सुनकोशी आयोजनाको ठेक्का रद्द गरिएको विषयसँग सम्बन्धित कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । 

समितिले यस विषयमा जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । 

समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए । 

छलफलका क्रममा सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना ढिलाइ हुँदा त्यसको असर मधेश प्रदेशमा मात्र सिमित नभई सिंगो देशलाई पर्ने बताए । 

सभापति खड्काले अब सार्वजनिक लेखा समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुगिने उल्लेख गरे । ठेक्का तथा टेण्डर रद्ध हुँदा हुने आर्थिक नोक्शानीलाई मात्र हेर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।  

उनले परियोजना रद्ध वा ढिलाइ हुँदा त्यसको मूल उद्देश्य प्राप्तिमा पर्ने असर तथा त्यसबाट हुने समग्र क्षतिको समेत समीक्षा गर्नुपर्नेमा जोड दिए ।

सभापति खड्काले भने, ‘हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरू जति ढिलो हुन्छन्, त्यसबाट मधेसलाई मात्र नभई सिंगो नेपाललाई नै क्षति पुग्छ । यस यो विषयलाई समेत लेखा समितिमा व्यापक छलफल गरौं र त्यसको पनि निष्कर्ष निकालौं भन्ने मेरो धारणा छ । जुन उद्देश्यका लागि परियोजना सञ्चालन गरिएको हो, त्यो परियोजना ढिलो हुँदा वा रद्द हुँदा त्यसको उद्देश्य प्राप्तिमा पर्ने असर र त्यसबाट हुने समग्र क्षतिको विषयमा पनि हामीले समीक्षा गर्नु जरुरी छ ।’

समितिले अब सम्बन्धित निकायबाट कागजात प्राप्त गरेपछि ठेक्का रद्ध गर्नुको कारण, अपनाइएको प्रक्रिया तथा आयोजनामा परेको प्रभावबारे थप अध्ययन र छलफल गर्नेछ । 

Share News