क्यान्सर र मिर्गौलाका औषधि अभाव भए यी कम्पनीमा सम्पर्क गर्न विभागको आग्रह

काठमाडौं । औषधि व्यवस्था विभागले क्यान्सर र मिर्गौलाका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधि तथा डायलाइसिस सोलुसन सहज रूपमा उपलब्ध गराउन सम्बन्धित कम्पनी र सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ ।

विभागले सिस्प्लाटिन, कार्बोप्लाटिन र डायलाइसिस सोलुसनको उपलब्धतासम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै औषधि अभाव भएमा सम्बन्धित आपूर्तिकर्तासँग सम्पर्क गर्न आग्रह गरेको हो ।

विभागका अनुसार पछिल्लो समय सिस्प्लाटिन, कार्बोप्लाटिन र डायलाइसिस सोलुसन बजारमा उपलब्ध नभएको वा न्यून रहेको भन्ने जानकारी विभिन्न स्रोतबाट प्राप्त भएको थियो ।

जीवनरक्षक औषधिको निरन्तर उपलब्धता सुनिश्चित गर्न र बिरामीलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कम्पनी तथा सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरिएको विभागले जनाएको छ ।

विभागले सिस्प्लाटिन र कार्बोप्लाटिनका लागि पाँचवटा कम्पनीको सम्पर्क विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार ताज नेपाल प्रालिका ख्वाजा तारिक रानालाई ९८५१००३४९६, डीकेएम फर्मास्युटिकल्सका शरद मानन्धरलाई ९८५११०७७६४, येती फर्माकेम/येती केम डिष्ट्रिब्युटर्सका प्रदीप लामिछानेलाई ९८०१२१६५५४, सिजल फार्माका अञ्जन पुडासैनीलाई ९८०२०१७८५८ र डोमोटेक्स फार्माका योगेश कर्माचार्यलाई ९८२४८९७१२८ मा सम्पर्क गर्न सकिनेछ ।

त्यस्तै, डायलाइसिस सोलुसनअन्तर्गत पेरिटोनियल डायलाइसिस फ्लुडका लागि केयर मेड इन्टरनेसनलका मधु चित्रकारलाई ९८५१०९५१83 र कन्टिन्युअस रिनल रिप्लेसमेन्ट थेरापीका लागि पिकन पीटीई लिमिटेडका निरज जोशीलाई ९८५१०३२७७८ मा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ ।

विभागले सम्बन्धित बिरामी तथा सरोकारवालालाई औषधिको प्रिस्क्रिप्सनसहित सम्बन्धित कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

त्यस्तै, औषधि आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित राख्दै बजारमा नियमित उपलब्धता सुनिश्चित गर्न विभागले आग्रह गरेको छ ।

औषधिसम्बन्धी कुनै समस्या वा थप जानकारी आवश्यक परे औषधि व्यवस्था विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । 

Share News