काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल र युनिसेफबीचको आपसी सहकार्यलाई आगामी दिनमा अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।
भेटवार्ताका क्रममा विशेषगरी भोटेकोसी बाढीपछिको पुनर्लाभ (रिकभरी) तथा प्रभावित क्षेत्रको पुनस्र्थापनाका प्रयासहरूमा कसरी मिलेर काम गर्न सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो ।
सो अवसरमा मन्त्री खनालले नेपालको सामाजिक क्षेत्र तथा बालबालिकाको हितमा युनिसेफले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरेका थिए ।
क्षेत्रीय निर्देशक विजेसेकेराले पनि विपद्पछिको पुनर्निर्माण र बालबालिकाको संरक्षणका क्षेत्रमा युनिसेफ नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताए ।