अर्बौं कमाउने अटो कम्पनी किन बन्दैनन् उच्च करदाता ?

काठमाडौं । नेपालमा अटोमोबाइल व्यवसायको आकार वर्सेनि विस्तार भइरहेको छ । बजार विस्तारसँगै अटो कम्पनीहरुको व्यवसाय पनि बढ्दै गइरहेको छ । 

सिप्रदी ट्रेडिङले गत आर्थिक वर्ष २०८२/८३ मा करिब २३ अर्ब रुपैयाँको सञ्चालन आम्दानी गर्यो । साइमेक्स इंक (बीवाईडी), अग्नि इन्कर्पोरेटेड (महिन्द्रा) र हंसराज हुलासचन्द एन्ड कम्पनी (बजाज) जस्ता कम्पनीहरूको आम्दानी पनि अर्बौंको छ । 

ठूलो व्यावसायिक आकार अनुसार उच्च कर भुक्तानी गर्दा पनि अटोमोबाइल क्षेत्रका ठूला कम्पनीहरू सरकारबाट सम्मानित हुने शीर्ष करदाताहरूको सूचीमा भने अटाएनन् । यसले अटो व्यवसायीलाई चकित पारेको छ । 

एक अटो व्यवसायीले भने, ‘अटो व्यवसायको साइज ठूलो छ, कर पनि यही क्षेत्रले बढी तिर्नुपर्छ । तर, उच्च करदाता भनेर सम्मानित भएको देखिँदैन ।’

अर्बौं आम्दानी तथा नाफा गर्ने कम्पनीहरुले कर पनि करोडौं तिर्छन् । नेपालमा बढी कर तिर्नेमध्येको अटो क्षेत्र पनि हो । तर, कुनै पनि अटो कम्पनी उत्कृष्ट करदाताको रुपमा किन सम्मानित हुँदैनन् ? हामीले यो प्रश्न आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाललाई गर्दा उनले भने, ‘गाडी कम्पनीहरू व्यापार क्षेत्रअन्तर्गत पर्छन् । अटो कम्पनीले पनि अन्य व्यापारिक संस्थासँग प्रतिस्पर्धा गर्नुपर्छ । ठूला अटो कम्पनीहरूको आम्दानी धेरै भए पनि त्यो विभिन्न क्षेत्रमा छरिएको हुन सक्छ । अटोको भन्दा अन्यले बढी कर तिरेको हुनाले हामीले अन्य कम्पनीलाई सम्मानित गर्यौं ।’

आगामी दिनमा सम्मानलाई थप व्यवस्थित बनाउन केवल तिरेको करको अंक मात्र नभई कर अनुपालनको अवस्था, मुद्दा, बक्यौता र कानुनी कारबाहीका पाटोलाई समेत समेट्ने गरी नयाँ सूचकहरू तयार गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । 

अटोमोबाइल कम्पनीहरू ठूला करदाताको सूचीमा नपर्नुमा व्यवसायीहरूको पनि आफ्नै किसिमको तर्क रहेको छ । हुण्डाई गाडीको आधिकारिक बिक्रता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार विगतमा सीमित कम्पनीले ठूलो बजार ओगट्ने गरे पनि हाल बजारमा ब्रान्ड र वितरकहरूको संख्या बढेसँगै बिक्रीको हिस्सा धेरै कम्पनीहरूमा बाँडिएको छ । यसका साथै, नेपाली अटोबजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इभी) को हिस्सा करिब ८० प्रतिशतसम्म पुगेको छ ।

उनका अनुसार सरकारले ईभीलाई प्रोत्साहन गर्न इन्धनबाट चल्ने गाडीको तुलनामा यसमा करको दर निकै कम राखेको छ । जसले गर्दा बजारको भोलुम ठूलो भए पनि राज्यलाई प्राप्त हुने करको संरचना र परिमाणमा ठूलो परिवर्तन आएको छ । 

‘नेपालमा अहिले ईभी नै ईभी छ । ईभीमा सरकारले कम कर लगाएको छ । आईसीई गाडीमा मात्रै तुलनात्मक रूपमा बढी कर लाग्छ । ईभीको हिस्सा बढेपछि अटोमोबाइल क्षेत्रबाट सरकारलाई प्राप्त हुने कर पनि स्वाभाविक रूपमा प्रभावित हुन्छ,’ त्यसैले गाडी कम्पनी उच्च करदातामा नपरेका हुन सक्छन्,’ उनले भने ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाका अनुसार आजभन्दा पाँच वर्षअघिसम्म अटोमोबाइल क्षेत्रको भन्सारबाट मात्रै वार्षिक औसत एक खर्ब रुपैयाँ राजस्व संकलन हुने गरेकोमा पछिल्लो समय घटेर २० देखि २५ अर्ब रुपैयाँमा सीमित भएको छ । 

इन्धनबाट चल्ने प्यासेन्जर कारमा इन्जिन क्षमताका आधारमा साढे दुई सयदेखि साढे तीन सय प्रतिशतसम्म कर लाग्ने गरेको भए पनि विद्युतीय सवारीमा भ्याटबाहेक औसतमा २० प्रतिशतको हाराहारीमा मात्र कर लाग्ने गर्छ । हाल बजारमा सर्वाधिक बिक्री भइरहेका ईभीहरू १५ देखि ३० प्रतिशतको कर दायराभित्र पर्ने र महँगा गाडीको आयात निकै घटेका कारण समग्र अटो क्षेत्रको कर योगदान प्रभावित भएको उनको विश्लेषण छ ।

नेपालमा अटोमोबाइल व्यवसायमा मुख्यतया दुई चरणमा विभिन्न शीर्षकमा कर तिर्ने गरिन्छ । पहिलो, सवारीसाधन पैठारी गर्दा भन्सार बिन्दुमा भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण तथा सम्भार दस्तुर (४ देखि १० प्रतिशत) र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनुपर्छ ।

दोस्रो, कम्पनीको सञ्चालन तथा व्यावसायिक नाफामा २५ प्रतिशत संस्थागत आयकर, ५ प्रतिशत लाभांश कर र स्थानीय तहको व्यवसाय कर लाग्ने गर्दछ । यसरी बजारमा कारोबारको आकार अर्बौंमा देखिए पनि बदलिँदो कर नीति, ईभीको बढ्दो हिस्सा र छरिएको बजारका कारण अटोमोबाइल क्षेत्र उच्च करदाताको सम्मान सूचीबाट टाढिन पुगेको उनको विश्लेषण छ । 

अटोमोबाइल कम्पनीको अर्बौंको कारोबार

अटोमोबाइल कम्पनीहरूको वित्तीय विवरण हेर्दा कारोबारको आकार ठूलो भए पनि नाफा मार्जिन भने तुलनात्मक रूपमा कम देखिन्छ । देशकै ठूलो सवारीसाधन बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ मा घटेको छ । 

कम्पनीले उक्त अवधिमा २२ अर्ब ९० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.८९ प्रतिशत अर्थात् १ अर्ब १७ करोड ९० लाख रुपैयाँ कम हो । 

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २४ अर्ब ८ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सिप्रदीले आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ, आव २०७९/८० मा १८ अर्ब ३० करोड ४० लाख रुपैयाँ, आव २०७८/७९ मा २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँ, आव २०७६/७७ मा १९ अर्ब ७० करोड ५० लाख रुपैयाँ र आव २०७५/७६ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

सिप्रदीले टाटा ब्रान्डका कमर्सियल तथा अन्य सवारीसाधन बिक्री गर्दै आएको छ । कम्पनीको नेपालको कमर्सियल भेहिकल बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा रहेको छ । यसका अतिरिक्त ब्याट्री, स्पेयर पाट्र्स तथा लुब्रिकेन्टलगायतका वस्तुको पनि कारोबार गर्दै आएको छ ।

त्यस्तै, विद्युतीय सवारीसाधनको बजारमा तीव्र विस्तार गरेको बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सन् २०२५ मा ११ अर्ब ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२४ को तुलनामा करिब ३० प्रतिशत कम हो । कम्पनीले सन् २०२४ मा १६ अर्ब ४० करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । एक वर्षमै कम्पनीको आम्दानी ४ अर्ब ९२ करोड ३० लाख रुपैयाँले घटेको देखिन्छ ।

साइमेक्स इंकको आम्दानी सन् २०२१ मा ६ करोड ९० लाख रुपैयाँ मात्रै थियो । त्यसपछि सन् २०२२ मा ४४ करोड १० लाख, सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाख र सन् २०२४ मा १६ अर्ब ४० करोड २० लाख रुपैयाँ पुगेको थियो । छोटो समयमै नेपाली अटोमोबाइल बजारमा बलियो उपस्थिति बनाएको कम्पनीको आम्दानीमा बीवाईडीका एटो–३ र डल्फिन मोडलको करिब ९० प्रतिशत योगदान रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले पछिल्लो समय कम मूल्यका एटो-१ र एटो-२ मोडलका विद्युतीय सवारीसाधन पनि बजारमा ल्याएको छ । नयाँ मोडलको बिक्रीबाट आगामी दिनमा आम्दानी बढ्ने अपेक्षा कम्पनीको छ । महिन्द्रा सवारीसाधनको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले पनि सन् २०२५ मा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् १९९१ मा स्थापित कम्पनीले नेपालमा महिन्द्राका स्कोर्पियो, बोलेरो, यात्रुवाहक सवारीसाधन तथा ट्र्याक्टर बिक्री गर्दै आएको छ ।

कम्पनीको उक्त आम्दानी अघिल्लो वर्षको तुलनामा २८.२६ प्रतिशत बढी हो । सन् २०२४ मा कम्पनीले ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०२३ मा ५ अर्ब १४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

यद्यपि, अग्नि इन्कर्पोरेटेडको कारोबारमा विगतका वर्षहरूमा ठूलो उतारचढाव देखिन्छ । कम्पनीले सन् २०२२ मा १२ अर्ब ९३ करोड ७० लाख र सन् २०२१ मा १२ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, सन् २०१८ मा १६ अर्ब २५ करोड ९० लाख र सन् २०१७ मा १६ अर्ब ३७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । पछिल्ला वर्षमा कारोबार घटेको कम्पनीले सन् २०२५ मा भने पुनः सुधार गरेको देखिन्छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३५ करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी कुल ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । 

बजाज, केटीएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीको कारोबार पनि उल्लेख्य रूपमा बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले पछिल्लो महिनामै १६ अर्ब ४६ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । जबकि कम्पनीले गत आर्थिक वर्षभरिमा १५ अर्ब ६६ करोड ७० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । 

यस हिसाबले नौ महिनामै कम्पनीले अघिल्लो वर्षको पूर्ण अवधिको कारोबारलाई उछिनेको छ । कम्पनीले सन् २०२४ मा १० अर्ब ६७ करोड ४० लाख र सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । मोटरसाइकलको बिक्री विस्तारसँगै कम्पनीको आम्दानीमा सुधार आएको प्रतिवेदनमा उल्लेख छ । 
 

Share News