पाकिस्तान शाहीन्ससँग पराजित हुँदै नेपाल राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो

काठमाडौं । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएसँगै नेपालको यात्रा समाप्त भएको हो । 

पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा मात्र ७२ रनमा समेटियो । नेपालका लागि ओपनर मयन यादवले ५० बलमा सर्वाधिक ४१ रन बनाए पनि अन्य ब्याटरबाट उल्लेख्य साथ पाउन सकेनन्। मयन अन्तिम विकेटका रूपमा आउट भएका थिए । 

उनीबाहेक बसिर अहमदले ११ रन जोडे भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको इनिङ्समा ६ जना ब्याटर शून्य रनमै पभेलियन फर्किए ।

पाकिस्तान शाहीन्सको बलिङमा मोहम्मद हस्नेन र सुफ्या मोकिमले ३-३ विकेट लिए भने इमरान रान्धवाले २ तथा माज सदाकतले १ विकेट हात पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्स नेपालका रासिद खानको उत्कृष्ट बलिङसामु ४२ ओभरमा १६८ रनमा अलआउट भएको थियो । लिस्ट ’ए’ करियरमा पहिलो पटक ५ विकेट लिने क्रममा रासिदले ८ ओभरमा ३९ रन खर्चिए । 

त्यस्तै, लिस्ट ’ए’ मा डेब्यू गरेका अभिशेष गौतमले २ तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले १–१ विकेट लिए । पाकिस्तानका लागि रोहेल नाजिरले ८३ बलमा अविजित ६४ रनको अर्धशतकीय इनिङ्स खेले भने हसन नवाजले २८, अहमद दनियालले १६, हेदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रनको योगदान दिए ।

प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो । यो नतिजासँगै समूह ‘बी’ मा तीनवटै खेल जितेको पाकिस्तान ‘ए’ समूह विजेता र भारत ‘ए’ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । 

Share News