तीन लाखभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता पाउन योग्य, चैतसम्म लिइसक्नु पर्ने
काठमाडौं । भूकम्पबाट प्रभावित तीन लाखभन्दा बढी लाभग्राही पहिलो किस्ताबाट जग पुनःनिर्माण गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्ष पुस मसान्तसम्म अनुदान सम्झौता गरी पहिलो किस्ता लिएकाले आगामी चैत मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने निर्णय गरेपछि पुनःनिर्माणले गति लिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा आइतबारसम्म प्राप्त तथ्यांकअनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या तीन लाख तीन हजार ५५५ पुगेको छ । पहिलो किस्ता लिई जग निर्माण गरेर दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीले रु एक लाख ५० हजार पाउँछन् । तीन लाख १४ हजार १२४ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । पहिलो किस्ता लिएर भूकम्प प्रतिरोधी मापदण्डअनुसार घरको जग राखेका लाभग्राहीले निवेदन दिएपछि प्राविधिकले पुनःनिर्माण शुरु भएको संरचनाको जाँच गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्छन् । दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राही सिन्धुपाल्चोकमा सबैभन्दा धेरै छन् । त्यहाँका ५१ हजार नौजना भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ता पाउनेछन् । नुवाकोटका ४१ हजार ७९४, गोरखाका ३६ हजार ८६५, दोलखाका ३४ हजार २८, धादिङका ३१ हजार ९३७, काभ्रेपाल्चोकका २३ हजार ९४५ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका हुन् । भूकम्प कम प्रभावित जिल्लाका लाभग्राही पनि दोस्रो किस्ताका लागि योग्य हुन थालेका छन् । आइतबारसम्म लमजुङका ५९२ र चितवनका १६५ लाभग्राहीको नाम दोस्रो किस्ताका लागि प्रमाणीकरण भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसाल अनुदान सम्झौता भएका छ लाख ९७ हजार ६३५ लाभग्राहीमध्ये ४३।५१ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता पाउनु उल्लेखनीय प्रगति भएको बताउँछन् । “दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या जस्तै भूकम्प अतिप्रभावित १४ जिल्लामा निर्माणाधीन घरको संख्या तीन लाख ५८ हजार ६३७ छ, निर्माण सम्पन्न भएका घरको संख्या एक लाख १० हजार ४७२ पुगेको छ”, उनले भने । प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ५७ हजार ३३ घर पुनःनिर्माण भइरहेका छन् । यो गतिलाई तीव्रता दिँदै वर्षाअगावै थप घरको निर्माणमा बढोत्तरी कायम गर्ने गरी प्राधिकरणले आवश्यक तयारी गरिरहेको प्रवक्ता भुसालले बताए । भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत रु एक लाख ५० हजार पाउँछन् । तेस्रो किस्तामा रु एक लाख पाउने कार्यविधि छ । उपत्यकामा पुनःनिर्माणलाई गति दिन निर्देशन काठमाडौं उपत्यकामा निजी आवास पुनःनिर्माणको गति सुस्त भइरहेका बेला तीव्रता दिन प्राधिकरणले माहतहतका निकायलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुखसहित काठमाडौ, ललितपुर र भक्तपुरका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, प्राधिकरणलगायत निकायका प्रमुखसँगको बैठकमा उपत्यकामा निजी आवास पुनःनिर्माणको गतिलाई तीव्रता दिने गरी काम गर्न निर्देशन दिएका छन् । पुनःनिर्माणमा आइपर्ने समस्यालाई फुकाउन प्राधिकरण तयार रहेको उल्लेख गर्दै उनले नतिजामुखी भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । सहुलियत ऋण प्रवाहमा भएको ढिलाइ र जग्गासम्बन्धी समस्याका कारण घर बनाउन नसकेको कार्यक्रममा अधिकांश सहभागीले जानकारी गराए । बैठकले सहुलियत ऋण र अनुदान वितरणमा बैंकले दिएको हैरानी र समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । पुनःनिर्माण लाभग्राहीबाट प्रवलीकरण लाभग्राहीमा सर्न चाहनेलाई आवश्यक जानकारी दिन प्रचारप्रसार कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । संयुक्त पूर्जा भएका लाभग्राहीलाई बहु स्वामित्व र बहुतले भवन बनाउन प्रोत्साहन गर्न प्रचारप्रसारलाई व्यापक बनाउने निर्णयसमेत बैठकले गरेको छ । रासस
लगानीयोग्य पुँजी नभएपछि बैंकले दिने सेयर कर्जा वृद्धिदर आधा घट्यो, अघिल्लो वर्ष ४ अर्ब ६५ करोड, याे वर्ष २ अर्ब ७५ कराेड
काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाले दिने सेयर कर्जा (मार्जिन नेचर लोन) को वृद्धिदर ५० प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले दिने सेयर कर्जा ६.८ प्रतिशत बढेको छ । अघिल्लो आवको सोही अवधिमा सेयर कर्जा १२.४ प्रतिशत बढेको थियो । चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाले २ अर्ब ७५ करोड ७९ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्ष ४ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले हालसम्म ४३ अर्ब २३ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । यो वर्ष पनि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले सेयर कर्जा लगानी घटाउदा यसको असर पुँजी बजारमा परेको छ । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ । लगानीयोग्य पुँजी नुहुनु सेयर बजार घट्नुको मुल कारण भएको लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान बताउछन् । “बैंकसंग लगानीयोग्य पुँजी नभएपछि ब्याजदर बढ्यो र सेयरबाट आउने प्रतिफल घट्दा थप लगानी आउन सकेन यसको असर सेयर कारोबारमा पर्यो” उनले भने । बजारमा हकप्रद, थप निष्कासन (एफपीओ) र साधारण सेयर (आईपीओ) को आपूर्ति बढेको अवस्थामा महंगो ब्याजदर र लगानीयोग्य पुँजी नभएपछि ठुला लगानीकर्ता बजारमा नआएको उनको तर्कछ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल पनि सेयर बजार घट्नुको मुल कारण महंगो ब्याजदर भएको बताउछन् । बैंकले लिने ब्याजदर नघटेसम्म सेयर बजारमा सुधार नहुने उनको भनाइ छ । सेयर बजार निरन्तर घट्दै गएपछि फोरमले सेयरधितो कर्जा सीमा बढाउन सरकारसंग माग गरेको छ । फोरमले हालै अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको १६ बुँदे मागपत्रमा हालको सेयरधितो कर्जा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको हो । १८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिने पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । सेयर कर्जामा लगाइएको पुँजीगत जोखिम भार पनि शतप्रतिशत घटाइनु पर्ने माग फोरमले गरेको छ । फोरमले सेयर कारोबार अनलाईनमार्फत गराउन सरकारको ध्यानकर्षण गरेको छ । विगत ५ वर्षयता शिक्षक, वकिल, प्राध्यापक, गृहणीलगायत सबै प्रकारका लगानीकर्ताले सेयर बजारमा आफनो पुँजी परिचालन गरिहेका छन् । सानाठुला गरी १५ लाख लगानीकर्ता रहेका छन् ।
शिलाजितको उत्खनन् हुन नसक्दा वार्षिक १० करोड गुम्दै
म्याग्दी । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन् । शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडौको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमंगले, मुदी, मुना, ताकम, मराङ, बिमलगायतका पहरामा शिलाजित पाइन्छ । शिलाजित उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्माले बताए । नुनिलो र टर्रो स्वाद हुने शिलाजित भिर पहरामा मात्र पाइन्छ । शिलाजित कालो र सेतो गरी दुई किसिमका हुन्छन् । पहराबाट निस्किएको एक प्रकारको रसायन जमेर शिलाजित बत्रे गर्दछ । कालो शिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धीलगायतका रोग निको हुने जनविश्वास छ । शिलाजितको नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्ला आयुर्वेदिक चिकित्सकले बताएका छन् । शिलाजित उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक रु १० करोडसम्मको शिलाजित बिक्री हुनसक्ने प्रवल सम्भावना रहेको भए तापनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी व्यापारीको भनाइ रहेको छ । बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजित खेर गइरहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जनाएको छ । बजारमा प्रतिदशग्राम शिलाजित रु २५ देखि रु ३० सम्ममा बिक्री हुन्छ । तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र शिलाजित निर्यात हुने गरेको छ ।-रासस
नासु जयराम चौधरी २० हजार घुस सहित पक्राउ
काठमाडौं । सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल नायब सुब्बा जयराम चौधरी २० हजार घुष रकमसहित पक्राउ परेका छन् । चौधरी सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका हुन् । उनलाई गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले पक्राउ गरेको हो । चौधरीमाथी थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।
उच्चशिक्षा अध्ययनका लागि कलेज जाने दिन गए, घरमै बसेर अध्ययन गर्न खुल्यो नेपाल खुला विश्वविद्यालय
काठमाडौं । तपाई सधै कलेज गएर उच्चशिक्षा लिइरहनु भएको छ ? तपाईले उच्चशिक्षा लिनका लागि कलेज जान समय दिन सक्नु भएको छैन वा कलेज जान झण्झट मानिरहनु भएको छ ? अब चिन्ता नलिनुस अब यस्ता दिन सकिएका छन् । नेपालमा पनि कलेज नगइ उच्चशिक्षा अध्ययन गर्न सकिने भएको छ । यसका लागि नेपाल खुला विश्वविद्यालय सञ्चालनमा आएको छ । एक महिनापछि नेपालमा खुल्ला विश्वविद्यालयमा पढाई सुरु हुने भएको छ । घरमै बसेर इन्टरनेटको सहायताले पढ्न र तोकेको परीक्षा केन्द्रमा गएर परीक्षा दिन सकिने गरी खुल्ला विश्वबिद्यालय सञ्चालन हुन लागेको हो । अहिले नेपालमा नौ वटा विश्वविद्यालयमा उच्च शिक्षाको अध्ययापन हुने गरेको छ । खुला नेपालको १० औं विश्वविद्यालय हो । विदेशमा रहेको यस्तो विश्वविद्यालय अवधारणा नेपालमा पनि सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयको लिने शुल्कमै खुला विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न पाइनेछ । विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीका लागि स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिनेछ । विश्वविद्यालयले पहिलो चरणमा समाजशास्त्र तथा शिक्षा र विज्ञान स्वास्थ्य तथा प्रविधी संकायमा स्नातकोत्तरसम्मका लागि भर्ना खुलाएको छ । सामाजिक तथा शिक्षा संकायअन्तर्गत डेढ वर्षका लागि अर्थशास्त्र, समाजशास्त्र र राजनीतिकशास्त्रका लागि एमफीलका लागि भर्ना खुलाएको छ । शिक्षातर्फ नेपाली, अंग्रेजी, स्वस्थ्य, शिक्षा, सामाजिक विज्ञान र गणितका लागि एमफीलका लागि भर्ना खुलाएको विश्वविद्यालयले जनाएको छ । यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे कोर्सका लागि पनि भर्ना खुलेको छ । विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षे कार्यकालका लागि भर्न खुला गरेको हो । विश्वविद्यालयले त्रिभुवनको भन्दा नयाँ कोर्ष सञ्चालनमा ल्याएको छ । यी संकायका लागि विश्वविद्यालयले चैत २१ गतेसम्म भर्ना खुलाएको विश्वविद्यालयका ईलनिङ्गं तथा सूचना प्रविधि विज्ञ पदमराज पन्तले बताए । उनकाअनुसार त्यसपछि पढाई सुरु हुने छ । यसरी हुनेछ अध्ययन भर्ना भएपछि विश्वविद्यलयले विद्यार्थीलाई युजर नेम र पासपोर्ट दिन्छ । त्यसमा फेसबुका म्यासेजमा जसरी नै पढाईको जानकारी लिन र नबुझेका कुरा सोधन सकिन्छ । विद्यार्थीले आफ्नो विषयकोमात्र यसबाट जानकारी लिन पाउछन् । अनलाइन कक्षामा यतिनै राख्ने भनेर एकिन भएको छैन यसका बारेमा छलफल भैरहेको पन्तले जानकारी दिए । सातै वटा प्रदेशकमा केही समय पछि संचालमा आउने उनले बताए । नेपालीलाई मात्र भर्ना खुलाउने पछि जुसुकै स्थानबाट पनि अध्यन गर्न र परीक्षामा भाग लिन सक्ने तरीकाले संचालन गर्ने छौ । यस विश्वविद्यालय अरु विश्वविद्यालय भन्दा अझ बढि प्रभाबकारी हुने समेत पन्तले बताए । उनले भने त्रिभुवन विश्वविद्यालयमा स्नातक गरेकाले खुल्ला विश्वविद्यालय स्नातकोत्तर गर्न पाउँने र खुल्ला विश्वविद्यालयमा स्नातक गरेकाल त्रिभुवन विश्वविद्यालयमा पनि स्नातकोत्तर गर्न पाउँने छन् । खुल्ला विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालयको भन्दा सकेसम्म कम वा त्यस बराबर हुने छ । अध्यनका लागि त्रिभुवन विश्वविद्यालय र खुल्ला विश्वविद्यालयको समय बराबर हुने छ ।
२७ वर्षमा नागरिक लगानी कोषको मौज्दात खर्ब नाघ्यो
काठमाडौं । नागरिक लगानी कोषले २७ वर्षमा खुद मौज्दात १ खर्ब ४६ अर्ब पुर्याएको छ । विसं २०४७ साल चैत ४ गते स्थापना भएको कोषले वार्षिक मौज्दातमा २० प्रतिशत वृद्धि गरेको हो । नागरिक लगानी कोषले २८ औं वर्ष प्रवेशको अवसरमा सो तथ्यांक सार्वानिक गरेको हो । कोषले हाल ११ प्रकारका परियोजनाहरु सञ्चालन गर्दै आएका छन् । जसमा सरकारको ऋणपत्र, शेयर पुँजी, परियोजना कर्जा, ‘क’ श्रेणीका बैंकहरुमा निश्चित अवधिको मुद्धती निक्षेपमा लगानी इत्यादी रहेका छन् । कोषको अनुसार गत आर्थिक वर्षको पुष मसान्त सम्ममा कोषको रकम ८५ अर्ब २६ करोड रुपैंया रहेको थियो । जुन रकम ८.४७ प्रतिशत बढी हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको कर्मचारी बचत वृद्धि अवकास कोषमा ६९ अर्ब ४४ करोड ३० लाख रुपैंया जम्मा भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा ५७ अर्ब ४२ करोड ६६ लाख रुपैंया रहेको थियो । त्यसैगरी उपदानको योजनामा सञ्चित रकम १५ अर्ब १७ करोड ४१ लाख रुपैंया पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा १२ अर्ब ३५ करोड ५ लाख रुपैंया रहेको थियो । अन्य परियोजना अन्तर्गत लगानी कर्ताको हिसाबमा आव ०७३ ७४ को पुस मसान्तमा यो रकम २ अर्ब ८३ करोड ९६ लाख रहेकोमा चालू आवको पुस मसान्तसम्म ३ अर्ब ६३ करोड ६३ लाख रुपैंया रहेको छ । निजामती बिमातर्फ चालू आवको ६ महिने अवधिमा ४ अर्ब ७१ करोड ३३ लाख जम्मा भएको नागरिक लगानी कोषले जनाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा ४ अर्ब ३९ करोड ५० लाख रुपैंया रहेको थियो । यस्तै कोषले नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ८० करोड ९३ लाख रुपैंया लगानी गरेको छ । कोषले समकालिन कर्जामा ८ अर्ब ३८ करोड ९० लाख रुपैंया लगानी गरेको छ । कोषले कर्जातर्फ १५ अर्ब ११ करोड २ लाख रुपैंया लगानीमा गरेको छ । ७७ जिल्लाका ४८ हजार भन्दा बढी सरकारी एवंम गैरसरकारी संस्थाहरु मार्फत ६ लाख भन्दा बढी सेवाग्राहीहरुलाई कोषले सेवा दिइरहेको छ ।
९०० मेगावाटको अरुण तेस्रो बनाउन भारतको एसजेवीएनलाई लाइसेन्स दिन सरकारको तयारी, ३५ दिनपछि पाउने
काठमाडौं । सरकारले भारतीय कम्पनीलाई ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गर्न अनुमति (लाइसेन्स) दिन लागेको छ । प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन प्रक्रिया अघि बढाएको छ । लगानी बोर्डले एसजेवीएनलाई विद्युत उत्पादनको लाइसेन्स दिनका लागि सार्वजनिक सुचना प्रकाशित गरेको छ । सूचना प्रकाशित भएको ३५ दिनपछि एसजेवीएनले अरुण तेस्रोबाट बिजुली उत्पादन लाइसेन्स पाउने छ । एसजेवीएनले आयोजनाको निर्माणको काम थालेको छ ।लगानी बोर्डको २९ औं सञ्चालक समिति बैठकले लाइसेन्सको प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि काम अघि बढेको हो । एसजेवीएनले आउँदो ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । भारत सरकार स्वामित्वको एसजेविएनले आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्वरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।आयोजनाको बाँध निर्माण काम शुरु भइसकेको एसजेवीएनका प्रमुख कार्र्यकारी अधिकृत (सीईओ) सतिशकुमार शर्माले जानकारी दिएका छन् । उनले यो महिनामा विद्युतगृह निर्माणको ठेक्का सम्झौता हुने बताए । शर्माकाअनुसार अर्को महिना हाइड्रोमेकानिकल, इलोक्ट्रोमेकानिकलको ठेक्कापट्टाको काम सकिने छ । आयोजना निर्धारित समयमा सम्पन्न हुने उनले जानकारी दिए । ४ लटमा आयोजनाको काम हुनेछ । भारत निकासीका लागि निर्माण हुन लागेको आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजना प्रभावित स्थानियबासिन्दालाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । प्रभावित ६ गाविसमा एसजेवीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । यस्तै आयोजनामा नेपाली बैंकले पनि ऋण लगानी गर्ने भएका छन् । एभरेष्ट बैंकले अरुण तेस्रो जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ । एभरेष्टले ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्ने भएको हो । एभरेष्ट र आयोजनाको प्रवद्र्धक एसजेविएन बीच ऋण लगानी सम्झौता भएको छ । एभरेष्टले संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको १६८ किलोमिटर लामो प्रसारणलाइन बनाउन ऋण लगानी गर्ने सम्झौता गरेको छ । यो प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ । यस्तै नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड रुपैयाँ ब्रिजलोन लिने छ । यसका लागि नेपाली बैंकसँग प्रस्ताव मागिसकेको छ । भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । विद्युत उत्पादनका लागि उक्त रकम लगानी गर्ने तयारी एसजेवीएनको छ । विद्युत उत्पादन प्याकेजका लागि भारतको पावर फाइनान्स कर्पोेरेशन र अन्य बैंकसँग छलफल चलिरहेको उनले जानकारी दिए । आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्रवद्र्धक एसजेवीएन र जेपीबीच नयाँदिल्लीमा ठेक्का सम्झौता भएको छ । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । प्याकेज २ अन्र्तगत विद्युतगृह निर्माणका लागि पनि बोलपत्र आब्हान गरिएको छ । यसको पनि यो महिनाभित्र ठेकेदार छनोट हुने तयारीमा छ । जसअनुसार दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुने भएको छ । सबै प्याकेजको ठेक्काको काम भइरहेको छ । भारत निकासीका आयोजना बन्न लागेको हो । आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युतगृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।
भृकुटीमण्डपमा सुरु भयो जुत्ता चप्पल मेला, २३ ब्राण्ड सहभागि
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पल मेला सुरु भएको छ । नेपालका विभिन्न जुत्ताचप्पलका २३ वटा ब्राण्डहरुको सहभागिता रहेको छ । फुटवेयर मेनुफ्याक्चर एसोसिएसनले नेपाली जुत्ताघरसँग मिलेर उक्त मेला आयोजना गरेको हो । ‘मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेका छौं,’ शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भने । मेलामा असामान्य मूल्यमा जुत्ता चप्पल बिक्री भइरहेको उनको भनाइ छ । मेलामा १ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्पल उपलब्ध छन् । अधिकांश जुत्ता चप्पल उत्पादकलाई एउटै छानामुनि समेटिएको छ । जसमा शिखर, रन, हाइलाइफ, विएफडियर हिल लगायत २३ वटा ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । स्वदेशी जुत्ताचप्पलका सेल मेला कहिलेकाँही हुने गर्छ । पहिलो यस्तो मेला आयोजना नभएको र सुरु भएको सो मेला विगतकोभन्दा ठूलो रहेको जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायको दावी छ । मेलामा विभिन्न भेराइटीजका दर्जनौ जुत्ताचप्पलहरु राखिएको छ । ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको आयोजकको भनाइ छ । प्रदर्शनीमा स्वदेशी छाला जुत्ताका साथै छालाका विभिन्न वस्तु उत्पादकको समेत राखिएको छ ।