बाढीबाट प्रभावित बैरेनी अस्पताललाई ९ हजार ९०० अमेरिकी डलरको सहयोग

धादिङ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोइका पूर्वविद्यार्थी संघ नेपाल (कान) ले धादिङको बैरेनी अस्पताल र आयुर्वेद अस्पताललाई ९ हजार ९०० अमेरिकी डलर बराबरको सूचना प्रविधि उपकरण तथा कार्यालय फर्निचर सहयोग गरेका छन् ।

गल्छी गाउँपालिकामार्फत प्रदान गरिएको उक्त सहयोग सामग्री हस्तान्तरण कार्यक्रम सन् २०२६ नोभेम्बर १९ मा गल्छी गाउँपालिकाको कार्यालय परिसरमा सम्पन्न भएको हो । सहयोगसम्बन्धी सम्झौतामा नोभेम्बर १८ मा कोइका नेपाल कार्यालयमा हस्ताक्षर भएको थियो ।

गत अगस्ट २६ मा भोटेकोशी नदीबाट आएको आकस्मिक बाढीले त्रिशूली नदी आसपासका क्षेत्रमा समेत क्षति पुर्याएको थियो । उक्त बाढीका कारण बैरेनी अस्पतालका भवन तथा उपकरणमा क्षति पुगेपछि अस्पतालको प्रशासनिक काम र स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको थियो ।

बाढीबाट प्रभावित अस्पतालको प्रशासनिक क्षमता पुनःस्थापना गर्न र स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन कोइका-कानले ५ थान डेस्कटप कम्प्युटर, ५ थान प्रिन्टर, १ थान ल्यापटप, ५ थान कार्यालय टेबल र ५ थान कुर्सी सहयोग गरेको हो ।

त्यस्तै, गल्छी गाउँपालिकालाई पनि २ थान डेस्कटप कम्प्युटर, २ थान प्रिन्टर, २ थान कार्यालय टेबल र १ थान ल्यापटप प्रदान गरिएको छ । गाउँपालिकाले उक्त सामग्री स्वास्थ्य कार्यक्रम सञ्चालन तथा आवश्यकताअनुसार स्थानीय स्वास्थ्य संस्थामा उपयोग गर्ने जनाएको छ ।

कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतीवडाले सहयोगका लागि कोइका र कानप्रति आभार व्यक्त गरे । उनले बाढीका कारण बैरेनी अस्पताल र आयुर्वेद अस्पतालको केही भागमा ठूलो क्षति पुगेको उल्लेख गर्दै सीमित स्रोतसाधनका बाबजुद दुवै संस्थाले सेवा पुनःसञ्चालन गरेको बताए ।

उनले कोइका-कानको समयमै प्राप्त सहयोगले स्थानीय स्वास्थ्य सेवा सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने अपेक्षा गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले सहयोग सामग्रीले अस्पतालको प्रशासनिक काम पुनःसञ्चालन गर्न सहज हुने बताए । बाढीले अस्पतालको पहिलो तलामा रहेका विद्युतीय तथा चिकित्सा उपकरणमा क्षति पुर्याउँदा अभिलेख व्यवस्थापन र स्वास्थ्यसम्बन्धी प्रतिवेदन तयार गर्न समस्या भएको उनले बताए ।

कानका तर्फबाट नवराज गौतमले संस्थाले स्थापना भएदेखि नै अस्पताललाई सहयोग तथा विभिन्न सामाजिक गतिविधिमार्फत नेपाली समुदायमा योगदान गर्दै आएको बताए । बाढीले धादिङ, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको उल्लेख गर्दै उनले विपद्पछिको तत्कालीन आवश्यकता हेरेर बैरेनी अस्पताललाई सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए ।

सबै प्रभावित क्षेत्रमा सहयोग पुर्याउन नसकिए पनि उपलब्ध सहयोगले अस्पताललाई स्थानीय तथा आसपासका नागरिकलाई आवश्यक स्वास्थ्य सेवा निरन्तर प्रदान गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

कोइकाले यसअघि पनि कानमार्फत नेपालका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रलाई आवश्यक चिकित्सा उपकरण र कोभिड-१९ सम्बन्धी सामग्री सहयोग गर्दै आएको छ ।

कोइका फेलोसिप कार्यक्रमका पूर्वसहभागीहरूबाट गठन भएको कान स्वैच्छिक संस्था हो । कोइकाले हरेक वर्ष नेपाल सरकारका करिब ८० देखि १०० जना कर्मचारीलाई छोटो तथा लामो अवधिका फेलोसिप र छात्रवृत्ति कार्यक्रममा दक्षिण कोरिया पठाउँदै आएको छ ।

कार्यक्रम पूरा गरेपछि सहभागीहरू कानमा आबद्ध भई वर्षभरि विभिन्न स्वैच्छिक तथा ज्ञान आदानप्रदानका गतिविधिमा सहभागी हुन्छन् । कोइकाले काठमाडौं उपत्यकाभित्र र बाहिर विभिन्न गोष्ठी, कार्यशाला तथा सहयोग कार्यक्रम सञ्चालन गर्न कानलाई निरन्तर सहयोग गर्दै आएको छ । 

Share News