विकासन्युज

स्वावलम्बन लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई वितरण हुने लाभांश घोषणा गरेको छ । मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीकाे कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये ५.६३६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३६३५ प्रतिशत नगद लाभांश रहेका छन् । लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नुपर्छ । आवश्यक स्वीकृति प्राप्त भएपछि सेयरधनीहरूले बोनस सेयर र नगद लाभांश दुवै प्राप्त गर्नेछन् ।

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा, स्विस र्फ्याङ्क एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८१  पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८ पैसा र बिक्रीदर ३४ रुपैयाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४ रुपैयाँ ९६ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ३३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ४० पैसा, बिक्रिदर ३६८ रुपैयाँ ९६  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

वाग्मती । चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट आव २०८२/८३ मा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा साउनदेखि कात्तिकसम्ममा लक्ष्यको २२ दशमलव ४५ प्रतिशत अर्थात् रु छ अर्ब ९३ करोड ६४ लाख ४६ हजार राजस्व सङ्कलन भएको वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए। चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट रु सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकमा चारमा त्यसको करिब १६ दशमलव ७ प्रतिशत अर्थात् रु एक अर्ब २३ करोड ७० लाख ३५ हजार राजस्व सङ्कलन भएको छ । यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/८३ मा रु आठ अर्ब २५ करोड अनुमान गरिएकोमा कात्तिक महिनासम्म २८ दशमलव दुई प्रतिशत अर्थात् रु दुई अर्ब ३१ करोड १८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकोमा सो अवधिसम्ममा रु दुई अर्ब ४९ करोड ५५ लाख ३५ हजार सङ्कलन भएको छभने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकोमा रु ८४ करोड ३६ लाख २१ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकोमा पहिलो चार महिनाको अवधिमा त्यसको २३ दशमलव ३७ प्रतिशत अर्थात् रु तीन अर्ब ४६ करोड ३४ लाख ७१ हजार मात्र प्राप्त भएको सूचना अधिकारी पौडेलले बताए । चालु आव २०८२/८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकोमा चार महिनाको अवधिमा लक्ष्यको २३ दशमलव ७० प्रतिशत अर्थात् रु एक अर्ब १३ करोड २२ लाख २८ हजार मात्र प्राप्त भएको छ ।

बरूण हाइड्रोको ५ प्रतिशत लाभांश घोषणा, मंसिर २६ गते डाक्यो सेयरधनी भेला

काठमाडौं । बरूण हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँको ४.७५ प्रतिशतका दरले ५ करोड ९ लाख २ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले २६ लाख ७९ हजार रुपैयाँ नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २२औँ वार्षिक साधारण सभा मंसिर २६ गते स्मार्ट दरबार शंखपार्क काठमाडौंमा बिहान साढे बजे बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेछ ।  यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

फ्लाई दुबईले २०० बढी विमान थप्दै, १३ अर्ब डलरमा ७५ वटा बोइङ खरिद गर्ने

काठमाडौं । कम लागतको एयरलाइन्स फ्लाई दुबईले बुधबार बोइङसँग १३ अर्ब डलर मूल्यको ७५ वटा ७३७ म्याक्स विमानको लागि सम्झौता गरेको बताएको छ । दुबईको विमान कम्पनी फ्लाई दुबई समूहले आफ्नो सेवा विस्तारका लागि २ दिनमा बोइङ र एयरबसबाट २०० भन्दा बढी विमानहरूको लागि प्रारम्भिक अर्डर घोषणा गरेको छ।  कुल १३ अर्ब अमेरिकी डलर मूल्यका ७५ वटा ७३७ म्याक्स विमानहरूका लागि र थप ७५ विमानहरूको विकल्पका लागि दुबै पक्षले ‘दुबई एयरशो’ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेका समूहले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ।  फ्लाईदुबईले यसपहिले नै ९० भन्दा बढी बोइङ ७३७ विमानहरू सञ्चालन गरिरहेको छ। फ्लाईदुबईका अध्यक्ष शेख अहमद बिन सईद अल मकतूमले भने, ‘भरपर्दो विमानको उपलब्धता र समयमै डेलिभरी हाम्रो उद्योगको निरन्तर वृद्धिको लागि महत्त्वपूर्ण छ र यो सम्झौताले हामी भविष्यको विकासको लागि राम्रो स्थितिमा रहेको सुनिश्चित गर्दछ ।’  यो सम्झौता अमेरिकी विमान निर्माताका लागि प्रोत्साहन हो किनकि यसले घातक दुर्घटनाहरू, अदालती मुद्दाहरू र यसको रक्षा शाखामा हड्ताल, साथै डेलिभरी ढिलाइजस्ता आरोप लागिरेको कष्टप्रद अवधिमा आफ्नो व्यवसायलाई ठूलो आर्थिक योगदान मिलेको छ ।    फ्लाईदुबईले मङ्गलबार आफ्नो प्रारम्भिक एयरबस अर्डर घोषणा गरेको हो । कम्पनीले यो र सन् २०३१ देखि डेलिभर हुने २४ अर्ब डलरको १५० ए३२१ नियो जेटहरूको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।  बोइङले तेस्रो त्रैमासिकमा गत महिनाको अन्त्यमा ५.४ अर्ब घाटा भएको रिपोर्ट गरेको छ । यसको ७७७ एक्स विमानको ढिलो प्रमाणीकरणबाट भएको ठूलो थप लागतले यसको नतिजालाई तुलना गर्न बाध्य पारेको छ ।  एमिरेट्सले एलन मस्कको स्याटेलाइटबाट सञ्चालित नेटवर्क प्रयोग गर्न सुरु गर्ने बताएको एक दिन पछि फ्लाईदुबईले स्पेसएक्ससँग आफ्नो सेवामा स्टारलिङ्कको सेवालाई प्रयोग गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।  सोमबार फ्लाई दुबईको भगिनी एयरलाइन्स मानिने इमिरेट्सले मध्य पूर्वको सबैभन्दा ठूलो एयर शोमा ३८ अर्ब डलरको सम्झौतामा ६५ वटा बोइङ जेट अर्डर गरेको थियो ।

आज लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद सुरूआत गर्न चाहन्छ । गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो ।  गत संस्करणको  लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ ।

आजसम्म सेयरधनी बने यी २ कम्पनीको लाभांश पाइने

काठमाडौं । सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज मंसिर ४ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोल्टी होटलले मंसिर ५ गतेदेखि २८ गतेसम्म र साहस उर्जाले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कामय सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । सोल्टी होटलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १६.५७ प्रतिशत नगद गरी ३१.५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न होटलले मंसिर २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा ५१ औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ ।  यस्तै, साहस उर्जाले गत आव २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१० प्रतिशत नगद गरी कुल २२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले मंसिर २४ गते कार्की व्याङक्वेट काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बिहान ११ बजे डाकेको छ ।

राहदानी सेवा सरल हुन अझै एक/दुई हप्ता लाग्ने

काठमाडौं । राहदानी विभागले १/२ ह हप्तामा राहदानी सेवा सरल हुने जानकारी गराएको छ । विभागले  सार्वजनिक सूचना जारी गरी अन्तरिम व्यवस्थापनका लागि विभागलगायत सम्बन्धित सबै निकायबाट प्रयास हुन गई सम्झौताको चरणमा पुगेको र अबको १/२ हप्तामै सेवा सरल हुने स्पष्ट पारेको हाे ।  हालैका दिनहरूमा अन्तरिम व्यवस्थापन स्वरूप राहदानी वितरणमा केही कटौती गर्नुपरेको विभागले बताएको छ । विभागले राहदानी बनाउन विभागमा आउने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्न खोज्ने प्रवृत्ति देखा परेको र हालसम्म ठगीमा संलग्न शङ्कास्पद १५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको पनि जानकारी दिएको छ । विभागले भनेको छ, ‘यस प्रकार कुनै पनि बहानामा हुनसक्ने ठगी प्रति सचेत रहन र कुनै शङ्कास्पद गतिविधि गरेको पाइएमा कुनै पनि माध्यमबाट सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।’ सेवाग्राहीहरूलाई सरल, सहज र छिटो सेवा प्रवाह गर्न एवं राहदानीसम्बन्धी समस्याको तत्काल समाधान गर्न तयार रहेकोसमेत विभागले जनाएको छ ।