दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ, निरौला-पौडेलको इजलासमा पेसी

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

कार्कीको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । यसअघि एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी नभएपछि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।

सरकारले गत कात्तिक १८ गते मन्त्रिपरिषद्बाट निर्णय गर्दै कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । त्यसै दिन एआईजी डा. मनोजकुमार केसीलाई बढुवा गरी नयाँ आईजीपी नियुक्त गरिएको थियो ।

सरकारको उक्त निर्णय गैरकानुनी भएको जिकिर गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई पदबाट हटाउने निर्णय बदर गरी प्रहरी महानिरीक्षककै जिम्मेवारीमा पुनर्बहाली गर्न माग गरेका छन् ।

यसअघि मंसिर २ गते न्यायाधीश पौडेलको एकल इजलासले कार्कीको मागअनुसार अल्पकालीन अन्तरिम आदेश नदिई दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

कार्कीको तर्फबाट बहस गर्न सर्वोच्च पुगेका अधिवक्ता टीकाबहादुर कुँवरले न्यायाधीश पौडेलले यसअघिको सुनुवाइमा आदेश नगरी सुनुवाइका लागि बोलाएकाले आजको पेसी उनैको इजलासमा परे पनि सुनुवाइमा समस्या नहुने जानकारी दिए ।

न्यायाधीश पौडेलले रिटमा उठाइएका विषयमा दुवै पक्षको धारणा बुझ्न मंसिर ७ गते उपस्थित हुन आदेश दिएका थिए । 

Share News