विकासन्युज

केरुङ-काठमाडौ रेलमार्ग चीनलाई, भारतले काठमाडौं-रक्सौल नपाउने

काठमाडौं । चीनले केरुङ–काठमाडौं विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाईसकेको छ । तर काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न भारतले भने पाउने छैन् । किनकी काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङलाई जिम्मेवारी दिईसकिएको छ । ‘केरुङ–काठमाडौं विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन चीनले गर्छ तर काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन भने हामी आफैंले गर्ने हो, त्यसका लागि ठेक्का लागिसकेको छ’,रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । उनले नेपाल र चीनबीच भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चीनले नै गर्न लागेको बताए । त्यस्तै, प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा भएको द्धिदेशिय सहमति अनुसार काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको काम अघि बढ्ने भएपनि सम्भाव्यता अध्ययन भने नेपाल आफैंले गर्न लागेको पनि उनले जानकारी दिए । उनले काठमाडौं–रक्सौल विद्युतिय रेलमार्ग स्ट्याण्डर्ड गेजमा निर्माण हुने र त्यसमा नेपाली प्राबिधिकहरुको प्रत्यक्ष सहभागीता समेत रहने पनि बताए । नेपालले सम्भाव्यता अध्ययन सम्पन्न गरेर डिपीआर समेत आफैं बनाउन सक्ने पनि उनले बताए । नेपालले गरेका अध्ययनहरुका आधारमा निर्माणको मोडल र लगानीबारे भारतसँग थप छलफलगरेर निर्माण प्रक्रिया आरम्भ हुनेछ । तर केरुङ–काठमाडौं रेलमार्ग भने शतप्रतिशत अनुदानमा बनाइदिन नेपालले चीन सरकारलाई आग्रह गरिसकेको छ । भर्खरै चीन भ्रमण गरेर फर्किएका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले केरुङ–काठमाडौं रेलमार्ग अनुदानमा बनाईदिन आग्रह गरेका हुन् । करिब डेढ महिना अघि देखि नै चीनले सो रेलमार्गको सम्भाव्यता अध्ययन गरिरहेको छ । करिब ७५ किलोमिटर लामो हुने केरुङ–काठमाडौं रेलमार्गको प्रति किलोमिटर लागत ४ अर्ब ५० करोड हुनेछ । जसको अनुमानित कुल लागत ३ खर्ब ३७ अर्ब ५० करोड भन्दा बढि हुनेछ । काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको लम्बाई करिब १०० किलोमिटरको हुनेछ । जसको अनुमानित लागत ३ खर्ब आसपास हुन सक्नेछ । कोरियाको सुसुङ कम्पनीले आगामी ६ महिनाभित्र सम्भाव्यता अध्ययन गर्नेछ भने त्यसपछि नेपालले डिपीआर निर्माणको प्रक्रिया अघि बढाउनेछ । भारतले नेपालका अधिकांश ठुला परियोजना बनाईदिने भन्दै ओगटेर राख्दै आएको छ । तर काठमाडौं–रक्सौल विद्युतिय रेलमार्ग भने नेपालले आफ्नै निगरानी र सहभागीतामा अघि बढाउन सक्ने अवस्थामा रहेको पनि उपाध्यायले दावी गरे । ‘पञ्चेश्वर, महाकाली सन्धी, हुलाकी राजमार्ग, माथिल्लो कर्णाली जसरी यो आयोजना भारतले ओटेरे मात्रै बस्ने अवस्था छैन्, नेपाल सरकारको प्रत्यक्ष संलग्नतामा अघि बढ्छ’, उपाध्यायले भने ।

५२ मेगावाटको लिखु ४ आयोजना बनाउन ठेक्का सम्झौता, २०७७ असाेजदेखि बिजुली बल्ने

काठमाडौं । निजी क्षेत्रले प्रवद्र्धन गरेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना निर्माणको ठेक्का नेपाली र भारतीय कम्पनीले पाएका छन् । प्रवद्र्धक ग्रिनभेन्चर्स प्राइभेट लिमिटेडले आयोजनाको विद्युतगृह र १ किलोमिटर लामो सुरुङको काम गर्न नेपालको साउथ एसियन इन्फास्टक्चर प्राइभेट लिमिटेड र भारतको एसएसएनआर प्रोजेक्टस प्राइभेट लिमिटेडले मुहान र साढे ३ किलोमिटर लामो सुरुङ खन्ने ठेक्का पाएका छन् । दुबै ठेकेदार कार्यस्थलमा परिचालन भइसकेको आयोजना प्रमुख बद्री रिजालले बताए । उनले इलेक्ट्रोमेकानिककाको ठेकेदार चयन गर्न बाँकी रहेको उनले जानकारी दिए । इटालीको सीएमसी डीरेभनाको वित्तीय अवस्था राम्रो नभएपछि ग्रिनभेन्चर्सले उसंगको ठेक्का सम्झौता तोडेर २ कम्पनी नियुक्त गरेको हो । साउथ एसियनले २२ मेगावाटको वाग्मति आयोजना निर्माण गरिरहेको उनले बताए । नेपालको बिशाल ग्रुप र त्रिवेणी ग्रुपको लगानी रहेको आयोजनाबाट आयोजनाको काम आगामी वि.स. २०७७ को असोजमा सम्पन्न हुने छ । आयोजनामा नविल बैंकको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले आयोजनामा ७ बैंकले ७ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेका छन् । आयोजनाको कुल लागत १० अर्ब १६ करोड रुपैयाँ छ । विशाल र त्रिवेणीले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । उनका अनुसार विशाल र त्रिवेणी ग्रुपले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल विद्युत प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । ऊर्जा मन्त्रालयले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ । आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।

९ महिनामा ज्योति विकास बैंकको नाफा २२ करोड २४ लाख

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ज्योति विकास बैंकको खुदनाफा बढेको छ । गत चैतसम्म बैंकले २२ करोड २४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १९ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन सन्तोषजनक रुपमा विस्तार भएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा १.२७, निक्षेप लागत ९, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६.३०, आधार ब्याजदर १२.६५ र कर्जा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेडदर) ५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४३ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकले ५३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको संचित कोष बढेर ४२ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

सनराइज बैंकको नाफा ९ करोड बढेर ९४ कराेड पुग्याे

काठमाडौं । सनराइज बैंकको नाफा ९ करोडले वृद्धि भएको छ । २०७३ चैत मसान्तमा ८५ करोड नाफा कमाएको बैंकले २०७४ चैत मसान्तसम्ममा ९४ करोड नाफा आर्जन गरेको हो । बैंकले ६५ अर्ब निक्षेप संकलन गरेर ५७ अर्ब कर्जा लगानी गरेको छ । ८ अर्ब १५ करोड पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ । बैंकले पछिल्लो तीन महिनामा २ अर्ब क्षिेप वृद्धि गरेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४१ करोड छ भने ब्याज खर्च ३ अर्ब ४६ करोेड रहेको छ । सनराइज बैंकको खराब कर्जा १.४५ प्रतिशत छ भने आधार ब्याजदर ११.३४ प्रतिशत रहेको छ । बैंकको सीसीडी रेसियो ७७.९० प्रतिशत रहेको छ । बैंकले ४१ करोड प्रोभिजन गरेको छ भने राइट ब्याकबाट ४१ करोड रुपैंयाँ नै प्राप्त गरेको छ । बैंकको प्रति सेयर आम्दानी १५.५१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.११ रुपैंयाँ रहेको छ ।

गण्डकी विकास बैंकको नाफा ३४ करोड, खराब कर्जा घट्यो

  काठमाडौं । गण्डकी विकास बैंकले ३ महिनामा खुदनाफा १४ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म नाफा बढाएर ३४ करोड रुपैयाँ पुर्याएको छ । गत पुसमा बैंकले २० करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको ९ महिनामा बैंकले २७ करोड ३१ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा कर्जा लगानी, निक्षेप परिचालन र नाफामा विस्तार भएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा ०.८४, निक्षेप लागत ९, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.३८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.३० र आधार ब्याजदर १२.३७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.६९ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले ७० करोड ५३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत चैतसम्म बैंकको निक्षेप परिचालन बढेर २० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी बढेर १८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकको संचित कोष बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

ग्लोबल आईएमई बैंकको नाफा १४४ करोड, ३ महिनामा नाफा ५० करोड बढायो

  काठमाडौं । ग्लोबल आईएमई बैंकले ३ महिनामा खुदनाफा झण्डै ५० करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म १ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा गत आवको तुलनामा चालु आवमा नाफामा सामान्य गिरावाट आएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा १.२९, निक्षेप लागत ८.२२, पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७५.२९ आधार ब्याजदर ११.६८ र कर्जा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेडदर) प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले २ अबै ६५ करोड ६२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकले समीक्षा अवधिमा ३५ करोड ६१ लाख राइट ब्याक गरेको छ । गत चैतसम्म बैंकको निक्षेप परिचालन १ खर्ब २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी ८९ अर्ब ६ करोड ९० लाख रुपैयाँ छ । बैंकको संचित कोष बढेर ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल बैंकको नाफा २५६ करोड, प्रतिसेयर आम्दानी ४२ रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल बैंकको नाफा सामान्य वृद्धि भएको छ ।बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा प्रतिकुल अवस्थामा पनि बैंकको वित्तीय अवस्था सकरात्मक रहेको जानकारी दिएको छ । बैंकको खराब कर्जा २.९१, निक्षेप लागत २.९७, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.४८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) दर ४.९९ र आधार ब्याज दर बढेर ७.११ प्रतिशत पुगेको छ । गत पुसमा बैंकको आधार ब्याजदर ६.९३ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा छ । बैंकले ९ महिनामा ६ अर्ब ६० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत पुसमा ४ अर्ब २४ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकको ब्याज आम्दानी झण्डै साढे २ अर्ब रुपैयाँ बढेको छ ।

कुमारी बैंकले बैशाख २८ देखि १ अर्ब १९ करोडको हकप्रद निष्कासन गर्दै

काठमाडौं । कुमारी बैंकले बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।बैंकले चुक्तापुँजी बढाउन २० प्रतिशत अर्थात १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन बन्द जेठ ३१ गते हुने छ । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्ने छ ।