काठमाडौं । नेपाली कांग्रेसले उखुको मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तत्काल उखुको मूल्य निर्धाण गर्न माग गरेको हो ।
‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ, ‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा देखा परेको चिन्तालाई तत्काल सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’
उखुको मूल्य निर्धारण गर्दा उखुको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने कांग्रेसले जनाएको छ । यससँगै कांग्रेसले उखु किसानले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब दिलाउन पनि माग गरेको छ ।
कांग्रेस सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकमा बुधबार केन्द्रीय सदस्यहरूले बोलेका थिए । केन्द्रीय कार्यसमितिको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन् ।