सिटिजन्स बैंकको अगुवाईमा मर्स्याङ्दी जलविद्युत आयोजनामा ११ अर्ब लगानी हुने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणका लागि सहवित्तीयकरण कर्जा सम्झौता भएको छ । बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले करिब ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । वैशाख ३० गते सम्पन्न सम्झौतामा प्रवद्र्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेड र लगानीकर्ता बैंकहरूबीच वित्तीय व्यवस्थापनको सहमति भएको हो । आयोजना गण्डकी प्रदेशको लमजुङ जिल्लाअन्तर्गत मस्र्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकामा निर्माण गरिनेछ । परियोजनाको कुल अनुमानित लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसमध्ये ६७ः३३ को ऋण–स्वपुँजी अनुपातअनुसार ७ अर्ब ५० करोड रुपैयाँ ऋण र बाँकी ३३ प्रतिशत स्वपुँजी प्रवद्र्धकबाट जुटाइनेछ । आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुरस्थित सबस्टेशनमा जोडिनेछ । आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घण्टा र वर्षायाममा २००.५०३ गिगावाट घण्टा गरी वार्षिक ३१२.६०२ गिगावाट घण्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि नै जलविद्युत तथा हरित ऊर्जा क्षेत्रमा सहवित्तीयकरणमार्फत उल्लेख्य लगानी गर्दै आएको बताए । उनका अनुसार निजी क्षेत्र र बैंकिङ क्षेत्रको सहकार्यले ऊर्जा क्षेत्रको विकासमा ठूलो योगदान पुगेको छ । बैंकले हालसम्म २७४.४०१ मेगावाट क्षमताका १६ वटा आयोजना सम्पन्न गरिसकेको छ भने १,३३०.८२५ मेगावाट क्षमताका २६ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । कुल १,६०५.२२६ मेगावाट क्षमताका ४२ आयोजनामा बैंकको लगानी रहेको छ । त्यसैगरी, प्रवद्र्धक कम्पनीका अध्यक्ष सतिस न्यौपानेले सबै कानुनी प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै आयोजनाको निर्माण छिट्टै सुरु भई तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
पिँडालु किलोको ५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा साना (टनेल) रु ९१, आलु रातो (लाम्चो) प्रतिकिलो रु २२, आलु रातो (गोलो) प्रतिकिलो रु २५, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ६५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६५ र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १६०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ५५, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिन्डो प्रतिकिलो रु ४५, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ९०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ६५, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १००, तोरीसाग प्रतिकिलो रु ३५, चमसुरको साग प्रतिकेजी रु ११०, मेथीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १६०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६५, निगुरो प्रतिकिलो रु ८०, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ११०, पार्सले प्रतिकिलो रु २८०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३४०, केरा (मालभोग) दर्जन २२०, केरा (नेपाली) २००, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, माछे खुर्सानी प्रतिकिलो रु ८०, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्वी १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु २८० निर्धारण गरिएको छ ।
८ बैंकले ब्याजदर घटाउँदा १२ ले राखे स्थिर, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । जेठ महिनाका लागि बैंकहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०७ प्रतिशत घटेर औसत ४.३४ प्रतिशतमा ब्याजदर झरेको छ । जबकि वैशाखमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.४२ प्रतिशत थियो । यस्तै, वैशाखमा मुद्दती निक्षेपको संस्थागततर्फ औसत ०.०३ प्रतिशत घटेर ३.२० प्रतिशतमा झरेको छ । यसअघि जैशाख संस्थागततर्फ औसत ३.२३ प्रतिशत ब्याजदर थियो । जेठ महिनाका लागि ८ बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले ब्याजदर स्थिर राखेका छन् । नेपाल बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् । कषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ब्याजदर स्थिर राखेका छन् ।
माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ । वैशाख १७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ८६ लाख रुपैयाँको ८ लाख ८६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ३ लाख ४४ हजार कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानीय र ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी शाखाबाट आवेदन दिन सक्नेछन् ।
हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बीमा व्यवसाय गर्न रोक
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम प्राधिकरणले गरेको निर्णयअनुसार कम्पनीलाई पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भएका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन सम्बन्धी कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाइएको हो । प्राधिकरणले वैशाख २९ गतेको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको जनाएको छ । बीमा ऐनको दफा १३६ को उपदफा (४) बमोजिम सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराइएको प्राधिकरणले जनाएको छ ।
२० जना करदातामाथि छानबिन गर्दै सरकार, १५ दिनको अल्टिमेटम
काठमाडौं । सरकारले विभिन्न २० करदातामाथि छानबिन गर्ने भएको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको आन्तरिक राजस्व कार्यालय कोटेश्वर, काठमाडौं र ललितपुर २ ले २० करदातामाथि कर परीक्षण तथा अनुसन्धान गर्ने भएको हो । कर परीक्षण तथा अनुसन्धान गर्न विभिन्न २० करदातालाई १५ दिनभित्र आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ । आयकर ऐन २०५८ लगायतका कानुनी प्रावधानअनुसार पटक-पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएका तथा कारोबार स्थल फेला नपरेका करदातामाथि कार्यालयले अनुसन्धान गर्ने जनाएको छ । १५ दिनभित्र सम्बन्धित प्रोप्राइटर, सञ्चालक, साझेदार वा अधिकृत प्रतिनिधिले आय वर्षसँग सम्बन्धित सम्पूर्ण कारोबार विवरणसहित कार्यालयमा उपस्थित हुनुपर्नेछ । समय सीमाभित्र कागजात पेस नगरेमा कार्यालयमा उपलब्ध तथ्याङ्क तथा सूचनाका आधारमा कर निर्धारण गरिने चेतावनीसमेत दिइएको छ । कार्यालयका अनुसार युनिसा हब ट्रेड प्रालि, टेलिफोनिक ट्रेड प्रालि, मकालु काष्ठ उद्योग प्रालि, सक्षम मार्केटिङ प्रालि, म्याक्स नेट सोलुसन्स प्रालि, सिद्धि सिनर्जी कन्स्ट्रक्सन कम्पनी प्रालि, अयोको सिम्बोल इरेक्टर्स नेपाल प्रालि र एस एण्ड डी सप्लायर्स रहेका छन् । त्यस्तै मालिका इन्कर्पोरेट प्रालि, भ्याली रिकेश सप्लायर्स, सम्पन्न ट्रेड कन्सर्न प्रालि, रिहाना इन्टरप्राइजेज, लक्ष्मीपूजा ट्रेडिङ, पी.आर. ट्रेडर्स, रिजन एण्ड रोनिश ट्रेड लिंक र बी.एस. बानिया स्टोर पनि रहको कार्यालयले जनाएको छ । यस्तै, आन्तरिक राजस्व कार्यालय, ललितपुरले एस.के. इण्डष्ट्रिज, एस.के. ट्रेडर्स, माता चुनदेवी कन्स्ट्रक्सन प्रालि र वृषभ ट्रेड इन्टरनेशनल प्रालिलाई कागजात पेश गर्न निर्देशन दिएको हो ।
बीपी राजमार्ग र हिल्सा-सिमकोट सडक खण्ड बन्द
काठमाडौं । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक-सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा-सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो । यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका-२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा-सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ । च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडक खण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।
यूनाइटेड अजोडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ । चैत २६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २३ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकको नारायणगढ चितवन, धनगढी कैलाली, जनकपुर धनुषा, इटहरी सुनसरी, दमक झापा, धरान सुनसरी, घोराही दाङ, बनेपा काभ्रेपलान्चोक र हेटौंडा मकवानपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।