हार्भेष्ट मुन ट्राभल्सले बेच्यो ३.६८ अर्बको हवाई टिकट, भिसा कडाइले घट्यो व्यापार
काठमाडौं । हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स प्रालिले एक वर्षमा साढे ३ अर्ब रुपैयाँ बराबरको हवाई टिकट बिक्री गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ६८ करोड रुपैयाँको हवाई टिकट बिक्री गरेको हो । यो अघिल्लो वर्षको तुलनामा १३.८९ प्रतिशत अर्थात् ५९ करोड ४० लाख रुपैयाँ कम हो । अघिल्लो आव २०८०/८१ मा ४ अर्ब २७ करोड ४० लाख रुपैयाँको हवाई टिकट बिक्री गरेको थियो । कम्पनीले मलेसियाले लागू गरेको श्रमिकसम्बन्धी प्रतिबन्धका कारण गत वर्ष हवाई टिकट बिक्री घटेको जनाएको छ । तर, पछिल्लो समय उक्त प्रतिबन्ध हटेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्नुका साथै हवाई टिकटको माग बढ्दै व्यापारमा सुधार हुने देखिएको कम्पनीको दाबी छ । चालु वर्षको ९ महिनासम्म कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँको हवाई टिकट बिक्री गरेको जनाएको छ । यद्यपि वार्षिक आधारमा करिब ९ प्रतिशत गिरावट आएको कम्पनीको भनाइ छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतासँगै खाडी मुलुकहरूले नेपाली नागरिकका लागि भिसा नियम कडा बनाएपछि व्यापार प्रभावित भएको कम्पनीले जनाएको छ । कम्पनीले आव २०७९/८० मा ६ अर्ब ७९ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ८७ करोड ७० लाख रुपैयाँ, आव २०७७/७८ मा ९१ करोड ६० लाख रुपैयाँ बराबरको हवाई टिकट बिक्री गरेको थियो । सन् १९९९ अगस्टमा स्थापना भएको कम्पनीले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा यात्रा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रवर्द्धक रामप्रसाद श्रेष्ठ र सुलेखा श्रेष्ठ हुन् । उनीहरू सेयर स्वामित्व ५०-५० प्रतिशत रहेको जनाइएको छ । रामप्रसाद कम्पनीको अध्यक्ष र सुलेखा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा छिन् । हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स हार्भेष्ट मुन ग्रुप अन्तर्गतको कम्पनी हो । हार्भेष्ट मुन ग्रुपले ट्राभल, वैदेशिक रोजगारी, रियल इस्टेट, सपोर्ट सर्भिसेस र म्यानपावर व्यवस्थापनलगायत क्षेत्रमा सेवा विस्तार गर्दै आएको छ । ग्रुप अन्तर्गत वाइड स्पेस इन्टरनेशनल, हेलो हिमालय ट्राभल एण्ड टुरिज्म, वाइड स्पेस इन्टरनेशनल र सुहाना ल्याण्ड डेभलपमेन्ट सञ्चालनमा छन् । हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स सन् २००७ मा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) बाट मान्यता प्राप्त एजेन्ट र नेपाल पर्यटन तथा ट्राभल व्यवसायी संघ (नाट्टा) को सदस्य समेत हो । अन्तर्राष्ट्रिय हवाई टिकटिङ व्यवसायको सम्भावना आगामी दिनमा अझ सकारात्मक रहने अनुमान कम्पनीको छ । कोभिड-१९ सम्बन्धी कडाइ नियम हटाइनु, पर्यटन गतिविधिमा वृद्धि हुनु तथा नेपाली युवामा वैदेशिक रोजगारी र अध्ययनप्रतिको आकर्षण बढ्दै जानुले यस क्षेत्रलाई थप चलायमान बनाएको कम्पनीले जनाएको छ । सरकारको श्रम विभागबाट जारी हुने श्रम स्वीकृतिको संख्या बढ्दो क्रममा रहनु तथा पर्यटक आगमनमा निरन्तर सुधार आउनुले पनि व्यावसायिक सम्भावना बलियो रहेको कम्पनीको भनाइ छ । जसले कम्पनीको आम्दानी आगामी दिनमा पनि वृद्धिको दिशातर्फ रहने अनुमान कम्पनीको छ । कम्पनी वैदेशिक रोजगारीमा आधारित टिकट बिक्री व्यवसायमा केन्द्रित भएकाले गन्तव्य मुलुकका आप्रवासन नीति, श्रम स्वीकृति प्रक्रिया र श्रमिक मागमा आउने उतारचढावले व्यवसायमा प्रत्यक्ष असर पार्ने गरेको छ । त्यस्तै, पर्यटन क्षेत्रमा पनि मौसमी प्रभाव देखिने भएकाले विशेषगरी अक्टोबरदेखि डिसेम्बरसम्मको सिजनबाहेक अन्य समयमा कारोबार सुस्त हुने कम्पनीको भनाइ छ । सरकारले हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि टिकट महँगो भई समग्र हवाई टिकटिङ उद्योगमै नकारात्मक असर परेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २५ करोड ६८ लाख रुपैयाँ ऋण लिएको छ । जसमा ६८ लाख रुपैयाँ दीर्घकालीन, ६५ करोड रुपैयाँ अल्पकालीन र ६० करोड रुपैयाँ अल्प तथा दीर्घकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन
फुङ्लिङ । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो । कोभिड-१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । भन्सार कार्यालय सञ्चालन गर्नका लागि बिहीबार नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको उनले बताए । 'नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो । ओलाङचुङ्चुगोलाबाट २४ किलोमिटर दूरी पार गरी नेपाल-चीनको सीमा टिप्तालानाका पुग्न सकिन्छ', वडाध्यक्ष लामाले भने । करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालयको भवन अहिले जीर्ण अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न अर्थमन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जानकारी दिए । भन्सार कार्यालयमा कर्मचारी पठाउनका लागि जिल्लाका जेनजी अभियन्ताले भन्सार विभागमा पटकपटक ताकेता गरेका थिए । ओलाङचुङ्गोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित रूपमा राजस्व सङ्कलन हुने अपेक्षामा स्थानीय उत्साहित भएका छन् । रासस
बीपी राजमार्गमा १० दिनभित्र नयाँ ट्रयाकबाट सवारी सञ्चालन गरिने
काठमाडौं । बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको चार सय बेँसी खण्डको नयाँ ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ । सङ्घीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिएका हुन् । हाल उक्त खण्डमा सवारी साधनहरू तलको डाइभर्सन (वैकल्पिक मार्ग) बाट गुडिरहेका छन् । माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भएपनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छैन । सभापति गजुरेलकाअनुसार उक्त ट्रयाकको फाउण्डेसन तयार भइसकेको छ भने अब केही क्षेत्रमा पर्खाल लगाउने कार्य मात्र बाँकी रहेको छ । अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो १५ दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । आगामी १० दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सडकबाटै सवारी साधन गुड्ने वातावरण मिलाइने लक्ष्य राखिएको छ । बाढी वा अन्य कुनै संकटकालीन अवस्था आएमा भने अहिले पनि सो ट्रयाक प्रयोग गर्न सकिने अवस्था रहेको प्राविधिक टोलीको भनाइ छ । १० किलोमिटरको खण्डमा करिव १०० जना कामदारहरू नियमित खटिएको जानकारी दिइएको छ । बहुसंख्यक सर्वसाधारण र सरोकारवालाहरूले तीन सिफ्टमा काम गराउन सुझाव दिएपनि कामदारको स्वास्थ्य र अर्को दिनको कार्यक्षमतालाई ध्यानमा राख्दै हाल १० घण्टाको कार्यतालिका अपनाइएको उनले स्पष्ट पारे । परियोजना अन्तर्गत भकुण्डेबेसी खण्डको जटिल कामहरू सम्पन्न भइसकेकाले यस ४२० किलोमिटरको खण्डलाई अन्तिम क्रिटिकल प्वाइन्टका रूपमा लिइएको छ । सडकको सुरक्षाका लागि माटो भएको स्थानमा रिटेनिङ वाल र चट्टानी भागमा आवश्यक प्रोटेक्सन वाल लगाउने कार्य पनि सँगसँगै अगाडि बढाइनेछ । असार १५ गतेसम्म यो खण्डलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीब्र पारिएको छ ।
मध्यवर्ती वनको अवरोध हटाएर मयुरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याइने
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवाद तत्काल सुल्झाएर निर्माण कार्य अघि बढाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उक्त क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । लामो समयदेखि चर्चामा रहेको मयुरधाप औद्योगिक क्षेत्र अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन । उक्त क्षेत्रको जग्गा मध्यवर्ती वन क्षेत्रमा पर्ने भएकाले कानुनी तथा व्यावहारिक समस्या उत्पन्न भई योजना अगाडि बढ्न सकेको थिएन । मन्त्री यादवले सरोकारवाला निकायसँग समन्वय गरेर देखिएका अवरोधहरू छिट्टै समाधान गरिने र औद्योगिक क्षेत्र निर्माणलाई गति दिइने बताए । उनले औद्योगिक विकासका लागि यो क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दै ढिलाइ नगरी काम अघि बढाइने स्पष्ट पारे ।
रुपन्देहीमा नक्कली नोट छाप्ने भारतीय नागरिक पक्राउ
काठमाडौं । नक्कली नोट छाप्ने र कारोबारमा संलग्न भारतीयसहित दुई जना पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय ३८ वर्षीय अब्दुल हमिद र २२ वर्षीय अनिल पासीलाई पक्राउ गरेको हो । प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको इलाकामा नक्कली नोटको कारोबार हुने गरेको गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धान बढाएको थियो । प्रहरी कार्यालयका अनुसार खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलिले नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा प्रिन्ट हुन बाँकी, प्रिन्ट गरिएका अवस्थामा रहेका नक्कली नोट समेतका सामानहरू सहित पक्राउ परेका हुन् । नेपाली ५०० दरको ३० थान, नेपाली १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ्ग नगरेको नोट ७ थान रहेका छन् । नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको सीपीयु १ थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर १ थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर १ थान, प्रिन्ट पेपर रिम ४ थान, मोवाईल ८ थान र कैची १ थान रहेका छन् । ।
डोल्पामा पनि सञ्चालनमा आयो नेपाल टेलिकमको फोरजी सेवा
काठमाडौं । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा जेठ ८ गतेदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सेवा विस्तार गरेको जनाएको छ । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको संख्या ७५० पुगेको छ । यो माथिल्लो डोल्पामा सञ्चालनमा आएको पहिलो फोरजी साइट हो । हालसम्म डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका, शे–फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा फोरजी सेवा विस्तार हुन बाँकी रहेको छ । कम्पनीले निकट भविष्यमा ती क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । फोरजी सेवा विस्तारसँगै अब सो क्षेत्रमा अनलाइन सेवाहरू सहज रूपमा प्रयोग गर्न सकिने भएको छ । यसले स्थानीय बासिन्दा, पदयात्री तथा पर्यटकहरूको सञ्चार पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको छ । यसका साथै प्रशासनिक, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल सञ्जालसँग जोड्दै समग्र क्षेत्रीय विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । ‘राष्ट्रको सञ्चार’को रूपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
कर्मचारीलाई थप काममा लगाउँदा बैंकहरूले अतिरिक्त पारिश्रमिक दिनुपर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूलाई अतिरिक्त समयमा काममा लगाउँदा अतिरिक्ति सेवा सुविधा दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै कार्यालय समयका अतिरिक्त काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्ति पारिश्रमिक दिन भनिएको हो । ‘कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ । साथै बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन नं. १४ को बुँदा नं. ३. बमोजिम हुने गरी काममा लगाउनु पर्नेछ । यस्तै, राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । ‘ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन संस्थाले त्यस्ता ग्राहकहरूका लागि विशेष काउण्टर तोकी सेवा प्रदान गर्नुपर्नेछ,’ निर्देशनमा उल्लेख छ । बैंक वित्तीय संस्थाले एकापसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्न राष्ट्र बैंकको निर्देशन छ । बैंक तथा वित्तीय संस्थाले ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका सङ्केत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार अपाङ्गता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्नसक्ने स्वघोषणा गरेको खण्डमा इजाजतप्राप्त संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ । आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलेसमेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ । त्यस्तै, क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधिसमेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो । स्वीकृतिप्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चूडामणि पौडेलको यही जेठ ६ गतेको निर्णयअनुसार प्रकाशन गरिएको हो । मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा एक हजार ४५९ संस्थाहरू समावेश छन् । सरकारले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारको कारबाही अभियान सुरु गरेको छ । यही जेठ १ गते काठमाडौं उपत्यकाका अवैध तथा शङ्कास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएकामध्ये ३२ जनालाई नेपाल प्रहरीले कारबाहीका लागि मुद्दा दायरको तयारी गरेको छ । वैदेशिक अध्ययनका क्रममा झुठो विवरण देखाइ कारोबार गर्ने, सरकारी निकायका छाप–लेटर प्याड अनधिकृतरूपमा बनाइ प्रयोग गर्ने, बिना दर्ता सञ्चालन भएकाजस्ता प्रकृतिका विकृतिप्रति निर्मम भएर कानुनी कारबाही अघि बढाइएको हो । शैक्षिक परामर्श क्षेत्रमा शुद्धीकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ । नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घले शुद्धीकरणको अभियानमा आफूहरूको साथ रहने तर सबै व्यवसायीलाई त्रसित नबनाउन आग्रह गर्दै आएको छ ।