काठमाडौं । अखाद्य पदार्थ मिसाएर मह बिक्री गर्ने काठमाडौंबाट एक जना पक्राउ परेका छन् । धादिङको सिद्धलेक गाउँपालिका- २ घर भई काठमाडौंको टोखा नगरपालिका- १ मा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङ पक्राउ परेका हुन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार अखाद्य पदार्थ मिसाएर मह उत्पादन तथा बिक्री वितरण भइरहेको सूचना प्राप्त भएको थियो ।
प्रहरीले सोही क्षेत्रमा पुगेर जाँच गर्ने क्रममा गुरुङको साथबाट अखाद्य पदार्थ मिसाइएको १५ बाल्टिन महसहित पक्राउ गरिएको उनले बताए ।
मंगलबार दिउँसो करिब १ बजे टोखा नगरपालिका- १ मा भण्डार गरिएको महको तौल ३८४ किलोग्राम रहेको प्रहरीले जनाएको छ । गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।