विकासन्युज

सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ७७ करोडको कारोबार

काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज नेप्से परिसूचक ४ दशलमव ९८ अंकले घटेर २,५६१ को विन्दुमा कायम भएको छ ।  नेप्सेका अनुसार आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ । आज ३३८ कम्पनीको ८३ करोड ८८ लाख ३७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोडको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको हो ।  त्यसैगरी, साहस उर्जाको १९ करोड ६० लाख रुपैयाँ र राधि विद्युत कम्पनीको १५ करोड ९४लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सागर डिष्टिलरी, माबिलुङ्ग इनर्जी, बुंगल हाइड्रो, हिम स्टार ऊर्जा कम्पनी, सान्भी इनर्जी, बन्दिपुर केबलकार र झापा इनर्जीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन ०.४२ र व्यापार ०.३२ प्रतिशतले बढेकाे छ । त्यसैगरी विकास बैंक समूह सबैभन्दा धेरै १.०९ प्रतिशत घट्यो । बैंकिङ ०.१६, फाइनान्स ०.६८, हाइड्रोपावर ०.१४, लगानी ०.४४, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.५७ तथा अन्य समूह ०.४७ प्रतिशतले घटेकाे नेप्सेले जनाएकाे छ ।

एमसीसी नेपालमा अमेरिकाले थप्यो ७ अर्ब रुपैयाँ, कुल रकम १ खर्ब ६ अर्ब नाघ्यो

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् । यससँगै उक्त सम्झौता अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ । यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउने जस्ता सो सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत गर्नेछ । ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार गरी यस सम्झौताले अन्तर्राष्ट्रिय 'कनेक्टिभिटी' मा सहयोग पुर्‍याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यासहरूको प्रवर्द्धन गर्ने अपेक्षा राखिएको छ । उक्त सम्झौताले अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरहरूको विस्तार पनि गर्दछ । यो आर्थिक सहयोगले अमेरिका र नेपालबीच रहेको चिरस्थायी साझेदारी प्रतिबिम्बित गर्दछ । दशकौँसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन सँगै काम गरेका छन् । एमसीसी नेपाल सम्झौताले उच्च प्रभाव युक्त पूर्वाधारमा केन्द्रित, ऋण रहित र अनुदानमा आधारित सहायतामार्फत उक्त इतिहासलाई निरन्तरता दिएको छ ।

एनपीएलको सबै टिकट बिक्री, अनावश्यक भीड नगर्न प्रहरीको अनुरोध

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा बुधबार साँझ ४ बजे हुने नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गुरखास र सुदूरपश्चिम रोयल्सबीचको ओपनिङ खेलका लागि सबै टिकट बिक्री भइसकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले टिकट नपाएका दर्शकहरूलाई खेलस्थल वरिपरि अनावश्यक भीड नगर्न विशेष अनुरोध गरेको छ । प्रहरीका अनुसार दर्शकको संख्या बढ्दा सुरक्षा व्यवस्थापनमा चुनौती आउन सक्ने भएकाले सूचना जारी गरिएको हो । नेपाली क्रिकेटप्रति दर्शकको बढ्दो क्रेज र उत्साहका कारण आजको खेलका लागि टिकटहरू छिट्टै सकिएको हो।  प्रहरीद्वारा जारी सूचनामा भनिएको छ, 'टिकट नपाएका महाशयहरू उक्त स्थान वरिपरि भीड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरिन्छ ।'

५ रोपनी जग्गामा स्पोर्टस पार्क बन्दै, पुरानो सहर पार्कले सजिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्पोर्टस पार्क निर्माण शुरु गरेको छ । व्यक्ति तथा संस्थाले प्रयोग गरिरहेको महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भएका संरचना हटाइएको ठाउँमा पार्क निर्माणका लागि शिलान्यास गरिएको हो ।  पार्कको शिलान्यास गर्दै वडा १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले, पार्क निर्माण कार्य पूर्वाधार मात्र नभइ सामाजिक क्रियाकलाप बढाउने माध्यम पनि भएको उल्लेख गरे । पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्गमिटर छ । उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले कार्यान्वयन गरेको यस कामका लागि बोलपत्र आह्वानबाट १२ वटा कम्पनीले आवेदन दिएका थिए । यसमध्ये हान्स–चपुर ज्वाइन्ट भेन्चरले जिम्मेवारी पाएको छ ।  पार्क निर्माणको लागत अनुमान भ्याट र पीएससहित २ करोड ८१ लाख ४० हजार रुपियाँ थियो । कार्यादेश रकम भ्याट र पीएसबाहेक १ करोड ८८ लाख ९१ लाख रुपैयाँ हो । निर्माण अवधि २०८३ कार्तिक १८ गतेसम्म रहेको छ । पार्कभित्र खुला व्यायामशाला हुनेछ । १२८ वर्गमिटर क्षेत्रफलको व्याटमिन्टन कोर्ट हुनेछ । ९२८ दशमलव ५३ वर्गमिटरको फुटसल मैदान हुनेछ । पार्कभित्र महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै शौचालय र पोशाक परिवर्तन गर्ने कक्ष हुनेछ । ३११ दशमलव ८९ वर्गमिटर क्षेत्रमा दुवो रोपेर हरियाली बनाइनेछ । पार्कभित्र विभिन्न जातका १६३ वटा विरुवा रोपिनेछन् । यस्तै ३ सय वटा मौसमी फूल रोपिनेछन् । पार्कको सुरक्षाका लागि वरिपरि पर्खाल लगाइनेछ । यो पार्क निर्माणपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँ लगायतका स्थानीयबासीलाई खुला व्यायाम गर्ने, ज्येष्ठ नागरिकलाई टहल्ने, बालबालिका र युवाहरुलाई खेल्ने ठाउँ हुनेछ ।  महानगर प्रहरी बलले यस स्थानमा भएका संरचना २०८० साल साउन ४ गते अतिक्रमणमुक्त गराएको हो । त्यस बेला यो ठाउँको भोगचलन गरिरहेकी पूर्वमन्त्री भद्रकुमारी घलेले महानगरपालिकाको सार्वजनिक जग्गा खाली गराउने अभियानमा सहयोग गर्दै संरचना भत्काउन सहयोग गरेकी थिइन् । उनका सामान स्थानान्तरण भएको ठाउँमा लैजान प्रहरी बलले सहयोग गरेको थियो । 

मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना श्रेष्ठ नियुक्त

काठमाडौं । भक्तपुरमा रहेको शहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गरिएको छ  । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो  ।  यसअघिका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ अवकाशपछि पद रिक्त थियो । डा. कल्पना प्रत्यारोपण केन्द्रको सबैभन्दा वरिष्ठ चिकित्सक हुन् ।

जेनजी आन्दोलनबाट ८० अर्बको क्षति, सरकारलाई अहिलेसम्म ८ करोड बढी आर्थिक सहयोग

काठमाडौं । अर्थ मन्त्रालयले जेनजी आन्दोलनको क्रममा कुल ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाएको छ। अर्थ मन्त्रालयका  अनुसार जसमध्ये ४१ अर्ब रुपैयाँ बराबरको क्षति सार्वजनिक क्षेत्रले बेहोर्नुपरेको छ भने ३९ अर्ब रुपैयाँ निजी क्षेत्रले बेहोर्नुपरेको छ। क्षतिपूर्तिका लागि गठन गरिएको सरकारी कोषमा हालसम्म ८ करोड २६ लाख रुपैयाँ मात्र सहयोग संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।  सरकारले थप सहयोग र पुन:निर्माणका लागि निजी क्षेत्र, दातृ निकाय र आम नागरिकलाई सहभागी हुन आग्रहसमेत गरेको छ । आन्दोलनका क्रममा सार्वजनिक पूर्वाधार, सरकारी कार्यालय, यातायात, ऊर्जा, सञ्चारसहित विभिन्न प्रशासनिक संरचनामा ठूलो नोक्सानी देखिएको मन्त्रालयको मूल्यांकन छ ।  निजी क्षेत्रमा उद्योग, व्यापार, सेवामूलक व्यवसाय र निजी सम्पत्तिमा उल्लेख्य क्षति भएको बताइएको छ ।

मंसिरमै अनिवार्य अवकाशमा जाँदै मुख्यसचिव र तीन सचिव, को बन्लान् नयाँ मुख्य सचिव ?

काठमाडौं । यही मंसिर महिनामै मुख्यसचिवसहित तीनजना सचिव अनिवार्य अवकाशमा जाने भएका छन् ।  राष्ट्रिय किताबखानाको विवरणअनुसार मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणीन्द्र गौतम मंसिरमै सेवाबाट अवकाश हुने भएका हुन् । मुख्यसचिव अर्याल र आयोगका सचिव दुवाडी दुवै मंसिर १० गतेदेखि अवकाशमा जान लागेका छन् । अर्याल ५८ वर्षे उमेर–हद पुगेका कारण अवकाश हुँन लागेका हुन् भने दुवाडी सचिवमा बढुवा भएको पाँच वर्षे सेवा अवधि पूरा गरी घर फर्किन लागेका हुन् ।  २०८१ भदौ १३ गते मुख्यसचिव बनेका अर्यालले करिब १५ महिने कार्यकाल पूरा गरेर घर फर्कदै छन् । दुवाडी २०७७ मंसिर १० मा सचिवमा बढुवा भएका थिए । सचिवको रूपमा दुवाडीले विभिन्न मन्त्रालयमा पाँच बर्ष बिताएका छन् । यस्तै, मन्त्रिपरिषद्को कार्यालयका सचिव फणीन्द्र गौतम मंसिर १८ गतेदेखि अनिवार्य अवकाशमा जाने भएका छन् । गौतम ५८ वर्षे उमेर–हद पुगेका कारण २०८० भदौ २१ मा सचिवमा बढुवा भएका थिए । उनि करिब २७ महिना सचिवका रूपमा कार्यरत रहे । मुख्य सचिव अर्यालको घर फिर्तीसँगै नयाँ मुख्यसचिवको दौड सुरु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एकजना वरिष्ठ अधिकारीले जानकारी दिए ।  उनका अनुसार दुवाडी अवकाशमा गएपछि सचिवहरूमा वरिष्ठता क्रमको शीर्ष स्थानमा रक्षा सचिव सुमनराज अर्याल रहेका छन् । अर्याल २०७७ माघ १९ मा सचिवमा बढुवा भएका थिए । अर्यालको आगामी माघ १८ मा पाँच वर्षे सेवा अवधि पूरा हुने ती अधिकारीले जानकारी दिए । तर अर्याल मुख्यसचिव बनेमा भने २०३ असार २५ मा ५ वर्षे उमेरहदका कारण अवकाश हुनेछ । अर्यालपछि वरिष्ठता क्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य छिन् । शाक्यपछि राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी वरिष्ठ सचिवको रूपमा रहेका छन् ।  २०७८ असार २१ मा सचिवमा बढुवा भएका बुर्लाकोटी मुख्यसचिव नियुक्त भएमा २०३ भदौ २६ सम्म ५ वर्षे उमेरहद पुग्दासम्म पदमा रहन पाउने छन् ।

उद्योग विभागलाई महासंघले गर्‍यो कम्प्युटर सहयोग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्योग विभागमा विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू हस्तान्तरण गरे । भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा विभाग परिसरमा भएको आगजनीका कारण कम्प्युटर तथा अन्य सामग्री जलेर नष्ट भएपछि विभागको आग्रहअनुसार महासंघले विभागलाई सहयोग स्वरूप कम्प्युटरहरू उपलब्ध गराएको हो  ।  सो अवसरमा महासंघका अध्यक्ष ढकालले निजी क्षेत्र र राज्यका निकायबीचको सहकार्यले मात्र सेवा प्रवाहको गुणस्तर सुधारिने उल्लेख गरे ।  उनले उद्योग विभागले सामना गरेको क्षति न्यूनीकरणमा महासंघको तर्फबाट सानो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आउँदा दिनमा पनि महासंघ र विभागबीच सहकार्य जारी रहने बताए । ‘महासंघले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य आवश्यक छ । यो सहकार्यको माध्यमबाट संस्थागत क्षमता वृद्धिमा योगदान पुग्ने हाम्रो विश्वास रहेको छ, अध्यक्ष ढकालले भने ।  उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले भाद्र २३ र २४ गतेको  आन्दोलनको क्रममा विभागको भौतिक सामाग्रीमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै महासंघले तत्काल सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे । उनले महासंघको यो सहयोगले विभागको दैनिक सेवा सञ्चालन सहजता ल्याउने बता‍ए।