जीडब्लुएमका दुई मोडल ओरा ५ र हाभल एच७ ले पाए पाँचतारे सुरक्षा रेटिङ

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई मोडल ओरा ५ र हाभल एच७ ले सन् २०२६ को युरो एनक्याप सुरक्षा परीक्षणमा पाँचतारे रेटिङ प्राप्त गरेका छन् ।

सवारीसाधनको सुरक्षा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था युरो एनक्यापबाट दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै जीडब्लुएमको सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमताले अन्तर्राष्ट्रिय मान्यता पाएको कम्पनीले जनाएको छ ।

युरो एनक्यापले सवारीसाधनको सुरक्षा परीक्षण गर्दा यात्रुको सुरक्षा, दुर्घटनाका बेला हुने क्षति, दुर्घटनापछिको सुरक्षा व्यवस्था र चालकलाई सुरक्षित रूपमा सवारी चलाउन सहयोग गर्ने प्रविधिलगायत पक्षको मूल्यांकन गर्छ । कम्पनीका अनुसार ओरा ५ ले यी चारवटै परीक्षण क्षेत्रमा राम्रो प्रदर्शन गरेको छ । विशेषगरी यात्रुको सुरक्षा र दुर्घटनापछिको सुरक्षासम्बन्धी परीक्षणमा यसको प्रदर्शन उल्लेखनीय रहेको छ ।

विद्युतीय एसयूभी ओरा ५ मा ब्याट्री सुरक्षाका लागि जीडब्लुएमको ड्रागन आर्मर ब्याट्री प्रोटेक्सन प्रणाली समावेश गरिएको छ । यसमा प्रयोग गरिएको डायु ब्याट्री सुरक्षा प्रविधिले ब्याट्रीलाई थप सुरक्षित बनाउने कम्पनीको दाबी छ ।

त्यस्तै, सवारीसाधनको कम्फर्ट तथा इन्फोटेनमेन्ट नियन्त्रणका लागि प्रयोग गरिएका म्यानुअल कन्ट्रोलले पनि परीक्षणमा पूर्ण अंक प्राप्त गरेका छन् । यसको स्पिड असिस्टेन्स प्रणालीले समेत प्रभावकारी प्रदर्शन गरेको कम्पनीले जनाएको छ ।

आधुनिक चालक सहायता प्रणाली (एडास), बलियो बडी संरचना र अन्य सुरक्षा प्रविधिले ओरा ५ लाई सुरक्षित विद्युतीय एसयूभीका रूपमा स्थापित गर्न सहयोग गरेको कम्पनीको भनाइ छ । यसअघि जीडब्लुएमका सवारीसाधनले एएनक्यापबाट पनि पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरिसकेका छन् ।

नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिका अनुसार ओरा ५ र हाभल एच७ ले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यताले नेपाली बजारमा ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ । कम्पनीले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका प्रविधि, सुरक्षा र सुविधासहितका सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

३५ वर्षभन्दा लामो इतिहास रहेको जीडब्लुएम विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित छ । कम्पनीका अनुसार हालसम्म विश्वभर एक करोडभन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन् । विद्युतीय तथा स्मार्ट सवारीसाधनको विकाससँगै सुरक्षा र प्रविधिलाई प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ । 

Share News