विकासन्युज

विशेष महाधिवेशनबाट ८८५ महाधिवेशन प्रतिनिधि बाहिरिएको खड्काको दाबी

काठमाडौं । नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरूले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताएका छन् । शुक्रबार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन् । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भएपनि ८ सय ८५ हस्ताक्षरकर्ताहरूले हस्ताक्षर फिर्ता लिएको बताए । खड्काले भने, ‘हस्ताक्षरकर्ता, सहभागीकर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८ सय ८५ जना त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित मुख्यसचिवले केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ ।’ विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूहरूसँग रहेको उनले पनि दावी गरे । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ ।  का‌ंग्रेसको यो विवादले पार्टीको चुनाव चिन्ह रुख र झण्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ ।

मित्सुबिशीले अमेरिकाका प्राकृतिक ग्यास सम्पत्ति किन्ने, ७.५३ अर्ब डलरको सम्झौता

काठमाडौं । जापानी व्यापारिक कम्पनी मित्सुबिशी कर्पोरेसनले अमेरिकामा रहेका प्राकृतिक ग्याससम्बन्धी सम्पत्तिहरू ७.५३ अर्ब अमेरिकी डलरको सम्झौतामा (ऋणसहित) अधिग्रहण गर्ने जनाएको छ । अमेरिकी ऊर्जा बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने उद्देश्यका साथ कम्पनीले उक्त निर्णय लिएको हो । मित्सुबिशीले टेक्सस र लुइसियानामा रहेका ती सम्पत्तिहरू एथन एनर्जी म्यानेजमेन्टबाट अधिग्रहण गर्नेछ । उक्त कारोबारमा ५.२ अर्ब डलर बराबरको इक्विटी खरिद तथा एथनको २.३३ अर्ब डलर ऋण समावेश छ । टोकियो स्टक एक्सचेन्जमा पेश गरिएको विवरणमा मित्सुबिशीले यस लगानीले कम्पनीको प्राकृतिक ग्यास तथा एलएनजी (तरल प्राकृतिक ग्यास) व्यवसायको आम्दानी आधारलाई मजबुत बनाउने जनाएको छ । कम्पनीका अनुसार यसले अमेरिकामा ‘अपस्ट्रिम ग्यास विकासदेखि विद्युत उत्पादन, डाटा सेन्टर विकास, रासायनिक उत्पादन तथा सम्बन्धित व्यवसायसम्म’ समेटिने एकीकृत मूल्य शृंखला निर्माण गर्ने प्रयासलाई तीव्र बनाउनेछ । कारोबार घोषणा भएपछि मित्सुबिशीको सेयर मूल्य २ प्रतिशतले घटेको छ । मित्सुबिशीले प्राकृतिक ग्यास क्षेत्रमा अलास्का, मलेसिया, क्यानडा र इन्डोनेसियालगायत विभिन्न देशमा लगानी गरिसकेको छ । कम्पनीले प्रतिस्पर्धी अपस्ट्रिम ग्यास परियोजनाको उपयोग गर्दै विद्युत उत्पादन तथा उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) व्यवसायमार्फत अमेरिकामा आफ्नो विस्तार गर्ने योजना रहेको पनि जनाएको छ । मित्सुबिशी कर्पोरेसन जापानको सबैभन्दा ठूलो बहुराष्ट्रिय व्यापारिक (ट्रेडिङ) कम्पनीमध्ये एक हो । ऊर्जा, प्राकृतिक ग्यास र एलएनजी, खानी तथा धातु, तेल–ग्यास, विद्युत उत्पादन, रसायन, खाद्य तथा कृषि व्यवसाय, अटोमोबाइल, मेसिनरी, पूर्वाधार, औद्योगिक सामग्री, सूचना प्रविधि, डाटा सेन्टर र वित्तीय सेवासम्म यसको लगानी र कारोबार फैलिएको छ ।  अमेरिका, क्यानडा, अलास्का, मलेसिया, इन्डोनेसिया र अन्य थुप्रै देशमा ऊर्जा तथा प्राकृतिक स्रोतसम्बन्धी परियोजनामा संलग्न मित्सुबिशीले पछिल्ला वर्षहरूमा नवीकरणीय ऊर्जा, दिगो विकास र एकीकृत मूल्य शृंखलामा केन्द्रित रणनीति अघि बढाउँदै आएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ७ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य शुक्रबार (आज) ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ७७ हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य ताेलाकाे ५ हजार ६४५ रूपैयाँ कायम भएको छ ।  बिहीबार एक तोला सुनकाे २ लाख ७६ हजार ५०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार ४८५ मा कारोबार भएको थियो । 

कांग्रेसमा सुरु भयो आधिकारिकताको लडाइँ, गगन पक्षपछि देउवा पक्ष पनि पुग्यो आयोग

काठमाडौं । नेपाली कांग्रेसमा आधिकारिकताको लडाइँ सुरु भएको छ । विशेष महाधिवेशनपछि बिहीबार विवरण अद्यावधिकसँगै आधिकारिकता माग गर्न निर्वाचन आयोग पुगेका सभापति गगनकुमार थापापछि देउवा पक्ष पनि शुक्रबार (आज) निर्वाचन आयोग पुगेको हो ।  सभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरू आज बिहान निर्वाचन आयोग पुगेका हुन् । आयोगमा देउवा पक्षका नेताहरु कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, धनराज गुरुङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ’डिना’, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेत पुगेका छन् ।  उनीहरुले देउवा पक्ष नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन् । ठूलो नेता तथा कार्यकर्ताको जमात देउवा पक्षमै रहेकोले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको उनीहरुको तर्क छ । उनीहरुले अहिले आयोगका पदाधिकारीसँग छलफल गर्नेछन् ।  बिहीबार गगन–विश्वको टिम आयोगमा पुगेर आफूहरू नै आधिकारिक कांग्रेस भएको र विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आइसकेको जानकारी गराएका थिए । आयोगमा पुगेको थापाले आफू नै कांग्रेसको सभापति भएको बताएका थिए भने कांग्रेस विभाजन समेत नभएको तर्क राखेका थिए ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ ।  का‌ंग्रेसको यो विवादले पार्टीको चुनाव चिन्ह रुख र झण्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ ।

मध्यपहाडी लोकमार्ग: मोदी खोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु

काठमाडौं । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदी खोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका-२ र पातिचौर-६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको पुल निर्माणका लािग ७ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।  उक्त मार्गअन्तर्गत हालसम्म पर्वत खण्डको तमादीखोला र बागलुङको काठेखोलामा पुल निर्माण भएका छन् । सुन्दरे खोला र मोदी खोलामा पनि निर्माण जारी छ । मोदी खोलाको पुल आगामी भदौ मसान्तभित्रमा सम्पन्न गरि सक्नुपर्ने छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-कुश्मा सडकको ३ वर्ष पहिला नै २ लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक २ लेनको बनेपनि पुरानो संरचनामा बनेका ‘सिङ्गल लेन’का पुलले सवारीको चाप धान्न कठिन भएकाले नयाँ पुल निर्माण थालिएको हो । 

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरु, लागत १३ लाख ७० हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरु गरेको छ । काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र) मा १५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको सोमबारबाट पुनर्निर्माण सुरु भएको छ । कामपा वडा नं ८ का अध्यक्ष एवं कामपाको सम्पदा तथा पर्यटन समिति संयोजक आशामान सङ्गतले जगपूजा गर्दै पुनर्निर्माणको काम प्रारम्भ गरेका हुन् । नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा (पाटी) को ऐतिहासिक र धार्मिक विरासतलाई जोगाउन वडाले करिब १३ लाख ७० हजार रुपैयाँ लागतमा फल्चा पुनर्निर्माण थालेको संयोजक सङ्गतले जानकारी दिए । पुनर्निर्माणका क्रममा प्राचीनता र कलात्मकतामा परिवर्तन नआउने गरी काम गरिने वडाध्यक्ष सङ्गतले जानकारी दिए । यो फल्चा केवल विश्राम स्थल मात्र होइन । पाशुपतको महत्त्वपूर्णमध्येको एक बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग हो । अध्यक्ष सङ्गतका अनुसार पहिले बच्छलेश्वरी जात्राको रथ उठाउने समयमा यही फल्चामा गणेश र कुमारीलाई राखेर विशेष पूजा गर्ने परम्परा थियो । फल्चामा कुमार र कुमारीको पूजा गरी त्यहाँ चढाइएको प्रसाद बालबालिकाहरूलाई खुवाउने चलन थियो । यसरी चढाइएको खुवाउँदा ‘बोल्न नसक्ने वा ढिलो गरी बोल्ने’ बालबालिकाको स्वर खुल्छ भन्ने जनविश्वास छ । यो जनविश्वाशलाई जीवन्त राख्न, सांस्कृतिक तथा सामाजिक कडीलाई बचाउन फल्चा पुनर्निर्माण थालिएको कामपाले जनाएको छ । फल्चाको पुनर्निर्माणले ग्वलः क्षेत्रको ऐतिहासिकता र मौलिकतालाई कायम राख्न ठूलो भूमिका खेल्ने विश्वास कामपाको छ । यससँगै स्थानीयले बिलाउँदै, हराउँदै गएको एउटा महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक भौतिक संरचना पुनः प्राप्त गर्ने संयोजक सङ्गतको भनाइ छ ।

निर्वाचन प्रहरीमा मागभन्दा कम आवेदन, समय २ दिन थपियो

काठमाडौं । गुल्मी जिल्लामा निर्वाचन सुरक्षाका लागि आवश्यक सङ्ख्यामा प्रहरीको आवेदन नपुगेपछि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रबार र शनिबारसम्मका लागि निर्वाचन प्रहरी भर्नाको म्याद विस्तार गरिएको हो ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार नेपाल प्रहरीतर्फ माग गरिएको १ हजार ६९५ जनामध्ये हालसम्म १ हजार १२८ जनाले मात्रै आवेदन दिएका छन् । त्यस्तै, सशस्त्र प्रहरी बलतर्फ माग गरिएको १७९ जनामध्ये १३१ जनाको आवेदन परेको छ । दुवै निकायमा आवश्यक सङ्ख्याभन्दा कम आवेदन परेपछि म्याद थप गर्नुपरेको प्रहरीले जनाएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी तथा समग्र निर्वाचन प्रक्रिया सुरक्षित बनाउन अस्थायी प्रहरी परिचालन गरिँदै आएको छ। तर अपेक्षित सङ्ख्यामा आवेदन नपर्दा सुरक्षा व्यवस्थापनमा चुनौती देखिएको प्रहरीको भनाइ छ।

भुजुङ्ग हाइड्रोले माघ १२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कर्मचारीलाई २० हजार कित्ता र सामूहिक लगानी कोषलाई ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।