वकालतमा कुलिङ अफ पिरियड, सरकारी सेवाबाट अवकाशपछि दुई वर्ष कुर्नुपर्ने

काठमाडौं । सरकारी सेवाबाट अवकाश पाएका कर्मचारी तथा पदाधिकारीले अवकाशलगत्तै कानुन व्यवसाय गर्न नपाउने भएका छन् । नेपाल कानुन व्यवसायी परिषद्ले सरकारी सेवाबाट निवृत्त भएको दुई वर्ष पूरा भएपछि मात्रै वकालत गर्न पाउने गरी नयाँ व्यवस्था लागू गरेको छ ।

सरकारी सेवामा रहँदा आर्जन गरेको पद, पहुँच र प्रभावलाई अवकाशपछि कानुन व्यवसायमा प्रयोग गर्न सक्ने तथा त्यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने जोखिम देखिएपछि परिषद्ले यस्तो व्यवस्था गरेको हो ।

परिषद्ले आन्तरिक कार्यव्यवस्था सञ्चालन नियमावली, २०५५ को नियम १३ संशोधन गर्दै दुई वर्षको कुलिङ अफ पिरियड निर्धारण गरेको हो । परिषद्ले मंगलबार सार्वजनिक सूचनामार्फत संशोधित व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको छ ।

नयाँ व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहमा स्थायी नियुक्ति लिएर कार्यरत निजामती कर्मचारी, न्यायाधीश तथा न्याय सम्पादनमा संलग्न व्यक्ति अवकाश वा सेवाबाट अलग भएको दुई वर्षपछि मात्रै कानुन व्यवसायमा प्रवेश गर्न पाउनेछन् ।

परिषद् सदस्य वरिष्ठ अधिवक्ता रविनारायण खनालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनामा कार्यरत व्यक्तिका हकमा पनि यो व्यवस्था लागू हुनेछ । सरकारबाट पारिश्रमिक लिने सामुदायिक विद्यालयका स्थायी शिक्षक तथा अन्य कर्मचारीसमेत दुई वर्षे प्रतिबन्धको दायरामा परेको खनालले जानकारी दिए ।

कानुन व्यवसायीको प्रमाणपत्र यसअघि नै प्राप्त गरिसकेका व्यक्तिका हकमा पनि नयाँ व्यवस्था लागू हुने खनालले जानकारी दिए । उनका अनुसार उनीहरूले सरकारी सेवा छाडेको दुई वर्ष पूरा भएपछि मात्रै प्रमाणपत्र नवीकरणका लागि निवेदन दिन पाउनेछन् ।

परिषद् सदस्य खनालका अनुसार सरकारी सेवामा रहँदा प्राप्त गरेको पद, पहुँच, प्रभाव र संस्थागत सम्बन्धलाई अवकाशलगत्तै कानुन व्यवसायमा प्रयोग गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको हो ।

सरकारी सेवाबाट निवृत्त भएका व्यक्तिको तत्कालको कानुन व्यवसाय प्रवेशले स्वार्थको द्वन्द्व निम्त्याउन सक्ने र न्यायिक तथा व्यावसायिक निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने अवस्थालाई रोक्न दुई वर्षको समयसीमा राखिएको परिषद्ले जनाएको छ । 

Share News