बीमा प्राधिकरणको सञ्चालकमा शुशील बाबु ढकाल नियुक्त
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा भौतिक पूर्वाधार मन्त्रालयका सुशील बाबु ढकाल नियुक्त भएका छन् । सरकारले हालै जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ को मा गरेको व्यवस्थाअनुसार उनलाई सञ्चालकमा नियुक्त गरेको हो । अध्यादेशले बीमा ऐन २०७९ मा व्यवस्था गरेको सञ्चालक समितिको संरचनामा हेरफेर गरेको थियो । अध्यादेशमार्फत ऐनको दफा ६ मा संशोधन गरी प्राधिकरणको बोर्डमा अब भौतिक पूर्वाधार क्षेत्र हेर्ने मन्त्रालयका ‘प्राविधिक सहसचिव’ लाई सदस्यका रूपमा समावेश समावशे गरेको छ । यसअघि बोर्डमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय र बीमा विज्ञहरूको मात्र प्रतिनिधित्व हुने गरेको थियो ।
पाण्डे पक्राउपछि बैंकरको आपत्ति, 'सुन अनि थुन'
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि बैंकिङ क्षेत्रका चार छाता संगठनहरूले आपत्ति जनाएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैशाख ३० गते पाण्डेलाई नियन्त्रणमा लिएको प्रसंग उल्लेख गर्दै संघहरूले बैंक तथा वित्तीय संस्थाहरू प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको नीति–निर्देशनअनुसार सञ्चालन भइरहेको स्पष्ट पारेका छन् । उनीहरूका अनुसार यी संस्थाहरूले सर्वसाधारणबाट निक्षेप संकलन गरी देशको आर्थिक वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा कर्जा प्रवाह गर्दै आएका छन् । विज्ञप्तिमा ऐनको दफा ५७ अनुसार कर्जा असुली बैंकको नियमित प्रक्रिया भएको र यस्तो कार्य प्रमुख कार्यकारी अधिकृतको दायित्वभित्र पर्ने उल्लेख गरिएको छ । कर्जा असुली प्रक्रियासम्बन्धी विषयमा गरिएको कारबाहीले बैंकको साख र वित्तीय प्रणालीको स्थायित्वमा नकारात्मक असर पर्न सक्ने उनीहरूको दाबी छ । संघहरूले बैंकिङ क्षेत्रको विश्वास र प्रमुख कार्यकारी अधिकृतको गरिमालाई ध्यानमा राख्दै ‘सुन अनि थुन’ को सिद्धान्तअनुसार आवश्यक अनुसन्धान गर्नुपर्ने भए पनि पाण्डेलाई थुनामुक्त राखी अनुसन्धान प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कामु सीईओमा महेश शर्मा ढकाल
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) को कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी महेश शर्मा ढकाललाई दिइएको छ । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका ढकाललाई सञ्चालक समितिको बैठकले कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे हाल ‘स्मार्ट टेलिकम प्रालि सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा रहेका छन् । अनुसन्धान प्रक्रिया जारी रहेको र बैंकको कार्य सम्पादनमा बाधा भएपछि ढकाललाई कामु सीईओको जिम्मेवारी दिइएको हो । डुबेको ऋण उठाउँदा बैंकका सीईओ फसे
लालपुर्जा नपाउन्जेल सुकुम्बासीलाई मासिक १५ हजार रुपैयाँ भाडा दिने तयारी
काठमाडौं । सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीवार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् । समिति सभापति हरि ढकालका अनुसार सहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेस गर्दै उक्त योजनाबारे जानकारी दिए । हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको र सो प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्र्याक’ बाट लालपुर्जा वितरण गरिने सरकारको लक्ष्य छ । सहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ । यसका साथै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रवन्ध मिलाइएको सरकारी पक्षको दाबी छ । सभापति ढकालले भने, ‘काठमाडौंको सन्दर्भमा होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको स्क्रिनिङ भइरहेको छ । उहाँहरूले लालपुर्जा नपाउन्जेलसम्मका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा दिने सरकारको तयारी छ र यसका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ ।’ सरकारले प्रस्तुत गरेको विवरण र कार्यप्रगतिको वस्तुस्थितिको यथार्थ बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ ।
विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक
काठमाडौं । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेनले शिष्टाचार भेटवार्ता गर्दै नेपालको शिक्षामा थप लगानी गर्ने इच्छा व्यक्त गरेका हुन् । भेटमा शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणका विषयमा विस्तृत छलफल भएको थियो । भेटवार्ताका क्रममा विश्व बैंकले नेपालको शिक्षा क्षेत्र, विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ । दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ। सो भेटमा शिक्षामन्त्री पोखरेलले मन्त्रालयका वर्तमान प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउन्डेसन लर्निङ सुदृढीकरण र शिक्षामा डिजिटाइजेशन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताए । ‘गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माण वर्तमान सरकारको मुख्य उद्देश्य हो,’ मन्त्री पोखरेलले भने, ‘विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइनेछ । भेटमा डिजिटल शिक्षाको पहुँच विस्तार, सिकाइ उपलब्धि सुधार र शिक्षा प्रणालीलाई समयानुकूल बनाउने विषयमा समेत छलफल भएको थियो ।
दक्षिण अफ्रिकामा डोङफेङको सस्तो इलेक्ट्रिक एसयूभी ‘नामी भिगो’ सार्वजनिक
काठमाडौं । डोङफेङ मोटर करपोरेसनले दक्षिण अफ्रिकाको बजारमा नयाँ पूर्ण इलेक्ट्रिक एसयूभी ‘नामी भिगो’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो दक्षिण अफ्रिकामा हालसम्म उपलब्ध सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी हो । चिनियाँ अटो निर्माता डोङफेङको यो मोडल केही अन्तर्राष्ट्रिय बजारमा ‘भिगो’ नामले परिचित छ । कम्पनीले यसअघि ‘बक्स’ ह्याचब्याक र ‘००७’ प्रिमियम सेडान सार्वजनिक गरिसकेको छ भने नामी भिगो ब्रान्डको तेस्रो मोडल हो । यो एसयूभी दुई भेरियन्टमा उपलब्ध हुनेछ । दुवै भेरियन्टमा १२० किलोवाट क्षमताको फ्रन्ट–माउन्टेड मोटर र २३० न्युटन मिटर टर्क दिइएको छ । यसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन करिब ७.८ सेकेन्ड लाग्ने कम्पनीले जनाएको छ । यसको सुरुवाती मूल्य ४ लाख ९९ हजार र्‍यान्ड तोकिएको छ, जुन दक्षिण अफ्रिकामा उपलब्ध गिली इ५ ईएक्स५ भन्दा करिब २ लाख र्‍यान्ड कम रहेको बताइएको छ । नामी भिगोको आधारभूत भेरियन्टमा ४४.९४ किलोवाट प्रतिघण्टा क्षमताको लिथियम–आइरन–फस्फेट ब्याट्री उपलब्ध छ । चिनियाँ परीक्षण मापदण्डअनुसार यसले एकपटकको चार्जमा ४०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ भने डब्लूएलटीपी मापदण्डअनुसार करिब ३०० किलोमिटर रेन्ज उपलब्ध हुनेछ । यसमा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट रहेको छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्ने बताइएको छ । उच्च स्पेसिफिकेसन भएको अर्को भेरियन्टको मूल्य ५ लाख ७९ हजार र्‍यान्ड तोकिएको छ । यसमा ५१.८७ किलोवाट प्रतिघण्टा क्षमताको ठूलो ब्याट्री उपलब्ध छ, जसले ४७१ किलोमिटर (सीएलटीसी) वा करिब ३५० किलोमिटर (डब्लूएलटीपी) रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १८ मिनेट मात्र लाग्ने बताइएको छ । एसयूभीमा १२.८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६–स्पिकर अडियो सिस्टम, ५० वाट वायरलेस फोन चार्जर, रियर–भ्यु क्यामेरा, पार्किङ सेन्सर तथा कर्टेन एयरब्यागसहित ६ वटा एयरब्यागजस्ता सुरक्षा तथा प्रविधिमैत्री सुविधा उपलब्ध छन् । साथै, अटोमेटिक एयर कन्डिसनिङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेदरेट सिट, हिल–स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ब्रेक असिस्ट, ट्र्याक्सन कन्ट्रोल तथा ५०० लिटर बुट स्पेससमेत रहेको छ । नामी भिगो कालो, सेतो, सिल्भर, सुन्तला र हरियो गरी पाँच रंगमा उपलब्ध हुनेछ । डोङफेङ चीनका चार ठूला सरकारी स्वामित्वका अटो कम्पनीमध्ये एक हो । कम्पनीले हालै निसान माेटर करपोरेसनसँग संयुक्त साझेदारी विस्तार गरेपछि अन्तर्राष्ट्रिय बजारमा यसको विश्वसनीयता अझ बलियो बन्ने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र वातावरणमैत्री यातायातप्रति बढ्दो आकर्षणका कारण दक्षिण अफ्रिकासहित विश्वभर विद्युतीय सवारीसाधनको माग बढिरहेको छ । यस्तो अवस्थामा कम मूल्यमा उपलब्ध डोङफेङ नामी भिगो दक्षिण अफ्रिकाको ईभी बजारका लागि बजेटमैत्री विकल्प बन्न सक्ने विश्लेषण गरिएको छ ।
प्रधानमन्त्री सदनप्रति अनुत्तरदायी भएको राप्रपाको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी भएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादालाई उपेक्षा गरेको आरोप लगाएकी हुन् । उनले वैदिक कालदेखि नै संवाद र सामूहिक निर्णयको परम्परा रहेको स्मरण गराउँदै लोकतन्त्र केवल निर्वाचन जित्ने प्रणाली मात्र नभई निरन्तर संवादको अभ्यास भएको जिकिर गरिन् । ओलीले प्रधानमन्त्रीको संसदमा न्युन उपस्थितिलाई लिएर आलोचनासमेत गरिन् ।प्रधानमन्त्रीले संसदीय अभ्यासमा सहभागिता नखोज्नुले उनी सदनप्रति अनिच्छुक रहेको पुष्टि हुने ओलीको तर्क थियो । संसद्मा देशभरिका उत्कृष्ट मस्तिष्कहरूको उपस्थिति हुने भएकाले प्रधानमन्त्रीको सहभागिता केवल औपचारिकता नभई जनताप्रतिको जवाफदेहिता र स्पष्ट दिशाबोधका लागि अनिवार्य रहेको उनले बताइन् । जनताले एक शक्तिशाली प्रधानमन्त्रीका रूपमा विश्वास गरेको उल्लेख गर्दै ओलीले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा मात्र सीमित नभई सदनमा उपस्थित भएर जवाफदेही बन्न आग्रह गरे । उनले प्रधानमन्त्रीको सहभागिता सुनिश्चित गर्न सभामुखमार्फत ध्यानाकर्षणसमेत गराइन् ।
भिभो भी७० एफई नेपाली बजारमा सार्वजनिक
काठमाडौं । भिभोले नेपाली बजारमा नयाँ २०० एमपी ट्राभल पोट्रेट फ्ल्यागशिप स्मार्टफोन ‘भिभो भी७० एफई’ सार्वजनिक गरेको छ । यात्राका विशेष क्षण, साथीभाइसँगका भेटघाट तथा दैनिक जीवनका यादगार पलहरूलाई स्पष्ट रूपमा कैद गर्न चाहने प्रयोगकर्तालाई लक्षित गरी कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको जनाएको छ । स्मार्टफोनको मुख्य आकर्षण २०० एमपी ओआईएस अल्ट्रा–क्लियर क्यामेरा रहेको छ, जसले यात्रा, प्राकृतिक दृश्य तथा समूह तस्बिरलाई उत्कृष्ट डिटेलसहित कैद गर्न सक्षम बनाउने कम्पनीको दाबी छ । यससँगै ३२ एमपी एचडी सेल्फी क्यामेराले फराकिलो फिल्ड अफ भ्यू प्रदान गर्नेछ । अगाडि र पछाडिका दुवै क्यामेरामा उपलब्ध ४के स्टेबल भिडियो रेकर्डिङ सुविधाले उच्च गुणस्तरमा भिडियो खिच्न तथा सहज रूपमा शेयर गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । फोटोग्राफी अनुभवलाई अझ प्रभावकारी बनाउन स्मार्टफोनमा विभिन्न एआई इमेजिङ फिचर समावेश गरिएको छ । एआई म्याजिक ल्याण्डस्केप, सिग्नेचर स्नो टाउन र अरोरा इफेक्टजस्ता फिचरले सामान्य दृश्यलाई पनि सिनेम्याटिक फ्रेममा रूपान्तरण गर्न सक्ने बताइएको छ । साथै, एआई म्याजिक वेदरलगायत अन्य एआई फिचरले तस्वीरलाई सोसल–मिडिया रेडी बनाउन मद्दत गर्ने कम्पनीको भनाइ छ । ओसियन ब्लु र म्युज पर्पल रंगमा उपलब्ध भिभो भी७० एफई आकर्षक तथा प्रिमियम डिजाइनमा सार्वजनिक गरिएको छ । स्मार्टफोनमा रहेको डायनामिक रिङ डिजाइन, १.८६ एमएम पातलो बेजल र ७.५९ एमएम अल्ट्रा–थिन फ्ल्याट स्क्रिनले प्रयोगकर्तालाई इमर्सिभ भ्यूइङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । स्मार्टफोनमा ७००० एमएएच ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज टेक्नोलोजी समावेश गरिएको छ । यसले लामो समयसम्म प्रयोग गर्न सकिने तथा छिटो चार्ज हुने सुविधा दिने बताइएको छ । साथै, १.५के इन्फिनिटी एमोलेड डिस्प्लेले फोटो तथा भिडियोलाई जीवन्त र प्राकृतिक रंगमा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । भिभो भी७० एफई दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६२ हजार ९९९ रुपैयाँ तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ७२ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । स्मार्टफोन नेपालभरका भिभो रिटेल स्टोर तथा दराज मार्फत खरिद गर्न सकिनेछ । कम्पनीले पहिलो एक हजार ग्राहकलाई एङ्कर साउन्डकोर पी२०आई इयरबड्स निःशुल्क उपलब्ध गराउने जनाएको छ । साथै, पहिलो दुई हजार ग्राहकका लागि १९९ रुपैयाँमा ‘भिभो सिल्ड प्रोटेक्सन प्लान’ पनि उपलब्ध गराइएको छ, जसअन्तर्गत ६ महिनासम्म एकपटक स्क्रिन रिप्लेसमेन्ट र एकपटक वाटर ड्यामेज प्रोटेक्सन सुविधा प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले भिभो भी७० एफईलाई १२ महिनासम्मको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्नेछन् ।