काठमाडौं । भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा नेपालमा आयोजना हुने भएको छ । रोयल इन्फिल्डले आगामी मंसिर २६ गतेका दिन काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो ।
संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजित यस महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको सहभागिता रहनेछ ।
दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा भारतीय हिपहप संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल र्यापर डिभाइन मुख्य आकर्षणका रूपमा रहनेछन् ।
उनीसँगै नेपाली र्यापर साकार, लोकप्रिय ब्यान्ड कुमा सागर एन्ड द ख्वापा, गाउँले भाइ, इस्ट्रिज र रातो रानीले पनि सांगीतिक प्रस्तुति दिनेछन् ।
कार्यक्रममा नेपाल हिपहप फाउन्डेसनको सहभागितामार्फत नेपाली हिपहप संस्कृतिलाई समेत विशेष स्थान दिइने आयोजकले जनाएको छ ।
रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकलको सहरी जीवनशैली र व्यक्तिगत अभिव्यक्तिसँग जोडिएको अवधारणाबाट सुरु गरिएको हन्टरहुडलाई युवा, कलाकार, स्केटर तथा सिर्जनात्मक समुदायलाई एकै ठाउँमा जोड्ने उत्सवका रूपमा विकास गरिएको कम्पनीले उल्लेख गरेको छ ।
काठमाडौंको मौलिक कला, संगीत र बढ्दो सहरी संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले यसपटक नेपाललाई आयोजना स्थलका रूपमा छनोट गरिएको हो ।
महोत्सवमा संगीतबाहेक नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको सहकार्यमा स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल, बास्केटबललगायतका गतिविधि सञ्चालन हुनेछन् ।
इश्ना गोएक्ना र मस्रुन स्केटको नेतृत्वमा सञ्चालन हुने स्केटपार्कमा स्केटरहरूका लागि पुरस्कारसहितको ‘क्यास फर ट्रिक्स’ चुनौतीसमेत राखिएको छ ।
यसैगरी, एक्सट्रिम इनर्जी ड्रिंकको सहकार्यमा फ्रिस्टाइल फुटबल, बास्केटबल, रियाक्सन क्याच, हिट द क्यान र गिल्ली डण्डाजस्ता सडक खेलमा दर्शकले समेत सहभागिता जनाउन पाउनेछन् ।
नेपाली परम्परागत कला र आधुनिक सिर्जनात्मक प्रस्तुतिको समिश्रण रहने महोत्सवमा लाखे नाच, भैरव तथा काली नृत्यका साथै ओटाकु जात्राको कस्प्ले प्रस्तुति समावेश गरिएको छ ।
साथै, पाओलो नेपालले टोट ब्याग प्रिन्टिङ, क्याप कस्टमाइजेसन र चार्म बनाउने कार्यशाला, बाखन न्याने वाःले परम्परागत मुखौटा निर्माण कार्यशाला तथा फ्रेन्ज ट्याटु इनले ट्याटु र फेस पेन्टिङको सुविधा उपलब्ध गराउनेछन् ।
स्थानीय फेसन तथा सिर्जनात्मक उत्पादनलाई प्रवद्र्धन गर्न महोत्सव स्थलमा विशेष फ्ली मार्केटसमेत सञ्चालन हुनेछ ।
जहाँ कापा, लाइबरलाई, ब्याज नेपाल, दोचा नेपाल, बाबल वेयर्स, ओटाकु जात्राका उत्पादनका साथै रोयल इन्फिल्डका पोसाक र एसेसरिज उपलब्ध रहनेछन् ।
त्यस्तै, खानाका पारखीका लागि स्क्युयर्स नेपाल, मिस्टर वाफल्स, स्वीट फिक्स, स्वर्ल आइसक्रिम, फेमस लाफिङ हाउस-टोखा, इटमःमो, टु सिस्टर्स, पाकशाला, फुल्की पोइन्ट र जेमिज बबल टीका परिकार तथा पेय पदार्थका स्टलहरू रहनेछन् ।
आयोजकका अनुसार हन्टरहुड काठमाडौं सहरको कला, संस्कृति, खेलकुद, फेसन र युवाको सिर्जनात्मक अभिव्यक्तिलाई एउटै थलोमा प्रस्तुत गर्ने बृहत् उत्सव हुनेछ । महोत्सवमा सहभागी हुन चाहनेले खल्ती र टिकट सञ्जालमार्फत न्यूनतम ३५० रुपैयाँबाट सुरु हुने टिकट खरिद गर्न सक्नेछन् ।