काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका सदस्यसहित करिब ३ हजार जनालाई सीपमूलक तालिम प्रदान गर्ने भएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्यक्रमअन्तर्गत कुल २ हजार ८६५ जनालाई विभिन्न विधाका तालिम प्रदान गर्ने तयारी गरेको हो ।
प्रतिष्ठानले कार्यस्थलमा आधारित तालिम, जेनजी घाइते तथा सहिद परिवारका लागि सीपमूलक तालिम र राष्ट्रिय अप्रेन्टिसिप तालिम सञ्चालन गर्न लागेको हो । यसका लागि योग्य रोजगारदातालाई सूचीकरण गर्न पुनः आवेदन माग गरिएको छ ।
स्वीकृत कार्यक्रमअनुसार कार्यस्थलमा आधारित तालिममार्फत १०० जना, जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका सदस्यका लागि कार्यस्थलमा आधारित सीपमूलक तालिममार्फत ३०० जना र राष्ट्रिय अप्रेन्टिसिप तालिममार्फत २ हजार ४६५ जनालाई प्रशिक्षण दिइनेछ ।
प्रतिष्ठानले यसअघि २०८३ असोज १३ गते रोजगारदाताको सूचीकरणका लागि सूचना प्रकाशन गरेको थियो । तर, आवश्यक संख्यामा आवेदन प्राप्त हुन नसकेपछि कार्यस्थलमा आधारित तालिम सञ्चालन कार्यविधि, २०८२ को दफा १४ बमोजिम पुनः आवेदन माग गरिएको हो ।
इच्छुक तथा योग्य रोजगारदाताले १५ दिनभित्र आवश्यक कागजातसहित प्रतिष्ठानमा आवेदन पेस गर्नुपर्नेछ । प्रतिष्ठानले तालिम सञ्चालनका लागि रोजगारदाताको संस्थागत अवस्था, अनुभव र उपलब्ध पूर्वाधारलाई मुख्य आधार बनाएको छ । सूचीकरणमा सहभागी हुन चाहने संस्था प्रचलित कानुनबमोजिम दर्ता भएको हुनुपर्नेछ ।
त्यस्तै, सम्बन्धित सीप वा पेसामा कम्तीमा पाँच जनालाई रोजगारी दिइरहेको र कम्तीमा दुई वर्षदेखि निरन्तर सञ्चालनमा रहेको हुनुपर्नेछ । रोजगारदाता मूल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बरमा दर्ता भएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।
आवेदक संस्थासँग पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र हुनुपर्नेछ । साथै स्वीकृत पाठ्यक्रम र रोजगारदाताले छनोट गरेको तालिम विधिअनुसार आवश्यक पूर्वाधार उपलब्ध भएको हुनुपर्नेछ ।