विकासन्युज

झापालीकाे नयाँ शैली, बेहुलो भाग्दा बाहुलार्इ ३५ लाख रूपैयाँ जरिवाना

झापा । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा ३५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै ३५ लाख जरिवाना तिरेका छन् । बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा दुई दिनसम्म भएको बहसपछि रेग्मीले बेहुलीका लागि भरणपोषण र पढाइ खर्चबापत सो रकम दिने सहमति भएको गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिए। राकेशले सोही ठाउँ निवासी २१ वर्षीया एक युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए । विवाहको भोलिपल्ट बेहुला र बेहुलीका आमाबुबाबीच सम्धी ढोकभेट कार्यक्रम पनि भएको थियो । सम्धी ढोकभेट सकिएपछि राकेश बेहुली छाडेर बेपत्ता भएका थिए । बेपत्ता भएका राकेश भारत गएर बसेको र केही दिनपछि आफन्तको सहयोगमा उनलाई झापा ल्याइएको थियो । झापा ल्याएलगत्तै उनी अहिले धुलाबारी इलाका प्रहरी कार्यालयको हिरासतमा छन् । हिरासतमा रहेका राकेशमा शारीरिक समस्या रहेकाले बेहुली छाडेर भागेको बताउँदै उनका बुबा लालप्रसादले बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा भने, “छोरामा शारीरिक समस्या रहेछ हामीलाई थाहा भएन, बेहुलीको भविश्य नबिग्रियोस् म उनको भरणपोषण र पढाइ खर्चका लागि ३५ लाख दिन्छु । ” सँगै बाच्ने सँगै मर्ने वाचा गरेर लगन गाँठो कसेका रेग्मीले किशोरीको अस्मितामाथि गम्भीर खेलबाड गर्दै महिला हिंसा गरेको भन्दै छलफलमा सहभागी अधिकारकर्मीले रेग्मी परिवारको आलोचना गरेका थिए । आइतबार र सोमबार भएको बहसमा बेहुलीको भरणपोषण तथा शिक्षाका लागि उक्त रकम बेहुला पक्षले दिने लिखित सहमति भए पनि जग्गेमा सातफेरी घुमेर लगनगाँठो कसेको सम्बन्धलाई कसरी टुंग्याउने भन्ने निष्र्कषमा भने पुग्न बाँकी रहेको गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताउनुभयो । त्यसको लागि पुनः आज दुई पक्षबीच छलफल हुने बताइएको छ । स्रोतका अनुसार बेहुलीले सिन्दूर पोते फिर्ता गरेर लगनगाँठोले कसेको सम्बन्ध तोड्ने तयारी भएको छ । यता विवाहमा लागेको खर्च बेहुला र बेहुली दुवै पक्षले आ–आफ्नै व्यहोर्ने, बेहुली पक्षले बेहुला पक्षलाई दिएको सबै उपहार फिर्ता गर्ने र बेहुलाले बेहुलीलाई दिएको उपहार पनि फिर्ता गर्ने निर्णय भएको छ । केटी भरणपोषणका लागि दिने भनेको ३५ लाख ३५ दिनभित्र दिने सहमति भएको बताइएको छ । गत फागुन २० गते विवाह गरेका राकेश विवाहलगत्तै २१ गते बेहुली छाडेर बेपत्ता भएका थिए । राकेश आफूमा यौन समस्या भएको भन्दै फरार भएका थिए । धुलाबारी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका राकेशको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । सामान्य बोलचाल मात्रः बेहुली दश महिना अघि फूलमाला गरेर गत फागुन २० गते विवाह गरेकी बुद्धशान्तिकी ती युवतीले केटा विदेशमा रहेको र टिकाटाले पछि फोनमा आफूहरुको कुरा नभएको तर सामाजिक सञ्जाल फेसबुकमा भने कुरा हुने गरेको बताइन्। उनले बिहेको दिन पनि केटाको घर पुगेपछि आफूलाई मोबाइलमा इन्टरनेटको पासवर्ड हालिदिएको र त्यसपछि कुनै बोलचाल नभएको भन्दै आफू दिनभरको थकानले गलेको भनेर केटा चाँडै सुतेको जानकारी दिइन् । गाउँपालिकामा भएको बहसमा केटा बेपत्ता भएलगत्तै परिवारले आफ्नो गरगहना फुकाल्न लगाएको र दुई दिनसम्म राकेश घर नफर्किएपछि माइतमा जानकारी गराएको उनले भनिन् । राकेश तीन वर्षदेखि संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारीमा रहेको र विवाह गर्नु १० दिनअघि मात्रै घर आएका थिए । रासस

व्याजदर, कच्चा पदार्थ, डलरले स्टीलको मूल्य बढायो-कुन्दन जोशी

कुन्दन जोशी, महाप्रबन्धक-लक्ष्मी स्टील प्राईभेट लिमिटेड भूकम्पपछिको पूनर्निर्माण र पूर्वाधार निर्माणका कारण स्टील डण्डीको माग निकै बढेको छ । यहि बेलामा डण्डीको मूल्य प्रतिकेजी १० देखि १६ रुपैयाँले बढेको छ । यसरी उच्च दरको मूल्यवृद्धि किन भएको छ ? मूल्य घटाउने कम्पनीहरुले के प्रयास गरेको छन् ? प्रस्तुत छ यसै विषयमा विकासन्युजका लागि लक्ष्मी स्टीलका महाप्रबन्धक कुन्दन जोशीसँग गरिएकाे विकास वहस । पछिल्लो समय डण्डीको मूल्य किन बढेको हो ? आजभन्दा ३ महिना अघि भ्याटसहित डण्डीको प्रतिकिलो मूल्य ७३ रुपैंयाँ थियो, हाल ८४ रुपैंयाँ पुगेको छ । मूल्य बढ्नुको कारण भनेको कच्चा पदार्थको मूल्य बढ्नु र बैंकको ब्याजदर बढ्नु नै हो । यी दुबै कुराको मूल्यलाई समायोजन गरेको भए एक किलो डण्डीको मूल्य ९५ रुपैंयाँ हाराहारीमा पुग्ने थियो । हामीले त ८४ रुपैंयाँमा (भ्याटसहित) बेचिरहेका छौं । स्टीलका समानमा बढ्नुपर्ने जति मूल्य वृद्धि भएकै छैन् । भूकम्पपछिको पुनर्निर्माणमा माग बढेको स्टीलको मूल्य बढ्यो भन्ने आरोप पनि छ नि ? मूल्य वृद्धिको कारण भनेको कच्चा पदार्थ, बैंकको ब्याजदर र भन्सारकै कारण हो । यो आरोप सरासर मिथ्या हो । सरकारले बजार अनुगमन पनि गरिरहेको छ । मूल्य निर्धारणमा कम्पनीहरुको प्रतिष्पर्धा कस्तो छ ? कच्चा पदार्थको मुहान एउटै हो । कच्चा पदार्थ ल्याएर समान बनाउँदा लागत कति घटाउन सकिन्छ त्यसकै आधारमा मूल्यमा कम्पनीहरुबीच प्रतिष्पर्धा हुने हो । उत्पादन लागत कम गर्न उद्योगहरुले के के गरिरहेका छन् ? स्टील मिलका हकमा लागत कम गर्ने प्रमुख आधार अटोमेसन नै हो । सेमी वा फुल अटोमेसन हुन्छ । मिलबाट निस्केको समानलाई बण्डल गर्दा मजदुर लगाउने कि अटोमेसन गर्ने ? त्यसले पनि लागतमा भूमिका खेल्छ । भविष्यमा स्टीलको मूल्य कस्तो रहला ? स्टीलको मूल्य भनेको कच्चा पदार्थमा निर्भर हुने कुरा हो । हामी कच्चा पदार्थमा भारतमाथी निर्भर छौं । भारतमा कच्चा पदार्थको मूल्य कति हुन्छ ? भन्सार दर कति हुन्छ ? बैंकको ब्याज दर कति हुन्छ भन्ने कुराले स्टीलको मूल्य निर्धारण हुन्छ । डलरको मूल्यमा हुने उतारचढावले पनि ठूलो प्रभाव पारिरहेको हुन्छ मूल्यमा । कच्चा पदार्थमा सरदर ४.७५ प्रतिशत भन्सार दर छ । भन्सार दरमा हुने परिवर्तनले पनि मूल्यमा असर गर्छ । स्टीलको मूल्य जुन स्तरमा वृद्धि हुनुपर्ने हो त्यो स्तरमा भएकै छैन । बजारले थग्ने मूल्यलाई पनि हामीले हेर्ने गरेका छौं । अलि बढि मूल्य वृद्धि भयो भने सरकारले अनुगमन गरिरहेको हुन्छ । आगामी दिन स्टीलको माग तथा खपत कस्तो रहला ? सरकारी बजेट निकासा समयमा नै भयो, उर्जा क्षेत्रको विकास भयो, पूर्वाधार क्षेत्रको विकास हुँदै गयो भने माग त बढ्छ नै । त्यसैले पनि नयाँ मिलहरु थपिने चरणमा छन् । १६ वटा मिल छन् अहिले । ती कम्पनीहरुको बजार केहि वर्ष पहिलो ९ लाख टन थियो भने यसपाली १३ लाख टन पुग्नेछ । उपभोक्ताले स्टील छनौटका आधार के बनाउँदा रहेछन् ? उपभोक्ताहरुले मूल्य, गुणस्तर र पहुँचलाई हेरेर उत्पादन छान्ने गरेका छन् । हामीले उत्पादन छनौटका ४ वटा आधार (फोर पीज) भन्ने गरेका छौं । ठाउँ (प्लेस) उत्पादन (प्रडक्ट) र मूल्य (प्राइस) लाई हेर्छन् । सिन्धुपाल्चोकमा घर बनाउने उपभोक्ताले डण्डीका किन्न लागि काठमाडौं धाउँदैन् । त्यहाँ जुन कम्पनीको समान छ, त्यहि प्रयोग गर्छन् । अर्काे कुरा मूल्य पनि हो । शहरी क्षेत्रमा मूल्य हेर्छन् । कतिपय अवस्थाम घर बनाउने इञ्जिनियरहरुलाई सोधेर डण्डी खरिद गर्छन् । एक तलाको घर सरकारी मापदण्डमा बनाउँदा ५ टन डण्डी लाग्छ । अहिलकै मूल्यमा भन्ने हो भने ४ लाख २५ हजार लाग्छ । कसैले डण्डीको मूल्य किलोको ९० पनि बनाएका हुन सक्छन् । त्यस्तो अवस्थामा २५ हजार बढि तिर्न छाडेर अर्कै कम्पनी रोज्न सक्छन् । लक्ष्मी स्टीलको बजार कस्तो छ ? हाम्रो बजार विस्तार धेरै अघि बढिसकेको छ । अहिले हामी वार्षिक एक लाख २० हजार टन उत्पादन गरेर बजारमा पठाईरहेका छौं । हामी उत्पादन लागत घटाउने अभियानमा छौं । सस्तोमा धेरै उत्पादन गरेर बजारमा पठाउने योजना छ । हाम्रा साना उपभोक्ताहरु धेरै छन् । गाउँ गाउँसम्म आफ्ना उत्पादन पुर्याउने अभियान चलाएका छौं । ठूला परियोजना भन्दा पनि आवासमा केन्द्रित हो ? हामी आवासमा अलि बढि नै केन्द्रित छौं । तर ठूला परियोजनाहरुमा पनि नपठाउने चाँही होइनौं । हामीलाई विश्वास गर्ने ठूला भवन, पूर्वाधारका आयोजनाहरुले पनि उत्पादनहरु लगिरहेका छन् । मेचीदेखि महाकालीसम्मै हाम्रो बजार छ । भैरहवामा हाम्रो प्लान्ट छ, करिब मध्य नेपालमामा प्लान्ट भएकाले बजारीकरण गर्न सहज भएको हो । कुन स्टील र कस्तो स्टील उपयोग गर्ने ? उपभोक्ताले कसरी थाहा पाउने गुणस्तरीय स्टील ? अहिले १६ वटा कम्पनीहरुले उत्पादन गरिरहेका छन् । भरोसा र गुणस्तरको कुरा नै उपभोगका आधार हुन् । गुणस्तर विभागले तीन तीन महिनामा गुणस्तर जाँच गरिरहेको हुन्छ । बजारबाट सामान उठाएर पनि परिक्षण गरिरहेको हुन्छ । गुणस्तर कायम गर्न सकिएन भने बेच्नै पाइँदैन् । सरकारी प्रोजेक्टहरुमा गुणस्तर प्रमाण नपाएका समान खरिद नै हुन्न । हामीले सरकारी गुणस्तरका सबै मापदण्ड पुरा गरेर उत्पादन र बजारीकरण गर्दै आएका छौं । स्टील उद्योममा भएको लगानी कत्तिको जोखिममा हुन्छन् ? कुनै पनि लगानी जोखिममुक्त पक्कै पनि हुदैन । विकास पूर्वाधार, ठूला भवन, सरकारी परियोजनाहरुको काम अघि बढेन भने उद्योगहरु जोखिममा पर्छन नै । स्टील उद्योगको क्षेत्रमा प्रयोग हुने प्रबिधिमा कस्तो परिवर्तन आईरहेको छ ? यो क्षेत्रमा पहिलो टोर भन्थे अहिले टिएमटी भन्ने आएको छ । पहिलो ४१५ ग्रेडमा बन्थ्यो अहिले ५०० ग्रेडमा बन्छ । ग्रेड भनेको स्ट्रेन्थ हो । पहिले १० वटा डण्डी हाल्नु पर्ने थियो अहिले ७ वटा हाल्दा हुन्छ ।

अनुशासन र पारदर्शिता भएका बैंकमा कर्जा दुरुपयोग बढ्यो, साढे १३ करोड ठगीमा २१ जना पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले जति कडाइ गरेपनि बैंक तथा वित्तीय संस्थामा ठगी भने बढ्दै गएको छ । पछिल्लो समयमा बैंकिङ ठगी बढ्दै गएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले जानकारी दिएको छ । चालु आर्थिक सुरुभएयता विभिन्न बैठक तथा वित्तीय संस्थामा ठगी गरेको अभियोगमा २१ जना पक्राउ परेका छन् । साउनयता सीआईबीले पक्राउ गरेका व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थामा १३ करोड ५९ लाख रुपैयाँ ठगी गरेका छन् । यी मध्ये केहीलाई बैंकिङ कसुरमा मुद्धा चलाएको छ भने केहीमाथि अनुसन्धान गरिरहेको छ । गत शुक्रबार मात्र कमसल धितो राखी १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा सीआईबीले तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष तथा नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकका सञ्चालक विष्णुप्रसाद धिताललगायत १४ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका सबैलाई हिरासतमा राखी सीआईबीले अनुसन्धान थालेको छ । अनुसन्धान सकिएपछि उच्च अदालत पाटनमा मुद्धा दर्ता गर्ने सीआईबीका प्रवक्ता जीवन श्रेष्ठले बताए । एनसीसी बैंकको चुक्तापुजी बढाउन नेपाल राष्ट्र बैंकले एपेक्स डेभपलमेन्ट बैंकलाई मर्ज गराएको हो । मर्ज हुनुअघि एपेक्सको सम्पत्ति दाइत्व मूल्याँकन (डीडीए) गर्दा पनि खराब कर्जा देखिएन् । त्यसबेला ४७ रुपैयाँमा एपेक्सलाई एनसीसीमा मर्ज गराइएको थियो । राष्ट्र बैंकले एपेक्सको डीडीए प्रतिवेदनमा अध्ययन गरेको थियो । यसैगरी गत फागुन ९ गते हकभोग नभएको जग्गालाई आफ्नो देखाई माछापुच्छ्रे बैङ्कको शाखा कार्यालय पुतलीसडकबाट १ करोड ४२ लाख रुपैयाँ कर्जा लिई बैंकलाई हानी नोक्सानी पुर्याएको आरोपमा सीआईबीले काठमाडौं महानगरपालिका ३०, धोविधाराका विनायक प्रेसका संचालक अशोकहर्ष बज्राचार्यलाई पक्राउ गरी उच्च अदालत पाटनमा बैंकिङ कसुर ऐनअनुसार मुद्धा दायर गरेको छ । कृषि बिकास बैंक, रामशाहपथ, मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार पेन्डिङ भएको देखाइ रकम एक आपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पुर्यारउने उदेश्यका साथमा बैंकको मौज्दात रकम करिव ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न बैंकका न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीलाई मंसिर १६ गते सीआईबीले पक्राउ गरेको थियो । सीआईबीले सोही काण्डमा संलग्न काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर १ सितापाईला बस्ने दीपिकाका साथै तेह्रथुम सिम्ले गा।बि।स। वडा नं। ५ घर भई हाल जिल्ला कामनपा वडा नं। १६ बालाजु बस्ने प्रकाश घतानी र दोलखाको भीमेश्वर नपा वडा नं। ६ घर भई हाल जिल्ला कामनपा वडा नं। ३२ बस्ने रमेशकुमार थापालाई सीआईबीले पक्राउ गरेको थियो । यस्तै रामेछाप नपा वडा नं। ८ स्थाई घर भई हाल कामनपा वडा नं। ३२ वस्ने बैंकको शाखा कार्यालय न्युरोडका कामू मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुङगेल, गोरखा पालुङटार(४ घर भई टोखा नपा वडा नं। ८ ग्रिनल्याण्ड बस्ने बैंकको न्युरोड शाखामा कार्यरत गोपाल गिरी, गोरखा बक्राङ(२ स्थायी घर भई हाल जिल्ला चन्द्रागिरी नपा वडा नं। बस्ने बैंकका न्युरोड शाखाका कर्जा प्रमुख महेश्वर मरहट्टालाई पक्राउ गरेको थियो । बिभिन्न व्यक्ति वा संस्थाले बिभिन्न बैंकको चेक मार्फत कृषि बिकास बैंकमा जम्मा गर्न ल्याएको चेकमार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिई सकेपछी सोही चेकलाई प्रयोग गरी पुन गैर कानूनी रुपमा दीपिका तथा आफन्तको नाममा जम्मा गरी प्रेमहरि, गिरी र मरहट्ठा समेतले रकम हिनमिना गरि बैंकलाई नोक्सान पुर्याएको आरोप बैंकले लगाएको छ । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडमा ठगि गरेको अभियोगमा काठमाडौं गागलफेदी स्थायी घर भई हाल चितवन बस्ने बिमल खड्कालाई ५ करोड ७५ लाख रुपैयाँ जरीवाना र ३ बर्ष कैद हुने ठहर भएकोमा उक्त कैद बेरुजु रही फरार रहेका थिए । खड्कालाई सीआईबीले माघ १३ गते चितवनबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चितवनमा पठाईएको सीआईबीले जनाएको छ । खड्काले आफु सञ्चालक भएको सात्विक डेभलपर्सको नाउँमा दर्ता रहेको जिल्ला काठमाडौको साङला गाविस वडा नं ९ समेतको जग्गाहरु धितो राखी ५ करोड ७५ लाख रुपैयाँ कर्जा निकासा गरी आफैले उपयोग गरेको र कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट फाईनान्सका निपेक्षकर्ता र लगानीकर्ता समेतलाई हानी नोक्सानी पु(याएका थिए ।      

समिट माइक्रोफाइनान्सको १४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

काठमाडौं । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक सेयर लिलामी हुने भएको छ । संस्थाका संस्थापक सेयरधनी यामकुमार चुडालले १० हजार, बाबुराजा श्रेष्ठ र बलभद्र अधिकारीले २/२ हजार कित्ता सेयर बिक्री गर्नलाई निवेदन दिएपछि समिटले बिक्रीको प्रक्रिया अघि बढाएको हो । सो सेयर पहिलो प्राथमिकता संस्थापक सेयरधनी र नभएमा मात्र बाहिरका लगानीकर्तालाई बिक्री गरिने संस्थाले जानाएको छ । सेयर खरिदका लागि ३५ दिनभित्र निवदेन दिन समिटले भनेको छ ।

राधी विद्युत कम्पनीको ४२ लाख कित्ता सेयर सुचिकृत, ७ दिनपछि कारोबार हुने

काठमाडौं । राधी विद्युत कम्पनी लमिटेडको ४१ लाख कित्ता साधारण सेयर (आईपीओ) कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । सुचिकृत भएको ७ दिनपछि मात्र सेयर कारोबार हुने नेपाल स्टकले जनाएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई समेत आईपीओ निष्कासन गरिसकेको छ ।

बिक्री नभएपछि साँग्रीला डेभलपमेन्ट बैंकको ९ लाख कित्ता हकप्रद लिलामीमा

काठमाडौं बिक्री नभएपछि साँग्रीला डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकले ९ लाख १ हजार ९९७ कित्ता हकप्रद सेयर लिलाम गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ ३ लाख ९२ हजार ७७२ र सर्वसाधारणतर्फ ५ लाख ९ हजार २२५ कित्ता हकप्रद सेयर लिलाम हुन लागेको हो । हकप्रद खरिदका लागि बोलपत्र पेश गर्ने चैत १३ गतेदेखि खुलाभई २० गते बन्द हुने बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । बोलपत्र फारम प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, साँग्रील डेभलपमेन्टको बालुवाटर र शाखा कार्यालय र प्रभु बैंकको विराटनगर, वीरगञ्ज र धनगढीमा पाइने छ । चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई गत पुस १७ देखि माघ २९ गतेसम्म हकप्रद निष्कासन गरेकोमा आवेदन नपरेको हकप्रद लिलामी गर्न लागेको हो ।

दोर्दीखोला जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासनको नीतिगत निर्णय गर्न चैत २८ गते साधारणसभा बोलाएको छ । साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासको काम अघि बढ्ने कम्पनीका प्रवन्ध सञ्चालक विनय भण्डारीले जानकारी दिए । कम्पनीले सभामा आईपीओ निष्कासनलाई विशेष प्रस्तावका रुपमा लैजाने भएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओको संख्या यकिन गरिने उनले बताए । “अहिले आईपीओ निष्कासन प्रस्ताव पारित गर्नेछौ” उनले भने “त्यसपछि हिसाव गरेर सेयर स्वामित्वको संरचना तयार पार्नेछौ ।” सभामा सञ्चालकको पनि निर्वाचन गर्ने हुनेछ । कम्पनीले लम्जुङमा १२ मेगावाटको दोदीखोला १ आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो डेढ वर्षमा सम्पन्न हुने उनले बताए । आयोजनाको अनुमानित लागत २ अर्ब २९ करोड रुपैयाँ छ । दोर्दीखोला जलविद्युत सीईडीबी हाइड्रो फण्ड लिमिटेडअन्र्तगतको सहायक कम्पनी हो । राधि विद्युत कम्पनी लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेड रहेका छन् ।

चीनलाई नेपालमा लगानी गर्न एफएनसीसीआईकाे अध्यक्ष राणाको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को अध्यक्ष भवानी राणासँग नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्म (ओवीओआर)चिनिया प्रतिनिधिमण्डलले सोमबार भेटवार्ता गरेको छ । ओवीओआर संस्थापक शू याको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महासंघसँग भेटवार्ता गरेको हो । सो क्रममा नेपालको आर्थिक तथा व्यवसायीक विकासमा ओवीओआरकातर्फबाट सहयोग गर्न आफुहरु तत्पर रहेको प्रतिवद्धता चिनिया प्रतिनिधिमण्डलले जनाएको बताइएको छ । ओवीओआर खासगरी पूर्वाधार विकास, व्यवसायिक कृषि, उर्जा, पर्यटन, अन्तराष्ट्रिय व्यापार तथा लगानी क्षेत्रमा क्रियाशिल रहेको जानकारी गराउंदै प्रतिनिधिमण्डलले नेपालका ती क्षेत्रहरुमा ओवीओआरमार्फत लगानी भित्रयाउन इच्छुक रहेको धारणा राखेका थिए । भेटवार्ताको क्रममा नेपालमा उद्यमशीलताको विकास, प्रविधि हस्तान्तरण, काठमाडौबाट चीनका प्रमुख शहरहरुमा सिधा हवाई सम्पर्क विस्तार, नेपालबाट चीनमा निर्यात हुने वस्तुहरुको पहिचान लगायत सम्बन्धमा छलफल भएको बताइएको छ । महासंघकाअनुसार सो अवसरमा महासंघका अध्यक्ष राणाले ओवीओआरमार्फत नेपालको पूर्वाधार विकास, उर्जा, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी ल्याउन प्रतिनिधिमण्डल समक्ष आग्रह गरेकी थिइन् । त्यस्तै नेपाल चीन लगायत ओवीओआर सदस्य राष्ट्रहरुबीच यातायात संयन्त्रमार्फत आपसी सम्पर्क विस्तार गर्नु पर्नेमा उनको जोड थियो । नेपालमा लगानीको वातावरण राम्रो रहेको तथा ओवीओआरको सदस्य समेत रहेको कारण नेपालको समृद्धिको अभियानमा सहकार्य गर्न चिनिया प्रतिनिधिमण्डललाई महासंघ अध्यक्ष राणाले अनुरोध गरेको जनाइएको छ । उक्त भेटवार्तामा ओवीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्म नेपाल कार्यालयका प्रमुख एवं महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, महासंघको कार्यकारिणी समितिका सदस्य जय सिवाकोटी, महासंघको पूर्व कार्यकारिणी समिति सदस्य एजी शेर्पा लागयततको सहभागि रहेको थियो ।