रुकुम–पूर्व जाँदै दाहाल
काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गत रुकुम–पूर्वबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सोमबार (आज) रुकुम–पूर्व आउने भएका छन् । पार्टीका कार्यलय सचिव गणेशमान पुनका अनुसार दाहाल उम्मेदवारी दर्ता, स्थानीय नेता–कार्यकर्तासँग भेटघाट तथा चुनावी तयारीसम्बन्धी छलफलका लागि आजै रुकुमपूर्व पुग्ने कार्यक्रम तय भएको छ । उनको आगमनलाई लक्षित गर्दै पार्टीले स्वागत तथा भेटघाट कार्यक्रमसमेत तयारी गरेको जनाइएको छ । पहिलो संविधान सभा २०६४ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका दाहालले काठमाडौं १० मा दोहोरिएर निर्वाचनमा उम्मेदवारी दिएका थिए । २०७० मा सम्पन्न दोस्रो संविधान सभाको उक्त प्रतिस्पर्धामा दाहाल तेस्रो भएका थिए । त्यसपछि उनी दोहारिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका छैनन् ।
नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा आयोजना गरिएको हो । अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी–२०२६ का लागि तोकेको बीमाशुल्क संकलनका आधारमा नेपालभरबाट टिओटीमा २ जना, सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना गरी कुल ८३ जना अभिकर्ता छनोट भई सम्मानित भएका छन् । कार्यक्रमको शुभारम्भ अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन् । सो अवसरमा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम राजाले जीवन बीमा व्यवसायमा अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न उदाहरण प्रस्तुत गर्दै उत्प्रेरणामूलक तालिम प्रदान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्याउन अभिकर्ता समूहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अभिकर्तालाई केन्द्रमा राखी केही नयाँ अभ्यासहरू सुरु गरिएको बताए । उनले एमडिआरटी–२०२६ का लागि तोकिएको बीमाशुल्क संकलन गरी एमडिआरटी, सिओटी तथा टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्तालाई विशेष सम्मान प्रदान गरेका थिए । त्यसैगरी कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ल्याएको ‘चेज योर एमडिआरटी’ मासिक योजना अन्तर्गत सफल अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गरिएको थियो । सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरिएको छ । कार्यक्रममा कम्पनीकी उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नायब महाप्रबन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गरेका थिए। विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरणात्मक तालिम तथा उच्चस्तरीय सम्मान कार्यक्रम समावेश गरिएको समारोहमा सम्मानित व्यवसायिक लिडरहरूले आफूहरूको मेहनतको कदर भएको र अत्यन्तै गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् ।
उम्मेदवार छनोटले ओलीमाथि प्रश्न
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रियामा अपेक्षित उदारता देखाउन नसकेको निष्कर्ष पार्टीभित्रैबाट उठ्न थालेको छ । विशेषतः मङ्सिरमा सम्पन्न ११ औं महाधिवेशनमा आफूविरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति ओलीको व्यवहार र निर्णयले महाधिवेशनको तुष अझै बाँकी रहेकोे विश्लेषण हुन थालेको छ । एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल समूहसँग नजिक मानिएका केही नेताहरूलाई टिकटबाट वञ्चित गरिएपछि अध्यक्ष ओलीमा महाधिवेशनको तुष बाँकी रहेको अनुमान गरिएको हो । पोखरेलसहितका नेताहरूले नेतृत्वको शैली, आन्तरिक लोकतन्त्र र पार्टी सञ्चालनको विषय उठाउँदै प्रतिस्पर्धा गरेका थिए । यद्यपि ओली भारी मतान्तरका साथ पुनः अध्यक्षमा निर्वाचित भए पनि महाधिवेशनपछि पार्टीभित्र सहकार्य, समावेशीपन र फरक मतलाई स्थान दिने अभ्यास कमजोर देखिएको नेताहरूको गुनासो छ । फागुन २१ मा हुने निर्वाचनलाई एमालेले संगठनात्मक पुनर्संरचना र आन्तरिक शक्ति सन्तुलनको महत्त्वपूर्ण कडीका रूपमा लिएको थियो । तर उम्मेदवार छनोटको सूची सार्वजनिक भएसँगै असन्तुष्टि सतहमा आएको छ । महाधिवेशनमा ओलीविरुद्ध उभिएका वा तटस्थ भूमिका खेलेका धेरै नेताहरू उम्मेदवार सूचीबाट बाहिर परेका छन् भने ओली निकट मानिने नेताहरूले प्राथमिकता पाएका छन् । एक केन्द्रीय सदस्य भन्छन्, ‘महाधिवेशन सकिएपछि प्रतिस्पर्धा समाप्त भएको सन्देश दिनुपर्ने थियो । तर, उम्मेदवार छनोटले त्यो होइन, प्रतिस्पर्धाको हिसाब–किताब अझै भइरहेको छ भन्ने संकेत दियो ।’ अध्यक्ष ओली पक्षका नेताहरू भने उम्मेदवार छनोटलाई बदला वा तुषसँग जोडेर हेर्नु गलत भएको तर्क गर्छन् । ‘पार्टीको नीति र नेतृत्वमाथि प्रश्न उठाउनेहरूलाई निर्णायक जिम्मेवारी दिन सकिँदैन,’ ओली निकट एक नेता भन्छन् । तर आलोचकहरू यो तर्कलाई आन्तरिक लोकतन्त्रको मर्मविपरीत ठान्छन् । उनीहरूका अनुसार फरक मत राख्नु पार्टी विरोध होइन, बरु पार्टीलाई सशक्त बनाउने प्रक्रिया हो । महाधिवेशनमा उठाइएका प्रश्नहरूलाई व्यक्तिगत रूपमा लिइनु र त्यसकै आधारमा उम्मेदवार छनोट गर्नु दीर्घकालीन रूपमा पार्टीका लागि घातक हुन सक्ने चेतावनी उनीहरूले दिएका छन् । ११ औं महाधिवेशनमा ओलीविरुद्ध खुलेर उभिएको समूह अहिले पार्टी संरचनामा क्रमशः कमजोर हुँदै गएको देखिन्छ । फागुन २१ को निर्वाचनका लागि उनीहरूसँग नजिक मानिएका ईश्वर पोखरेल, योगेश भट्टराई, गोकुल बास्कोटा, डा. बिन्दा पाण्डेलगायतका नेताहरूको उम्मेदवारी कटौतीले उक्त समूहको प्रभाव अझै खुम्चिएको संकेत गर्छ । राजनीतिक विश्लेषक पर्शुराम घिमिरेका अनुसार ओलीले महाधिवेशनपछि नै पार्टीभित्रको सम्भावित चुनौतीलाई व्यवस्थापन गर्ने रणनीति अपनाएका थिए । ‘उम्मेदवार छनोट त्यो रणनीतिको निरन्तरता हो,’ उनी भन्छन्, ‘ओली पार्टीभित्र कुनै पनि वैकल्पिक शक्ति केन्द्र उभिन नदिन सचेत देखिन्छन् ।’ अध्यक्ष ओलीको नेतृत्व शैली पहिलेदेखि नै केन्द्रीकृत, कठोर र निर्णायक मानिँदै आएको छ । समर्थकहरू यसलाई दृढ नेतृत्वको उदाहरण मान्छन् भने आलोचकहरू यसलाई असहिष्णु र अलोकतान्त्रिक प्रवृत्तिको रूपमा व्याख्या गर्छन् । फागुन २१ को निर्वाचनका लागि उम्मेदवार छनोटले यो बहसलाई पुनः सतहमा ल्याएको छ । घिमिरेका अनुसार दीर्घकालीन रूपमा पार्टी एकताबद्ध राख्न नेतृत्वले जित–हारभन्दा माथि उठेर सोच्नुपर्ने हुन्छन् । ‘महाधिवेशनमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर त्यसलाई दीर्घकालीन विभाजनको कारण बनाउन हुँदैन ।’ फागुन २१ को निर्वाचनपछि एमालेभित्र शक्ति सन्तुलन अझै ओली पक्षमा केन्द्रित हुने लगभग निश्चित देखिन्छ । तर यसले दबिएको असन्तुष्टि भविष्यमा कुन रूपमा प्रकट हुन्छ भन्ने प्रश्न खुला नै छ । आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएमा पार्टीभित्र पुनः विभाजन, निष्क्रियता वा वैकल्पिक राजनीति खोज्ने प्रवृत्ति बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । अध्यक्ष ओलीका लागि यो समय जितको उत्सवभन्दा पनि पार्टीलाई दीर्घकालीन रूपमा कसरी एकताबद्ध राख्ने भन्ने चुनौतीको समय हो ।
सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुन तोलामा २ लाख ८२ हजार
काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सोमबार उक्त रेकर्ड तोडिएको हो । चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको मूल्यले गत बुधबार प्रतितोला ६ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।
सभापति थापाले बोलाए संसदीय बोर्डको बैठक
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउने उद्देश्यले सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार चयन प्रक्रिया तीव्र बनाइएको भन्दै पार्टी नेतृत्वले बैठक आह्वान गरेको हो । आज बस्ने उक्त बैठकमा प्रदेशबाट आएका सिफारिस, उम्मेदवारको जित्ने सम्भावनाबारे विस्तृत छलफल हुने बताइएको छ । साथै पार्टीभित्र देखिएका असन्तुष्टि व्यवस्थापन र विवादरहित रूपमा उम्मेदवार टुंग्याउने विषय पनि बैठकको प्रमुख एजेन्डा रहनेछ । पार्टी स्रोतका अनुसार संसदीय बोर्डको सिफारिसलाई केन्द्रीय कार्यसमितिमा पेश गरी औपचारिक निर्णय गरिनेछ। नर्वाचनको कार्यतालिका नजिकिँदै जाँदा कांग्रेसले उम्मेदवार चयन प्रक्रिया छिटो टुंग्याएर चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको छ ।
कर्पोरेट समाचारको पहिलो वार्षिकोत्सवमा रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’ सम्पन्न
काठमाडौं । कर्पोरेट समाचारले पहिलो वार्षिकोत्सव रोयल इन्फिल्डसँगको सहकार्यमा विशेष कार्यक्रमसहित सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा कर्पोरेट समाचार र रोयल इन्फिल्डले संयुक्त रूपमा ‘लेडिज बाइक राइड’ आयोजना गरेका हुन् । रोयल इन्फिल्डको शोरुमबाट सुरु भएको उक्त राइडमा चर्चित नायिकाहरू स्वस्तिमा खड्का र प्रियना आचार्य ‘मुन्नी’ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा महिलाहरूको आत्मविश्वास, साहस र सशक्तीकरणलाई केन्द्रमा राखिएको थियो । कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले कर्पोरेट समाचारलाई पहिलो वार्षिकोत्सवको शुभकामना दिँदै महिलाहरूले बुलेट बाइक कुदाएको देख्दा आफ्ना कलेज जीवनका दिनहरू सम्झिएको बताइन् । उनले भनिन्, ‘हाम्रो समयमा केटीहरूले बाइक हाँक्दा अचम्म मानिन्थ्यो । आज महिलाहरूले बुलेट बाइक कुदाउनु भनेको उनीहरूको आँट र साहस बढेको प्रमाण हो ।’ यस्ता कार्यक्रमले महिलाहरूलाई अझ सशक्त बनाउने विश्वास उनले व्यक्त गरिन् । त्यस्तै नायिका प्रियना आचार्यले महिलाहरूको उत्साह र आत्मविश्वास देखेर आफूलाई पनि बाइक राइड गर्ने चाहना पलाएको बताइन् । ‘अब मलाई पनि राइड गर्ने आँट गर्न मन छ, बुलेट चढ्ने एकदमै रहर लागेको छ,’ उनले भनिन् । साथै, भविष्यमा यस्ता प्रेरणादायी कार्यक्रमहरू अझ धेरै आयोजना गर्न आग्रह गर्दै कर्पोरेट समाचारलाई शुभकामना दिइन् । कार्यक्रममा अल्फा अटोमोटिभ प्रालिका कार्यकारी निर्देशक मेघराज पौड्यालले कर्पोरेट समाचारसँगको सहकार्यमा रोयल इन्फिल्डले विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गरे । उनले लेडिज बाइक राइडमार्फत पर्यटन प्रवद्र्धनदेखि अटोमोबाइल क्षेत्रमा महत्वपूर्ण योगदान पुगेको बताए । २५ भन्दा बढी महिलाहरू सहभागी भएको उक्त बाइक राइड काठमाडौंका ऐतिहासिक तथा धार्मिक स्थलहरूको भ्रमण गर्दै सम्पन्न भएको थियो । बसन्तपुर, पाटन दरबार र तीनकुने हुँदै यात्रा काठमाडौंको दक्षिण ढोकास्थित नर्लिङ रिसोर्टमा पुगेर समापन गरिएको थियो । राइडपछि नर्लिङ रिसोर्टमा कर्पोरेट समाचारको पहिलो वार्षिकोत्सवको औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी राइडरहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमकी सभापति तथा कर्पोरेट समाचारकी सञ्चालिका संगीता खत्रीले छोटो समयमै एक वर्षको यात्रा पूरा गर्न सबैको साथ, माया र विश्वासले सम्भव भएको बताइन् । उनले भनिन्, ‘यो मेरो एक्लो प्रयासले सम्भव भएको होइन, मेरो टिम र पाठकवर्गको निरन्तर साथ र माया नै हाम्रो शक्ति हो ।’ कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयाँलले महिला नेतृत्वमा सञ्चालित कर्पोरेट समाचार समाजका लागि प्रेरणादायी उदाहरण बनेको बताए । ‘एउटा महिलाले आँट गरेर सुरु गरेको यो प्रयासले अन्य महिलाहरूलाई पनि समाजमा केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउँछ,’ उनले भने । मेयर कार्कीले कर्पोरेट समाचारलाई शुभकामना दिँदै आगामी दिनमा नगरपालिकाको तर्फबाट सहकार्य गर्दै अघि बढ्न चाहेको बताए । ‘महिला नेतृत्वमा सञ्चालन भएको कर्पोरेट समाचारले महिलामात्र होइन, समग्र देशलाई सकारात्मक सन्देश दिएको छ,’ उनले उल्लेख गरे ।
खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्दै
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव लड्नका लागि पदबाट राजीनामा दिएको बुझिएको हो । उनले आइतबार नै पदबाट राजीनामा दिएको बताएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् । उनले सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन् । तर, टिकट भने पाइसकेका छैनन् । उनी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँगै जनकपुर पुगेका छन् ।
हरि बुढा बने विश्वकै पहिलो ‘डबल एम्प्युटी’ सेभेन समिट आरोही
काठमाडौं । रोल्पा, थवाङका हरि बुढाले संसारका सात उच्च हिमालको आरोहण (सेभेन समिट) सम्पन्न गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । ६ जनवरी २०२६ मा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनमा आरोहण सम्पन्न गरेपछि उनी खुसी साट्न सिधै नेपाल आएका हुन् । शिखर माउन्ट भिन्सनमा सफल आरोहण गरेका बुढासँगै उनका गाइड मिङ्मा शेर्पा र अफिसियल फोटो पत्रकार अविरल राई पनि उपस्थित थिए । अपाङ्गता भएका नेपाली पर्वतारोही हरि बुढा पूर्वगोरखा सैनिक हुन् । सन् २०१० मा अफगानिस्तानमा लडाइँका क्रममा विष्फोटमा परी दुवै खुट्टा गुमाएका उनी त्यसपछि पनि जीवन र चुनौतीहरू सामना गर्दै अगाडि बढेका छन्। बुढाले आफ्नो अभियान सपनाहरूको विजय – ७ शिखर अन्तर्गत विश्वका सबै महादेशका सर्वोच्च शिखर आरोहण गरे । हरि बुढाले सगरमाथा आरोहणपछि आफ्नो लक्ष्य सातै महादेशका शिखर चढ्ने रहेको बताएका थिए । यस अभियान अन्तर्गत उनले माउन्ट ब्याङ्क (२०१९), माउन्ट किलिमाञ्चारो (२०२०), सगरमाथा (२०२३), डेनाली (२०२४), अर्कोकागुवा (२०२५), कास्र्टेन्स पिरामिडरपुनचक जया (२०२५) र अन्ततः माउन्ट भिन्सन ९२०२६० आरोहण गरेका छन् । अत्यधिक चिसो, भिरालो पहाड र कठिन आरोहणका चुनौतीहरूको सामना गर्दै, बुढा र उनका टोलीले विशेष उपकरण र प्रोस्थेटिक खुट्टाहरूको प्रयोग गर्दै विश्वका सर्वोच्च शिखरमा पाइला टेकेका थिए । उनले यो सफलता अपाङ्गता सचेतना फैलाउने र अन्यलाई आफ्ना सपना पूरा गर्न प्रेरित गर्ने उद्देश्यका लागि हासिल गरिएको बताए। बुढाले भने, ‘यदि हामीसँग सपना छ, आफूलाई समर्पित गर्छौं र कहिल्यै हार मान्दैनौं भने जीवनका कुनै पनि चुनौती असम्भव छैन । मैले दुवै खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गरेको छु र आज सातै महादेशका शिखर चढेको छु । मेरो उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूमा विश्वास जगाउनु र समाजमा सचेतना फैलाउनु हो ।’ उनले अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो क्षमताअनुसार सफल र अर्थपूर्ण जीवन बिताउन सक्ने बताए । साथै नेपालको मात्र नभई विश्वभर अपाङ्गताका बारेमा रहेका गलत धारणालाई परिवर्तन गर्न पनि यो अभियान महत्त्वपूर्ण रहेको पनि उनले बताए ।