सिभिल बैंकद्धारा महालक्ष्मी आधारभुत विद्यालयलाई बेन्च हस्तान्तरण
काठमाडौं । सिभिल बैंक लिमिटेडले दमकको महालक्ष्मी आधारभुत विद्यालयलाई बेन्चहरू हस्तान्तरण गरेको छ । दमक शाखा संचालनमा ल्याएको अवसरमा बैंकले वार्षिकोत्सवको दिन पारेर उक्त बेन्चहरू हस्तान्तरण गरेको हो । बैंकको विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजु तामाङ तथा दमक नगरपालिकाका अध्यक्ष रामबहादुर धिमाललाई उक्त बेन्चहरु हस्तान्तरण गरेका हुन् । शिक्षा नै समृद्धिको आधार भएको कुराको मनन गर्दै बैंकले उक्त विद्यालयलाई बेन्च हस्तान्तरण गरिएको बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।
प्राइम कमर्सियल बैंकले दियाे १५ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री
काठमाडौं । प्राइम कमर्सियल बैंकले चितवनका १५ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयहरुलाई सेतोपाटी, सुकुुल, कालो मार्कर पेन, डष्टर लगायतका समाग्रीहरु उपलब्ध गराएको छ । साथै, बैंकले राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको लागि १००० मीटर पाइप र सोही विद्यालयहरुमा अध्यनरत अति विपन्न परिवारका ७५० विद्यार्थीहरुलाई झोला, ब्याग, जस्ता शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । बैंकले एक समारोहकाबीच कम्पनीका अध्यक्ष उदयमोहन श्रेष्ठ, सञ्चालक राजेन्द्र दास श्रेष्ठ र बैंकका संस्थापक एवं पूर्व अध्यक्ष उमेश श्रेष्ठले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
अर्थतन्त्रमा ओखति मुलो होइन, बहुत ठूलो शल्यक्रिया आवश्यक छ-बिनोद चौधरी
काठमाडौं । म आर्थिक बर्ष २०७५।७६ माथी टिप्पणी गर्नु अघि यो बजेट कस्तो पृष्ठ भूमिमा आएको छ भन्नेबारे केहि चर्चा गर्न चाहान्छु । १) बेरोजगारीको समस्या सरकारकै तथ्यांक अनुसार ४३ लाख भन्दा बढि नेपाली विश्वभर कार्यरत छन र ७५ प्रतिशत भन्दा बढि अदक्ष छन् । दक्षहरुको संख्या जम्मा १.५ प्रतिशत मात्रै छ । दैनिक एक हजार नेपाली युवा देशबाट बाहिरिँदैछन् । फलस्वरुप गाउँघर युवा विहिन बन्दैछन । कतिपय गाउँमा मलामी जान समेत मान्छे पाइँदैनन् । यसले मुलुकको आर्थिक विकासमा असर मात्रै होइन, गहिरो सामाजिक बिषमताको खाडल पनि खनेको छ । यसलाई चाँडै पुरिएन भने मुलुकले गम्भिर मुल्य चुकाउनुपर्नेछ । २) बढ्दो व्यापार घाटा २०६१।६२ सम्ममा ७० प्रतिशत आयात र ३० प्रतिशत निर्यात थियो । आज ९४ प्रतिशत आयात र ६ प्रतिशत निर्यातको अवस्था बनेको छ । यसलाई चाँडै सम्बोधन गरिएन भने हामी शतप्रतिशत आयातको अवस्थामा पुग्नेछौं । यस्तो खालको बिषमताको उपचार सानो तिनो ओखतिमुलोले हुनेवाला छैन् । बहुत ठुलो शल्यक्रियाको आवश्यकता देखाएको छ । नेपालका कारखाना र तिनका उत्पादनले विश्वकै ठुला कारखाना अर्थात भारत र चीनका उत्पादनसँग प्रतिष्पर्धा गर्न केबल २।३ प्रतिशतको निर्यात अनुदानले सम्भव छैन् । पहिले नेपाल जुट र छालाको निर्यातले व्यापारमा नाफा गरिरहेको थियो । कार्पाेट र गार्मेण्टले नेपालको निर्यात व्यापारमा ठुलो सफलता पाएको थियो । अहिले बंगलादेशले गार्मेण्टको निर्यातबाट बलियो आधारशिला तयार पारिसक्यो । तर हाम्रा यी उत्पादनहरु बढ्नुको साटो घट्ने अवस्थामा पुगेका छन् । सानो आकारमै भएपनि नेपालको कफी र चियाले विश्वमा राम्रो स्थान बनाएको छ । तर हामी पुराना आधारलाई बिर्सेर नयाँ नयाँ प्रयोग गर्न अग्रसर छौं । सफल कुराहरुको प्रवद्र्धन गरेर निर्यात प्रवद्र्धन गर्न चाहाँदैनौं । ३) शासकिय समस्या मुलुकको बजेटको ८५ प्रतिशत साधारण खर्च भैरहेको छ । यो आँकडा यस बर्षको वास्तविक हिसाब किताबका आधामार भन्दैछु । कुल खर्चको जम्मा १५ प्रतिशत विकास खर्च भैरहेको छ । विकास निर्माणमा प्रदेशहरुको सक्रियता पुर्वक सहभागीता गराउन सफल भएन भने फेरी पनि पुरानै प्रवृत्ति दोहोरिनेछ । ४) श्रोत साधानको बाडफाँट चार वटा यस्ता प्रदेश छन जसले विगतमा पाँच प्रतिशत पनि राजश्व उठाउन सकेनन र पाँच प्रतिशत पनि कुल बजेटको हिस्सा पाउन सकेनन् । जसका कारण ती प्रदेशहरुको विकास र पुर्वाधारको अवस्था अहिले पनि दयनिय छ । अहिले पनि ती प्रदेशहरुलाई माथी उठाउन र क्षमता अभिवृद्धि गराउन केन्द्रिय सरकारले सहयोग गरेन भने तीनको हालत सुधार हुनेवाला छैन् । फेरी एक पटक गहिरो अविश्वासको खाडलले यो संघियतालाई नै धरापमा पार्ने सम्भावना छ । हुन त अर्थमन्त्रीज्यूले प्रदेशहरुको लागि ४.५ खर्बको बजेट विनियोजन गर्नु भएको छ जुन विगतका बर्षहरुको भन्दा २ गुणा बढि हो । तर यसको खर्च गर्ने क्षमता प्रदेशहरुले हासिल गर्न सकेनन भने, सदुपयोग गर्ने वातावरण बनाउन सकेनन भने यो विनियोजित रकम पनि खर्च हुने छैन् । यस्तो कुरा देशले संघियताको परिप्रेक्ष्यमा सहन सक्नेवाला छैन् । ५) उदार अर्थनीति मास्ने काम नहोस २०४८ सालको सरकारले ल्याएको उदार र निजी क्षेत्र मैत्री लगानी नीतिमा टेकेर नेपालले ठुलो फ्डको मार्यो । यातायात, वित्तिय क्षेत्र, पुर्वाधार, हवाई, रियलस्टेट लगायतका ६ वटा क्षेत्रमा ठुलो लगानी गर्यो । ६३ प्रतिशत कृषिमा आधारित अर्थतन्त्रलाई २७ प्रतिशतमा सिमित गरायो । अहिले त्यहि लगानीले नेपालको अर्थतन्त्रको स्वरुप नै बदलिदिएको छ । नयाँ क्षेत्रले ३२ प्रतिशत हिस्सा ओगट्यो, २० लाखले रोजगारी पाए, ३३ खर्बको लगानी भएको छ, त्यसका आँकडाहरु जिवित छन् । हामीले यो नयाँ खुलेको प्रक्रियालाई बन्द गर्नुहुन्न । निजी क्षेत्रको नेतृत्वमा यदि कुनै सच्याउनुपर्ने कुरा छ भने मात्रै नत्र त्यहि बाटोलाई पछ्याउँदा मात्रै देशले प्रगति गर्छ । मुलुक २५ बर्षसम्म राजनीतिक अस्थिरताको शिकार हुँदा पनि त्यहि बेलाको सुधारका जगमा चलेको अर्थतन्त्रले यतिबेला नयाँ सरकारले बलियो अर्थतन्त्र पाएको छ । म अनुरोध गर्न चाहान्छु की, यो दिशामा कुनै परिवर्तन नगरियोस् । भारतसँगको व्यापार घाटा कम गर्नका लागि पाँच हजार मेगावाटको विद्युत अहिलेको दरभाउमा बेच्न सकियो भने अहिलेको व्यापार घाटा व्यवस्थापन गर्न सकिने रहेछ । नयाँ प्रबिधीहरुको उपयोग गरेर हामीले परम्परागत रुपमा चल्दै आएका उद्योग र व्यापारको दिशा बदल्न सक्छौं ।(नेपालका डलर अर्बपति सांसद बिनोद चौधरीले आगामी आर्थिक बर्षको बजेटका सम्बन्धमा प्रतिनिधी सभामा व्यक्त गरेको विचार)
रम्भा बस दुर्घटनामा परेका १२ जनाको सनाखत
काठमाडौं । पाल्पाकाे रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुशीलप्रसाद श्रेष्ठ, तानसेन– ६ का दुर्गाबहादुर सारु र गीता बुढाथोकी तथा तानसेन बजारका सचिन बज्राचार्य र कमला कार्की रहेका छन् । रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु २ ख ९७५ नं को बस आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा दुर्घटनामा परेको हो । रासस
अमेरिकाद्धारा स्टील र आल्मुनियमको आयातमा कर वृद्धि, साझेदार मुलुकलार्इ असर पर्ने
वासिङटन । अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ । युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको बिहीबार जानकारी दिइएको छ । अमेरिकाको यो निर्णयबाट व्यापारीक साझेदार मुलुकहरूलाई थप बेखुसी बनाउने निश्चित रहेको पनि समाचारमा जनाइएको छ । अमेरिकाका व्यापार मन्त्री विल्बर रोसले क्यानडामा भएको विश्वका मुख्य सात देशका अर्थ मन्त्रीहरुसँगको बैठकपछि कर वृद्धिको घोषणा गरेका हुन् । रासस/एएफपी
ज्येष्ठ नागरिकका लागि ५००० भत्ता कहिले कार्यान्वयन हुन्छ ?
काठमाडौं । राष्ट्रियसभाको शुक्रबारकाे बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल जारी छ । बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो लागे पनि समग्र बजेट वक्तव्य पढिसकेपछि मुलुकको विकास र समृद्धिको पक्षमा रहेको आफूले पाएको बताए । उनले भने, “जनआकांक्षा र मुलुकको आर्थिक अवस्था विश्लेषण गर्दा बजेट अग्रगामी देखिन्छ तर निर्वाचनका बेला घोषणापत्रमा ज्येष्ठ नागरिकलाई रु पाँच हजार सामाजिक सुरक्षा भत्ता पुर्याउने स्पष्ट लेखिएको विषय कहिले कार्यान्वयन हुन्छ ? राजनीतिक क्षेत्र बेइमान भयो भने अरु क्षेत्रबाट इमान होला भनेर आशा गर्न सकिन्न ।” सुकुम्बासीलाई लालपूर्जा दिने र घर बनाइदिन्छौं भनेर निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्ने कुरा बजेटमा नआएको भनी उनले प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराए । बजेट हेर्दा अब अदालत किन चाहियो सांसद राधेश्याम अधिकारीले प्रस्तुत बजेट अध्ययन र विश्लेषण गर्दा राज्यको पुनःसंरचनाप्रति हामी प्रतिबद्ध छौँ कि पछि हट्न खोजेका छौँ भन्ने प्रश्न सत्तापक्षकै सांसदबाट आएको उल्लेख गर्दै प्रधानमन्त्रीको कार्यालयलाई छुट्याइएको बजेटको परिमाणले त्यसलाई पुष्टि गरेको बताएका छन् । संघीयता र गणतन्त्रलाई जोगाउने हो भने सबैभन्दा माथि कानून हुनुपर्छ, संवैधानिक सर्वोच्चताको सम्मान गर्नुपर्छ, न्यायालयलाई एक प्रतिशत पनि बजेट नछुट्याउने हो भने अदालत नै किन चाहियो भनी प्रश्न गर्दै उनले कृषि र रोजगारीमा लक्ष्य पुर्याउनै नसक्ने ढंगबाट बजेट ल्याएको बताए । बजेट हेर्ने नजरमा भरपर्छ सांसद कालीबहादुर मल्लले प्रस्तुत बजेटको सार र चरित्रलाई हेर्दा आर्थिक क्षेत्रको अन्तरविरोधलाई सम्बोधन गर्ने प्रयत्न भएको बताए । उनले भने, “बजेट हेर्ने नजरमा भरपर्छ, बजेट राष्ट्रिय चरित्रको, बित्तीय र आर्थिक अनुशासन कायम गर्ने, राष्ट्रिय पूँजी निर्माण गर्नेखालको छ ।” रासस
स्वास्थ्य मन्त्री बने उपेन्द्र यादव आजै शपथ लिने
काठमाडौं । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वस्थ्य मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरमलाई समेत सरकारमा समावेश गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यादवसँगै मोहम्मद इस्तियाक राइन पनि शहरी विकासमन्त्री बनेका छन् । उनीहरुले आजै शीतल निवासमा पद तथा गोपनियताको सपथ लिनेछन् ।
रुकुममा ४० जना विद्यार्थी मुर्छा, विद्यालय बन्द
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो । केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा परेपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले जानकारी दिए । उनले अन्य विद्यार्थी समेत बिरामी पर्ने डरले विद्यालय बन्द गरेको बताए । उनका अनुसार पढ्दै गरेका विद्यार्थी एक्कासि मुर्छा पर्ने, ब्युँझिएपछि विद्यार्थीको टाउको र हातखुट्टा दुख्ने, रिङ्गटा लाग्ने र रुने जस्ता लक्षण देखिने गरेको छ । गत मंगलबार र बुधबार मात्रै मुर्छामा परेका करिब २० जना विद्यार्थीको उपचार भएको विद्यालयले जनाएको छ । स्वास्थ्य चौकी पीपलका अहेब खगेन्द्र शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरिरहेको बताइएको छ । रासस