पर्यटक ठग्ने २२ जना कारबाहीमा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । 

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रूपमा ठमेल क्षेत्रमा गरेको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार ठूला आवाजमा सङ्गीत बजाएर सञ्चालन गरिएका रेस्टुरेन्ट तथा बार, विना दर्ता सञ्चालित स्पा, अन्तःशुल्क दर्ताविना मदिरा बिक्री गर्ने व्यवसायी र पर्यटक ठग्ने डान्सबार सञ्चालक गरी २२ जना कारबाहीमा परेका हुन् । 

गत शुक्रबारको अनुगमनमा पहिचान गरिएका रेस्टुरेन्ट तथा बार सञ्चालकलाई कार्यालयमै बोलाएर एक साताभित्र नियमअनुसार व्यवसाय सञ्चालन गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, विना दर्ताका स्पा तथा बारलाई एक साताभित्र कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको परिषद्का अध्यक्ष राजुमान डङ्गोलले बताए । अन्तःशुल्क दर्ता नगरी मदिरा बेच्ने व्यवसायीको मदिरा तथा सामान जफत गरी कानुनी प्रक्रिया पूरा गर्न एक साताको अल्टिमेटम दिइएको छ ।

ठमेललाई २४ सै घण्टा सञ्चालन सम्बन्धी आचारसंहिता एवम् सुरक्षा व्यवस्थापन मापदण्ड, २०८० कार्यान्वयन गर्ने क्रममा प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो । 

अनुगमन टोलीले विशेषगरी भारतीय तथा अन्य विदेशी पर्यटकलाई डान्सबार र मनोरञ्जन व्यवसायका नाममा अत्यधिक रकम असुलेर ठगी गर्ने र कुटपिटमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाउनुका साथै ठगिएका पर्यटकको रकमसमेत फिर्ता गराएको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए ।

यसैगरी, रातिको समयमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने मोटरसाइकल चालकलाई कारबाही गरिएको छ भने सडकमा मदिरा सेवन गरी होहल्ला गर्ने केहीलाई नियन्त्रणमा लिइएको छ । अनुगमनका क्रममा सडक पेटीमा चिया तथा चुरोट बिक्री गर्ने आवरणमा अनैतिक गतिविधि सञ्चालन गर्नेहरूलाई समेत हटाइएको नगर प्रहरीले जनाएको छ ।

Share News