नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार
काठमाडौं । सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो। जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी, क्रमश: संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४ पर्यटक भित्रिएका छन् । क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्यपूर्वी मुलुकबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २०२५ को पछिल्लो ११ महिना जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६८० पर्यटक भित्रिएका थिए ।
४ महिनामा निर्जीवन बीमकको व्यापार १५ अर्ब ८४ करोड, शिखर र सलिकोबीच टक्कर
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिना (कात्तिक) सम्म १५ अर्ब ८४ करोड रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ९ लाख ३ हजार ९८५ वटा बीमालेख जारी गरेर १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । बीमा कम्पनीहरूले चालु आवको पहिलो चार महिनामा संकलन गरेको कुल बीमा शुल्क गत आवको यही अवधिको तुलनामा १२.४२ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले ८ लाख ९७ हजार २३५ वटा बीमालेख जारी गरेर १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । चार महिनाको अवधिमा कुल व्यवसाय आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र शिखर इन्स्योरेन्सबीच कडा टक्कर देखिएको छ । यो अवधिमा सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकाले चार महिनामा १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ०.३८ प्रतिशतले बढेको छ । दोस्रो धेरै व्यवसाय भित्र्याउने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । शिखरले यो अवधिसम्ममा १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय २३.२८ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले चालु आवको चार महिनामा १ अर्ब ६० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३९.६६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, चार महिनामा शिखर इन्स्योरेन्सले १ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड ३६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २६ करोड २२ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब १४ करोड ८२ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड ३७ रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब २ करोड ३ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले ९२ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा हिमालयन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.८२ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२.२२ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ३४.०१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३९ प्रतिशत, युनाइटेड अजोडको २७.८० प्रतिशत र सानिमा जीआईसीको ३०.९३ प्रतिशतले व्यवसाय बढेको छ । चालु आवमा ओरियन्टलको भने ०.५० प्रतिशतले व्यापार घटेको छ । चार महिनामा नेपाल इन्स्योरेन्सले ८६ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६५ करोड ७१ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ५० करोड ९५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४३ करोड ७० लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । गत आवको तुलनामा नेपाल इन्स्योरेन्सको १०.०९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.७१ प्रतिशत र नेशनल इन्स्योरेन्सको ३.९० प्रतिशत व्यवसाय बढेको छ । राष्ट्रिय बीमा कम्पनीको भने व्यापार २८.९३ प्रतिशतले घटेको छ ।
यस्तो छ कांग्रेसको महाधिवेशन तालिका, सदस्यता वितरणदेखि केन्द्रीय महाधिवेशनसम्म
काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन लक्षित क्रियाशील सदस्यता वितरणदेखि विभिन्न तहका अधिवेशनसम्मको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । सबैभन्दा पहिले मंसिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील सदस्यता फारम वितरण सक्ने निर्णय गरिएको छ । त्यसपछि पुस ८ गतेभित्र देशभरका सबै निर्वाचन क्षेत्रमा सदस्यता वितरणको काम पूरा गरिनेछ । नवीकरण भएका क्रियाशील सदस्यहरूको अन्तिम सूची पुस १४ गते कार्यवाहक सभापति र सभापतिसमक्ष बुझाइने कार्यतालिका रहेको छ । विदेशमा रहेका संरचनालाई पनि प्रक्रियामा समावेश गर्दै पुस १५ गतेभित्र जनसम्पर्क समितिहरूको अधिवेशन सम्पन्न गर्ने तयारी पार्टीले गरेको छ । आन्तरिक संरचनाको अधिवेशन श्रृंखला पुस १६ गते सुरु हुने तालिकामा सार्वजनिक गरिएको छ । जसअन्तर्गत गाउँ र नगरका वडा तहका अधिवेशन पुस १५ गते हुने जनाइएको छ । पुस १७ गते गाउँपालिका तथा नगरपालिका तहका अधिवेशन र पुस १९ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गरिने छ । एक मात्र क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन पुस २१ मा गरिने तालिकामा जनाइएको छ । पुस २२ गते एकभन्दा बढी क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गरिनेछ । प्रदेशस्तरीय अधिवेशन पुस २३ र २४ गते सम्पन्न हुनेछन् । यस्तै, केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा सञ्चालन गरिने छ ।
सौरभ ग्रुपको सर्वोत्तम स्टील्सले एक वर्षमै गर्यो पौने ९ अर्ब आम्दानी
काठमाडौं । सौरभ ग्रुपको सर्वोत्तम स्टील्सले एक वर्षमा पौने ९ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) बराबरको कुल सञ्चालन आम्दानी गरेको हो । जुन अघिल्लो वर्ष सन् २०२४ को तुलनामा २७.२३ प्रतिशत अर्थात् १ अर्ब ८६ करोड ८० लाख रुपैयाँ बढी हो । कम्पनीले सन् २०२४ मा ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । न्यौपानेले मार्च २०१७ मा सर्वोत्तम स्टील्स प्रालि स्थापना गरेका हुन् । पछि जुलाई २०२१ मा कम्पनीलाई पब्लिक लिमिटेडमा रुपान्तरण गरेका थिए । पर्साको वीरगञ्जमा प्लान्ट रहेको कम्पनीले टीएमटी स्टील बार, बिलेट र तारहरू उत्पादन गर्दै आएको छ । कम्पनीको उक्त प्लान्टको उत्पादन क्षमता कुल ७ लाख ६४ हजार १६० मेट्रिक टन रहेको जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४४ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । जसमा दीर्घकालीन ऋण १ अर्ब ३ करोड ४६ लाख रुपैयाँ र ५ अर्ब ४१ करोड रुपैयाँ अल्पकालीन ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले अल्पकालीन ऋणका लागि एफोर प्लस र दीर्घकालिन ऋणका लागि डबल बी प्लस रेटिङ प्रदान गरेको छ । सौरभ ग्रुपको उदय म्यानमारबाट भएको हो । सन् १९६० सम्म विष्णुप्रसाद न्यौपानेका बुबा लीलाराम न्यौपानेले म्यानमारमा रिटेल व्यापार गर्थे । त्यसबाहेक म्यानमार कै शानस्थित लासियो सहरमा उनले बटर बनाउने उद्योग पनि चलाउँथे । सन् १९६० मा राज्यले बाैद्ध धर्म अपनाउने आदेश दिएपछि नेपाली र भारतीय नागरिकहरू म्यानमारबाट निकालिए । त्यसैबेला लीलाराम न्यौपानेले म्यानमार छाडेर नेपालमै व्यापार गरेर स्थापित हुने सोच लिए । व्यापारिक एजेन्सी र बस व्यवसायको थालनी गरेर उनले व्यापार थाले । यस्तै भैरहवामा टेक्सटाइलको होलसेल स्टोर सुरु गरे । त्यो बेला काठमाडौंबाट टेक्सटाइल मगाएर भैरहवामा वितरण गरिन्थ्यो । पछि न्यौपानेले नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडको नेतृत्व पनि लिए । सन् १९६४ मा न्यौपानेको व्यापारले ठूलो रुप लिदै गयो । सन् १९८६ मा जगदम्बा सिमेन्ट उद्योग स्थापना गरे । सन् १९९० को सुरुवातीमा म्यानुफ्याक्चर भेन्चर सुरु गरे । सौरभ फोटो इन्टरनेसनलले कोन्का प्रोडक्ट्सको आधिकारिक डिस्ट्रिब्युटरको काम गर्थ्यो । सन् १९९० मा नेपाली बजारमा उनको बलियो उपस्थीति भयो । आयात निर्यात व्यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गरेका थिए । अहिले सौरभ ग्रुप सिमेन्ट, स्टील, चिया, धागो, पीपी वुभन फ्याब्रिक, क्याल्सियम कार्वोनेट आदि सामग्रीहरूको उत्पादनमा केन्द्रित छ । यस ग्रुपले कोन्का प्रोडक्टहरू, सिटिजन घडीका पार्टपूजाहरू र अरू चाइनिज सामानहरूको आयात गरेर व्यापारिक क्रियाकलापहरुलाई निरन्तरता दिएको छ । लीलारामको निधनपछि उनका छोरा विष्णुप्रसाद न्यौपानेले सन् १९८८ देखि ग्रुपको नेतृत्व गर्दै आएका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितलाई दियो न्यानो कपडा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । सोमबार आयोजित विभिन्न कार्यक्रममा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बाढी प्रभावितलाई बैंकका तर्फबाट कपडा हस्तान्तरण गरेका थिए । सूर्योदय नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा, तथा इलाम नगरपालिकाका बाढी प्रभावितका लागि १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापना दिवसको अवसरमा इलामका बाढी प्रभावितका लागि न्यानो कपडा प्रदान गर्ने घोषणा अनुसार यो कार्यक्रम सम्पन्न गरेको हो ।
समृद्धि फाइनान्सको हिमाल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड, पोखरा शाखाले हिमाल कलेज अफ म्यानेजमेन्टमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मध्यवर्ती स्तर तथा बीबीए प्रथम सेमेस्टरका ३० जना विद्यार्थी लक्षित उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्था (बीएफआई) सम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रम समृद्धि फाइनान्सका शाखा प्रबन्धक दीपक कुमार श्रेष्ठको नेतृत्वमा सम्पन्न भयो । कार्यक्रममा बीएफआईहरूको कार्यक्षेत्र, रोजगारीका अवसर, बैंक वर्गीकरण, सहकारी तथा बैंकबीचको भिन्नता लगायतका विषयमा विस्तृत जानकारी दिइयो । साथै, वित्तीय क्षेत्रमा रहेको करियर र अवसरबारे विद्यार्थीहरूलाई मार्गदर्शन गरिएको थियो । विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्तै जानकारीमूलक तथा उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । समृद्धि फाइनान्सले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ । संस्थाले आरटीजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर कोडजस्ता डिजिटल सेवा तथा सुविधाहरू प्रदान गरिरहेको छ ।
राजपत्रमा सूचना प्रकाशित भएसँगै नेपाली कम्युनिस्ट पार्टीले पायो आधिकारिकता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आधिकारिक मान्यता प्राप्त गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूबीच भएको एकीकरण र पुनर्गठनसम्बन्धी आधिकारिक जानकारी सार्वजनिक गरेको हो । सोमबार प्रकाशित नेपाल राजपत्रमार्फत पाँचवटा कम्युनिस्ट पार्टीहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको सूचना सार्वजनिक गरिएको हो । राजपत्रमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, जनमत समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी समाजवादी र नेपाल कम्युनिस्ट पार्टी मालेबीच भएको दल पुनर्गठन तथा एकीकरण प्रक्रियाले राजनीतिक दलसम्बन्धी कानुनमा उल्लेखित प्रावधानहरू पूरा गरेको जनाइएको छ । दर्ता, अद्यावधिक र नाम परिवर्तनसहितका सम्पूर्ण कागजातहरू विधिसम्मत भएको पुष्टि गर्दै राजपत्रको अनुसूची ‘ङ मा उल्लेखित आधारमा सूचना प्रकाशित भएको हो ।
कामना सेवा विकास बैंकले पायो अग्राधिकार सेयर निष्कासनको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार निष्कासन गर्न स्वीकृति दिएको छ । बैंकले अंकित मूल्य १ सयका दरले ३५ लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको हो । बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको छ । विकास बैंकको १८औँ वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि धितोपत्र बोर्डमा पेस गरिएको थियो । बोर्डले सबै प्रक्रिया पूरा भएपछि सेयर जारी गर्ने अनुमति दिएको हो । अग्राधिकार सेयर निष्कासनपछि बैंकको पूँजीगत संरचना थप सुदृढ हुने, पुँजीकोष बढ्ने तथा बैंकले व्यवसाय विस्तारका अवसरहरू थप पाउने अपेक्षा गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार हालको बजार तरलता तथा प्रतिफल दरको अवस्थालाई हेर्दा ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर संस्थागत लगानीकर्ताका लागि उचित माध्यम हुनेछ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सुदृढीकरणका लागि हकप्रद सेयरका विकल्प स्वरूप अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न सर्कुलरमार्फत गरेको थियो ।