कांग्रेसको उच्चस्तरीय रणनीतिक बैठक वैशाख ६ मा बस्ने
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका संसदीय दलका नेता तथा पार्टीका तर्फबाट बनेका मुख्यमन्त्रीहरूको संयुक्त बैठक बोलाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार वैशाख ६ गतेका लागि बैठक तय गरिएको हो । यद्यपि बैठकको समय भने अझै निर्धारण हुन बाँकी रहेको उनले जानकारी दिए । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूबीच समन्वय गर्ने जिम्मेवारी पनि दिएको छ । कांग्रेसले केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त जिम्मेवारी तोकेको जनाएको छ । पछिल्लो समय सुदूरपश्चिम र गण्डकी प्रदेशमा हालै गरिएको मन्त्रिपरिषद् हेरफेरको विषयमा समेत छलफल भएको थियो । सभापति गगन थापासँग समन्वय नगरी गरीएको उक्त पुनर्गठनलाई नेतृत्वले नोटिसमा राखेकोले सो विषयमा पनि छलफल गर्न उक्त बैठक बोलाइएको एक नेताले जानकारी दिए । प्रवक्ता चालिसेले सरकार पुनर्गठनको विषय मुख्यमन्त्रीहरूको क्षेत्राधिकार भएका बताए ।
बाम एकताका लागि ओलीको ‘ग्रिन सिग्नल’पछि प्रचण्डको भेट, नेताहरुको सक्रियता बढ्यो
काठमाडौं । अहिले कम्युनिष्ट पार्टीहरूको पुनः एकताको विषय चर्चामा छ । विशेषगरी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)एकताको विषयलाई नेताहरूले व्यापक रूपमा उठाइरहेका छन् । त्यसका लागि केही शीर्ष नेताहरूको दौडधूप पनि बढेको छ । हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पतालमा छन् । पत्थरीको उपचारपछि बेड रेष्टमा रहेका उनलाई भेट केही दिनअघि नेकपाका नेता नारायणकाजी श्रेष्ठ अस्पतालमै पुगेका थिए । उनले ओलीसँगको भेटमा पार्टी एकताको विषय राखेका थिए । सो छलफलमा ओली सकारात्मक देखिएपछि बिहीबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै ओलीलाई भेट अस्पताल पुगेका छन् । नेकपाका एक नेताका अनुसार प्रचण्डले ओलीलाई भेटेर स्वास्थ्य लाभको कामनासँगै पार्टी एकताको विषयमा पनि छलफल गरेका छन् । तीन नेताका अनुसार ओली र प्रचण्डबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो । भेटवार्तामा अब कसरी अगाडि बढ्ने, यो विषम परिस्थितिमा पार्टी एकताको विकल्प नरहेको विषयमा पनि घनिभूत ढंगले छलफल भएको र वार्ताका लागि केही नेताहरूलाई नै जिम्मेवारी दिएर अगाडि बढ्नेसम्मको छलफल भएको ती नेताले दाबी गरे । कम्युनिष्ट दल एकताको विषयमा चर्चा भएपछि एमाले र नेकपाका केही नेताहरु सक्रिय भएका छन् । ओली र प्रचण्ड निकट नेताहरूले एकताका लागि पहल गरिरहेका छन् भने एमालेमा ओलीको सार्वजनिक रुपमै आलोचना गर्ने नेताहरु विशेष महाधिवेशनमार्फत ओलीलाई हटाएर नयाँ नेतृत्व ल्याउने तयारी गरिरहेका छन् । विशेष गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले पुनः सक्रिय बनेकी छन् । उनले आफ्नो सम्पर्क कार्यालयमा नेताहरूलाई बोलाएर पार्टीको आगामी रणनीतिको विषयमा दैनिक छलफल गरिरहेकी छन् । एमालेका निवर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि पार्टी एकताको विषयमा फेसबुकमा टिप्पणी गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘बाम एकता’ को दौडधुपमा हुनुहुन्छ, हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन । तर, पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’ उनले नेकपा (एमाले) आफैमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै नेताहरूले तात्कालिक राजनीतिक लाभमात्र हेरेर नहुने उनको भनाइ छ । ‘दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ । विचार र निश्चित गन्तव्य बिनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ । अहिलेको वास्तविक आवश्यकता भनेको पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो । यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ,’ उनले भनेका छन् । उनले विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम भोगिसकेको उल्लेख गर्दै भनेका छन्, ‘हिजो मौन बस्नु हाम्रो गल्ती थियो । तर, आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ । नेकपा (एमाले) लाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ ।’ उनको यस्तो धारणापछि एमालेका महासचिव शंकर पोखरेलले पनि सामाजिक सञ्जालमार्फत नै टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘आजभोलि सामाजिक सञ्जालमा मनोगतरुपमा भ्रमपूर्ण एजेन्डा सेटिङ गर्ने र त्यसैलाई आधार बनाएर बहस चलाउने प्रवृत्ति तीव्र रूपमा बढ्दो छ । भाइरल हुने नाममा गम्भीर विषयमा गरिने सस्तो टिकाटिप्पणीले समाजमा भ्रम, अविश्वास र अनावश्यक कटुता मात्र बढाउँछ ।’ उनले कुनै गम्भीर विषय संजालमा देखिएमा तथ्य जाँच्न र आधिकारिक स्रोत सुनेर जिम्मेवार बहसको संस्कार बसाल्न पनि आग्रह गरेका छन् ।
३ हजारले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला ३ हजार र चाँदी १२० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार १३० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला ३ लाख २ हजार ८०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला ३ लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी ५ हजार २२० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
‘एनसेल बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ १९ गते काठमाडौंमा हुने
काठमाडौं । ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौं संस्करण र इकोनोमिक सिम्पोजियम’ यसवर्ष काठमाडौंमा गरिने भएको छ । बिहीबार (हिजो) काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता र आर्थिक परिसंवाद यही वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हुने जानकारी गराएको हो । नवौं संस्करणको ‘एनसेल बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’मा भारतका प्रखर प्रशासक अमिताभ कान्त ‘कि नोट स्पिकर’का रूपमा आउने भएका छन् । उनी एमआईआईटी युनिभर्सिटीका चान्सलर र भारतको नीति आयोगका पूर्वसीईओ हुन् । पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले यसबारे जानकारी गराउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘इकोनोमिक सिम्पोजियम’मा प्रमुख आतिथ्यता ग्रहण गर्दैै विशेष सम्बोधन गर्ने बताए । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नेछन् । ‘यो कार्यक्रमको मुख्य उद्देश्य गल्फ खेलसँगै देशको आर्थिक अवस्थाबारे विचार मन्थन गर्नु हो । कर्पोरेट क्षेत्रका व्यक्तिहरूलाई गल्फमार्फत आकर्षित गर्दै नेपालको अर्थतन्त्रका विषयमा चिन्ता र चासो राख्ने व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याउनु यसको लक्ष्य रहेको छ,’ प्रधान सम्पादक प्रधानले भने । गल्फसँगसँगै आर्थिक परिसंवाद गरेर खेलकुद र अर्थतन्त्रलाई सँगै लैजान खोजिएको उनले बताए । पत्रकार सम्मेलनमा मोबाइल सेवाप्रदायक कम्पनी एनसेलका बिजनेस सेल्स हेड इन्टरप्राइजका सुलभ विष्टले ‘बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ले नयाँ आयाम थप्ने बताएका छन् । बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियमका यसअघिका संस्करण निकै सफल भएको उनले उल्लेख गरे । ‘एनसेल बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ को नवौं संस्करणबारे जानकारी गराउन बिहीबार (वैशाख ३) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ता प्रतियोगिता प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए । ‘एनसेलले बाह्रखरीसँग लामो समय पार्टनरसीप गरेको छ । यो स्पोन्सरसीप मात्रै होइन, रणनीतिक पनि हो,’ उनले भने, ‘यो गल्फ इभेन्ट हो, तर सबै निजी क्षेत्र त्यहाँ हुन्छ ।’ एनसेल बिजनेसले डेटा सेन्टर क्लाउड, साइबर सेक्युरिटीजस्ता नयाँ सेवा थपिरहेको पनि उनले जानकारी दिए । नेपालका निम्ति बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बाह्रखरी मिडियाले आयोजना गर्ने गरेको गल्फ प्रतियोगिता र आर्थिक परिसंवादले खेल र अर्थतन्त्रलाई सहज तरिकाले जोडेको बताइन् । पत्रकार सम्मेलनमा उनले व्यापारमा ‘स्ट्रेस’ भइरहेकालाई यस्ता कार्यक्रमले ‘रिफ्रेसमेन्ट’ पनि हुने बताइन् । बाह्रखरीले गल्फ र अर्थतन्त्रलाई जोड्ने काम गरेको उनले उल्लेख गरिन् । बीवाईडीले यसपटकसहित प्रतियोगितामा लगातार तीन वर्ष सहकार्य गरेको उनले बताइन् । अबका दिनमा पनि सहकार्य जारी रहने उनले विश्वास व्यक्त गरिन् । कार्यक्रममा सरकारले खेलकुद क्षेत्रलाई उद्योगका रूपमा विकास गरे पर्यटनलाई समेत ठूलो आधार हुने गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले बताए । उनले यसअघिका सरकारले खेल क्षेत्रलाई चिन्न नसकेको जनाए । खेलको विकास हुँदा त्यसले पर्यटनमा समेत ठूलो टेवा पुग्ने उनको भनाइ छ । ‘विश्वमा खेलकुद आज निकै ठूलो उद्योग भएको छ । अर्बौं डलरको उद्योग भइसकेको छ । यो विकासको माध्यम हो भन्ने कुरामा यसअघिका सरकारले चासो दिएको थिएन,’ घिमिरेले भने, ‘नयाँ सरकारसँग ठूलो आशा छ । खेल उद्योगलाई अहिलेका युवा सरकारले बुझेको हुँदा नेपालजस्तो रमणीय ठाउँमा खेलकुद थपिँदा पर्यटनलाई ठूलो राहत हुन्छ ।’ बाह्रखरीले यसअघिका आठ संस्करण भव्यताका साथ आयोजना गरेको उनले बताए । नवौं संस्करणमा भारतका प्रख्यात अर्थशास्त्री ‘कि नोट स्पिकर’ रहने हुनाले दीर्घकालसम्म यसको ठूलो प्रभाव पर्ने उनले उल्लेख गरे । ‘बाह्रखरीको यसअघिका आठ संस्करण निकै सफल भएको थियो र यसले ठूलो आयाम थपेको थियो,’ उनले भने, ‘इकोनोमिक सिम्पोजियममार्फत विदेशी आर्थिक क्षेत्रका हस्ती समेत ल्याएर गरिएको कार्यक्रमले दीर्घकालीन रूपमा ठूलो असर पार्छ।’ नेपाल डिस्ट्रिलरीअन्तर्गत खुकुरी रमको ब्रान्ड म्यानेजर सुदीक्षा अधिकारीले बाह्रखरी गल्फ तथा ‘इकोनोमिक सिम्पोजियम’मार्फत सरकारलाई घचघच्याउन सहज हुने बताइन् । बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा जलविद्युत्, कृषि, पर्यटनजस्ता विषयमा हुने छलफलले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनले उल्लेख गरिन् । यस्ता कार्यक्रममार्फत सरकारसम्म आफ्ना कुरा पुर्याउन सहज हुने उनले बताइन् । ‘विमानस्थलमा ड्युटी फ्री, निर्यातमा सहुलियतजस्ता कुरामा अझै सरकारले कुरा सुनको छैन,’ उनले भनिन्, ‘यस्ता कार्यक्रममार्फत सरकारलाई घचघच्याउन सहज हुन्छ ।’ मदिरा उद्योगले हजारौं मानिसलाई रोजगारी प्रदान गरिरहेको र राजस्वमा पनि ठूलो योगदान रहेको उनले बताइन्। ‘मदिराले राजस्व मात्रै होइन, हजारौं रोजगारी पनि दिएको छ,’ उनले भनिन्, ‘गत वर्षको बजेटले मदिरा व्यवसायलाई सहज बनाएको थियो । नयाँ सरकारसँग निकै आशा छ ।’ पत्रकार सम्मेलनमा गोकर्ण गल्फ क्लबका निर्देशक एवं सचिव दीपक आचार्यले बाह्रखरी मिडियाले यस प्रतियोगितालाई निरन्तरता दिएर एउटा उदाहरणीय कार्य गरेको बताए । उनका अनुसार यस पटकको प्रतियोगितामा एकसय जना बढी आमन्त्रित खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्, जसमा महिला, पुरुष र ६० वर्ष माथिका सिनियर खेलाडीहरूको सहभागिता रहनेछ । यस प्रतियोगिताको मुख्य विजेताले सुनको बल प्राप्त गर्नेछन् । विशेष आकर्षणको रूपमा होल इन वान’ गर्ने खेलाडीका लागि बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । आचार्यले विगतका वर्षहरूमा यो पुरस्कार कसैले जित्न नसकेको उल्लेख गर्दै यस वर्ष कसैले गाडी चढ्ने सौभाग्य पाओस् भन्ने कामना समेत व्यक्त गरे । आचार्यले नेपालमा गल्फ पर्यटकको महत्वबारे प्रकाश पार्दै यसलाई राज्यले नै अपनत्व लिनुपर्नेमा जोड दिएका थिए । उनले विश्व बजारको उदाहरण दिँदै भने, ‘भियतनामले गत वर्ष गल्फ टुरिजमबाट मात्रै १.५ बिलियन डलर आर्जन गरेको छ । नेपालमा औसत पर्यटकले दैनिक २० देखि ३० डलर खर्च गर्दा, एक लक्जरी गल्फ पर्यटकले दैनिक ५०० देखि १००० डलरसम्म खर्च गर्ने क्षमता राख्छन् ।’ नेपालको अनुकूल मौसम र यहाँको सुन्दरताका कारण गल्फ पर्यटनमार्फत देशले ठूलो आर्थिक फड्को मार्न सक्ने उनको दाबी छ । यस प्रतियोगिताले देशका विशिष्ट उद्यमी र व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई नेटवर्किङको अवसर प्रदान गर्ने र नेपाललाई विश्वकै उत्कृष्ट गल्फ गन्तव्यका रूपमा चिनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरेका थिए ।
प्रधानमन्त्री बालेनले दिए मातातीर्थ औंसीको शुभकामना
काठमाडाै‌ । प्रधानमन्त्री बालेन साहले मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण नेपाली आमाहरूप्रति शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री साहले माता र मातृभूमि स्वर्गभन्दा पनि महाने हुने बताएका हुन् । प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा नेपाल आमा हाँसेको हेर्न चाहन्छु भन्दै देश र आमाप्रति सम्मान प्रकट गरेका छन् । नेपाल आमाको सधैं उज्यालो मुहार रहोस् भन्ने कामना गर्दै उनले सबैले आफ्ना आमालाई सधैं खुसी राख्न सकून् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन् ।
जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड रुपैयाँको क्षति
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति काठमाडौं । धनुषाको मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड रुपैयाँ बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए । रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन् । आगो जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका ५ वटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा दुई घण्टापछि निभाइएको थियो । यसैबीच, क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै केही दिन लाग्ने ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । आगलागीको कारण खुलेको छैन ।
४ प्रतिशत बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, लाभांश क्षमता ९.९० प्रतिशत
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ४.०६ प्रतिशत बढेर ९ करोड ६२ लाख १८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ करोड २४ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६७ प्रतिशत बढेर २२ करोड १५ लाख ७७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १३ करोड २६ लाख ४३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानी २ करोड ८२ लाख रुपैयाँ, कसल सञ्चालन आम्दानी २५ करोड ५७ लाख ६१ हजार रुपैयाँ र सञ्चालन नाफा १३ करोड ७४ लाख ५५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ करोड ३ लाख ३० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, २ करोड ४४ लाख २९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १३ करोड २० लाख ८० हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चैत मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको वितरणयोग्य नाफा १० करोड ७ लाख १० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ९.९० प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १० करोड ८३ लाख रुपैयाँ र लाभांश क्षमता १०.६५ प्रतिशत थियो । १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३७ करोड ८३ लाख ५६ हजार रुपैयाँ रहेको छ । चैतसम्म बैंकले ८ अर्ब ५८ करोड १२ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८४ करोड ९० लाख ३६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ६ अर्ब ५० करोड ६७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड ८१ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप ३१.८८ प्रतिशत अर्थात् २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ र कर्जा ३२.२६ प्रतिशत अर्थात् १ अर्ब ६७ करोड ९ लाख रुपैयाँ बढाएको हो । बैंकको प्रतिसेयर आम्दानी १०.५४ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँ थियो । यस्तै, प्रतिसेयर नेटवर्थ १३९.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९ गुणा छ । समीक्षा अवधिमा बैंकले खराब कर्जा पनि घटाएको छ । गत वर्ष ०.७८ प्रतिशत रहेको खराब कर्जा चालु आवको चैतमा ०.४८ प्रतिशत झारेको छ । चैतसम्म बैंकको आधार दर ६.०५ प्रतिशत छ ।
नासा सेक्यूरिटीजले २१ प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी लिमिटेड ले २१ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको वैशाख १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले वैशाख २२ गते विशेष साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय, लालकोलोनी मार्ग, काठमाडौंमा बिहान ९ बजे बस्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।