सिटी होटलको पौने ३ करोड कित्ता सेयरको लकइन सकिँदै
काठमाडौं । सिटी होटल लिमिटेडको पौने ३ करोड कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीका संस्थापक र कर्मचारी सेयरधनीहरुको नामममा रहेको २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता सेयरको लकइन अवधि जेठ ५ गते समाप्त हुने भएको हो । कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार दर्ता भएको कुल सेयरमध्ये २ करोड ७१ लाख १८ हजार ८ सय कित्ता संस्थापक र १ लाख २० हजार ५२८ कित्ता कर्मचारीको स्वामित्वमा रहेको छ । लक–इन अवधि समाप्त भएसँगै उक्त सेयरहरू कारोबारका लागि खुला हुनेछन्, जसले बजारमा आपूर्ति बढ्न सक्ने लगानीकर्ताहरु बताउँछन् । यद्यपि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
टाइमको ‘१०० प्रभावशाली’ सूचीमा बालेन्द्र शाह
काठमाडौं । बालेन्द्र शाह (बालेन)लाई विश्वप्रख्यात टाइम्स म्यागेजिनले सन् २०२६ का लागि विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । उक्त सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपीङ जस्ता विश्व चर्चित व्यक्तित्वहरूसँगै शाह पनि परेका छन् । टाइमले शाहबारे छोटो टिप्पणी गर्दै उनको राजनीतिक उदयलाई परम्परागत राजनीतिप्रति असन्तुष्टिको परिणामका रूपमा व्याख्या गरेको छ । शाहको सामाजिक सञ्जालमा गरिएको टिप्पणी उद्धृत गर्दै म्यागेजिनले लेखेको छ, ‘सबै राजनीतिज्ञ, नयाँ र पुराना, चोर नै हुन् र नेपालीहरू उनीबाट फरक उदाहरणको अपेक्षा गरिरहेका छन् ।’ पूर्व हिप–हप कलाकारसमेत रहेका ३५ वर्षीय शाहले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर पद जितेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा बटुलेका थिए । सिभिल इन्जिनियरिङ पृष्ठभूमिका उनी युवापुस्तामाझ वैकल्पिक राजनीतिक अनुहारका रूपमा स्थापित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको टिप्पणीअनुसार शाहको उदय दक्षिण एसियाली परम्परागत र वंशवादी राजनीतिप्रतिको अस्वीकारको संकेतका रूपमा हेरिएको छ । मेयरका रूपमा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा सुधारका प्रयास गर्दै प्रशासनिक प्रक्रियालाई सरल बनाउने पहल गरेका छन् । टाइमले उल्लेख गरेअनुसार, अब सबैको चासो शाहले स्थानीय तहमा हासिल गरेको सफलतालाई राष्ट्रिय स्तरमा कसरी विस्तार गर्छन् भन्नेमा केन्द्रित छ । नेपालीहरूले भने उनी स्वयंले व्यक्त गरेको भनाइलाई गलत सावित गर्ने अपेक्षा गरिरहेका छन् ।
सोपान फर्मास्युटिकल्सको आईपीओ बिक्री खुला, ११ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आज वैशाख ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा वैशाख ८ गते र ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
नर्भिक हस्पिटलले बुक बिल्डिङमार्फत आईपीओ बिक्री गर्ने, योग्य लगानीकर्तासँग रोड शो गर्दै
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने भएको छ । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन प्रक्रियाका लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई आशय मूल्य निर्धारणका लागि छलफल गर्न लागेको जनाएको छ । बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार आयोजना हुने उक्त कार्यक्रममा लगानीकर्ताबाट प्रारम्भिक विवरणपत्रमाथि सुझावसमेत संकलन गरिने जनाएको छ । उक्त छलफल कार्यक्रम वैशाख ११ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौंको म्यारियट होटलमा आयोजना हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी हुने संस्थागत लगानीकर्ताहरूले धितोपत्र खरिद गर्न चाहेको न्यूनतम संख्या, प्रस्तावित मूल्य तथा मूल्याङ्कनको आधार प्रस्तुत गर्नुपर्नेछ । साथै, प्रारम्भिक विवरणपत्रमा सुझाव भए सो समेत पेश गर्न सकिनेछ । कम्पनीका अनुसार आवश्यक कागजातहरूमा प्रारम्भिक विवरणपत्र तथा पछिल्ला तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण समावेश छन् । उक्त विवरणहरू कम्पनीको वेबसाइट तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको वेबसाइटमार्फत उपलब्ध हुनेछन् । नर्भिक इन्टरनेशनल हस्पिटलले सर्वसाधारणका लागि चुक्ता पुँजीको २० प्रतिशत अर्थात् २५ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।
१० लाख रुपैयाँमा ४ वटा ट्रक बिक्री गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ट्रक लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीले प्रयोगमा आउन नसक्ने ४ वटा ट्रक बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको हो । कार्यालयका अनुसार हाल प्रयोगयोग्य नरहेका ती चार ट्रकलाई जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिनेछ । खरिद गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले ७ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले चारवटै ट्रकको एकमुष्ट न्यूनतम मूल्य मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १० लाख १ हजार रुपैयाँ तोकेको छ ।
कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षा हुने, यस्तो छ आजको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागलगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भू-भागलगायत बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने, तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती
काठमाडौं । जुम्ला जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । जुम्लाका ८ वटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष ४ हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएकामा २ हजार १६५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको छ । यहाँ रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत विभिन्न जातका स्याउ फल्ने गरेका छन् । जुम्लामा उच्च घनत्वका गाला र फुजी स्याउको पनि उत्पादन हुने गरेको छ । यस वर्ष मात्र जिल्लाबाट करिब १८ हजार २४५ मेट्रिक टन उत्पादन भएको विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउ खेतीमा आकर्षित भइरहेका छन् । जिल्लाका १९ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेका कृषि विकास कार्यालयले जनाएको छ । स्याउ बगैँचामा फूल फुलेर सेताम्मे हाल बगैँचामा स्याउ फुलेर सेताम्मे भएका छन् । ती फूलले यहाँको वातावरण निकै रमणीय देखिन थालेको चन्दननाथ नगरपालिका-५ मा रहेको आँखे कृषि पर्यटन अनुसन्धान उद्योगका सञ्चालक सरोज शाहीले बताए । ‘बगैँचाका स्याउ बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण निकै रमाइलो देखिएको छ । चैत-वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिकमा पाक्ने गरेको छ,’ उनले भने । शाहीले चन्दननाथ मन्दिरको जग्गा भाडामा लिएर ३ हजार ३०० इटालियन जातको फुजी स्याउ लगाएका छन् । बोटले फल दिन थालिसकेका छन् । राम्रो आम्दानी दिने भएकाले हाल जिल्लाभरि उक्त जातको स्याउ खेती फैलिएको उनको भनाइ छ । हिमा गाउँपालिकाका कृषि उद्यमी गोपाल रोकायाले बगैँचामा बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको र कुनै समस्या नभए यसपटक राम्रो उत्पादन हुने विश्वास जागेको बताए । जिल्लाको एक नगरपालिकासहित ७ पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । हाल फूल फुलेर स्याउ बगैँचा सेताम्मे भए पनि कालो तुसारोले फूल झारेर समस्या हुने गरेको तिला गाउँपालिका-१ का किसान सरिता रावतले बताए ।
नयाँ सरकार आएपछि सक्रिय बन्यो प्रहरी, एक महिनामै १ हजार १६६ वटा मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिना (चैत) को अवधिमा १ हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका २ वटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४८८ रुपैयाँको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा ३ वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ । उक्त मुद्दामा १ करोड ५६ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने २ जनालाई १ करोड १६ लाख रुपैयाँ बराबरको नगद र अन्य सामानसहित पक्राउ गरेको उल्लेख गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । यसैगरी, काठमाडौं महानगरपालिका २६ ठमेलबाट १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको उनले बताए । यस्तै, एक महिनाको अवधिमा हराएका २७३ मानिसमध्ये १५९ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । विविरणअनुसार साइबर अपराध तथा ठगीतर्फ कुल २६१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये अनलाइन सपिङको नाममा भएका ठगीसँग सम्बन्धित एक सय मुद्दा छन् ।