ्गेलले एक समारोहका बीच गरेका हुन् । उनले फुटवेयर क्षेत्रले उल्लेख्य रुपमा रोजगारी सिर्जना गर्न सहयोग पुर्याएको बताएका छन् । साथै सरकारले कच्चा पदार्थमा छुट दिन सके अझै यो क्षेत्र फष्टाउन सक्ने विश्वास व्यक्त गरेका छन् । मेला आयोजक संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले उत्पादनको ८० प्रतिशत उत्पादन र प्रदेश सरकारले थप प्रत्साहनका कार्यक्रम ल्याउनेमा विस्वस्त रहेको बताएका छन् । साथै, उनले निजामती कर्मचारी, सेना, पुलिसको प्रयोगमा स्वदेशी उत्पादनका जुत्ताहरुको प्रयोग बढाउन सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । मेलाको सहआयोजक नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले अब भने एकिकृत रुपमा फुटवेयर बिजनेस एक्स्पोको रुपमा बृहत मेला सञ्चालन भएको बताए । जसले गर्दा उपभोक्तालाई पनि सम्पुर्ण ब्राण्डका जुत्ता चप्पल इत्यादि छानीछानी खरिद गर्न सहयोग पुग्नेछ । मेलाले ५ करोड रुपैयाँ बढीको कारोबार गर्ने आयोजकको अनुमान छ । त्यस्तै, मेलामा २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा बालबालिकादेखि वृद्धवृद्धाहरु सबैलाई आवश्यक पर्ने जुत्ताचप्पलहरु राखिएका छन् ।

सातौं स्थानको लागि नेपालले भोलि नेदरल्यान्डसँग भिड्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको नेपालले सातौं स्थानको लागि भोली (शनिबार) नेदरल्यान्डसँग भिड्ने भएको छ । जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको लागि नेदरल्यान्डको सामना गर्ने भएको हो ।  जिम्बामेमा हुने खेल नेपाली समय अनुसार १ बजेर १५ मिनेटमा सुरु हुनेछ । प्रतियोगितामा नेपालले पपुवान्यूगिनीलाई ६ विकेट र हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् ।

एनबीआईद्धारा ‘डिजिटिजाइजेशन कन्फेरेन्स’ सम्पन्न, १५० भन्दा बढी संस्था सहभागी

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई)ले शुक्रबार(आज) काठमाडौंमा डिजिटिजाइजेशन कन्फेरेन्स(विद्युतीय वित्तीय प्रणाली सम्मेलन)को आयोजना गरि सम्पन्न गरेको छ । उक्त सम्मेलनको उद्घाटन एनबीआईका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, आईसीआईसीआई बैंक, इन्डियाका पुर्व डिजिटल चैनल विशेषज्ञ राहुल जोशि र आरबीएल बैंक, इन्डियाका हेड क्यास म्योनेजमेन्ट प्रडक्टका राजेश लोहरीले संयुक्त रुपमा गरेका थिए । सभालाई संबोधन गर्दै एनबीआईका अध्यक्ष निरौलाले सुचना प्रबिधिले मारेको फड्को र नयाँ प्रबिधिले ल्याएको चुनौतिलाई आत्मसात गर्नुपर्ने पर्ने बताएका छन् । डिजिटिजाइजेशन जस्तो प्रबिधिले विद्युतीय वित्तिय प्रणालीद्धारा बैंकिङ सेवाको पहुँच नपुगेको ठूलो जनसंख्यालाई लाभ पुर्याउन सक्ने उनले बताए । साथै, उनले राष्ट्र बैंकले विद्युत्तिय वित्तिय सेवाको प्रयोगलाई विस्तार गर्न अनुकुल वातावरण निर्माण गर्दै गएको बताएका छन् । एनबीआईको प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले डिजिटिजाइजेशन बैंकिङ्ग क्षेत्रको नयाँ शब्दावली भै सकेको र आउँदा दिनमा बैंकिङ्गले यसलाई अंगिकार गर्नु पर्ने अपरिहार्य बाध्यता हुँदै गएको बताए । साथै टेलिकम, इन्सुरेन्स आदी विभिन्न संँघ संस्थाहरुले डिजिटल प्रबिधिलाई अपनाइ रणानितिक एवम दुर्गामी सोच लिनुपर्ने बताएका छन् । इन्डियाका आईसीआईसीआई बैंकका पुर्व डिजिटल चैनलका विशेषज्ञ राहुल जोशिले अबको बैंकिङ युग भनेको डिजिटाइजेसनमा हुने हुँदा नेपालको वित्तीय क्ष्ोत्रले त्यसमा विस्तार गर्न सल्लाह दिएका छन् । साथै, इन्डियाकै आरबीएल बैंकका हेड क्यास म्यानेजमेन्ट प्रडक्टका राजेश लोहरीले विद्युतीय वित्तिय प्रणालीबाट नेपाल जस्तो देशलाई फाइदा हुने र सो सम्बन्धि सरोकारवालाले ध्यान पुर्याउने जोड दिए । कोटक महिन्द्रा बैंकका प्रमुख डिजिटल अधिकारी दीपकशर्माले आफ्नो प्रस्तुतिमा डिजिटाइजेसन प्रविधि अपनाउन डिजिटल फ्रेमवर्क प्रविधिमा जोड दिनुपर्ने बताए । कार्यक्रममा आयोजित प्याने डिस्कसनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका निर्देशक रेवतिप्रसाद नेपाल, स्टयान्डर चाटर्ड बैंकका चिफ इन्फरमेसन अफिसर सुजित श्रेष्ठ साथै भारतबाट आएका विज्ञहरुले अहिलेको बदलिदो परिस्थितिमा डिजिटाइजेसन जस्तो प्रविधीको चुनौति र अवसर बारे थप जानकारी दिएका छन् । यस सम्मेलनमा १५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाको कर्मचारीहरु सहभागी भएका थिए ।

ब्ल्याक होलबाट यसरी जोगियो एनसीसी बैंकः डेढ अर्ब प्रोभिजन गर्दा पनि ४०० प्रतिशत नाफा वृद्धि

काठमाडौं । तत्कालिन एपेक्स डेभलपेन्ट बैंकका अध्यक्ष र व्यवस्थापकले गरेको गल्तिका कारण ब्ल्याक होलमा पुगेको एनसीसी बैंक अन्ततः जोगिएको छ ।  नेपाल राष्ट्र बैंकको तदारुकता र केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)को हस्तक्षेपले एनसीसी बैंकको १ अर्ब ५० करोड ९७ लाख रुपैयाँ खराब कर्जाको ब्ल्याक होलबाट मुक्त भएको हो । एपेक्सको तत्कालिन नेतृत्वले कमसल धितो राखेर डेढ अर्ब कर्जा हिनामिना गरेको थियो । एपेक्सलाई एनसीसीमा मर्ज गरिएपछि सो दायित्व समेत एनसीसी बैंकमा सरेको थियो । खराब कर्जाका लागि एनसीसीले डेढ अर्ब रुपैंयाँ प्रोभिजन गरेको थियो । डेढ अर्ब प्रोभिजनका बावजुद एनसीसीको ४०० प्रतिशत बढेको छ । कर्जा हिनामिनामा संलग्नहरु पक्राउ परेसँगै अब उनीहरु विरुद्ध अदालतमा मुद्धा चल्नेछ । अदालतले दोषी करार गरेको खण्डमा हिनामिना गरिएको कर्जा कसुरदारहरुबाट असुलिनेछ । १४ जना कसुरदारसँग डेढ अर्ब असुलिएसँगै बैंकले प्रोभिजन गरेको रकम बैंकको आम्दानीमै गणना हुनेछ । यसपछि बैंकको नाफा बढ्छ, खराब कर्जाको अनुपात घट्छ र स्थिर कोष पुन तरल अवस्थामा आउनेछ । प्रोभिजनका बावजुद ४०० प्रतिशत आम्दानी बढाएको बैंकले डेढ अर्ब समेत कोषमा आउँदा कम्पनी थप मजबुत हुनेछ । केन्द्रिय बैंकले गरेको अध्ययन र सीआईबीको छापासँगै कमसल कर्जामा मुछिएका अभियुक्तहरुले अदालतबाट सफाया पाउने सम्भावना अत्यन्तै न्युन देखिएको बैंक सम्वद्ध श्रोतले बतायो । डेढ अर्ब खराब कर्जा र त्यसका लागि गरिएको प्रोभिजनबाट मात्रै अब बैंक मुक्त भएको छैन, एउटा ल्याक होलबाट पनि सफल अवतरण गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कर्जा नोक्सानी व्यवस्थापन भइसकेकाले बैंकको वित्तीय अवस्थामा कुनै असर नपर्ने देखिएको हो ।  नाफा ४ गुणा बढेकाले सो ऋण नउठे पनि बैंकलाई असर नगर्ने देखिएको हो । अघिल्लो वर्ष २०७३ पुस मसान्तमा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले चालु आवको पुस मसान्तमा २८ करोडले वृद्धि गरेर खुदनाफा ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड ६९ लाख रुपैयाँ राइट ब्याकको हिस्सा छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ । एनसीसीले ४.८४ प्रतिशत रहेको खराब कर्जालाई ४.०४ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर नेटवर्थ १६२.२९ रुपैंयाँ रहेको छ । बैंक डुवाउनेलाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर गरेको अभियोगमा १३ जना कर्मचारीलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ । पक्राउ परेका सबै तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी रहेको सीबीआईले जनाएको छ । तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष विष्णुप्रसाद धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठलाई पक्राउ गरेको छ । यस्तै तत्कालिन एपेक्सका कामु प्रमुख कार्यकारी अधिकृत ऋषिराज भटट् सहित १३ जनालाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ । यसरी कर्जाको दुरुपयोग भयो २०७२ मंसिर २१ गते एनसीसीसंग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि एपेक्सका अध्यक्ष तथा हाल एनसीसीका सञ्चालक विष्णुप्रसाद धितालले सोको फाइदा उठाउदै दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैया हानीनोक्सानी पुर्याउने काम गरेको सीआईबीको अध्ययनले देखाएको छ । कुल २ अर्ब रुपैयाँ दुरुपयोग भएकोमा करिव ४८ करोड रुपैयाँ असुली गरिएकोको छ । कमसल धितो राखिएको र बढी मूल्याँकन गरिएको, नक्कली ऋणी खडा गरी उनीहरुको बढी आम्दानी देखाइएको, मोटरबाटो नपुगेको भीर र पाखो भएको जग्गामा बाटो देखाइएको, नभएको गरेर कर्जाको दुरुपयोग भएको सीआईबीको ठहर छ । जग्गाको निरीक्षणलगायत सबै काम एकै दिन पुरा गरेर सोही दिन कर्जा लिएको जस्ता १२ अभियोग लगाइएका छन् ।