खेलाडी किन्न २० अर्ब खर्च, १० नेपालीले दर्ता गराए नाम

काठमाडौं । विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२७ सिजनका लागि खेलाडी खरिद गर्न १० टोलीले झन्डै १३ अर्ब भारतीय रुपैयाँ खर्च गर्ने भएका छन् । आगामी सिजनका लागि खेलाडी अक्सनमा नेपालका १० सहित १८ देशका १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् ।

टाटा आईपीएल २०२७ को अक्सन रजिस्टरमा ९३९ भारतीय र २८१ विदेशी खेलाडी समेटिएका छन् । अक्सनका लागि दर्ता भएका खेलाडीमध्ये १८४ जना अन्तर्राष्ट्रिय खेल खेलिसकेका (क्याप्ड), ९९४ जना अनक्याप्ड र ४२ जना एसोसिएट राष्ट्रका खेलाडी छन् ।

आईपीएलका १० फ्रेन्चाइज टोलीले अक्सनअघि नै खेलाडी खरिद तथा रिटेन गर्न १ हजार ४ करोड ४० लाख भारतीय रुपैयाँ खर्च गरिसकेका छन् । उनीहरूसँग खेलाडी खरिदका लागि अझै २९५ करोड ६० लाख भारतीय रुपैयाँ बाँकी छ । यसरी अक्सनअघि खर्च भएको र बाँकी रहेको रकम जोड्दा टोलीहरूको कुल खेलाडी खरिद बजेट १ हजार ३०० करोड भारतीय रुपैयाँ अर्थात् करिब २० अर्ब नेपाली रुपैयाँ पुग्छ ।

अक्सनमा १० टोलीले अधिकतम ६६ खेलाडी खरिद गर्न पाउनेछन् । तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि छुट्याइएको छ । हालसम्म टोलीहरूले १८४ खेलाडी आफ्नो टिममा राखिसकेका छन् ।

नेपालबाट पनि १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् । एसोसिएट राष्ट्रमध्ये अमेरिकाबाट सबैभन्दा धेरै १३ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बाट समान १० खेलाडी अक्सन रजिस्टरमा परेका छन् ।

विदेशी खेलाडीको दर्तामा अस्ट्रेलिया सबैभन्दा अगाडि छ । अस्ट्रेलियाका ५३ खेलाडीले नाम दर्ता गराएका छन् । त्यसपछि दक्षिण अफ्रिकाका ४०, वेस्ट इन्डिजका ३६, न्युजिल्यान्डका २५ र अफगानिस्तानका २३ खेलाडी छन् । श्रीलंकाका २१, इंग्ल्यान्डका १६ र बंगलादेशका १२ खेलाडीले पनि नाम दर्ता गराएका छन् ।

त्यस्तै आयरल्यान्डका ७, जिम्बाब्वेका ६, नेदरल्यान्ड्सका ३ तथा क्यानडा, जापान र स्कटल्यान्डका समान २ खेलाडी अक्सन रजिस्टरमा छन् ।

लखनउसँग सबैभन्दा धेरै बजेट

अक्सनका लागि सबैभन्दा धेरै रकम लखनउ सुपर जायन्ट्ससँग बाँकी छ । लखनउसँग ४७ करोड ४५ लाख भारतीय रुपैयाँ बाँकी छ । उसले ८२ करोड ५५ लाख रुपैयाँ खर्च गरिसकेको छ ।

त्यस्तै कोलकाता नाइट राइडर्ससँग ४१ करोड ६५ लाख र सनराइजर्स हैदराबादसँग ४० करोड १५ लाख रुपैयाँ बाँकी छ । दिल्ली क्यापिटल्ससँग ३९ करोड ५० लाख, मुम्बई इन्डियन्ससँग ३० करोड २५ लाख र चेन्नई सुपर किंग्ससँग २८ करोड ५ लाख रुपैयाँ बाँकी छ ।

पञ्जाब किंग्ससँग १८ करोड ६० लाख, रोयल च्यालेन्जर्स बैंगलुरुसँग १४ करोड १५ लाख र गुजरात टाइटन्ससँग सबैभन्दा कम ८ करोड ७५ लाख रुपैयाँ मात्रै बाँकी छ ।

खेलाडी खरिदमा सबैभन्दा धेरै खर्च गुजरात टाइटन्सले गरेको छ । उसले १२१ करोड २५ लाख रुपैयाँ खर्च गरिसकेको छ । त्यसपछि रोयल च्यालेन्जर्स बैंगलुरुले ११५ करोड ८५ लाख र पञ्जाब किंग्सले १११ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् ।

दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्ससँग सबैभन्दा धेरै ९–९ खेलाडी खरिद गर्ने स्थान खाली छ । कोलकातासँग ८, लखनउ र हैदराबादसँग ७–७ तथा चेन्नई, पञ्जाब र राजस्थानसँग ६–६ खेलाडी खरिद गर्ने स्थान बाँकी छ । बैंगलुरुसँग ५ र गुजरातसँग ३ खेलाडीको स्थान खाली छ ।

अक्सनमा १ हजार २२० खेलाडी

अक्सन रजिस्टरमा रहेका खेलाडीलाई बीसीसीआईले ६ समूहमा वर्गीकरण गरेको छ । जसमा १४ जना भारतीय क्याप्ड, १७० जना विदेशी क्याप्ड र ४२ जना एसोसिएट राष्ट्रका खेलाडी छन् ।

त्यस्तै यसअघि आईपीएलका विभिन्न सिजनमा खेलिसकेका १२७ जना अनक्याप्ड भारतीय, आईपीएल नखेलेका ७९८ जना अनक्याप्ड भारतीय र ६९ जना अनक्याप्ड विदेशी खेलाडी छन् ।

अनक्याप्ड भारतीय खेलाडीमध्ये १२७ जनाले यसअघि आईपीएल खेलिसकेका छन् । यसपटकको अक्सनमा ठूलो संख्यामा नयाँ खेलाडीले पनि अवसर खोजिरहेका छन् ।

अब फ्रेन्चाइज टोलीहरूले अक्सन रजिस्टरमा रहेका खेलाडीमध्ये आफूले छनोट गर्न चाहेका खेलाडीको नाम सिफारिस गर्नेछन् । त्यसपछि अन्तिम अक्सन सूची र खेलाडीका समूह आगामी डिसेम्बर ४ शुक्रबार सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ ।

अन्तिम सूचीमा परेका खेलाडीमध्येबाट सीमित ६६ स्थानका लागि प्रतिस्पर्धा हुनेछ । यसले नेपाली खेलाडीलाई पनि विश्वकै ठूलो फ्रेन्चाइज क्रिकेट मञ्चमा स्थान बनाउने अवसर दिएको छ ।

Share News