मन्त्रिपरिषदको मर्यादाक्रममा सविताको छलाङ, सातौंबाट तेस्रो स्थानमा उक्लिइन्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर हुँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं स्थानबाट एकैपटक तेस्रो स्थानमा उक्लिएकी छन् । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका हुन् । 

नयाँ मर्यादाक्रमअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् रहँदा यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथोमा झरेका छन् । 

त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौं, गृहमन्त्री सुधन गुरुङ छैटौं र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौं स्थानमा पुगेका छन् । 

गौतमको मर्यादाक्रम चार स्थानले बढ्दा उनीभन्दा माथि रहेका तीन मन्त्री एक–एक स्थान तल झरेका हुन् ।

राष्ट्रपति कार्यालयले बिहीबार सार्वजनिक गरेको नयाँ मर्यादाक्रममा अन्य मन्त्रीहरूको स्थान भने यथावत् राखिएको छ । 

महावीर पुन आठौं, सीता वादी नवौं, प्रतिभा रावल दशौं, निशा मेहता ११औं, सस्मित पोखरेल १२औं, खडक राज पौडेल १३औं, डा. विक्रम तिमिल्सिना १४औं र गीता चौधरी १५औं स्थानमा छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह १६औं तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव १७औं स्थानमा रहेका छन् ।

Share News