नबिल ग्रोथ फण्डमा लगानीको अवसर, ९ हजार रुपैयाँमै आवेदन दिन सकिने

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने नबिल ग्रोथ फण्डको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यस फण्डले प्रतिइकाई १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको यस योजनाको कुल आकार १० करोड इकाई रहेको छ । कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई नबिल बैंकका लागि र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिएको हो ।

यस फण्डमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम ९०० इकाईका लागि आवेदन दिनुपर्नेछ । प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम ९ हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

इकाईमा आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर प्रणालीबाट दिन सकिनेछ ।

निष्काशनमा आवेदन दिने अवधि मङ्सिर ९ गतेदेखि मङ्सिर १४ गतेसम्म तोकिएको छ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन मङ्सिर २३ गतेसम्म खुला रहनेछ ।

लगानीकर्ताले आवेदन दिनुअघि फण्डको विवरणपत्र अध्ययन गरी लगानीसम्बन्धी निर्णय आफ्नै विवेकमा गर्नुपर्ने योजना व्यवस्थापकले जनाएको छ । निष्काशनसम्बन्धी विस्तृत जानकारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

Share News